पर्यटन व्यवसायी भन्छन्– ‘सरकार तातेन भने पर्यटन ध्वस्त हुन्छ’

writer

कृष्णमणि बराल/पोखरा

बिहिबार, १५ जेठ २०७७


पर्यटन उद्योग सबैभन्दा संवेदनशील उद्योग हो। कोरोना महामारीले पर्यटन व्यवसायमा गहिरो असर पुर्‍याएको छ। होटल, रेस्टुरेन्ट, पदयात्रा पर्यटन, ट्राभल्स, प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जीजम्पजस्ता क्रियाकलाप गर्न सञ्चालनमा आएका पर्यटन उद्योग जोखिममा छन्। पोखराका पर्यटन व्यवसायीकम्तीमा एक वर्षसम्म कठिन परिस्थिति रहने बताउँछन्। ‘अन्नपूर्ण सम्पूर्ण’सँग उनीहरूले आफ्ना धारणा व्यक्त गरेका छन्। 


‘कम्तीमा एक वर्ष कठिन हुनेछ’

चिरञ्जीवी पोखरेल
अध्यक्ष, पोखरा पर्यटन परिषद्

लकडाउन खुलेलगत्तै होटल, रेस्टुरेन्ट सजिलै सञ्चालन गर्न सकिन्छ भन्ने अवस्था छैन। कोरोना भाइरस एकबाट अर्कोमा सर्ने क्रम नरोकिएसम्म मानिस एक ठाउँबाट अर्को ठाउँमा जाने कुरै भएन। अरू उद्योग सञ्चालनमा आएजस्तो यो उद्योग सञ्चालनमा आउन सक्दैन। कोरोना नियन्त्रणमा आइसकेका देशमा संक्रमण फेरि देखिएका समाचार आएका छन्। त्यसैले लकडाउन खुलेपछि पनि पर्यटन उद्योग खोल्न गाह्रो हुनेछ। कम्तीमा एक वर्ष पर्यटन उद्योग सञ्चालन गर्न अप्ठ्यारो हुनेछ। 

मानिससँग प्रत्यक्ष सम्पर्कमा आउनुपर्ने, खाने, बस्ने व्यवस्था गर्नुपर्ने यो व्यवसाय सबैभन्दा बढी जोखिममा छ। पर्यटक पनि जोखिम मोलेर आउने अवस्था छैन। औषधिपत्ता लागेर भाइरस नियन्त्रणमा आएपछि मात्र आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्छ। त्यसपछि मात्र चीन र भारतमा पर्यटन प्रवद्र्धनमा जान सकिनेछ। तेस्रो चरणमा युरोपमा प्रवद्र्धनात्मक कार्यक्रम गर्न सकिन्छ। त्यसका लागि धेरै समय कुर्नुपर्ने देखिन्छ। सरकारले जोखिममा रहेको पर्यटन उद्योगलाई बचाउन राहतप्याकेज ल्याउनुपर्छ। नत्र, खर्बौं लगानी रहेको पर्यटन उद्योग धराशायी हुनेछ।


‘दक्ष जनशक्ति मर्कामा छन्’ 

गोपी भट्टराई
उपाध्यक्ष, पोखरा पर्यटन परिषद्
लकडाउन खोले पनि पर्यटन उद्योग सञ्चालन गर्न सक्ने अवस्था छैन। कोरोना भाइरस मानिसबाट मानिसमा सर्ने अवस्था नरोकिएसम्म होटल खोलेर पनि काम छैन। यसो हुँदा यस क्षेत्रमा लामो समय बिताएका दक्ष जनशक्ति मर्कामा छन्। उनीहरूलाई पलायन हुनबाट रोक्न भत्तासहित तालिमको व्यवस्था गर्नुपर्छ। 

त्यसकालागि सरकारले नै तालिमको व्यवस्था गर्नुपर्छ। पर्यटन उद्योगलाई बचाउन थप ऋण, ब्याज दर सिंगल डिजिटमा झार्नुपर्ने देखिन्छ। त्यसका लागि पर्यटन व्यवसायीले पहल पनि गरिरहेका छन्। 

कोरोना सक्रमण नियन्त्रणमा आएपछि सरकारले पर्यटकलाई नेपाल आउने वातावरण बनाउन केही वर्ष फ्री भिसा, रेस्टुरेन्टमानेपाली खाना र मदिरामा छुटलगायत व्यवस्था गरिदिनुपर्छ। यसो गर्न सके कोरोनाले आर्थिक संकटमा परेका पर्यटकले घुम्दा राहत महसुस गर्न सक्छन् र घुम्न उत्साहित हुनेछन्।


‘लकडाउन खुल्दैमा होटल खुल्दैन’

गणेश पहारी
महासचिव, पश्चिमाञ्चल होटल संघ,पोखरा
प्रत्यक्ष पर्यटकको सम्पर्कमा आउनुपर्ने होटल क्षेत्र लकडाउन खोलेकै आधारमा खोल्न सक्ने अवस्था छैन। खोलेर पनि कोही पर्यटक आउनेछैनन्। संक्रमण फैलिरहेको अवस्थामा कोही कतै जान सक्दैनन्। सरकारले पर्यटक चेकआउट भएको ४८ घण्टासम्म अर्को पर्यटक राख्न नपाउने, कोठा, साँचोलगायत  स्यानिटाइज गर्नुपर्ने कुरा गरे पनि पर्यटक आउने अवस्था छैन। बरु, लामो समय बन्दका कारण आर्थिक संकटमा परेका पर्यटन व्यवसायीका लागि राहत प्याकेज ल्याउनुपर्छ। 


 

‘रेस्टुरेन्टलाई गरिखान गाह्रो छ’ 

बुधराज भुजेल
अध्यक्ष, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान), पोखरा

विदेशी पर्यटक कोरोना भाइरस अन्त्य नभएसम्म रेस्टुरेन्टमा आउनेछैनन्। भाइरस नियन्त्रणमा नआउँदै लकडाउन खुल्यो भनेर रेस्टुरेन्ट सञ्चालन गर्दास्टाफ र व्यवसायीलाई समेत कोरोना सर्ने हो कि भन्ने भय हुन्छ। 
त्यसैले सरकारले लकडाउन हटाउँदैमा रेस्टुरेट सञ्चालन गर्न सकिने अवस्था छैन। स्थानीयलाई भने अनलाइनबाट अर्डरअनुसार होम डेलिभरी गर्न सकिन्छ। 


‘होम डेलिभरी दिन सक्छौँ’

लक्ष्मण बराल
प्रथम उपाध्यक्ष, रेबान, पोखरा
आफ्ना स्टाफ, समुदायका लागि पनि कोरोनाको जोखिम रहेकै अवस्थामा होटल, रेस्टुरेन्ट खोल्नु उपयुक्त हुँदैन। हामीले अहिले पनि विभिन्न कारणले घर फर्कन नसकेका केही पर्यटकलाई सेवा दिइरहेका छौँ। उनीहरूलाई बसेकै स्थानमा खानेकुरा पुर्‍याइदिन्छौँ। उनीहरूको अर्डरअनुसार खाना तयार पार्छौं। निश्चित दूरी कायम गरेर आफैँ आएर लग्ने व्यवस्था मिलाएका छौँ। 

हामी पोखरेलीले अर्डर गरेअनुसार खानाका परिकार होम डेलिभरी गर्न सक्छौँ। तर, पहिलेको अवस्थामा लकडाउन खुल्दैमा रेस्टुरेन्ट खोल्ने अवस्था छैन। 


‘ट्रेकिङ लामो समयसम्म प्रभावित हुनेछ’

हरि भुजेल 
अध्यक्ष, टान पश्चिमाञ्चल, पोखरा
ट्रेकिङ व्यवसाय विदेशी पर्यटकको भरमा चल्ने व्यवसाय हो। कोरोना संक्रमण फैलिरहेका बेला पर्यटक पनि पदयात्रा बीचैमा छाडेर घर फर्केका छन्। लकडाउन हटे पनि विदेशी पर्यटक नेपाल आइहाल्ने अवस्था छैन। 

नेपाली पर्यटकगाइड र सहयोगीबिनै पदयात्रामा जाने गर्छन्। त्यसैले टे«किङ लामो समय प्रभावित हुने देखिएको छ। पदयात्रा पर्यटन मजदुरकालागि बैंकबाट कम्तीमा १५ हजार रुपैयाँसम्म सहज रूपमा ऋण लिन पाउने व्यवस्था मिलाउन लागिपरेका छौँ।टे«किङ एजेन्सीहरूलाई पनि कम्तीमा २५ लाख दुई प्रतिशतमा ऋण प्रवाह गर्न नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालयसँग समन्वय गरेर अघि बढिरहेका छौँ। 


‘सरकार तातेन भने पर्यटन ध्वस्त हुन्छ’ 

नरेश भट्टराई

पर्यटन व्यवसायी
पर्यटन उद्योग सबैभन्दा संवेदनशील क्षेत्र हो। चीनमा सन् २०१९ को डिसेम्बर महिनामा पहिलो पटक कोभिड–१९ देखापरेपछि जनवरी, फेब्रुअरी महिना चिनियाँ पर्यटक आउने सिजनै प्रभावित भयो। युरोप, अमेरिका, कोरिया, जापानलगायत देशका पर्यटक आइसकेका भए पनि यात्रा बीचैमारोकेर घर फर्केका छन्।सन् २०२० मा पर्यटन उद्योग पूर्ण रूपमा बन्द हुने नै भयो। यो क्रम अझै लम्बिनेछ। सरकारले पर्यटन उद्योगलाई बचाउन अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ। सरकार तातेन भने पर्यटन ध्वस्त हुन्छ। 

होटल व्यवसाय ट्राभल कम्पनीबाट ७५ प्रतिशत क्रेडिटमा होटल बुकिङ भएर चल्छ। त्यसैले अझै पनि कति होटलको बजारमा फिँजिएको पैसा उठाउनै बाँकी छ। २५ प्रतिशत मात्र अनलाइन बुकिङ हुन्छ। यस्तो अवस्थमा बजारमा रहेको पैसा उठाउन नै समस्या भएको छ। ऋण लिएर होटल बनाउने व्यवसायी असाध्यै मर्कामा छन्। 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट