क्वारेन्टिनको पहिचान : कोचाकोच र अपमान

writer

लक्ष्मण पोखरेल/बुटवल

बुधबार, १४ जेठ २०७७


प्रचण्ड गर्मीमा एउटा कोठामा १० जनासम्म बस्नुपर्छ । मुश्किलले दुई छाक खान पाइन्छ । त्यसमाथि सरोकारवाला निकायबाट पशुलाई जस्तो व्यवहार गरिन्छ । क्वारेन्टिनमा बस्ने भन्छन्– कोचाकोच र अपमान प्रदेश ५ का क्वारेन्टिनहरूको पहिचान भएको छ । 

क्वारेन्टिन कोरोना भाइरस संक्रमणको जोखिममा रहेकालाई राख्ने स्थान हो । संक्रमित क्षेत्रबाट आएकालाई लक्षण कुर्दा वा परीक्षण नगरिँदासम्म न्यूनतम १४ दिन अलग्गै राख्नुपर्ने विश्वव्यापी मान्यता छ । तर, नेपालमा कोरोना संक्रमितमा कुनै लक्षण छैन । तसर्थ क्वारेन्टिनमा बस्दैमा कोरोना लागेको पत्ता लगाउन सकिँदैन । पत्ता लगाउनका लागि परीक्षण नै एक मात्र उपाय हो । 

दैनिक बढीमा तीन सय जनाको पीसीआर विधिबाट कोरोना परीक्षण हुने गरेको प्रदेश ५ मा करिब २० हजार जना परीक्षणको दायरामा छन् । तीमध्ये १५ हजारजति नागरिक क्वारेन्टिनमै छन् । संक्रमण देखिएका करिब तीन सय जनाको सम्पर्कमा रहेकाको परीक्षण पनि गर्नु छ । चिकित्सक, सुरक्षकर्मी पनि जोखिममै छन् । 
कोरोना परीक्षण गतिले क्वारेन्टिनमै बसेकाले पालो पाउनका लागि पनि महिनौँ कुर्नुपर्ने देखिन्छ । दु्रत परीक्षण किट उपयोग गरे पनि महिनादिन लाग्ने नै छ । अव्यवस्थित क्वारेन्टिनमा महिनादिनसम्म कोही बस्यो भने सबै जनामा संक्रमण फैलिन्छ । त्यसको प्रत्यक्ष उदाहरण हो, बाँकेको नरैनापुर । त्यहाँ आइतबार बिहानसम्म एउटै पालिकामा १ सय १४ जनालाई कोरोना संक्रमण भएको छ । ती संक्रमित एउटै क्वारेन्टिनमा बसेका धेरै छन् । संक्रमण देखिएपछि पनि एउटै कोठामा सुताउँदाको परिणाम हो यो । अब त्यस्तै अवस्था कपिलवस्तुमा सुरु भएको छ ।

कोरोना महामारीसँगै देशभर क्वारेन्टिन बने । त्यसका लागि संघीय सरकारले मापदण्ड बनायो । १६ बुँदे मापदण्डअनुसार क्वारेन्टिन बन्ने र सुविधा हुने हो भने आइसोलेसन अस्पतालभन्दा पनि ती उच्च स्तरका हुन्छन् ।

प्रदेश ५ का सीमावर्ती जिल्लाका क्वारेन्टिन भने मापदण्डको ठीक विपरीत छन् । क्वारेन्टिन नै कोरोना संक्रमणको जोखिम बनेको छ । त्यसको उदाहरण नरैनापुरको क्वारेन्टिन हो । नरैनापुर गाउँपालिका–५, भोजभगवानपुरको दीपेन्द्र प्राविको क्वारेन्टिनमा चार दिनमा २३ जनालाई कोरोना संक्रमण भयो । एक जना युवाले  ज्यानै गुमाउनुप¥यो । उनको मृत्युपछि त्यहाँ बसेकाले विरोध गरे । उनीहरूलाई वडा नं. ६ को जयकिसन माविको क्वारेन्टिनमा सारियो । अर्काे दिन त्यही क्वारेन्टिनमा बसेका थप १७ जनामा कोरोना पुष्टि भयो । 

हालत खराब छ

कपिलवस्तुमा उस्तै खराब हालत छ । प्रदेश ५ मा सबैभन्दा धेरै व्यक्ति क्वारेन्टिनमा बसेको कपिलवस्तु हो । करिब नौ हजार मानिस विद्यालयका कक्षाकोठामा रात काटिरहेका छन् । त्यहा संक्रमित र संक्रमण नभएका समेत छन् ।

कपिलवस्तुमा संक्रमितहरू दुई दिनसम्म पनि विद्यालयकै कक्षाकोठामा थिए । उनीहरूलाई अन्य व्यक्तिबाट समेत छुट्याइएन । प्रदेशमा रहेका आइसोलेसन अस्पताल भरिएपछि संक्रमितलाई राख्ने स्थान अभाव भएको छ । चिकित्सकको निगरानीमा पोषिलो खाना खाएर बस्नुपर्ने संक्रमितहरू विद्यालयकै कक्षाकोठामा अलपत्र परेका छन् ।
आइसोलेसन वार्ड व्यवस्थापन नभएका कारण महाराजगञ्ज नगरपालिका–९, तेनुवाका आठ जना स्थानीय बासिन्दालाई गाउँकै मदरसामा क्वारेन्टिनमा राखिएको थियो । उनीहरूलाई ४२ घण्टासम्म संक्रमित र अन्य सर्वसाधारणसँग एउटै ठाउँमा राखियो । 

मायादेवी गाउँपालिका–४, सानो गौरास्थित जनता प्राविमा सात जना संक्रमित र सोही गाउँपालिकाको बलुहवा गाउँस्थित जनता माविमा पाँच जना संक्रमितलाई राखिएको छ । संक्रमित पुष्टि भएकालाई विद्यालयमा राखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक महेन्द्र यादवले बताए । ‘पकडीस्थित तैवा हस्पिटलमा निर्माण गर्न लागिएको आइसोलेसन वार्ड तयार भएपछि संक्रमितहरूलाई त्यहाँ सारिन्छ,’ उनले भने । 

कपिलवस्तु नगरपालिका–१२ मा ६४ जनामा आरडीटी गर्दा ११ जनामा कोरोना पोजिटिभ भेटियो । उनीहरूलाई व्यवस्थापन गर्न समस्या भएको वडा अध्यक्ष ओमप्रकाश पाण्डेयले बताए । उनीहरूलाई अलग्गै राख्न, हेरचाह गर्न, खानपिन र अन्य बन्दोबस्त मिलाउन आफूले नगरप्रमुखलार्ई खबर गरे पनि नगरपालिकाबाट केही सहयोग नभएको उनले गुनासो गरे । ‘खाना तथा आफूलाई आवश्यक अन्य सामग्री घरैबाट ल्याउने गरी जेनतेन सुत्नका लागि कोठा उपलब्ध गराएका छौँ,’ वडा अध्यक्ष पाण्डेयले भने, ‘अरू कुनै सेवा र सुविधा दिन सकेका छैनौँ । न त सतर्कता नै अपनाउन सकेका छौँ । हालत खराब छ ।’ 

कपिलवस्तुमा संक्रमित भएका सञ्चारकर्मीले सरकारी निकायबाट सोधीखोजीसमेत नभएको बताए । ‘पोजिटिभ नतिजा आयो, कहाँ जाऊँ, कता जाऊँ हुन्छ,’ ती सञ्चारकर्मीले भने, ‘सरकारी निकायबाट वास्तै गरिएन ।’ 

पशुलाई जस्तो व्यवहार     

तराईमा चर्काे गर्मी छ । प्रायः क्वारेन्टिन विद्यालयका कक्षाकोठामा छन् । टिनको छानामुनि बिछ्याइएको म्याटमा सुत्नुपर्छ । खाट छैन । झुल नहुँदा राति लामखुट्टेले टोकेर हैरान ! भारतबाट फर्केका एक जनाले ‘सम्पूर्ण’सँग टेलिफोनमा भने, ‘हामीलाई पशुलाई जस्तो व्यवहार गरिन्छ । सधैँभरि एउटै किसिमको खाना दिन्छन् । खाए खा, नखाए घिचजस्तो गर्छन् । कुकुरलाई जस्तो व्यवहार गर्छन् । खाना फ्यात्त फाल्दिन्छन् । कोचाकोच र अपमान क्वारेन्टिनको पहिचान भएको छ ।’ भारतबाट उद्धार गरी भैरहवाको क्वारेन्टिनमा राखिएका नेपालीहरूको साझा अवस्था होे यो ।

