महिनावारी सरसफाइ दिवस भनेको के हो ?

writer

डा. सुमनराज ताम्राकार

बुधबार, १४ जेठ २०७७


केही वर्षयता महिनावारी सरसफाइ दिवस भनेको सुनिन्छ । यो भनेको के हो ?
एम, काठमाडौँ

महिनावारीसम्बन्धी भ्रम चिर्न, अन्धविश्वास हटाउन र स्वस्थ महिनावारी व्यवस्थापनबारे जनचेतना जगाउन सन् २०१४ देखि प्रत्येक वर्ष मे २८ लाई महिनावारी सरसफाइ दिवसका रूपमा मनाउन थालिएको हो । मे पाँचौँ अंग्रेजी महिना भएको र बढीजसो महिलाको मासिक चक्र २८ दिनको हुने भएकाले मे २८ मा प्रतीकात्मक रूपमा यो दिवस मनाउन थालिएको हो । महिनावारीको बेला महिनावारी सरसफाइसम्बन्धी जनचेतना बढाई यस वर्ष ‘काम गर्ने बेला हो’ भन्ने नाराका साथ महिनावारी सरसफाइ दिवस मनाइँदै छ । 

महिनावारी सामान्यतः स्वस्थ जैविक प्रक्रिया हो । महिलाको जननेन्द्रियबाट प्रत्येक महिना रगत निस्कने प्रक्रियालाई महिनावारी, मासिक स्राव, मासिक धर्म वा रजस्वला भन्ने गरिन्छ । किशोरी अवस्थामा पुगेपछि प्रत्येक महिना पाठेघरको छेउमा रहेको डिम्बाशयमा रहेका डिम्ब परिपक्व हुँदै मासिक चक्रको मध्यतिर एउटा डिम्ब निष्काशन भई डिम्बवाहिनी नली हुँदै पाठेघरमा पुग्छ । यसका लागि डिम्बाशयबाट उत्पादन हुने इस्ट्रोजेन नामक हर्मोनको मुख्य भूमिका हुन्छ । यसै हर्मोनको प्रभावले पाठेघरको भित्री तह पनि बाक्लिँदै जान्छ । मासिक चक्रको दोस्रो भागमा प्रोजेस्टेरोन नामको अर्को हर्मोनले थप बल प्रदान गर्छ । तर, डिम्ब निष्कासन भइसकेपछि कारणवश शुक्रकीटको संसर्गमा नआई गर्भ नरहेमा प्रोजेस्टेरोन हर्मोन उत्पादन हुने प्रक्रिया कम हुँदै जानुका साथै पाठेघरको भित्री तह भत्किन सुरु हुन्छ, जुन महिनावारीका रूपमा योनिमार्ग हुँदै शरीरबाट बाहिर निस्किन्छ । 

पछिल्लो समयमा पौष्टिक खानेकुराको उपलब्धताका साथै आधुनिक सञ्चार माध्यमको प्रभावले १०–११ वर्षकै उमेरमा महिनावारी प्रक्रियाको सुरुवात हुन थालेको छ । तर, सन् २०१४ मा भारतमा गरिएको एक अध्ययनअनुसार करिब ४२ प्रतिशत सहभागीलाई महिनावारी कसरी सुरु हुन्छ र स्यानिटरी प्याड भनेको के हो थाहै छैन । प्रत्येक दिन विश्वभरिका करिब ८० करोड १५ देखि ४९ वर्ष उमेर समूहका किशोरी तथा महिलालाई रजस्वला भइरहेको हुन्छ । अधिकांश महिलाले आफ्नो जीवनको छसात वर्ष त रजस्वलामै बिताउँछन् । रजस्वलासम्बन्धी विषयको गहिराइ यति धेरै छ । एकातिर महिनावारीलाई लिएर विश्वभरि पाँच हजारभन्दा बढी अपशब्द प्रयोग गर्ने गरिएको छ, अर्कातिर इरानका आधाजसो महिला तथा भारतका करिब १० प्रतिशतलाई महिला महिनावारीलाई रोगका रूपमा लिने गरिन्छ ।

महिनावारी भएका बेला पँधेरामा पानी लिन जान नहुने, मन्दिरमा जान नहुने, पूजाआजामा सहभागी नगराइने, भान्छा एवं भण्डारकोठामा पस्न नहुने चलन गाउँघरमा मात्र नभई शहरमा पनि अझै छ । सुदूर तथा मध्य पश्चिममा प्रचलित छाउपडी पनि महिनावारीसम्बन्धी अस्वस्थ एवं असामाजिक कार्य हो ।

महिनावारी भनिए पनि महिनावारी चक्र जहिले पनि प्रत्येक ३०–३० दिनमै हुन्छ भन्ने छैन । सामान्यतः २१ देखि ३५ दिनसम्ममा हुने महिनावारीलाई सामान्य मान्न सकिन्छ । तर, महिनावारी हुने समय विशेष परिस्थितिअनुसार परिवर्तन भइरहन सक्छ । अत्यधिक मानसिक पीडा, थकान, लामो यात्रा, हावापानी, वातावरण फेरिँदा पनि महिनावारीको समयमा परिवर्तन आउन सक्छ । तर, स्वस्थ महिलाको महिनावारी रोकिने प्रमुख कारण चाहिँ गर्भावस्था हुन सक्छ भन्ने हेक्का राख्नुपर्छ । कुनै–कुनै महिलामा अत्यधिक कुपोषण वा रक्तअल्पता भए पनि महिनावारी रोकिन सक्छ । यसका साथै तीनमहिने सुई (डिपोप्रोभेरा), नरप्लान्टजस्ता गर्भनिरोधका साधनका कारण पनि महिनावारी गडबड हुन सक्छ । सुत्केरी भएपछि बच्चालाई दूध खुवाउने महिलालाई पनि लामो समयसम्म महिनावारी नहुन सक्छ । 

महिनावारी हुँदा र हुनुअगावै पनि किशोरी तथा महिला विशेषलाई अनेक थरी समस्या आइपर्छन् । खुट्टा कटकटी खाने, टाउको दुख्ने, ढाड दुख्ने, स्तन भारी भएजस्तो हुने, डन्डीफोर आउने, तल्लो पेट दुख्ने, वाकवाकी लाग्ने हुन सक्छ । कतिपय महिलालाई भने महिनावारीअगावै रिस उठिरहने, जे कुरामा पनि झर्को लाग्ने, काम गर्न अल्छी लाग्ने हुन्छ । यसलाई महिनावारी हुनुभन्दा अगाडिको तनावका रूपमा लिइन्छ । मुख्य कुरा, महिनावारीको बेला रोगसँग लड्न सक्ने क्षमतामा पनि ह्रास आइरहेको हुन्छ । रजस्वलाका बेला यथोचित् सररसफाइ गरिएन भने जननेन्द्रियमा नकारात्मक असर पुग्न सक्छ । त्यसैले पनि महिनावारीको बेला सरसफाइमा बढ्ता ध्यान दिइनुपर्छ । 

एक अध्ययनअनुसार विकासोन्मुख राष्ट्रका स्कुले छात्रा यसकै कारण महिनामा सरदर पाँच दिन स्कुल छुटाउँछन् । शौचालयमा साधारण खालको छुट्टै बाल्टिन नभएका कारण प्रयोग गरिएका स्यानिटरी प्याड वरिपरि छरिएर वातावरणै प्रदूषित हुने र यसका कारण किशोरीहरूको बेइज्जती हुने गरेको छ । बंगलादेशमा सञ्चालित विद्यालय स्तरीय स्वस्थ रजस्वला सामग्रीसहितको स्यानिटरी कार्यक्रमले पनि छात्राहरूको स्कुल हाजिरीमा सकारात्मक प्रभाव देखिएको थियो । पछिल्लो समय किशोरीको लागि स्कुल, कलेज र कतिपय कार्यस्थलमा महिनावारीको बेला सफा शौचालय, सफा पानी, हात तथा यौनांग धुन साबुन, सफा स्यानिटरी प्याड उपलब्ध हुन थालेदेखि महिनावारीकै कारण स्कुल छुटाउने कार्यमा कमी आउन थालेको छ । तर, विश्वव्यापी तवरमा एकतिहाइ स्कुले किशोरी सुविधाजनक शौचालयको पहुँचमा छैनन् । 

महिनावारीलाई महिलाको अपवित्र अवस्थाका रूपमा लिने चलन धेरै समुदायमा छ । महिनावारी सुरु हुनु भनेको महिलाको प्रजनन क्षमता परिपक्व हुनु र उनी गर्भावस्थाका लागि तयार हुनु पनि हो । प्रकृतिको सामान्य नियम नबुझेरै महिनावारी हुँदा कतिपय खानेकुरा खान प्रतिबन्ध लगाउने र तिनलाई बेग्लै राख्ने चलन हामीकहाँ व्याप्त छ ।
नेपालका कतिपय समुदायमा पहिलो पल्ट महिनावारी हुँदा किशोरीलाई अँध्यारो कोठामा राख्ने, पुरुषलाई छुन नहुने, हेर्न नहुने चलन छ । यो राम्रो चलन होइन । अभिभावकले आफ्ना सन्तानलाई महिनावारीबारे सही जानकारी दिनुपर्छ । त्यसैले त कतिपय किशोरी पहिलो पल्ट महिनावारी सुरु हुँदा रुने, कराउने र आत्तिने गर्छन् । उनीहरूलाई आफ्नो यौनांगको सरसफाइ कसरी गर्ने, कस्तो प्याड लगाउने वा कपडा प्रयोग गर्ने भन्ने सामान्य जानकारीसम्म हुँदैन । त्यसैले यस्तो बेला लाजले र यौनांग कसरी सफा राख्ने भन्ने थाहा नपाउनाले धेरै किशोरीले संक्रमणको पीडाबाट गुज्रिनुपर्ने हुन्छ । महिनावारी हुँदा धेरै रगत बाहिर आएन भने यो रगत मुटुमा जान्छ र त्यहाँ जमेर मुटुको रोग लाग्छ भन्ने कुरा सत्य होइन । यस्ता भ्रम थुप्रै छन् । 

महिनावारीमा महिलाले प्रत्येक चार घण्टामा प्याड वा ट्याम्पुन फेर्नुपर्छ । पुनः प्रयोग गरिने कपडा वा प्याड राम्ररी धोइपखाली गरी सफा राख्नुपर्छ । प्रत्येक पटक कपडा वा प्याड फेर्नुअघि नरम खालको साबुन र पानीले यौनांग सफा गर्नुपर्छ । एकैपटक दुइटा प्याड प्रयोग गर्नु राम्रो होइन । यसले चार घण्टाको अन्तरालमा प्याड फेर्नुपर्ने कार्यमा कमी ल्याई ब्याक्टेरिया वा ढुसीजन्य संक्रमणलाई बढावा दिन्छ । महिनावारीको बेला प्याड वा ट्याम्पुन प्रयोग गरेपछि सजिलो एवं सफा प्यान्टी लगाउने गर्नुपर्छ । 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट