शक्तिशाली देशको कोरोनाविरुद्ध कमजोर कदम

writer

सम्पूर्ण

बुधबार, १४ जेठ २०७७


विश्वका शक्तिशाली देशकोरोना भाइरस महामारीबाट नराम्ररी प्रभावित भएका छन्। ती देशका नेताले आफ्नो मुलुकमा महामारी रोक्न नसकेको आरोप खेपिरहेका छन्। जहाँका नेता बलिया छन्, त्यहीँ भाइरसविरुद्ध सरकारको कदम कमजोर देखियो।


अमेरिकाका डोनाल्ड ट्रम्प, रुसका भ्लादिमिर पुटिन, बेलायतका बोरिस जोन्सन, भारतका नरेन्द्र मोदी र ब्राजिलका जायर बोल्सोनारो सामान्य अवस्थामा पनि समाचारमा छाइरहने नेता हुन्।यी नेताले सम्हालेका मुलुक ठूला र शक्तिशालीमा गनिन्छन्। उनीहरू निर्वाचित÷पुनर्निर्वाचित हुँदा सम्बन्धित मुलुक र विश्वलाई नै कस्तो असर पर्छ भनेर विश्वप्रसिद्ध अखबारले विश्लेषण छाप्छन्। किनभने, यी ठूलठूला जनमत प्राप्त गरेर कार्यकारी पदमा चुनिएका नेता हुन्।

यी सबै नेताबीच थुप्रै समानता पनि देख्न सकिन्छ।यी नेता कसरी उदाएका हुन्? अनिश्चित समयमा पनि निश्चितताको बाचा गरेर उनीहरू आएका हुन्। यिनका धेरैजसो आक्रमण सजिलो शत्रुमाथि केन्द्रित हुन्छन्।विपक्षी र प्रेसलाई यिनीहरू सम्मान गर्दैनन्।यी सबै पुरुष नेता आफूलाई सकेसम्म ‘मर्द’ र ‘बहादुर’ का रूपमा उभ्याउने कोसिस गर्छन्।मुलुकभित्र यिनीहरू शक्तिशाली त छन् नै, यिनको बोली–व्यवहारले आम नागरिकलाई विभाजित बनाउँछन्। तथ्य नबोले पनि, विवादास्पद निर्णय गरे पनि बहुमतले उनीहरूलाई साथ दिएका हुन्छन्। किनभने, बहुमत जनको समर्थन प्राप्त गर्न यिनले मुलुकभित्रका अल्पसंख्यकलाई शिकार तुल्याउँछन्।

तर, पछिल्लो समय यी नेताले हाँकेको मुलुकबीच एउटा अर्को समानता पनि देखिएको छ।यी शक्तिशाली भनिएका नेताले नेतृत्व गरेका सबै मुलुक कोरोना भाइरस महामारीबाट नराम्ररी प्रभावित भएका छन्।

कोभिड–१९ संक्रमितको सबैभन्दा ठूूलो संख्या अमेरिका, ब्राजिल र रुसमा छ। अमेरिकामा १७ लाखभन्दा बढी, ब्राजिल र रुसमा साढे तीन लाखभन्दा बढी संक्रमित छन्। मर्नेहरूको संख्या अमेरिकामा एक लाख पुगेको छ।

त्यसपछि सबैभन्दा प्रभावित स्पेन, बेलायत, इटाली, फ्रान्स र जर्मनी छन्। यी मुलुकमा मानवीय क्षति ठूलो भएपनि अहिले महामारी धेरै हदसम्म रोकिइसकेको छ। बिस्तारै लकडाउन खोल्न थालिएको छ। आर्थिक गतिविधि सुचारु हुन थालेका छन्।

पछिल्लो समय संक्रमण निरन्तर बढिरहेका अत्यधिक जनसंख्या भएका दुई मुलुक हुन्, भारत र ब्राजिल। सवा अर्ब जनसंख्या भएको भारतमा संक्रमितको संख्या १ लाख ४५ हजार र मृतक संख्या चार हजार नाघिसकेको छ। त्यस्तै, २१ करोड जनसंख्या भएको ब्राजिलमा संक्रमितको संख्या ३ लाख ७६ हजार पुगेको छ भने मृतक संख्या २३ हजार नाघेको छ।