सरकारले क्वारेन्टिनमा स्वास्थ्यसम्बन्धी व्यवस्था लागू गर्न निर्देशन दिए पनि यस क्षेत्रका क्वारेन्टिन अस्तव्यस्त छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेका १६ वटा बुँदामध्ये अधिकांश बुँदालाई स्थानीय तहले बेवास्ता गरेका छन् ।

भैरहवाका दुई वटा क्वारेन्टिनमा भारतबाट ल्याइएका नेपाली नागरिकलाई राखिएको छ । ‘क्वारेन्टिनमा राखेदेखि कसैले वास्तै गर्दैनन्,’ भारतबाट उद्धार गरी क्वारेन्टिनमा राखिएका नुवाकोटका विजय थापामगरले टेलिफोनमा भने, ‘सधैँ त्यही तरकारी र भात दिन्छन् । भारतीय क्वारेन्टिनमा हुँदा बरु राम्रो व्यवस्था थियो । कम्तीमा के छ, कसो छ, सोध्न त आउँथे । यहाँ त कोही पनि सोध्न आउँदैन । खाजा भनेर बिस्कुट दिन्छन् । त्यो पनि टाढैबाट फालेर जान्छन् । कुकुरलाई जस्तो व्यवहार गरिरहेका छन् ।’ 
भारतबाट नेपालीलाई ल्याइएपछि एउटा कोठामा १५ जना राखिए पनि अहिले केहीलाई सम्बन्धित जिल्लाको क्वारेन्टिनमा पठाउँदा संख्या बिस्तारै घट्दै गएको छ । क्वारेन्टिनमा कसैले अनुगमन नगर्दा स्थानीय तहहरू मनमौजी गरिरहेका छन् ।

सरकारले जारी गरेको स्वास्थ्यसम्बन्धी व्यवस्था क्वारेन्टिनमा लागू गर्न नसकिएको सिद्धार्थनगर नगरपालिकाका प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले स्वीकार गरे । ‘स्वास्थ्य मन्त्रालयले भनेजस्तो सबै कहाँ गर्न सकिन्छ र ?’ उनले भने, ‘बजेट, जनशक्ति र स्थानको अभाव रहेको अवस्थामा सबै गर्न नसकिए पनि अरू पालिकामा भन्दा कमजोर व्यवस्थापन भने छैन ।’

मापदण्डअनुसार कोठामा सात फिटको अन्तरमा बेड तयार गरी दुई जनासम्म राख्नुपर्ने व्यवस्था छ । तर, जिल्लाका अधिकांश क्वारेन्टिनमा एउटै कोठामा १० जनाभन्दा बढी मानिस राखिएका छन् । 

कपिलवस्तुमा सबैभन्दा धेरै व्यक्ति क्वारेन्टिनमा बसेका छन् । एउटै पालिकामा १६ सय जनासम्म छन् । सीमा क्षेत्र नजिकैका विद्यालयहरूमा एउटै कोठामा १० जनाभन्दा बढीलाई राखिएको छ । महाराजगञ्ज नगरपालिका–७, गगौडामा क्वारेन्टिन बस्नुपर्ने सर्वसाधारण बगैँचामा खटिया राखेर बसेका छन् । १० वटा खटियाहरू सँगै जोडिएको अवस्थामा राखेर उनीहरू बस्ने गरेको र सामाजिक दूरी कायम नगरेको नगरपालिकाका एक स्वास्थ्यकर्मीले बताए । नगरपालिका क्षेत्रभित्र ४८ वटा क्वारेन्टिनमा १ हजार ६ सय ३२ जना छन् । सबै क्वारेन्टिनमा प्रहरी  नहँुदा क्वारेन्टिनमा बस्नेहरूले मनोमानी गर्ने, त्यहीँ आफन्तसँग भेटघाट गर्ने र घरबाट मगाएर खाना खानेजस्ता काम पनि गरिरहेका छन् । 

