देश फिर्ने सपनामा समुद्रपारिका नेपाली

writer

चन्द्रशेखर अधिकारी

शुक्रबार, ०९ जेठ २०७७


विदेशी भूमिमा बेरोजगार भौँतारिरहेका समस्याग्रस्त नेपाली देश फर्किन चाहन्छन्। सञ्चारमाध्यम, सामाजिक सञ्जाल, सडक हुँदै संसद्सम्म यो विषय उठेपछि सरकारले दबाब महसुस गरेको छ र आफ्ना नागरिक भिœयाउने तयारी थालेको छ। 


कोरोना महामारीमा विदेशी भूमिमा अलपत्र परेका आफ्ना नागरिकलाई सरकारले चरणबद्ध रूपमा स्वदेश फिर्ता गर्ने तयारी बल्ल सुरु गरेको छ। उनीहरूका आवेदनका आधारमा प्राथमिकता तय गरेर क्रमैसँग फिर्ता गर्ने तयारीअनुरूप खाडी राष्ट्रमा रहेका नेपाली दूतावासले प्रक्रिया अघि बढाएका छन्। विभिन्न क्षेत्रबाट दबाब बढ्दै गएपछि सरकार विदेशमा रहेका नेपालीलाई ल्याउने प्रक्रियामा जान बाध्य भएको हो।

रोजगारी गुमेका, बिरामी भएका, घरमा बिरामी परेर आउनैपर्ने भएकालाई प्राथमिकताअनुसार स्वदेश ल्याएर क्वारेन्टिनमा राख्ने र त्यसपछि घर पुर्‍याउने गरी सरकारले प्रक्रिया अघि बढाएको हो। अन्तर्राष्ट्रिय उडान नखोले पनि उनीहरूलाई चार्टर गरेर देश भिœयाउने दायित्व सरकारको हो। कुनैपनि नागरिकलाई राज्यविहीन बनाउन सरकारले पाउँदैन। नागरिकलाई अलपत्रै छाडेको ठहरिए अन्तर्राष्ट्रिय क्षेत्रमा त्यसको प्रभाव नकारात्मक हुन्छ। देशप्रति अन्तर्राष्ट्रिय विश्वास गुम्छ।

सञ्चारमाध्यम, सामाजिक सञ्जाल, सडक हुँदै संसद्सम्म कुरा उठेपछि सरकारले दबाब महसुस गरेको हो। अन्तर्राष्ट्रिय उडान खुलेपछि खाडीका छ राष्ट्र र मलेसियाबाट मात्र कम्तीमा तीन लाख नेपाली स्वदेश फर्कने अनुमान गरिएको छ। समस्याग्रस्त नागरिकलाईतत्काल फर्काउन दूतावासहरूले पनि सुझाव दिइरहेका छन्।सरकारको आकलनमा तत्काल २ लाख २५ हजार र केही समयपछि करिबपाँच लाख नेपाली फिर्ता हुने भनिए पनि साह्रै समस्यामा परेकाहरू एक लाखभन्दा कम भएको निष्कर्ष दूतावासहरूको छ। उनीहरूले सरकारलाई तत्कालको समस्या सम्बोधन गर्न कुवेतबाट चार हजार, मलेसिया र यूएईबाट छ÷छ हजार र अन्य देशबाट आठ हजार जति नागरिकलाई फिर्ता गरेमा अहिलेको समस्या समाधान उन्मुख हुने सुझाव दिएका छन्। २० देखि २५ हजार नेपालीलाई दैनिक एक हजारका दरले ल्याउने प्रक्रिया अघि बढाउन सके बाँकी नेपाली नागरिक उडान खुलेपछि आफ्ना तवरले फर्कने आधार पनि दूतावासले दिएका छन्।

स्थलमार्ग भएर भारतबाट आउने नेपाली नागरिक क्वारेन्टिनमा बसेर आफ्ना घर गइरहेको अवस्थामा सात समुन्द्रपारि रहेकालाई त्यहाँको सरकारले नै ल्याइदिने भन्दासमेत यहाँ क्वारेन्टिन कसले बनाउने भन्नेमा विवाद गरेर बस्नु दुःखद भएको एक दूतावास अधिकारीले सुनाए। यता, संसदीय समितिहरूले निर्देशन दिएका छन्– ‘प्रवासमा रहेका स्वदेश फर्किन चाहने र फर्काउनुपर्ने नेपालीहरूका सम्बन्धमा नेपाल सरकारले स्पष्ट खाका बाहिर ल्याएर प्राथमिकताका आधारमा फर्काउन आवश्यक छ।’ यो विषय दुवै सदनमा उठिसकेको छ। अहिलेका लागि केही हजार नेपाली मात्र फर्काएको खण्डमा सरकारको प्रशंसा हुने अवस्था छ। विदेशबाट त्यसरी ल्याइने नेपालीलाई प्रदेश, जिल्ला र पालिकास्तरमा स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने र क्वारेन्टिनमा राखेर घर पठाउने कार्य ठूलो समस्या होइन। यहाँ त राजदूतसँग भिडियो कन्फरेन्स गर्ने, अनि त्यहाँको सरकारले यसो भने र उसो भने भन्दै आश्वासन दिने काम दुई महिनासम्म लगातार भयो। तर, आफ्ना नागरिकलाई ल्याउनुपर्छ भन्ने सोचिएन।

समस्यामा नेपाली

बेखर्ची भएर अलपत्र परेकालाई कोरोना संक्रमण रोकथामको प्रयोजनका लागि स्थापित कोषबाट रकम उपलब्ध गराउनुपर्छ। अथवा, काम गर्न जानुअघि उनीहरूले समस्या पर्दा सरकारले उपयोग गरोस् भनेर बुझाएको रकम यतिबेला उपयोग गर्नुपर्छ। कतिपय देशले आफैँ ल्याइदिने भनेका छन्। नल्याइदिने राष्ट्रबाट आफ्ना नागरिक ल्याउनसरकारले नेपाल वायुसेवा निगमको जहाज प्रयोग गर्न सक्छ।

नेपाली नेताहरू विदेश भ्रमणमा जाँदा तिनै ‘ब्ल्यू कलर’ मजदुर नेपाली कामदारसँग उठाएको रकममा रमाइलो गर्छन्। अहिले उनीहरूलाई आपत् पर्दा चुपलागेर बस्न मिल्दैन। कतिपय नेताले त विदेशमा रहेका नेपालीलाई भोट हाल्ने सुविधा दिनुपर्ने कुरा पनि उठाएका थिए। आज उनीहरू साँच्चै पीडादायी जीवन बाँचिरहेका छन्। घर फर्कन पाऊँ भनेर गुहार गरिरहेका छन्। 

यतिबेला कुवेत सरकारले ३ हजार ३ सय नेपालीलाई विभिन्न शिविरमा राखेको छ। कुवेत उनीहरूलाई नेपाल फर्काउन नेपाल सरकारको अनुमति पर्खेर बसेको छ। त्यस्तै, यूएईले पनि तत्काल दुइटा उडानमा नेपालीलाई फर्काउन सक्ने भन्दै सरकारलाई पत्राचार गरिसकेको छ। यी दुई देशले आफ्नै खर्चमा नेपालीलाई ल्याइदिन लागेका हुन्। मलेसिया र साउदी अरेबियाले पनि अवैध कामदारलाई फर्कन भनिसकेका छन्। कुवेत र यूएईले बिनाभिसा रहेका र एक स्थानमा काम गर्नभनेर गएका तर अर्केमा सरेका नेपालीलाई ल्याइदिन लागेका हुन्। उनीहरू अहिले शिविरमा नै बिरामी पर्न थालेका छन्। शिविरमा राम्रो खानाको व्यवस्था नभएकाले बिरामी परेको र देशले वास्ता नगरेको भनेर उनीहरू नैराश्य पोखिरहेका छन्।

अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि पनि नेपाल आउन प्रक्रिया थालेकालाई सरकारले क्रमैसँग ल्याउनुपर्ने थियो। तर, उसले त्यसतर्फ ध्यानै दिएन। केही दिनअघि  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले करिब छ लाख नेपालीको उद्धार गर्नुपर्ने तथ्यांक संसदीय समितिमा प्रस्तुत गरे। तर, त्यसलाई हचुवा तथ्यांकका रूपमा लिन सकिन्छ। त्यस प्रकारको प्रतिवेदन नपठाएको दूतावासहरूको दाबी छ। दैनिक दुई वाइडबडी जहाजबाट नेपालीलाई ल्याउन सुरु गरिएको भए यो समस्या यहाँसम्म पुग्ने थिएन।

विदेशमा रहेका कतिपय नेपालीले बाध्य भएर सचेत गराउन भन्दै दूतावास घेर्न थालेका छन। प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री ज्ञवालीले खाडी मुलुकमा पालैपालो टेलिफोन गरी त्यहाँका नेपालीलाई व्यवस्थापन गर्न आग्रह गरिएको भने पनि त्यसको प्रभाव नपरेको उनीहरूको दाबी छ। खाडी मुलुकमा अलपत्र नेपाली घर फर्कन चाहेका छन्। तर, उनीहरूलाई सरकारले त्यहीँ राखेर लकडाउन खुलेपछि प्रक्रियागत ढंगले ल्याउने बताएपछि यता लकडाउन बढिरहँदा उनीहरूको धैर्य टुटेको हो। ‘विदेशमा रहेका नेपालीलाई सुरक्षित रूपमा ल्याएर, क्वारेन्टिनमा राखेर, गाउँसम्म पुर्‍याउने गरी अन्तरमन्त्रालय छलफल अघि बढेको छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भनेका थिए, ‘फर्काउने तय नहुँदासम्म जहाँ कार्यरत, त्यही मुलुकमा सुरक्षित रूपमा बस्नका लागि व्यवस्था मिलाइएको छ।’

खाडी राष्ट्र र मलेसियामा १५ लाखभन्दा बढी नेपाली कार्यरत छन्। विश्वका दुई सयभन्दा बढी देशमा नेपाली भए पनि अधिकांश नेपाली युवा मलेसिया, कतार, साउदी अरेबिया, यूएई, कुवेत, बहराइन, ओमन, लेबनान, इजरायल, अफगानिस्तान, जापान, दक्षिण कोरियालगायत देशमा काम गर्छन्। सन् १९८५ मा वैदेशिक रोजगारी ऐन आएपछि नेपाली भारतबाहेकका मुलुकमा जाने क्रम सुरु भएपनि सन् १९९० पछि विदेश जानेको संख्या बढ्न थालेको हो। 


कोभिडले ९७ गैरआवासीय नेपालीको मृत्यु

दुई सयभन्दा बढी देशमा रहेका नेपाली कोभिड–१९ बाट आक्रान्त छन्। अहिलेसम्म हजारौँ नेपालीलाई संक्रमण भएको छ भने ९७ जना गैरआवासीय नेपालीको मृत्यु भइसकेको छ। 

नेपाली दूतावास, गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीको मृत्यु भएको छ। 

गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको आँकडानुसार ११ देशमा गैरआवासीय नेपालीको ज्यान गएको छ भने थप १९ मुलुकमा नेपाली कोभिड–१९ बाट संक्रमित भएका छन्। समूहको तथ्यांकअनुसार कतारमा २ हजार ५ सय १०, अमेरिकामा १ हजार ६ सय २१, बेलायतमा १ हजार २ सय ५१, साउदी अरबमा ६ सय ७४, बहराइनमा ३ सय ११, यूएईमा २ सय ५६, कुवेतमा ९४, मलेसियामा ९९ जना नेपाली संक्रमित छन्।


राजदूत भन्छन् ...

-दुर्गा भण्डारी, कुवेतका लागि नेपाली राजदूत 

‘‘लकडाउन खुलेपछि व्यवस्थित ढंगले नेपाली नागरिकलाई घर पुर्‍याउन सकिन्छ। दूतावास तयारी अवस्थामा छ। यहाँको सबै जानकारी परराष्ट्र मन्त्रालयलाई दिइसकेका छौँ। नेपाल सरकारको निर्णय भएपछि कुवेत सरकारले नै नेपाली नागरिकलाई नेपाल पुर्‍याइदिनेछ।’’ 

***

-महेन्द्र पी सिंह, साउदी अरेबियाका लागि नेपाली राजदूत 

‘‘साउदीमा रहेका अधिकांश नेपालीको चाहना घर फर्कन पाऊँ भन्ने नै छ। तर, प्राथमिकता तय गर्दा घर फर्किने नेपालीको संख्या ठूलो हुनेछैन। काम छोडिसकेका, घर फर्कन ठिक्क पर्दा उडान बन्द भएपछि अड्किएका, होटल र रेस्टुराँमा काम गर्ने र बिनाभिसा रहेकाहरू फर्कनुपर्ने अवस्थामा पुगेका छन्।’’
***

कृष्णप्रसाद ढकाल, यूएईका लागि नेपाली राजदूत 

‘‘तत्काल ठूलो संकट आइसकेको छैन। यहाँ बिस्तारै लकडाउन पनि खुकुलो हुँदै गएकाले उद्योगहरू चल्न थालेका छन्। नेपालीहरू साह्रै आपत्मा छन् भन्ने होइन। तर, ‘घर जान पाए हुन्थ्यो’ भन्ने केही हजार नेपालीलाई उद्धार गर्न सके समस्या समाधान हुन्थ्यो। त्यसै गरी, दीर्घकालीन समस्याको हल खोज्ने पाटोमा भने हामीले सोच्न थाल्नुपर्छ।’’
***

–नारद भारद्वाज, कतारका लागि नेपाली राजदूत 

‘‘कतारमा नेपाली कामदारलाई समस्या नै छैन भन्ने होइन तर अहिले नै फर्किहाल्नुपर्ने अवस्था छैन। समस्या परेकालाई कतारी च्यारिटीमार्फत सहयोग भइरहेको छ।’’ 

***

पदम सुन्दास, बहराइनका लागि नेपाली राजदूत

‘‘बहराइनमा रहेका नेपालीहरूमा कोरोना संक्रमण बढ्दो छ। समस्यामा परेकालाई दूतावासले हेरिरहेको छ।’’

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि