क्वारेन्टिन अर्थात् कोचाकोच र अपमान

सृजना खड्का/सुमित सुवेदी
बुधबार, १४ जेठ २०७७
वैशाख अन्तिम साता वीरगञ्जको नारायणी अस्पतालको आइसोलेसनबाट दुईजना कोरोना संक्रमित भागे। शौचालय जाने बहानामा आइसोलेसन वार्डबाट निस्किएका उनीहरू नफर्किएपछि खोजी गरिएको अस्पतालले जानकारी दियो।
गत हप्ता कपिलवस्तुको यशोधरा गाउँपालिकाका छुट्टाछुट्टैक्वारेन्टिनबाट ४५ जना व्यक्ति भागे। वडा नं. ८ खोरियास्थित सरस्वती प्राथमिक विद्यालयको क्वारेन्टिनका ३० र राष्ट्रिय निम्न माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएका १५ गरेर ४५ जना भागेका थिए। भाग्नेमध्ये अधिकांश व्यक्तिभारतबाट आएका थिए। गाउँमा कोरोना सर्ने त्रासले उनीहरूलाई क्वारेन्टिनमा राखिएको थियो। ४५ जना भागेको दुई दिन नबित्दै वडा नं. ६ स्थित वासुदेव जनता माध्यमिक विद्यालयको क्वारेन्टिनबाट पुनः ११ जना व्यक्तिभागेका थिए। यसरी भाग्नेमा वडाकै रतनपुर र भैसाही गाउँका नागरिक थिए।
कमजोर व्यवस्थापन र खानपानको समस्या भएकाले क्वारेन्टिनबाट मानिसहरू भागेको मानवअधिकारकर्मीले आरोप लगाएका थिए।आकस्मिक रूपमा क्वारेन्टिनको व्यवस्थापन गर्नुपर्ने भएकाले केही कमीकमजोरी भएको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले स्विकारे। ‘भारतबाट कति संक्रमित आउँछन् भन्ने यकिन थिएन,’ उनले भने, ‘त्यसैले योजना दरिलो हुन सकेन। उनीहरू असहज महसुस गरेर फरार भएका हुन सक्छन्।’ अहिले भने स्थानीय सरकारसँग क्वारेन्टिनमा खानपानको राम्रो व्यवस्थापन गर्ने विषयमा छलफल गरेर त्यसको प्रबन्ध भइसकेकोे उनले जानकारी दिए। लामो समयपछि भारतबाट फर्किएकाव्यक्तिहरूको घरपरिवारसँग भेट्ने तीव्र इच्छाका कारण पनि उनीहरू भागेका हुनसक्ने सहायक प्रजिअ नेपालीले बताए। ‘एक त उनीहरूमा चेतनाको कमी छ,’ उनले भने, ‘अर्काे कुरा, टाढाबाट आएकाले परिवारसँग छिटो भेटौँ भन्ने मनसायले उनीहरूलाई डोराएको हुनुपर्छ।’ हाल उनीहरूलाई प्रहरीले पुनःक्वारेन्टिनमा ल्याएर राखेको छ।
वैशाख अन्तिम साता नै बाँकेको गुलरिया नगरपालिका–१० स्थित राष्ट्रिय माध्यमिक विद्यालयको क्वारेन्टिनबाट आठ जना भारतीय नागरिक भागेका थिए। उनीहरू पनि शौचालय जाने बहानामा त्यहाँबाट भागेको बाँकेका प्रहरी निरीक्षक केदार रजौरेले बताएका थिए। ‘बिहानै शौचालय जान्छौँ भनेर त्यहाँबाट निस्किएका रहेछन्,’ उनले भनेका थिए, ‘उनीहरूलाई भारतीय सुरक्षा बलले समातेर क्वारेन्टिनमा राखेको छ।’
त्यही साता सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी निम्न माध्यमिक विद्यालयको क्वारेन्टिनबाट १९ जना भारतीय नागरिक बेपत्ता भएका थिए। सुरक्षाकर्मीको कडा निगरानीमा रहेको क्वारेन्टिनबाट उनीहरू भागेका थिए।आफ्ना सरसामान सबै त्यहीँ छाडेर भागेका थिए।
पछिल्लो समय क्वारेन्टिनबाट यसरी भाग्ने लहर नै चलेको देखिन्छ।
कोरोनाभन्दाझाडापखालाको डर
जनस्वास्थ्यविज्ञ डा.समीरमणि दीक्षितका अनुसार क्वारेन्टिनबाट धमाधम मानिस भाग्नुमा सरासर स्थानीय निकाय दोषी छ। ‘यसको पूर्ण दोष स्थानीय निकायलाई जान्छ,’ डा. दीक्षित भन्छन्, ‘किनभने, अहिले समाज स्थानीय निकायको हातमा छ। कुन स्कुल, अस्पताल र चौरमा कसरी क्वारेन्टिनमा मानिस राखेरसम्हाल्ने, त्यो स्थानीय सरकारको जिम्मा हो। स्थानीय सरकार कमजोर भएका कारणले यस्ता समस्या आइपरेका हुन्।’
चेतनाको कमीका कारण पनि क्वारेन्टिनबाट भाग्ने क्रम सुरु भएको उनी बताउँछन्। ‘राज्यका माथिल्ला तहले क्वारेन्टिनको महŒव बुझे पनि तल्लो तहमा पुगुञ्जेलसम्म सबै कुरा हराउँदै गएका छन्,’ उनी भन्छन्, ‘जब आफूले नै क्वारेन्टिनको महŒव बुझेको हुँदैन भने अरूलाई बुझाउन सक्ने कुरै आउँदैन। क्वारेन्टिनमा राखिएका धेरैलाई संक्रमितको जस्तो व्यवहार गरिएको छ। विभिन्न ठाउँबाट टे«सिङ गरेर ल्याइएका उनीहरूसम्भावित संक्रमितमात्रै हुन्।’ उनीहरूलाई संक्रमण पुष्टि नभएसम्म सम्भावित संक्रमित हो भनेर हेर्नुपर्ने डा. दीक्षित बताउँछन्। ‘तर, राज्यले यो तरिकाले छुट्याउन सकेको छैन,’ उनी भन्छन्, ‘न त स्थानीय निकायलाई बुझाउन सकेको छ। जबसम्म स्थानीय निकायले यो कुरा बुझ्दैन, उसले सुरक्षा निकायलाई पनि यो कुरा बुझाउन सक्दैन।’ स्थानीय निकायलाई राज्यले बुझाउन सके सुरक्षा संयन्त्र र नागरिक समाजलाई यस्तो कुरा बुझ्न गाह्रो नहुने उनी बताउँछन्। ‘मानिसहरूक्वारेन्टिनबाट भागेभन्दा पनि किन भागे भन्ने कारणतिर बढी जोड लगाउनुपर्छ,’ उनी भन्छन्।
क्वारेन्टिनस्थल व्यवस्थित नहुँदा कोरोनाभन्दा पनि गर्मीको यो समयमा पानीजन्य र खानाजन्य रोगबाट मानिस मर्ने सम्भावना भएको डा. दीक्षितको भनाइ छ। ‘यदि क्वारेन्टिनकोहाल यस्तै रहिरहने हो भने भोलिका दिनमा मानिस कोरोनाले भन्दा पनि झाडापखाला, हैजा, डेंगू, मलेरिया आदिले मर्ने देखिन्छ,’ उनी भन्छन्, ‘नत्र, अहिलेको जस्तो अल्लारे किसिमले अघि बढ्ने हो भने क्वारेन्टिनले समाजलाई फाइदाभन्दा बेफाइदा गर्ने देखिन्छ।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनलाई पनि क्वारेन्टिनको महŒव बुझाउन नसकिएकाले यस्ता गतिविधि भएका हुन् भन्ने लाग्छ। ‘भारतबाट आएका अधिकांश मान्छे कामदार हुन्,’ डा. पुन भन्छन्, ‘उनीहरू ‘कोरोना लाग्नेबित्तिकै मरिन्छ, अब घर जानुपर्छ’ भनेर आए।’ उनीहरूलाई क्वारेन्टिनमा बस्दा क–कसलाई फाइदा हुन्छ, परिवार, समाज र देशलाई यसले के योगदान दिन्छ भन्नेकुरा बुझाउन नसिकएको उनी बताउँछन्। ‘क्वारेन्टिनको फाइदा बुझाउन नसक्दा यो सबै भएको हो,’ उनी भन्छन्, ‘त्यस्तै, अफवाहका कारण पनि धेरै जना क्वारेन्टिनमा बस्न नमानेको अवस्था छ। क्वारेन्टिनमा बस्नु भनेको बन्दीगृहमा बसेर रोग निम्त्याउनु हो भन्ने धेरैलाई लागेको छ।’
होटेललाई क्वारेन्टिन
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीको लकडाउनले बन्द भएका होटेललाई क्वारेन्टिन बनाउनुपर्ने सुझाव छ। ‘मैले उहिलेदेखि नै होटेलका रुम क्वारेन्टिनका लागि उपयुक्त हुन्छन् भनेको थिएँ,’ उनी भन्छन्, ‘बाहिर पनि लत्ताकपडा, भाँडाकुँडा, खुवाउन–बसाउनमा सरकारको खर्च भएकै छ। सम्भावित संक्रमितलाई होटेलमा राखियो भने होटेल पनि बाँच्छ, होटेलका कामदार पनि बाँच्छन्।’होटेललाई क्वारेन्टिन बनाउनु बहुप्रभावशाली हुने उनको मत छ। ‘यसो गर्न सकियो भने तरकारीवालाले तरकारी बेच्न पाउने भयो, दूधवालाले दूध बेच्न पाउने भयो,’ उनी भन्छन्, ‘तर, यहाँ यस्तो खालको मेहनत नै गर्न नचाहने छन्। उहिले हाम्रोमा दुई सय जना कोरोना संक्रमित पनि हुँदैनन् भनेर बसे। अहिले जे कुरा पनि टारेर बस्ने मात्रै छन्।’
ठूलठूला होटेल नभए स–साना लजलाई भएपनि क्वारेन्टिन बनाएर सम्भावित संक्रमितलाई राख्न सकिने डा. मरासिनी बताउँछन्। भन्छन्, ‘त्यस्ता होटल र लज नेपालमा जति भए पनि छन्। बाहिर बिजोगले क्वारेन्टिनमा बस्नुभन्दा लजमा मान्छे धेरै व्यवस्थित तरिकाले बस्न पाउँथे। तिनलाई शौचालय र सुरक्षाको चिन्ता हुँदैनथ्यो, रोगको मात्र चिन्ता हुन्थ्यो।’यति व्यवस्था गर्न सकेसंक्रमण धेरै नफैलिनेमा उनी ढुक्क छन्। ‘होटेल वा लजलाई क्वारेन्टिन बनाए यहाँ बस्ने संख्या रिसाइकल हुँदै जान्थ्यो,’ उनी भन्छन्, ‘एउटा हूल जान्थ्यो, अर्को हूल आउँथ्यो।क्वारेन्टिन पनिअस्पतालजस्तै हुन्थ्यो। तर, यहाँ गर्नुपर्ने काम नगरेर वारिकाले वारिकालाई र पारिकाले पारिकालाई थुनेर बसेका छन्।’
मरासिनीका अनुसार जहाँ मानिसहरूको आवतजावत धेरै हुन्छ, त्यहाँ स्वास्थ्यकर्मी परिचालन गरेर चेकजाँच गर्ने व्यवस्था गरेको भए यत्तिका मानिसलाई क्वारेन्टिनमा राख्नुपर्ने स्थिति नै आउँदैनथ्यो। ‘नदी तरेर, जंगलको बाटो हप्तौँ हिँडेर विदेशिनेलाई सिमानाले कहाँ रोक्छ?’ उनी भन्छन्, ‘त्यसमाथि हाम्रोमा कुन सीमा हो, कुन होइन, केही थाहा छैन।’
क्वारेन्टिनबाट मानिस भाग्नुमा उनी दुई पक्षको कमजोरीदेख्छन्। पहिलो चेतनाको कमी र दोस्रो कमजोर व्यवस्थापन। ‘हामीले कोरोना र क्वारेन्टिनबारे मानिसलाई राम्रो सन्देश दिन सकेनौँ,’ उनी भन्छन्, ‘अहिलेको परिस्थितिमा सरकारको सूचना केन्द्र खोइ? कोरोनाबारे जनचेतना जगाउने कहाँ छन् ?’
सरकारले रेडियोबाट विदेशमा गएका नेपालीका लागि जनचेतना जगाउने सन्देश बजाउनुपर्ने डा. मरासिनी बताउँछन्। ‘पहिला रेडियो नेपालले आप्रवासी नेपालीका लागि भनेर कार्यक्रम बनाउँथ्यो,’ उनी भन्छन्, ‘अहिलेको अवस्थामा पनि उनीहरूलाई लक्ष्य गरेर जनचेतनाको अभियान चलाउनुपर्छ। वैदेशिक रोजगारीमा गएका धेरै नेपाली पढेलेखेका हँुदैनन्। विदेश जाँदा आफ्नो ट्रान्जिट कहाँ हो भन्नेसम्म थाहा नपाउने छन्। ती मान्छे अनलाइनबाट हेरेर सचेत हुन्छन् भन्दै सरकार बसेको छ।’
जेलै तोड्छन्, क्वारेन्टिनके हो र ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार खेम कार्की मानिसमा आतंक र भयव्याप्त भएकाले क्वारेन्टिनबाट भागेको बताउँछन्। ‘संसारभरि फैलिएको महामारीले गर्दा धेरै मानिस आतंकित छन्,’ उनी भन्छन्, ‘कोरोना संक्रमित भन्ने थाहापाउनेबित्तिकै समाजले हेयको दृष्टिले हेर्छ। त्यसैले उनीहरू स्वाभाविक रूपमा मानसिक तनावमा छन्। क्वारेन्टिनमा राखिएका मानिस संक्रमित नै हुन् कि भन्ने धेरैलाई लागेको हुनसक्छ। त्यसैले पनि आफूलाई सर्ला भनेर भाग्ने गरेका छन्।’
क्वारेन्टिनमा राखिएका मानिसघरपरिवारसँग भेट्न नपाएर पनि भाग्ने गरेको कार्कीको ठहर छ। ‘घरमा आएको, आमाबुबाको काखमा मर्न आएको, यस्तो अनकन्टार ठाउँमा ल्याएर राखियो भन्ने खालको मनोवैज्ञानिक सोच धेरैमा छ,’ उनी भन्छन्, ‘उनीहरूलाई पे्ररित गर्नुपर्ने आवश्यक देखिएको छ।’ उनी क्वारेन्टिनबाट मान्छे भाग्नुलाई चेतनाको अभाव ठान्छन्। ‘हुन त त्यत्रो सुरक्षा निगरानीको बीचबाट त मान्छे जेलैतोडेर भाग्छन्,’ उनी भन्छन्, ‘सामान्य सुरक्षाकर्मी खट्ने क्वारेन्टिनबाट भाग्नेको के कुरा भो र ? तर, मानिसले कुरा नबुझी भागिदिँदा क्वारेन्टिनको उद्देश्य पूरा हुँदैन।’
सल्लाहकार कार्कीलाई स्थानीय सरकारले क्षमताले भ्याएसम्म काम गरेको लाग्छ। ‘हामीलाई स्थानीय सरकारप्रति कुनै गुनासो छैन,’ उनी भन्छन्, ‘उहाँहरूले सकेसम्म गर्नुभएको छ। उहाँहरूको क्षमता, परिस्थिति, स्रोत र साधन सबैलाई हेर्दा उहाँहरूले त्यहाँभन्दा बढी गर्ने ठाउँ नै छैन।’
व्यवस्थित क्वारेन्टिनका लागि समर्पित ‘टिम’ले काम गर्नुपर्ने कार्की बताउँछन्। ‘हामीसँग भएको कमिटेड र डेडिकेटेड टिम भनेको आर्मी र पुलिस हो,’ उनी भन्छन्, ‘हामीले उनीहरूलाई यस काममा लगाएका छाँै। उनीहरू भयो भने व्यवस्थित ढंगले एक ठाउँबाट अर्को ठाउँमा मानिस लैजान पनि सकिन्छ। अन्य व्यवस्थापनमा पनि सजिलो हुन्छ। यसको मतलब क्वारेन्टिनको व्यवस्थापन नसुधार्ने, तर पुलिस लगाएर थुन्ने, तर्साउने र तह लगाउने भन्ने होइन।’
व्यवस्थापनमा देखिएका समस्याछिट्टै हल गर्दै लैजाने कार्की बताउँछन्। भन्छन्, ‘अहिले जति पनि क्वारेन्टिनमा भएका मानिस छन्, उनीहरूलाई खानेकुराको राम्रो व्यवस्था गरिएको छ। अहिलेसम्म खानेकुरालाई लिएर कुनै कम्प्लेन आएको छैन। गर्मी बढ्दै गएको र ट्वाइलेट र पानीको व्यवस्था राम्रोसँग गर्न नसकिएको गुनासो आएका छन्। त्यसलाई सुधार्ने कोसिसमा छाँै।’
प्रहरी भन्छ–न्यूनतम बल प्रयोग गर्छौं
जिल्ला प्रशासन कार्यालय, पर्सामा केही समयअघि बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले संक्रमित अस्पतालबाट भाग्न थालेपछि उनीहरूलाई नियन्त्रणमा लिन गोली हान्ने अधिकार सुरक्षाकर्मीलाई दिने निर्णय गरेको थियो। पछि निर्णय फिर्ता लिँदै अस्पतालको आइसोलेसनबाट कोही भागेमा बल प्रयोग गर्न सकिने भनेर निर्णय सच्याइयो।
नेपाल प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाही न्यूनतम बल प्रयोग सिद्धान्तअनुसार क्वारेन्टिनबाट भाग्नेलाई बल प्रयोग गरिरहेको बताउँछन्। ‘हामीले कानुनी कारबाहीका लागि नियन्त्रणमा लिँदा उनीहरूले केही प्रतिक्रिया वा प्रतिकार गरे भने नियन्त्रणमा लिनको लागि न्यूनतम बल प्रयोग गर्छौं,’ डीआईजी शाही भन्छन्, ‘हामीले संविधान र कानुनले भनेअनुसार गर्ने हो। अहिलेसम्म धेरै बल प्रयोग गर्नुपरेको छैन। धेरैलाई सम्झाइबुझाइ गर्ने गरेका छौँ।’
‘सरकारको एक कप चिया पनि पाइएन’
वीरगञ्जका ललन पटेल इनरुवाको एउटा स्कुलमा क्वारेन्टिनमा बसे। भर्खरै मात्र उनी क्वारेन्टिनबाट घर फर्किएका छन्। उनी बसेको घरमा एकजनालाई कोरोना पोजिटिभ देखिएपछि उनलाई पनि क्वारेन्टिनमा राख्न लगिएको थियो। उनीसहित त्यहाँ २५ जना क्वारेन्टिनमा बसे। ‘म त्यहाँ बसुञ्जेल सरकारको तर्फबाट एक कप चिया पनि आएन,’ टेलिफोनमा कुराकानी गर्दै उनले ‘सम्पूर्ण’सँग भने, ‘गाउँलेले जोरजम्मा गरेर क्वारेन्टिनमा खाना खुवाए। त्यहाँ जाँदा हामी आफैँले घरबाट झुल र तन्ना लिएर गएका थियौँ।’
क्वारेन्टिनमा बस्ने मानिस विभिन्न भावनात्मक अवस्थाबाट गुज्रिने मनोचिकित्सक प्रा.डा. रवि शाक्यबताउँछन्। ‘प्रायः मान्छे क्वारेन्टिनमा बस्दा निकै दुःखी भएको देख्न सकिन्छ,’ उनी भन्छन्, ‘त्यहाँ बस्नु भनेकोे संक्रमणलाई कुरिरहेको अवस्था पनि हो। त्यसैले पनि होला, मानिस अत्यन्त तनावग्रस्त र पीडादायी अवस्थामा हुन्छन्।’
डा. शाक्यका अनुसार क्वारेन्टिनमा बस्दा मन अत्तालिन्छ, राम्रोसँग सुत्न सकिँदैन। खान मन नलाग्ने,तौल घट्ने हुन्छ। यस्तो बेलामा उनीहरूलाई मनोवैज्ञानिक परामर्शसँगै चौतर्फी सहयोग आवश्यक पर्ने शाक्य बताउँछन्।
क्वारेन्टिनमा जातीय विभेद
केही समयअघि म्याग्दीको सदरमुकाम बेनीस्थित न्यू वेस्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा जातीय विभेद भएको खबर बाहिरिएको थियो। वैशाख १२ मा काठमाडौँबाट गई सोही क्वारेन्टिनमा बसेका बादल साहीले जातीय विभेद भएको भन्दै फेसबुकको स्ट्याटसमार्फत जानकारी दिएका थिए।
‘क्वारेन्टिनमा पनि छुवाछुत?कुनै निकाय छ भने त्यहाँसम्म पुगोस्’– साहीले फेसबुकको वालमा लेखेका थिए, ‘यो जातको नाममा गरिने विभेद अझै कायम रहेछ। यो संकटको समयमा सबै मिल्नुपर्नेमा अछुत भनेर गरिने व्यवहारकोे म घोर निन्दा गर्दछु।’
खाना, खाजा र पानी पिउने सवालमा विभेद हुने गरेको क्वारेन्टिनमा बस्दै आएकाले बताएका छन्। त्यस्तै, अछामको पञ्चदेवल विनायक नगरपालिकामा पनि विदेशबाट आएकालाई क्वारेन्टिनमा राख्ने विषयमा विभेद भएको खबर बाहिरिएको थियो। नगरपालिकाका प्रमुख देवराज देवकोटाले जात हेरी स्थानीयलाई क्वारेन्टिनमा राखेको भन्दै दलित समुदाय आक्रोशमा आएको थियो। विभेद संविधान र कानुनविपरीत भएको भन्दै स्थानीय दलित अधिकारकर्मीले चर्को विरोध गरेका थिए। जात हेरेर नभई विदेशबाट आउने सबैलाई क्वारेन्टिनमा राख्नुपर्ने उनीहरूको माग थियो।
पछिल्लो समय दलित र गैरदलितबीच विभेदका घटना धेरै भइरहेको नेपाल मानवअधिकार आयोगकी आयुक्त मोहना अन्सारीबताउँछिन्। हिजो समुदायमा विभेद गर्नेले नै क्वारेन्टिनमा पनि विभेद गरेको उनको बुझाइ छ। ‘क्वारेन्टिनमा भुइँमा चिया र बिस्कुट फाल्दिएर ‘उठाएर लेजाऊ’ भनेको केही दृश्य मैले मेरै आँखाले देखेँ,’ उनी सम्झन्छिन्।
कानुन कार्यान्वयन गर्ने निकायदेखि समाजसम्ममा गैरदलितको हालीमुहाली भएकाले कानुन बनेको लामो समय भइसक्दा पनि कार्यान्वयनमा नआएको अन्सारीको ठहर छ। विपत्को समयमा पनि विभेदका कुरा सुन्नुपर्दा निकै दुःख लागेको उनी बताउँछिन्। भन्छिन्, ‘विपत्को समय छ। मान्छेलाई के आवश्यकता छ, के सहयोग चाहिएको छ,बुझेर सहयोग गर्नुपर्नेमा राहतमा विभेद, क्वारेन्टिनमा विभेदका घटना हुँदा समस्या झनै बल्झिएको छ।’
क्वारेन्टिनमा विभेद गर्ने व्यक्तिलाई छिटोभन्दा छिटो कारबाहीको दायरामा ल्याउनुपर्नेमा उनी जोड दिन्छिन्। ‘महामारीको बेला छ, विभेद गरेपनि यसलाई छोडौँ भनेर माफी दिन मिल्दैन,’ आयुक्त अन्सारी भन्छिन्, ‘उनीहरूलाई कारबाहीको दायरामा ल्याएर कारबाही गर्नुपर्छ।’
कस्तो हुनुपर्छ क्वारेन्टिन ?
‘कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६’ ले क्वारेन्टिनलाई यसरी परिभाषा गरेको छः
‘क्वारेन्टिन भन्नाले कुनै रोगको संक्रमण फैलन सक्ने अवस्थालाई आकलन गरी उक्त संक्रमित इलावा वा संक्रमितको सम्पर्कमा रहेका वा आवास वा होटलमा रहेका सम्भावित जोखिम भएका व्यक्तिलाई बाह्य सम्पर्कबाट छुट्याई तोकिएको स्थान वा घरमा कम्तीमा १४ दिनसम्म अलग्गै राखिने अवस्थालाई जनाउँछ।’
सरकारको मापदण्डअनुसार क्वारेन्टिनमा यी सेवा र व्यवस्था हुनुपर्छः
–सम्भव भएसम्म शौचालयसहितको कोठा। नभए न्यूनतम प्रतिकोठा अधिकतम तीन जनाको दरले छ जनाका लागि एउटा साझा शौचालय र स्नानगृह भएको
–विद्युत, पानीलगायत आधारभूत सेवाको उपलब्धतता
–कोठाको व्यवस्थापन (प्रतिव्यक्ति ७५ वर्ग फिटको स्थान वा एक खाटदेखि अर्को खाटको बीचमा न्यूनतम दूरी साढे तीन फिट हुनुपर्ने)। ओढ्ने, ओछ्याउने र आवश्यकताअनुसार झुलसहितको खाट।
–क्वारेन्टिन स्थलमा स्वास्थ्य सामग्रीसहितको प्रतिसय जनाका लागि मेडिकल अधिकृत एक जना, स्वास्थ्य परिचारिक एक जना, प्यारामेडिक एक जना, ल्याब टेक्निसियन (आवश्यकता अनुसार) हुनुपर्ने। जसमा चौबीसै घण्टा एम्बुलेन्स पनि व्यवस्था गर्नुपर्ने।
यीलगायत अन्य धेरै व्यवस्थायस मापदण्डमा उल्लेख गरिएका छन्। तर,नेपालका अधिकांश क्वारेन्टिनस्थलमायी व्यवस्था देख्न पाइँदैन।
डब्लूएचओको मापदण्ड
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को क्वारेन्टिन व्यवस्थापन मापदण्डअनुसार क्वारेन्टिन कोठा छुट्टै बनाउन नसकेपनि कम्तीमा दुई मिटरको दूरी कायम गरेर राख्नुपर्छ। शौचालय अलग चाहिन्छ भने चिकित्सकको निगरानी र स्वस्थ खाना पनि चाहिन्छ। किनकि,क्वारेन्टिनस्थलमा राखिने अधिकांश मानिस सम्भावित संक्रमित हुन्।
क्वारेन्टिनमा उपयुक्त र पर्याप्त खाना, पानी र सरसफाइको प्रबन्ध हुनुपर्ने, संक्रमण रोकथाम तथा नियन्त्रणका न्यूनतम उपाय कार्यान्वयन गर्नुपर्ने हुन्छ।
त्यस्तै,क्वारेन्टिनमा रहेका व्यक्तिको स्वास्थ्य अवस्थाको अनुगमन तथा न्यूनतम आवश्यकता पूर्तिको सुनिश्चितता गर्नुपर्ने, क्वारेन्टिनमा रहेका व्यक्तिलाई सम्भव भएसम्म पर्याप्त रूपमा हावामा ओहोरदोहोर गर्न सक्ने खालको एकल कोठा उपलब्ध गराउनुपर्ने, मान्छेहरूबीच शारीरिक दूरी कायम हुनुपर्ने, क्वारेन्टिनमा रहेका व्यक्तिलाई बाहिर रहेका परिवारका सदस्यसँग कुराकानी र सञ्चार गर्ने प्रबन्ध मिलाउनुपर्ने, यथासम्भव इन्टरनेट, समाचार तथा मनोरञ्जनको व्यवस्था मिलाउनुपर्ने, मनोसामाजिक सहायता उपलब्ध गराउनुपर्ने र बालबालिका, अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई विशेष ध्यान दिनुपर्नेलगायत व्यवस्था हुनुपर्छ।
‘व्यक्तिको आत्मसम्मानमै प्रहार भएको छ’
प्रा.डा.रवि शाक्य, मनोचिकित्सक
क्वारेन्टिन वा आइसोलेसनमा बस्नु भनेको घरपरिवार, साथीभाइ, समाज र सिंगै संसारबाट टाढिनु हो। यसलाई गुप्तबास पनि भन्न सकिन्छ।यस्तो अवस्थामा मानिस विभिन्न भावनात्मक अवस्थाबाट गुज्रन्छन्।
प्रायः मान्छेक्वारेन्टिनमा बस्दा निकै नै दुःखी भएको देख्न सकिन्छ। क्वारेन्टिनमा बस्नु भनेकोे संक्रमणलाई कुरिरहेको अवस्था पनि हो। त्यसैले पनि होला, मानिस अत्यन्त तनावग्रस्त र पीडादायी अवस्थामा हुन्छन्।
नेपालको क्वारेन्टिनमा बस्ने अधिकांश मान्छे विदेशबाट आएका व्यक्ति हुन्। कतिपय उताबाटै डराएर आएका हुन्छन्। कोरोनाबाट भागेर आएका हुन्छन्। यस्तो अवस्थामा फेरि जबर्जस्ती भेडाजस्तै थुन्दा उनीहरूलाई डर लाग्ने, अरूप्रति शंका लाग्ने, रोग लाग्छ कि भन्ने भय हुने र‘मलाई यहाँ ल्याएर मार्न त लागेका होइनन्?’ भन्नेसम्मको सोचाइ आउन सक्छ।
एउटा केसमा एकजना विद्यार्थी ‘मलाई कोरोना लागिसक्यो’ भनेर निकै अत्तालिएकी थिइन्। उनमा मर्छु कि, परिवारै भेट्न पाउँदिन कि भन्ने शंका र डर थिए। क्वारेन्टिनमा बस्दा मन आतिन्थ्यो। राम्रोसँग सुत्न सक्दिनथिइन्। खान नसक्ने भएकी थिइन्। उनको तौल पहिलाको भन्दा निकै घटेको थियो। उनलाई मात्र होइन, थुप्रैलाई यस्ता समस्या देखिन सक्छन्।
हाम्रो समाजलेक्वारेन्टिनमा बसेका वा त्यहाँबाट निस्किएका व्यक्तिलाई अपराधी भएजस्तो गरी तल्लो स्तरको व्यवहार गर्छ।सबैभन्दा पीडादायी कुरा यही हो। ‘रोग ल्याएर हामीलाई समेत मार्ने भए, उनीहरूसँग टाढा भाग्नुपर्छ’ भन्ने समाजको साँघुरो सोचले क्वारेन्टिनमा बसेकालाई तनाव दिने काम गर्छ।
पहिला ‘विदेशबाट आयो रे’ भन्नेबित्तिकै केही ल्याइदियो कि भनेर चिने पनि, नचिने पनि, भेट्न जानेगर्थे। अब अहिले विदेशबाट आयो भन्ने सुन्न नपाउँदै शंका गरेर टाढा भाग्ने अवस्था छ। यो एकदमै चित्त दुख्ने कुरा हो। उनीहरू विदेश रहरले नभई परिवारप्रतिको जिम्मेवारीले गएका हुन्छन्।
अर्को कुरा,हामीले जुन क्वारेन्टिनको बन्दोबस्त गरेका छौँ, त्यसमा आवश्यक मापदण्ड पनि पूरा भएका छैनन्। हामी बाहिर जति ख्याल गर्छाै, त्यति सामाजिक दूरी क्वारेन्टिनमा कायम भएको छैन। त्यसमाथि क्वारेन्टिनमा बस्नेका आधारभूत आवश्यकता पनि पूरा भएका छैनन्। कतिपय ठाउँमा त शौचालय नै छैनन्। दिसा गर्नखेततिर कुद्नुपर्ने हुन्छ। यो मानिसका लागि दण्ड नै हो। यस्ता कुराले मान्छेको आत्मसम्मानमा ठूलो ठेस पुग्छ। त्यसैले पनि होला, कतिपय मान्छे क्वारेन्टिनबाट भाग्न थालेका छन्।
क्वारेन्टिनमा खाना पनि राम्रो दिएका हुँदैनन्। त्यस्तै, उनीहरू परिवारसँग भेट्न पनि निकै आतुर भएका हुन्छन्। यस्तो अवस्थामा सरकारले उनीहरूलाई परिवारसँग सम्पर्क गर्ने व्यवस्था मिलाइदिनुपथ्र्यो।
(कुराकानीमा आधारित)
‘न दूरी, न सरसफाइ’
डा. शेरबहादुर पुन, संयोजक, रिसर्च युनिट, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
अहिलेको यो अवस्था सिर्जना हुनुको कारण के हुन सक्छ भने एक त सरकारले यति धेरै संक्रमित देखिने अनुमान गरेन अथवा यो संख्यामा सक्रमण देखियोभने पनि केही उपाय गरौँला भन्नेतिर लाग्यो। तर, मानिसहरू बाहिरबाट भटाभट आए। बाहिरबाट आएकालाई सीधै समुदायमा पठाउने कुरा पनि भएन। तर, केस थपिनेबित्तिकै जुन हिसाबले व्यवस्थापन गर्नुपर्ने हो,त्यो गर्न सकिएन। त्यसैले पनि सरकारको निर्देशिकामा भनिएजस्तोक्वारेन्टिन वास्तविकतामा भएन।
मुख्यकुरो क्वारेन्टिनमादूरी नै कायम गर्ने हो। व्यक्तिगत सरसफाइमा ध्यान दिने हो। यो कुरा बाहिर सुनिए पनि क्वारेन्टिनमा व्यवहारमा लागू गर्न सकिएन। भारतबाट यति धेरै मानिस आए कि संक्रमितको संख्या यसरी बढ्ला भनेर कसैले सोचेनन्। यसरी ह्वार्र आउलान् भनेर थाहा पाउँदापाउँदै पनि स्रोतसाधनको कमीले गर्दा ठेलमठेल गरेर कोचिएर क्वारेन्टिनमा बस्नुपर्ने अवस्था आयो। यसरी उनीहरूलाई जर्बजस्ती राख्दा दूरी कायम भएन। व्यक्तिगत सरसफाइ पनि भएन। एकदुईजनालाई मात्र कोरोना भयो भने पनि १४ दिन सँगै बस्दा अरूलाई सार्ने सम्भावना भयो।
भारतबाट आएकामध्ये अधिकांश कामदार हुन्। उनीहरूलाई कोरोना के हो, कसरी सर्छ भन्ने ज्ञान नहुन सक्छ। ‘कोरोना लाग्नेबित्तिकै मरिन्छ, अब घर जानुपर्छ’ भनेर उनीहरू आए। बाहिरबाट आएका उनीहरूलाईक्वारेन्टिनमा बस्दा क–कसलाई फाइदा हुन्छ, परिवार, समाज र देशमा यसले के योगदान पु¥याउँछ भन्नेकुरा बुझाउन सकिएन। क्वारेन्टिन बस्दाका फाइदा र नबस्दाका बेफाइदा बुझाउन नसक्दा यो सबै भएको हो। त्यस्तै, अफवाहका कारण पनि धेरै क्वारेन्टिनमा बस्न नमानेको अवस्था छ। धेरैलाई क्वारेन्टिनमा बस्नु भनेको बन्दीगृहमा बसेर रोग निम्त्याउनु हो भन्ने लागेको छ।
हाम्रोमा तीन प्रकारका सरकार छन्। संघीय, प्रदेश र स्थानीय। स्थानीय सरकारले क्वारेन्टिन व्यवस्थापनमा सहयोग गर्नुपर्छ। ठाउँ उपलब्ध गराएर नियमहरू पालना गर्ने व्यवस्था गर्नुपर्छ। यस्तो बेलामा तीन सरकारको समन्वय अति आवश्यक हुन्छ। यसले अहिले मात्र होइन, भविष्यमा आइपर्ने संकट हल गर्न पनि सहयोग पु¥याउँछ।
(कुराकानीमा आधारित)
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७