अवलोकन तथा अनुगमन गर्दा कपिलवस्तुका क्वारेन्टिन मापदण्डअनुसार नभएको प्रदेश ५ स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले बताए । ‘यहाँका क्वारेन्टिनमा मुख्यतः सामाजिक दूरी कायम गरिएको छैन,’ उनले भने, ‘एक जना संक्रमितले क्वारेन्टिनका अधिकांशलाई संक्रमण फैलाउने अवस्था छ ।’ 
क्वारेन्टिनमा रहेकाले अनिवार्य रूपमा मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्छ । तर, यहाँका क्वारेन्टिनमा सबैले त्यसो गरेको देखिँदैन । क्वारेन्टिनमा बसेकालाई दिनको चियासमेत गरेर चार पटक पोषिलो खानेकुरा खुवाउनुपर्छ, तर अधिकांशले दुई छाक खान पनि मुश्किलले पाएका छन् । कपिलवस्तुमा मात्रै ७ हजार ६ सय १ जना व्यक्ति क्वारेन्टिनमा छन् । 

कहिले आउला पालो ?
प्रदेश ५ का तराईका छ वटै जिल्लामा कोरोना संक्रमण छ । भारतबाट पछिल्लो १५ दिनमा भित्रिएकामध्ये १९ हजार ९६ जना क्वारेन्टिनमा छन् । भारतबाट आउनेमै कोरोना संक्रमण देखिएपछि सबैको परीक्षण गरिनेछ । तर, ती कहिलेसम्म क्वारेन्टिनमा बसिराख्ने हुन्, टुंगो छैन । 

प्रदेशमा तीनटा प्रयोगशाला छन् । यहाँको स्वाब काठमाडौँ लगेरसमेत परीक्षण गरिएको छ । यति गर्दा पनि दैनिक १ सय ५० देखि तीन सयसम्मको मात्रै परीक्षण हुन्छ । जेठ १० गतेसम्म ६ हजार ७ सय २७ जनाको परीक्षणमा २ सय ७७ जनामा कोरोना भेटिएको छ । एक जनाले क्वारेन्टिनमै र एक जनाले अस्पतालमा ज्यान गुमाएका छन् ।
क्वारेन्टिनमा १४ दिन बस्दा पनि कोरोना परीक्षण नभएपछि भाग्नेहरू बढ्दै गएका छन् । भारतबाट आएकामध्ये सबैभन्दा धेरै कपिलवस्तुमा छन् । एउटै पालिकामा १५ सय जनासम्म क्वारेन्टिनमा बसेका छन् । तराईको चर्को गर्मीमा पंखासमेत नभएका विद्यालयका कक्षाकोठामा बसेकाहरू भागेका हुन् ।

बाँकेको नरैनापुरमा एक जनाको मृत्यु भएपछि क्वारेन्टिनमा बस्नेहरू झन् त्रासमा छन् । एक जनाबाट अर्काेमा रोग संक्रमण हुने जोखिम त छँदै छ, रोगै पत्ता नलागी मरिन्छ कि भन्ने चिन्ता पनि उनीहरूमा थपिएको छ । ‘छिटो चेकजाँच ग¥यो भने बाँचिन्थ्यो होला,’  कपिलवस्तुको यशोधरा गाउँपालिकाको क्वारेन्टिनमा बसेका एक जना व्यक्ति भन्छन्, ‘न यहाँको बसाइ राम्रो छ, न चेकजाँचै भएको छ ।’ यहीँको क्वारेन्टिनमा बसेका ४५ जना यही डरले भागेका थिए । 

प्रदेश ५ का नवलपरासी, रूपन्देही, कपिलवस्तु, बाँके र बर्दियामा भारतबाट आएका नेपालीको संख्या धेरै छ । परीक्षण नहुँदा क्वारेन्टिनमा कतिञ्जेल बस्ने भन्ने अन्योल भएको छ । सबै जना परीक्षणको पालो कुरेर बसेका छन् । 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि