उज्ज्वल प्रसाईको वालबाट

writer

सम्पूर्ण

शुक्रबार, ०९ जेठ २०७७


राष्ट्रवादले घृणालाई मलजल गर्छ। राष्ट्रवादले परायाकरण गर्छ। राष्ट्रवादले शत्रुताका निम्ति उक्साउँछ। राष्ट्रवादले समानुभूति सिध्याउँछ। राष्ट्रवादले वीरता सिर्जना गर्छ, वीरताको आख्यानको मूल्यवद्र्धन गर्छ। 
राष्ट्रवाद अन्ततः शून्यवादमा पुगेर टुंगिन्छ। 
०००

एकथरीलाई व्यवस्थाको विकल्पजस्ता शब्दप्रति नै ठूलो भय छ। उनीहरूका लागि व्यवस्था बदल्ने चर्चा केवल उग्रवामपन्थी भाष्य हो। बहुदलीय प्रणाली र आवधिक निर्वाचन मात्रले धानेको लोकतन्त्र मास्ने प्रपञ्च हो। ‘क्रान्ति’का गफसम्म पनि सुन्न नसक्ने मध्यमवर्गी पढालेखाको संख्या बेवास्ता गर्न नसकिने छ। 
०००

नेपाली समाजको चरम दलीयकरणको मौलो भ्रष्टाचार हो। कुनै पनि क्षेत्रमा इमानदारीपूर्वक काम गर्नेले दलीयकरणको विद्रूपता देखेको र भोगेको हुन्छ। 
०००

क्षणक्षणमा अनेक रूप देखाइरहेका कमरेडहरूको गुरु–सत्संगको एउटा खास शृंखला छ। धर्मनिरपेक्ष राज्यका पक्षधरविरुद्ध सार्वजनिक धर्मयुद्धको घोषणा गर्ने कमल नयनाचार्यदेखि बालगुरु भनिने आदित्यमणिसम्म, चितवन पुगेर ‘बेनकाव’ भएका महाराज स्वामी बालयोगेश्वरदेखि जग्गी वासुदेवसम्म। 
०००

परिस्थितिको परिबन्दले औपचारिक दस्तावेजमा जेसुकै लेखेको भए पनि, बाहिरी वक्तव्यमा जे भने पनि, ओली र उनका कमरेडहरू संघीयता रुचाउँदैनन्। संघीयतालाई जबर्जस्ती स्विकारेका उनीहरू बहिष्कृत समुदायका पहिचानका आकांक्षा सम्बोधन नगर्न हदैसम्म चनाखो छन्। 
०००

सामाजिक, सांस्कृतिक र राजनीतिक आन्दोलनहरूको समष्टिले नै लोकतन्त्र सम्भव तुल्याउने हो। आवधिक निर्वाचनजस्ता प्रक्रिया सञ्चालन गर्ने, शक्ति सन्तुलनका लागि विभिन्न संस्था एवं व्यक्तिमा शक्तिको औपचारिक बाँडफाँड गर्नेजस्ता कार्यले मात्र सिंगो समाज लोकतान्त्रिक बन्न सक्दैन। 
०००

निर्वाचनमा मत खसाउन गएका युवाको संख्या मात्रले संविधानप्रतिको अपनत्व बताउन सक्दैन। संविधानको प्रावधानको मर्म बुझिसक्दा कुनै पनि नेपाली महिलाले यसलाई आफ्नो मान्न सक्दैनन्। संविधान जारी हुँदा मधेशले गरेको ब्ल्याकआउटको अर्थछ भनेर बुझ्ने हो भने, संविधानको कच्चा धरातल त्योभन्दा राम्ररी कहाँ देखिएला ?
०००    


 

तपाईको कमेन्ट