यी नेताले आफ्नो मुलुकमा कोरोना भाइरसको महामारी रोक्न नसकेको आरोप खेपिरहेका छन्। यी मुलुकका सरकारले सुरुवाती चरणमा भाइरसलाई बेवास्ता गरे, कमजोर तयारी गरे, विज्ञको सल्लाह सुनेनन्, गलत सूचनामा भर परे।अर्थात्, जहाँका नेता बलिया छन्, त्यहीँ भाइरसविरुद्धको सरकारको कदम कमजोर देखियो।

कसले के गल्ती गरे ?
अमेरिकाः महामारी रोक्ने दिशामा अमेरिकाको असफलतालाई अनेक कोणबाट व्याख्या गर्न थालिएको छ। धेरैका लागि यो महाशक्तिको पतनको बलियो लक्षण हो। अरूले यसलाई ट्रम्पको नालायकीको नतिजा हो भनेका छन्।

जब भाइरस अमेरिकामा प्रवेश गर्दै थियो, ट्रम्पले यसलाई पूर्णतः बेवास्ता गरेका थिए। सुरुवाती छ हप्ता उनले कुनै जोखिम नभएको बताइरहे। बरु, उनको ध्यान सेयर बजारमा देखिन्थ्यो। फेब्रुअरीमा उनले ‘चमत्कार’ भएर भाइरस गायब हुने बताए। 

जब मार्च महिनामा मुलुकभर भाइरस फैलिन थालेको थियो, त्यतिबेला ट्रम्प महामारीलाई ‘हल्ला’ भनिरहेका थिए। राज्यका गभर्नरहरूले रोकथामका उपाय चाल्दा ट्रम्पले अवरोध सिर्जना गरे।नतिजा सबैको सामु छ।अमेरिकाले समयमै लकडाउन गरेन। दुई साताअघि मात्र लकडाउन गरिएको भए दशौँ हजारको ज्यान बच्ने विज्ञले बताइसकेका छन्। लकडाउनविरोधी ¥याली आयोजना गर्नसमेत ट्रम्पले जनतालाई उक्साए। अहिले पनि सरकारको मुख्य ध्यान अर्थतन्त्रलाई कसरी चलायमान बनाउने भन्नेमा देखिन्छ।

रुसः मार्चको सुरुमा रुसमा सीमित कोरोना संक्रमित थिए। अप्रिलसम्म त्यहाँ यो यति ठूलो समस्या बन्छ भन्ने सोचिएकै थिएन। तर, केही सातामै यो मुलुक सबैभन्दा बढी संक्रमित भएका मुलुकमध्ये एक बन्न पुग्यो। जसले रुसको स्वास्थ्य प्रणाली मात्र होइन, शक्तिशाली राष्ट्रपति पुटिनको कमजोरीसमेत छताछुल्ल बनाइदियो।

एक त रुसमा स्वास्थ्य सेवा प्रणालीको सुधारलाई प्राथमिकतामा राखिएको थिएन। सोभियतकालमा पनि स्वास्थ्य सेवा निःशुल्क भए पनि त्यसको स्तर कमजोर थियो। अस्पताल, क्लिनिकका संख्या अत्यधिक थिए तर ती गुणस्तरीय थिएनन्। वास्तवमा सन् २००० देखि २०१५ सम्मको कुरा गर्ने हो भने अस्पतालको संख्या रुसमा घटाएर आधा बनाइएको थियो। त्यसैले जब संक्रमितको संख्या बढ्न थाल्यो, तब अस्पतालमा ठाउँ पाउनै मुश्किल हुन थाल्यो।

कोरोनाले उत्पन्न गरेको खतरालाई रुसले बेलैमा पहिचान गरेको थियो। त्यसैले जनवरीमै उसले चीनसँगको सीमा बन्द ग¥यो। तर, देशभित्र प्रवेश गरिसकेको भाइरस तीव्र गतिमा फैलिन सक्छ भन्ने अनुमान उनीहरूले गर्न सकेनन्, जसकारण तयारी पनि कमजोर रह्यो।

लामो समय भाइरसबारे ध्यान नदिँदा संक्रमितको संख्या एक्कासि बढ्न पुग्यो। थुप्रै बिरामी सीधै अस्पताल गए। उनीहरूका कारण स्वास्थ्यकर्मी र अन्य बिरामीमा पनि संक्रमण फैलियो। हजारौँ स्वास्थ्यकर्मी अहिले संक्रमित भइसकेका छन्। स्वास्थ्य सामग्रीको अभाव पनि उस्तै छ। कतिपय ग्रामीण क्षेत्रको त स्वास्थ्य सेवामा पहुँच पनि छैन।यद्यपि, रुसमा मृत्युदर कम देखिएको छ। संक्रमितको संख्या साढे तीन लाख नाघिसक्दा मृतक संख्या चार हजारमुनि छ। 

बेलायतः कोरोना भाइरसले खतराको घन्टी बजाइरहँदा प्रधानमन्त्री जोन्सनलाई त्यसको वास्तै थिएन। डिसेम्बरमा भएको चुनावमा ऐतिहासिक जीत हात पारेका उनी जनवरीमा मखलेल थिए। भर्खरै प्रेमिकासँग क्यारिबियन मुलुकमा छुट्टी मनाएर फर्केका थिए। साढे तीन वर्षदेखि थाती रहेको ब्रेक्जिट सम्पन्न गर्ने मिति थियो, ३१ जनवरी। खुशीयालीमा अग्निक्रीडा गर्ने योजना बनेको थियो, सिक्का छापिएका थिए।

फेब्रुअरीभर बेलायतको तरिका यही रह्यो।फाट्टफुट्ट संक्रमित देखिन थालेका थिए। विश्व स्वास्थ्य संगठनले सबैभन्दा गम्भीर स्तरको चेतावनी दिइसकेको थियो।इटालीमा महामारीले दुर्दशा सिर्जना गर्न थालिसकेको थियो। तैपनि, बेलायत तातेन। 

मार्च सुरु हुँदासम्म अन्य मुलुकले कोरोना रोक्न चालेका कदम र बेलायतले चालेका कदममा स्पष्ट फरक देखिन थालिसकेको थियो। अन्य मुलुक कडा लकडाउन, व्यापक परीक्षण गर्नतिर लागेका थिए। उनीहरूले यात्रा नियन्त्रण, भीडभाड प्रतिबन्ध गरेका थिए। तर, बेलायतले बेग्लै बाटो हिँड्ने निर्णय ग¥यो। बेलायती नेता ‘हर्ड इम्युनिटी’ को तयारीमा लागे। अर्थात्, जनसंख्याको ठूलो हिस्सालाई संक्रमित हुन दिने, जसले उनीहरूको शरीरमा भाइरसविरुद्ध एन्टिबडी विकास हुन्छ र कोरोना नियन्त्रणमा आउँछ। तर, यो सम्भव थिएन।

लकडाउन गर्नुपर्ने आवाज उठिरहँदा प्रधानमन्त्री जोन्सन रग्बी खेल हेर्न रंगशाला धाइरहेका थिए। मार्च १३ मा चेल्टनएममा अढाई लाख मानिसलाई भेला हुन दिइयो। तर, बेलायतमै संक्रमितको ज्यान जान थालेपछि भने उनी हच्किए। १८ मार्चमा उनले गम्भीर चेतावनी दिए, ‘अझ बढी परिवारले आफ्ना प्रियजन गुमाउनेछन्।’त्यसको दुई दिनपछि रेस्टुरेन्ट, पब बन्द गर्ने आदेश जारी गरे।

त्यसपछि बेलायत सही मार्गमा फर्कियो। तर, त्यसबेलासम्म ढिला भइसकेको थियो। अहिले अढाई लाख मानिस संक्रमित र ३७ हजारले ज्यान गुमाइसकेपछि बल्ल महामारी नियन्त्रणउन्मुख देखिन्छ।

ब्राजिलःआधिकारिक रूपमा ब्राजिलमा अहिले ३ लाख ७६ हजार संक्रमित छन्। तर, वास्तविक संक्रमित १० लाख हाराहारी पुगेको अनुमान केहीले गरेका छन्। महामारीमा सबैभन्दा नराम्ररी असफल भएका नेतामध्ये एक बनेका छन्, राष्ट्रपति जायर बोल्सोनारो। यिनको समस्या पनि ट्रम्पसँग मिल्दोजुल्दो र केही विषयमा त्यसभन्दा खराब देखिन्छ।

सुरुमा यिनले भाइरसलाई ‘रुघाखोकी’ को संज्ञा दिए। मार्चको अन्तिममा उनी आम मानिसलाई काममा जान आह्वान गरिरहेका थिए। ‘आखिर हामी सबै एक दिन मर्ने नै हौँ,’ मानिसहरूलाई उत्प्रेरित गर्ने उनको वचन यस्तो थियो। नतिजा, अहिले दक्षिण अमेरिकाको सबैभन्दा ठूलो मुलुक खराब महामारी भोगिरहेको छ।

बोल्सोनारो लकडाउनविरुद्धको जुलुसमा सहभागी भए र भाषण गरे। स्वास्थ्यमन्त्रीको काममा हस्तक्षेप गरे। तिनले राजीनामा थिए। प्रहरी प्रमुखलाई बर्खास्त गरेको विरोधमा कानुन मन्त्रीले राजीनामा दिए।अर्कातिर स्वास्थ्यकर्मी, स्वास्थ्य सामग्रीको अभावमा महामारी भने बढिरहेको छ।

भारतःअन्य मुलुकले झैँ महामारीको सुरुवातमा भारतले कुनै गल्ती गरेन। मार्च २४ मा संक्रमण बढ्ने छाँट पाउनासाथ प्रधानमन्त्री नरेन्द्र मोदीले देशव्यापी लकडाउन घोषणा गरे। सवा अर्ब मानिस जहाँ थिए, त्यहीँ रोकिए। र, धेरै हदसम्म आम मानिसले त्यसलाई स्वीकार गरे र लकडाउन पालना गरे।

तर, मोदी सरकार योजनाविहीनताका कारण असफल बन्यो। भारतमा करोडौँ आप्रवासी मजदुर बिचल्लीमा परे। तिनको खाने– बस्ने व्यवस्था नगरी सरकारले लकडाउन गरेको थियो। त्यसैले लकडाउनको केही सातापछि नै उनीहरू पैदल सयौँ किलोमिटर यात्रा गरेर घर फर्किन थाले। कयौँ दिनसम्म उनीहरूको राहत तथा उद्धारमा सरकारले ध्यान दिएन। भर्खरै मात्र बाँकी रहेका यात्रीलाई घर पु¥याउन रेल, बसको व्यवस्था हुन थाल्यो।

अर्कातिर, महामारीको मौका छोपेर हिन्दू अतिवादीहरूले मुस्लिमविरुद्ध भयंकर जातीय घृणा फैलाएका छन्। अहिले यातायात, आर्थिक गतिविधि केही खुकुलो पारिएको छ। स्वास्थ्य सेवा सुधारको स्तर कमजोर छ। यससँगै संक्रमितको संख्यामा निरन्तर वृद्धि भइरहेको छ।

बलिया महिला नेता
बलिया पुरुष नेताको तुलनामा महिला नेता भएका मुलुकमा कोरोना भाइरसविरुद्धको सरकारी कदम प्रभावकारी देखिएको छ।न्युजिल्यान्डकी जासिन्डा आर्डेन, स्कटल्यान्डकी निकोला स्टर्जेन, जर्मनीकी एन्जेला मर्केल, आइसल्यान्डकी क्यातरिन याकोब्स्दोतिर र नर्वेकी एर्ना सोलबर्गदेखि लिएर ताइवानकी साई यिङ वेनसम्मको प्रशंसा भएको छ। आर्डेनले कोरोना विरुद्ध ‘५० लाख जनाको टोली’ अर्थात् देशको पूरै जनसंख्या लडिरहेको बताएकी छन्। उनी हरबखत फेसबुक लाइभमा आएर जनतालाई आवश्यक जानकारी गराउँछिन् र आफ्नो तर्कमा सहमत तुल्याउँछिन्।भौतिकशास्त्रमा पीएचडी गरेकी मर्केलले आफैँले भाइरस कसरी सर्छ, यसले कस्तो असर गर्छ, व्याख्या गरेर जनतालाई बुझाउँछिन्।

त्यसैले नै विश्लेषकले महिला नेतृत्वको ‘सहानुभूति र हेरचाह’ को प्रशंसा गरिरहेका छन्।तर, महिला नेताले पुरुषभन्दा राम्रो काम गरिरहेका होइनन्। बरु, बलवान पुरुष नेताले खराब काम गरिरहेको तर्क गर्छिन्, लेखक हेलेन लुइस। ‘बलिया पुरुष नेता मात्र चुन्ने वा त्यस्ता नेता मात्र शक्तिमा रहिरहने मुलुक पहिले नै संकटमा परिसकेको हुन्छ,’ उनी ‘दी एटलान्टिक’मा लेख्छिन्, ‘जहाँ चुनाव नौटंकी मात्र बन्ने गर्छ। पुरुषले राम्रो नेतृत्व गर्न सक्छ भन्ने अन्धविश्वास शताब्दीयौँसम्म कायम थियो।’ 

(एजेन्सीको सहयोगमा कवि आचार्य)
 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि