लकडाउन झेल्न सघाउन सक्छ ताई–चीले

writer

विष्णु थापा

शुक्रबार, ०९ जेठ २०७७


खेल र ध्यानको संयुक्त रूप मानिने चिनियाँ मार्सल आटर््स ताई–चीलाई नेपालमा लोकप्रिय बनाउने खेलाडी हुन्, दीपक श्रेष्ठ। उनी घरभित्र बसिरहेका खेलाडी र नागरिकलाई तन र मनको तन्दुरुस्तीका लागि यो खेल सिफारिस गर्छन्। 


गत चैत ११ यता देश लकडाउनमा छ। नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि गरिएको बन्दाबन्दीले आर्थिक, सामाजिक, राजनीतिकलगायत सबै क्षेत्र प्रभावित छन्। खेलकुद क्षेत्र पनि कोरोना प्रकोपबाट पीडित छ। अहिले नेपाली खेलकुद ठप्प अवस्थामा छ। खेलकुद प्रतियोगिता स्थगित छन् भने खेलाडी घरभित्रै सीमित छन्। लकडाउनको समयावधि बढिरहँदा खेलाडीहरूको फिटनेसलाई लिएर चिन्ता व्यक्त गर्न थालिएको छ। 

विदेशका खेलाडीले घरभित्रै बसेर विभिन्न प्रविधिमार्फत तन्दुरुस्तीलाई ध्यान दिए पनि हाम्रा खेलाडी भने यी सबै सुविधाबाट टाढा छन्। केही खेलाडीले घरमै सामान्य शारीरिक कसरत गरे पनि अधिकांश खेलाडीले भने फिटनेसमा ध्यान दिन सकेका छैनन्। 

लकडाउनमा खेलाडीलाई फिट राख्ने विभिन्न व्यायाममध्ये एक हो, ताई–ची। यो चिनियाँ मार्सल आट्र्स हो। यो खेल आत्मरक्षा, ध्यान र  स्वास्थ्यका लागि उत्तम मानिन्छ। ताई–चीले ‘माइन्ड’ र ‘बडी’लाई नियन्त्रण गरी शरीरबाट शक्ति उत्पादन गर्न मद्दत पुर्‍याउने विश्वास गरिन्छ। 

यस चिनियाँ खेललाई नेपालमा लोकप्रिय बनाउन लागिपरेका छन्, दीपक श्रेष्ठ। उनी खेलकुदका रूपमा र मानिसहरूलाई स्वस्थ बनाउन व्यायामका रूपमा लामो समयदेखि ताई–ची खेल सिकाउँदै आइरहेका छन्।

जसले नेपालमा ताई–ची फिँजाए 

दीपक काठमाडौँको ठमेलमा हुर्किए। सानोमा उनी साथीसँग बालुवाको थुप्रोमा उफ्रेर खेलिरहन्थे। यसरी खेलिरहँदा उनीमाथि केही चिनियाँ नागरिकको नजर पर्‍यो। नेपालमा विभिन्न प्रोजेक्टका लागि आएका चिनियाँहरू ठमेलमा बस्थे। दीपक र उनका साथी खेलेको देखेर चिनियाँ नागरिक प्रभावित भए। उनीहरूले ‘यस्तै खेल सिक्न हामी बसेको घरमा आउनू’ भने। दीपक र साथी अनिल गुरुङ त्यस घरमा गए। त्यहाँ केही चिनियाँ अनौठो खेल खेलिरहेका थिए। 

त्यतिखेर नेपालमा बक्सिङ र केही मार्सल आट्र्स मात्रै खेलिन्थे। बक्सिङ खुला भए पनि मार्सल आट्र्स भने लुकेर खेल्नुपथ्र्यो। सरकारले मार्सल आट्र्सलाई प्रतिबन्ध लगाएका कारण लुकेर खेल्नुपर्ने अवस्था थियो। सरकारले देखेमा कारबाही भोग्नुपथ्र्यो। त्यही कारण उनीहरू लुकीछिपी खेल्थे। तत्कालीन युवराज धीरेन्द्र शाहले क्योकुसिन कराते भिœयाएपछि भने अरू मार्सल आट्र्स पनि खुला भए। त्यसपछि भने खुला रूपमा खेल्न सुरु भयो। 

दीपक र उनका साथीले ठमेलमा पाँच वर्षसम्म ताई–ची सिके। चिनियाँहरूले उनको समूहलाई निःशुल्क सिकाउँथे। यसरी खेल्दै गर्दा दीपकको स्वास्थ्यमा समस्या आयो। त्यसपछि उनले ताई–चीसँगै अर्को मार्सल आट्र्स चिगोंग सिके। चिगोंग दुई वर्ष खेलेपछि दीपक चीन गए। सन् १९८२ मा चीन गएका उनले दुई वर्ष ताई–ची र चिगोंगको विशेष तालिम लिए। 

चीनबाट विशेष तालिम लिएर फर्किएपछि दीपकले नेपालमै प्रशिक्षण सुरु गरे। नेपालमा उसुको प्रशिक्षण गराउँदै आएका चिनियाँ प्रशिक्षक स्वदेश फर्किएपछि उनले केही समय उसुको प्रशिक्षण पनि गराए। नेपाल उमा कङ्फू संघ गठन भएपछि उनले नै प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरे। उनले सिकाएका धेरै जना कङ्फूका राम्रा खेलाडी बनेका छन्। उनकै चेलाहरूले अहिले उमा कङ्फू संघ पनि सञ्चालन गर्दै आएका छन्। ‘आफ्ना चेलाहरूले राम्रो गर्दा खुशी लाग्छ,’ दीपक भन्छन्, ‘उनीहरूले खेलबाटै राष्ट्रको नाम विश्वमा चिनाउँदै आएका छन्।’ उनी पहिलेभन्दा अहिले खेलकुदमा धेरै परिवर्तन आइसकेकाले खेलकुदमा पनि राम्रो भविष्य रहेको देख्छन्। ‘हाम्रो पालामा खेलेर के हुन्छ र भन्ने मान्यता थियो,’ उनी भन्छन्, ‘तर, अहिले खेलकुदमा धेरै परिवर्तन आइसकेको छ।’ सन् १९७५ मा खेलकुदमा आबद्ध भएका उनले सन् १९८५ देखि प्रशिक्षण गराउँदै आएका छन्।  ठमेल, शंखपार्क, स्वयम्भूलगायत विभिन्न निजी क्लबमा ताई–ची सिकाउँदै आएका छन्। उनले शंखपार्कमा मात्रै २० वर्षभन्दा बढी समय यो खेल सिकाएका थिए। स्वास्थ्य समस्या भएकालाई निरन्तर प्रशिक्षण गराउँदै आएका छन्। उनले ८० वर्षका वृद्धदेखि किशोरकिशोरीसम्म र साधारणदेखि विशिष्ट नागरिकसम्मलाई ताई–ची सिकाउँदै आएका छन्।  

उनीकहाँ विभिन्न उमेर समूहका मानिस खेल्न आउँछन्। ब्लड प्रेसर, सुगर, प्यारालाइसिस, हड्डीलगायत विभिन्न स्वास्थ्य समस्या भएकाले ताई–चीबाट निकै लाभ प्राप्त गरेका छन्। दीपकले विदेशी नागरिकलाई पनि यो खेल सिकाउँदै आएका छन्। उनका विदेशी खेलाडीमा सबैभन्दा धेरै अमेरिकी छन्। उनीकहाँ २०÷२२ वर्षसम्म निरन्तर खेल्दै आएका मानिस पनि छन्। उनीहरू खेलका लागि भन्दा पनि आफ्नो स्वास्थ्यका लागि ताई–ची खेल्दै आइरहेका छन्। 

ताई–चीले दिएको नयाँ जीवन 

ताई–ची गर्नका लागि विशेष गरी पाँच कुरामा ध्यान दिनुपर्ने दीपक बताउँछन्। ‘मुभमेन्ट, श्वासप्रश्वास, लुकिङ, ब्यालेन्स र रिदमलाई ध्यान दिएमा मात्र ताई–ची राम्रोसँग सिक्न सकिन्छ,’ दीपक भन्छन्। केही मानिसले ताई–चीबारे बुझे पनि धेरैले राम्रोसँग बुझ्न नसकेको उनी बताउँछन्। ‘ताई–ची के हो र यसको फाइदा के–के छ भनेर केही मानिसले मात्रै बुझेका छन्,’ उनी भन्छन्, ‘आम मानिसले यसको महŒवबारे अहिलेसम्म बुझ्न सकेका छैनन्। यो खेललाई आम मानिसको पहुँचमा पुर्‍याउन सकियो भने धेरै मानिस स्वस्थ हुन सक्छन्।’

दीपकले ताई–ची सिकाएर राम्रै आम्दानी गरिरहेका छन्। विभिन्न स्वास्थ्य समस्या भएकाले निको भएपछि खुशी भएर केही रकम दिने गरेको उनी बताउँछन्।  

नेपाल टेलिकममा कार्यरत बिजेन वज्राचार्यलाई ढाडको समस्याले निकै पिरोलेको थियो। हिप ज्वाइन्टको दुखाइका कारण उनलाई कोल्टे फेर्नसमेत निकै सकस हुन्थ्यो। उनको शरीर नै बांगिसकेको थियो। उनले नाम चलेका सबै अस्पताल धाए। उनलाई एक किसिमको बाथ रोगले च्यापेको थियो। हड्डीले काम नगरेका कारण प्यारालाइसिस हुन थालेको थियो।
 
जति अस्पताल धाए पनि रोग निको नभएपछि उनी दीपककहाँ ताई–ची सिक्न पुगे। ‘सुरुका केही दिन ताई–ची गर्न निकै गाह्रो भयो,’ बिजेन भन्छन्, ‘अरू विकल्प नभएकाले मैले दुःख सहेर पनि गरेँ। नभन्दै, खेल्न थालेको दुई हप्तामै चामत्कारिक रूपमा स्वास्थ्यमा सुधार आयो।’ लगातार १० महिना ताई–ची गरे। अहिले पूर्ण रूपमा स्वस्थ छन्। ‘पहिले थुप्रै औषधि खान्थेँ,’ उनी भन्छन्, ‘त्यो पनि छाडिसकेँ। खेल्दाखेल्दै उच्च रक्तचापको समस्या पनि ठीक भयो।’
 
ताई–चीले गोविन्दकुमार श्रेष्ठलाई पनि नयाँ जीवन दियो। उनको शरीरको प्रतिरक्षा प्रणाली नै बिग्रिएको थियो। ‘एउटा औँला चिसो पानीमा चोबलियो भने पनि मलाई रुघाले सताउँथ्यो,’ उनी सम्झन्छन्, ‘कलेजो रोगबाट पनि पीडित थिएँ। जान बाँकी कुनै अस्पताल थिएन। तर, रोग चाहिँ जस्ताको तस्तै थियो !’ नेचरोप्याथीको उपचार गराउन गएका उनलाई डाक्टरहरूले प्रतिरक्षा प्रणाली बलियो बनाउन ताई–ची सिक्न सुझाव दिए। गोविन्द पनि दीपक श्रेष्ठकहाँ पुगे र ताई–ची खेल्न थाले। उनको स्वास्थ्यमा पनि आश्चर्यजनक सुधार भयो। अहिले उनी स्वस्थ छन्। हरेक दिन ताई–ची गर्छन्। ‘मैले त हरेसै खाइसकेको थिएँ,’ उनी भन्छन्, ‘तर, ताई–ची गर्न थालेपछि स्वास्थ्यमा चमत्कारै भयो। अहिले आफूले सिकेका कुरा अरूलाई पनि सिकाउँछु।’

दीपक नियमित रूपमा ताई–ची गर्नाले दीर्घरोग पनि निको हुने बताउँछन्। यसले धेरै जनाको स्वास्थ्यमा अद्भुत परिवर्तन आएको उनले देखेका छन्। ‘लकडाउनको समयमा खेलाडीले फिटनेस कायम राख्न र अरूले स्वास्थ्य ठीक राख्न ताई–ची गर्नु अत्यन्त उपयोगी छ,’ उनको सुझाव छ। 


ताई–ची अर्थात् चिनियाँ योग 
ताई–ची चुआनलाई ताइजी क्वान पनि भनिन्छ। यो प्राचीन चिनियाँ व्यायाम हो। यसलाई ताओवादी भिक्षु झाङ साङ फेङले आविष्कार गरेका थिए। युद्धकलाका रूपमा सिर्जना गरिएको ताई–ची चिगाेंगको एक शाखा हो। यसको प्रयोगभन्दा करिब सात हजार वर्षपहिलेदेखि नै परम्परागत चिनियाँ औषधिका रूपमा चिगाेंग प्रयोग हँुदै आएको पाइन्छ। चिनियाँ भाषामा चिगोंगको अर्थ ऊर्जा वा श्वासप्रश्वास रोक्ने सीप वा कला हो। ताई–ची मौलिक चिनियाँ मार्सल आट्र्स हो। यसले शरीरको आन्तरिक शक्ति उत्पादन र विकास गर्न मद्दत पुर्‍याउँछ। 

यो ‘मुभिङ मेडिटेसन’ हो। आत्मरक्षा, ध्यान र स्वास्थ्यका लागि यसलाई उत्तम मानिन्छ। ताई–ची गर्दा शरीर र मनलाई नियन्त्रण गरी शरीरबाट शक्ति उत्पादन गर्न मद्दत पुर्‍याउँछ। यो एक किसिमको चिनियाँ योग हो। तर, अरू योगभन्दा यो फरक छ। योग एकैठाउँमा बसेर गरिन्छ भनेर ताई–चीका लागि अलिक खुला ठाउँ चाहिन्छ। किनभने, यो मार्सल आट्र्सको एउटा विधा हो। ताई–ची योगजस्तै स्वास्थ्यका लागि ध्यान गर्न र खेलकुदका रूपमा खेल्न सकिन्छ। यो उसु खेलको एउटा विधा पनि हो।   
 

तपाईको कमेन्ट