यातना पाउन  कोही किन क्वारेन्टिन बसोस् ?

writer

शंकरप्रसाद खनाल

बुधबार, १४ जेठ २०७७


बाँकेका क्वारेन्टिनमा मापदण्डअनुरूप खाने–बस्ने र शौचालयको व्यवस्था छैन । यहाँका क्वारेन्टिन अमानवीय यातनाकेन्द्रमा परिणत भएका छन् । भारतबाट फर्केका नेपालीलाई भद्रगोल तरिकाले राखिएका छन् । एक जना संक्रमितले दर्जनौँलाई कोरोना सार्ने जोखिम छ । 


गत चैत ३० गते नरैनापुर गाउँपालिका– ६, भोजभगवानपुरस्थित जय किसन माविको क्वारेन्टिनमा बसेका १ सय ३४ जनालाई घर पठाउन बिदाइ कार्यक्रम हुँदै थियो । क्वारेन्टिनमा बसेकाहरू १५ दिनपछि घर फर्कन पाउँदा खुशी देखिन्थे । जिल्लामै पहिलो पटक यति धेरै जनाको एकै पटक कोरोना परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएकाले जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाह, कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठलगायत स्वास्थ्यकर्मी सबै दंग थिए । तर, गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह भने तनावग्रस्त थिए । उनले सञ्चारकर्मीसँग दुःखेसो पोखेका थिए, ‘सय जनालाई व्यवस्थापन गर्न त निकै कठिन भयो, पाँच सयभन्दा बढीले हामी मुम्बईबाट हिँडिसक्यौँ भनेर दिनदिनै फोन गर्छन् । तिनलाई कसरी व्यवस्थापन गर्ने हो ? मलाई अहिलेदेखि नै चिन्ता लागिसक्यो ।’ 

गाउँपालिकाले त्यति बेला नै जय किसन माविको छेउमा टेन्ट टाँगेर क्वारेन्टिन बनाएको थियो । शाहले चिन्ता व्यक्त गरेको महिनादिनपछि वैशाख ३० मा भारतबाट आएका ३ सय ३३ जनालाई नरैनापुुर गाउँपालिकाले एकैदिन क्वारेन्टिनमा राखेको थियोे । भोजभगवानपुरको दीपेन्द्र प्राविको क्वारेन्टिनमा राखिएका ६४ जनामध्ये छ जना र अन्य क्वारेन्टिनमा बसेका गरी आठ जनामा पहिलो कोरोना पुष्टि भएको थियो । पहिलो संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको थप परीक्षण गरिएको थियो । नरैनापुरका २५ वर्षका युवाको क्वारेन्टिनमै कोरोनाबाट मृत्यु भएको थियो । 

मटेहिया स्वास्थ्य चौकीका इन्चार्ज प्रेम बुढा दीपेन्द्र प्राविको चार वटा कोठामा सबैलाई राखिएको बताउँछन् । कोरोनाबाट युवकको मृत्यु भएपछि भने उनीहरूलाई जय किसन माविको क्वारेन्टिनमा राखिएकोे छ । नरैनापुरमा झण्डै आधा दर्जन क्वारेन्टिन त टेन्टमै छन् । यसरी बनाइएका कुनै पनि क्वारेन्टिनमा शौचालय बनाइएको छैन । एकैठाउँमा सबैलाई राखिएकाले एक जनालाई कोरोना भयो भने सबैलाई कोरोना सर्ने खतरा उत्तिकै हुन्छ । 

अधिवक्ताद्वय रामकुमार दीक्षित र विजयकुमार शर्माले नरैनापुरका १३ वटा क्वारेन्टिनलाई आधार बनाएर उच्च अदालत, तुलसीपुरमा दायर गरेको रिटमा पनि क्वारेन्टिन मापदण्डअनुसार नभएकाले ‘स्वास्थ्य उपचार, जीवनजल नै खान नपाएर एक जनाको अकालमै निधन भएको’ जिकिर गरिएको छ । 

क्वारेन्टिनमा मापदण्डअनुरूप खाने, बस्ने, शौचालयसमेतको व्यवस्था नहुनुका साथै सामाजिक दूरी पालन नगरिएको, क्वारेन्टिन अमानवीय यातनाकेन्द्रमा परिणत भएको उल्लेख छ । त्यस्तै, क्वारेन्टिनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत बस्ने व्यवस्था छैन । नुहाउने ठाउँ, शौचालयको व्यवस्था छैन । क्वारेन्टिनमा बसेकाले खेतलाई शौचालयका रूपमा प्रयोग गरिरहेको दीक्षित र शर्माको रिटमा उल्लेख छ । 

क्वारेन्टिन मापदण्डअनुसार नभएको नरैनापुुर गाउँपालिका स्वीकार गर्छ । नरैनापुरका सूचना अधिकारी लक्ष्मीकान्त शर्माका अनुसार गाउँपालिकाभरि १५ वटा क्वारेन्टिनमा झन्डै आठ सय जनालाई राखिएको छ । हरेक क्वारेन्टिनमा औसत ५० जनाभन्दा बढीलाई राखिएको छ । ‘हामीसँग जे जस्तो भौतिक पूर्वाधार छ,’ शमाले भने, ‘त्यसैलाई प्रयोग गरेका छौँ । भारतबाट आएकाले घरपरिवारमा कोरोना सार्ने खतरा थियो । त्यस जोखिमलाई टारेका छौँ ।’ 

नरैनापुरमा मात्र होइन, बाँके जिल्लामैै अधिकांश स्थानीय तहमा भारतबाट आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्दा मापदण्ड पूरा भएको पाइँदैन । बाँकेका प्रमुख जिल्ला अधिकारीलगायत सबै सुरक्षा अधिकारीको समन्वयमा भएको व्यवस्थापनमा पनि भारतबाट आउने व्यक्तिलाई एउटै ठाउँमा भद्रगोलसँग राख्ने गरिएको छ । नेपालगञ्जका पहिलो कोरोना संक्रमितलाई पनि महेन्द्र बहुमुखीको एउटै कोठामा धेरै जनासँग राखिएको थियो । केही दिनअघि मात्र भारतको नानपारास्थित क्वारेन्टिनबाट स्वदेश फिर्ता आएका ६ सय ८७ जनालाई भन्सार कार्यालयको टहरामुनि एउटै ठाउँमा राखिएको छ । त्यहाँ सामाजिक दूरी कायम हुने सम्भावना छैन । एक जना व्यक्तिमा कोरोना संक्रमण भयो भने सबै संक्रमित हुने जोखिम छ । 

बाँकेमा निकै व्यवस्थित रूपमा सञ्चालन गरिएको नेपालगञ्जको क्वारेन्टिन पनि मापदण्डअनुरूप थिएन । भारतबाट आएका १ सय ८१ जनालाई दशगजामा रहेको सुख्खा बन्दरगाह क्षेत्रमा ४५ वटा टेन्टमा राखिएको थियो । उनीहरूले प्रयोग गर्ने घुम्ती शौचालय जम्मा दुइटा मात्र थिए । घर फर्कंदासम्म उनीहरू सबैको आरडीटी परीक्षणको रिपोर्र्ट नेगेटिभ आएको थियो । तर, एक जनामा मात्र कोरोना संक्रमण भएको भए, धेरैलाई कोरोना सर्ने खतरा थियो । 

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार आइतबारसम्म जिल्लाका आठ स्थानीय तहमा ६० वटा क्वारेन्टिन बनेका छन् । श्रेष्ठ भन्छन्, ‘हरेक दिन क्वारेन्टिनको संख्या थपिएको थपिएकै हुन्छन् ।’ यसरी बनेका र थपिएका क्वारेन्टिन मापदण्डअनुरूप छैनन् । जिल्ला समन्वय समिति, बाँकेले जिल्लाका क्वारेन्टिनको अनुगमन गर्दा पनि यो कुरा पाएको छ । समिति सदस्य चेतबहादुर घर्ती भन्छन्, ‘जिल्लामा एउटै पनि क्वारेन्टिन डब्लूएचओको मापदण्डअनुसार बनेको छैन ।’ 

रेड जोन बाँके 

नेपालका कुल कोरोना भाइरस (कोभिड–१९) का संक्रमितमा एकचौथाइ बाँके जिल्लाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिहानसम्म देशका ४१ जिल्लामा ५ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि गरेकोमा बाँकेका मात्रै १ सय ४३ जना छन्, जुन नेपालका कुल संक्रमितमध्ये २४.४८ प्रतिशत हुन आउँछ । 

प्रदेश ५ का कुल संक्रमितमध्ये आधाभन्दा बढी बाँकेकै छन् । आइतबार बिहानसम्म प्रदेश ५ मा २ सय ७१ जना संक्रमित रहेकोमा बाँकेका ५२.७६ प्रतिशत पुगेका छन् । बाँकेमा भने कुल संक्रमितमध्ये ८० प्रतिशत नरैनापुर गाउँपालिकाका छन् । नरैनापुरमा मात्र आइतबार बिहानसम्म १ सय १४ जना संक्रमित पुगेका छन् । जेठ २ गते नरैनापुरमा सुरुमा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आठ दिनमा यहाँ १ सय १४ जना संक्रमित पुगेका हुन् । यीमध्ये एक जना २५ वर्षका युवाको मृत्यु भइसकेको छ । अझैै केही स्वाबका नमुनाको रिपोर्ट आउन बाँकी नै छ । 

शनिबार एकैदिन नरैनापुरका २७ जनामा कोरोना संक्रमण भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको भिडियो पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले गरेका हुन् ।  जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशालामा नरैनापुरका ३ सय ५२ थ्रोट स्वाबका नमुना परीक्षण गरिएको थियो । 

बाँके जिल्लाका चार स्थानीय तहमा कोरोना संक्रमित फेला परेका छन् । नेपालगञ्ज उपमहानगरपालिकामा २५ जनामा कोरोना पुष्टि भएको थियो । क्यान्सर अस्पतालको आइसोलेसनबाट शुक्रबार २१ जना निको भएर घर फर्किसकेका छन् । त्यसै गरी, खजुरा गाउँपालिकामा स्वास्थ्यकर्मीसहित दुई जना र राप्ती सोनारी गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको छ ।  

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि