कोरोनाले उप्काइदिएको पूर्वगोर्खाको व्यथा

writer

कृष्णप्रसाद शर्मा/लन्डन

शुक्रबार, ०९ जेठ २०७७


बेलायतमा कोभिड–१९ का कारण ४९ जना पूर्वगोर्खा सैनिकको निधन भएको छ। पूर्वगोर्खाहरूलाई भाषाको समस्या, एक्लोपन आदिका कारण बेलायत बसाइ कष्टकर भइरहेको छ। महामारीले उनीहरूको व्यथा झन् बढाइदिएको छ।


पोखरा, मुस्ताङ चोकको घर सिन्कीको भाउमा बेचेर सन् २०१२ मा बेलायत पसेकी ६७ वर्षीया कान्छीमाया पुन आठ वर्ष लन्डनको नर्थहोल्टमा बसिन्। केही वर्षअघि श्रीमान् गुमाएकी उनको बुढेसकालका सहारा सन्तान सबै नेपालमै छन्। उनले यहाँ भोगेका दिन निकै कठिन छन्। अस्पताल जानुप¥यो भाषाको समस्या। दोभाषे सधैँ पाइँदैन। लन्डनको व्यस्त जीवनमा कोसँग सहयोग मागिरहनु ? यही हैरानीका कारण  दुई महिनाअघि उनले सधैँका लागि नेपाल जाने निधो गरिन्। साथीभाइको सहाराले यहाँको अध्यागमन कार्यालयमा निवेदन दिइन्। स्वेच्छाले स्वदेश फर्किन चाहनेका लागि अध्यागमन विभागमा ‘भोलन्टरिली रिटर्न सर्भिस’ सञ्चालनमा छ। सोही कार्यक्रमको सहायताले उनी नेपाल फर्किन्। 

‘भोलन्टरिली रिटर्न सर्भिस’मा रहेका केही मापदण्ड पूरा भएपछि स्वदेश पठाइने व्यवस्था छ। नेपाल जान जहाजको टिकट निःशुल्क दिन्छ भन्ने सुनेर निवेदन दिएकी कान्छीमाया बेलायतमा लकडाउन हुनुभन्दा एक हप्ताअघिमात्र घर पुगिन्। पहिले सधैँ ‘म यहाँ मरेँ भने पनि लाश बुझ्ने मानिस कोही छैनन्’ भनिरहने कान्छीमाया आत्तिएर नेपाल फर्किइन्। अहिले भन्छिन्, ‘अहिले कोरोनाको यो समस्याका बेला बेलायतमै भएको भए मन कति आत्तिन्थ्यो होला। अहिले घर आइपुगेँ, परिवारको साथमा छु, ढुक्क भएको छ।’

लन्डनको जीवन निकै गाह्रो गरी काटिरहेकी अर्की पात्र हुन्, धनमाया पुन। आँखा केही कमजोर भएर अस्पताल पुगेका आफ्नो श्रीमान्को आँखाको शल्यक्रियाले झन् पूरै नदेख्ने भएपछि उनलाई स्वास्थ्य संस्था लाने–ल्याउने गरिरहेकी उनकै ज्यान पनि बेलाबेला भारी भएर आउँछ। श्रीमान्लाई पटक–पटक स्वास्थ्य संस्था डो¥याउँदै गर्दा नेपालमा भएका सन्तानको याद निकै आउने गरेको उनी बताउँछिन्। भन्छिन्, ‘लन्डनको बसाइ कष्टकर छ।’गाह्रो भए पनि घर फर्किन भने नसकेको उनी सुनाउँछिन्।

कान्छीमाया र धनमायाजस्ता नेपाली नागरिकका कथाव्यथा बेलायतका गल्ली–गल्लीमा बग्रेल्ती भेटिन्छन्। पूर्वगोर्खा सैनिक र उनीहरूको परिवारको बेलायत बसाइ नेपालमा सोच्ने गरेजस्तो शानदार छैन। भूतपूर्व गोर्खाका पिरमर्का त अनगिन्ती नै छन्, ती व्यथा अहिले कोरोना महामारीका बेला उप्किएका छन्, प्रकट भएका छन्। वर्षौंदेखि पिर बोकेर बेलायत बसेका उनीहरूका व्यथा कोरोनाले अझ बढी बढाइदिएझैँ देखिन्छ। 

दिनभरजसो नेपाली वृद्धवृद्धा यहाँका सार्वजनिक पार्कमा हुन्छन्। बिहान र बेलुका कोठामा हुन्छन्। अधिकांश एक्ला छन्। लन्डनमा उनीहरूको जीवन यसै गरी चलिरहेको छ। यतिखेर कोभिड–१९ को संक्रमण बेलायतमा झन्झन् बढ्दोछ।  बेलायती नागरिकजस्तै नेपाली पनि संक्रमित भइरहेका छन् र केहीको मृत्यु पनि भएको छ। कोरोनाले ज्यान जाने नेपालीमध्ये धेरै पूर्वगोर्खा नै छन्। 

लन्डनस्थित नेपाली दूतावासका अनुसार महामारीले बेलायतमा हालसम्म ६३ जनाको ज्यान गइसकेको छ। यसरी ज्यान जानेमा ४९ जना त पूर्वगोर्खामात्र छन्। अन्य ११ जना गैरसैनिक नेपालीको मृत्यु भएको छ। त्यसमा पनि ५० जना पुरुष र १० जना महिला रहेका छन्। नेपाली समुदायभित्र यसरी एउटा वर्ग ठूलो मात्रामा यसरी विदेशी भूमिमा प्रभावित भएपछि यहाँका नेपालीमा चिन्ताको विषय बनेको छ। यो प्रभावलाई बुझेरै लन्डनस्थित नेपाली दूतावासले गत वैशाख १५ गते यहाँको रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र गोर्खा वेलफेयर ट्रस्टमा पत्राचार गरेर भूपू गोर्खा समुदायको क्षतिप्रति ध्यानाकर्षण पनि गराएको थियो। 

त्यसको प्रतिउत्तर दिँदै आफ्ना निकायमार्फत सकेको सहयोग प्रदान गर्ने वचन बेलायत सरकारले पनि दिएको छ। त्यसो त यहाँको गैरआवासीय नेपाली संघ, यूकेले पनि गोर्खा समुदायलाई लक्ष्य गरी राहतस्वरूप केही औषधि एवं खाद्यान्न सामग्री घरमा पु¥याइदिएको छ। 

भूपू गोर्खा समुदायमा भएको क्षतिप्रति सबैका आ–आफ्नै बुझाइ छन्। भूपू गोर्खाहरूको समान पेन्सन र अन्य सुविधाका लागि पटक–पटक भोक हडताल गरेका एक अभियन्ता ज्ञानराज राई भन्छन्,‘नेपाल सरकार र बेलायत सरकारले भूपू गोर्खाहरूको समान पेन्सन र अन्य सुविधाबारे समयमै चासो देखाएनन्। बाध्यताले बेलायत पसेका भूपू गोर्खाहरू अहिलेको महामारीको निशानामा परेका छन्।’ महामारीको चपेटामा परेका अधिकांश भूपू गोर्खा सन् १९६० देखि ६५ को बीचमा गोर्खा फौजमा भर्ना भएका देखिन्छन्। त्यो बेला भर्ती भएका अधिकांश गोर्खालाई अंग्रेजी भाषामा संवाद गर्न गाह्रो भएको राईले देखेका छन्। 

यहाँको नेसनल हेल्थ सर्भिसेज (एनएचएस) ले जारी गरेका स्वास्थसम्बन्धी बुलेटिन र अन्य प्रचार सामग्री अंग्रेजी भाषामा मात्रै पाउन सकिन्छ। भाषागत समस्याले धेरै भूपू गोर्खालाई सताएको छ। हुन त ग्रिनविच बरो र सरमोर बरोमा नेपाली भाषामै स्वास्थ्य सामग्री पाइन्छन्। तर, नेपाली धेरै ठाउँमा छरिएर रहेकाले सरकारले सबै ठाउँमा बस्ने नेपालीलाई सबै सामग्री नेपाली भाषामा उपलब्ध गराउन पनि सकिरहेको छैन। यसका लागि यहाँका केही व्यक्तिले सरकारको ध्यानाकर्षण पनि गराउन खोजेका छन्। तर, यहाँको हालको परिस्थितिका कारण भूपू गोर्खा आशावादी हुने ठाउँ छैन। 

कोभिड–१९ महामारीमा बितेका भूपू गोर्खामध्ये अधिकांशले पहिलेदेखि नै कुनै न कुनै रोगको नियमित औषधि खाएको देखिन्छ। तीमध्ये केहीको मुटुको शल्यक्रिया गरिएको थियो। यसरी हेर्दा पहिलेदेखि नियमित औषधि सेवन गर्ने भूपू गोर्खा बढी रहेको देखिन्छ। केही दिनअघि बेलायतको एक समाचार संस्थाले दिएको समाचारअनुसार कोभिडका कारण हाल अस्पताल भर्ना गरिएका पाका उमेरका नागरिकमध्ये सात जनामा एकजनामात्र बाँच्ने गरेका छन्। यहाँका अस्पतालभित्र के भइरहेको छ,त्यसको समाचार बाहिर आउन सक्दैन। अस्पतालमा काम गर्ने कर्मचारी सूचना उपलब्ध गराउन स्वतन्त्र छैनन्। 

मृत्यु भएका कतिपय भूपू गोर्खाका छोराछोरी नेपालमै छन्। यहाँ वृद्धवृद्धा मात्रै बस्दै आएको देखिन्छ। नेपालमा जस्तो एकापसमा घुलमिल हुने समय र वातावरण बेलायतमा नहुँदा भूपू गोर्खाको बेलायत बसाइ कष्टकर देखिन्छ।

गत अप्रिल १६ मा एउटा अनुवादक संस्थाले अस्पतालमा भर्ना गरिएका एक नेपालीका लागि लगभग जीवनकै अन्तिम कुराकानी (इन्ड अफ द लाइफ अप्वइन्टमेन्ट) का लागि दोभाषे भइदिन मलाई इमेल पठाएको थियो। त्यो इमेल हेरेर कति बजे आउनुपर्ने हो भनेर मैले सोधेको एकैछिनमा ‘अब आउनुपर्दैन’ भनी तत्कालै इमेल आयो। पछि थाहा भयो, ती बिरामीको केही घण्टामै अस्पतालमा निधन भएछ। उनले मृत्यु हुने बेलामा समेत मनमा लागेका कुरा राख्न पाएनन्। त्यसैले भाषागत समस्याले यहाँका नेपाली कति मर्कामा छन् भन्ने तथ्य यस घटनाबाट स्पष्ट हुन्छ। 

वैशाख २ गते ७५ वर्षीय एक भूपू गोर्खाको कोरोनाका कारण अस्पतालमा निधन भयो। अस्पतालले मृत्युको खबर सुनाउन ‘नजिकको मान्छे चाहियो’ भन्यो। तर,उनकी श्रीमतीलाई भाषाको समस्या रहेको र छोराहरू पनि यहाँ नभएकाले एकजना नेपालीको सहारामा त्यो खबर सुनाइयो। यसरी हेर्दा अब ती वृद्धाको अबको यहाँको बसाइँ पनि निकै समस्याग्रस्त हुने देखिन्छ। भूपू गोर्खाका १८ वर्ष उमेर पूरा गरेका सन्तान बेलायतमा ल्याउन त्यति सजिलो छैन। अर्कातर्फ, कतिपय सन्तानका अन्य सदस्य नभएर श्रीमान्–श्रीमती मात्र यहाँ बसिराखेका छन्। उनीहरूलाई भाषाका कारणले समय–समयमा समस्या आइपर्ने देखिएको छ। 

बेलायत सरकारले हालैमात्र कोरोनाका कारण उच्च जोखिममा पर्नसक्नेलाई घरमै पत्र पठाएर सतर्कता अपनाउन भनेको छ। तर, पाको उमेरकार कुनै न कुनै पुरानो रोगको औषधि खाइरहेका भूपू गोर्खाका घरमा पत्र आयो वा आएन, त्यस विषयमा खोजी गर्नुपर्ने बताउँछन्, बीबीसी नेपाली सेवाका पूर्वसम्पादक भगीरथ योगी। ‘उमेर धेरै भएका र पुरानो रोगका कारण नियमित औषधि लिइरहनेलाई घरमै बस्न र आवश्यक सतर्कता अपनाउन भने पनि हालसम्म बेलायतमा रहेका कति नेपालीले त्यो पत्र पाए भन्ने तथ्यांक छैन,’ योगी भन्छन्। यस विषयमा न यहाँको गैरआवासीय नेपाली संघले तथ्यांक लिएको छ, न त अन्य कुनै संस्थाले। यदि यो पत्र राख्न सकिएमात्र पनि उनीहरूलाई आवश्यक औषधि वा खाद्यान्न यहाँको सरकारकै स्थानीय निकायले घरमै पु¥याइदिन्थे। यसपछि बाँकीलाई यहाँस्थित नेपाली संघसंस्थाले पनि केकस्तो सहयोग उपलब्ध गराउने भन्ने सजिलो हुने थियो। 

बेलायतमा कोरोनालाई जितेर फर्कने नेपाली पनि थुप्रै छन्। कोरोना संक्रमित भई अस्पताल भर्ना हुने पहिलो नेपाली लन्डन बस्ने भगवती रानाभाट हुन्। एक हप्ता अस्पताल बसेर अहिले पूर्ण रूपमा स्वस्थ भइसकेकी भगवतीले आफ्ना अनुभव सुनाएपछि धेरै नेपालीलाई प्रेरणा मिलेकोछ। महामारीको सुरुमा नेपालीहरुआफू    संक्रमित भए पनि समाजमा भन्न चाहँदैनथे, तर पछिल्ला दिनमा थुप्रैले आफ्ना अनुभव सुनाउन थालेका छन् र धेरैका प्रेरणाका स्रोत बनेका छन्। लन्डनको एक अस्पतालमा कार्यरत डा.प्रशान्त सिंह, यहाँकै एक सरकारी विद्यालयमा पढाउने माधव पराजुली,नर्स अजिता सिम्खडा,विनोद पौडेल लगायतले कोरोनामुक्त भएपछि सार्वजनिक रूपमा आफ्ना अनुभव सुनाएका थिए।

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि