सफाइ कर्मचारीको  ‘स्यालुट’योग्य काम

writer

सम्पूर्ण

बिहिबार, ०८ जेठ २०७७


महानगरका सरसफाइमा खटिने कर्मचारी सात सय हाराहारीमा छन् । उनीहरू कोरोना संक्रमणको जोखिममा हुन्छन् । 

 

हरिकुमार श्रेष्ठ
वातावरण विभाग प्रमुख, काठमाडौँ महानगरपालिका

काठमाडौँ महानगरपालिकाको वातावरण विभागको मुख्य जिम्मेवारीमध्ये फोहोर व्यवस्थापन एक हो । हामीले फोहोर व्यवस्थापनका लागि अनेकन प्रयास गर्दै आएका छौँ ।  विश्वभर फैलिएको कोरोना संक्रमणबाट नेपाल अछुतो छैन । संक्रमण फैलिएको यो अवस्थामा फोहोर व्यवस्थापन गर्नु एक प्रकारको चुनौती नै भएको छ ।  
नेपालमा लकडाउन चैत ११ बाट सुरु भयो । लकडाउनका सुरुका दुई दिन फोहोर फ्याँक्न स्थानीयको अवरोध पनि भयो । हामीले अहिले उपत्यकाको फोहोर सिसडोलमा लगेर व्यवस्थापन गरिरहेका छौँ । त्यहाँका स्थानीयले कोरोना भाइरसको संक्रमण हुने खतरा हुन्छ भनी अवरोध गरेका थिए । ‘फोहोरका माध्यमबाट कोरोना भाइरस आयो भने डरलाग्दो स्थिति आउँछ’ भन्ने उनीहरूको आकलन थियो । हामीले उनीहरूको भावनालाई बुझ्यौँ, उनीहरूले भन्न खोजेको कुराको सुनवाइ ग¥यौँ । मागबमोजिम सुरक्षा प्रबन्ध गरियो । र, लकडाउनको तेस्रो दिनबाट पुनः सिसडोलमा फोहोर फाल्न पायौँ । 

पहिले सधँै दिउँसो फोहोर फाल्ने गरिन्थ्यो । लकडाउनपछि बिहान ४ बजेदेखि ८ बजेसम्म फोहोर फालिसक्ने व्यवस्था मिलायौँ । जसले त्यहाँका स्थानीयलाई समस्या नहुने वातावरण बन्यो । सुरक्षाका विधि अपनाइयो । फोहोरमा डिसइन्फेक्सन औषधि प्रयोग ग¥यौँ । त्यसपछि फोहोर लैजान सहज भयो । 

कोरोनाका कारण सबैतिर त्रास फैलिएको बेला सफाइ कर्मचारीमा पनि त्रास थियो । त्राससँगै जोखिम पनि उत्तिकै थियो । सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले कर्मचारीलाई काम गर्न असहज भयो । सडकमा जान सकिएन । उनीहरूका लागि सुरक्षा सामग्रीको प्रबन्ध ग¥यौँ । घरको फोहोरलाई कुहिने र नकुहिने छुट्याउन महानगरवासीलाई  अनुरोध ग¥यौँ । हामीले यसका लागि  वडा–वडामा सूचना पठायौँ । विभिन्न सञ्चारमाध्यमबाट सूचना फैलायौँ । फोहोर अलि व्यवस्थित भएर आउने काम भयो । तर, सडकमा जताततै फ्याँक्ने काम रोकिएन । त्यसपछि हामीले सबै एकै ठाउँमा राख्न अनुरोध ग¥यौँ । अनि, त्यहाँबाट एकमुस्ट कलेक्सन गर्छौं भनेपछि त्यही अनुरूप नै भएको पाएका छौँ । 

संक्रमणको यो अवस्थामा फोहोर जताततै फ्याँक्दा फोहोरको माध्यमले भाइरस फैलिन सक्ने र भयावह स्थिति आउन सक्ने भएकाले सचेत गराएका छौँ । अहिले फोहोर बिहान ६ बजेदेखि नै उठाउन सुरु गरिन्छ । भरसक  बिहानै उठाउने काम सक्छौँ र कलेक्सनमा लैजान्छौँ । बिहान ८ बजेभित्र सिसडोलमा फोहोर पु¥याएर अनलोड गरिसक्छौँ । फोहोर व्यवस्थापनको काम अहिले अन्य समयको भन्दा चुस्त रूपमा भएको छ । लकडाउन भएकाले पहिले जुन किसिमले उत्सर्जन हुन्थ्यो, त्यति छैन । किनकि, अहिले होटल, रेस्टुरेन्ट बन्द छन् । कलकारखाना सबै बन्द छन् । हस्पिटलबाट उत्पादन हुने फोहोरको मात्रा पनि कम छ ।  शहरका अन्य विभिन्न कार्यालयबाट निस्कने फोेहोर कम भएको छ । अहिले घरायसी फोहोर मात्र छ । यति हुँदाहुँदै पनि कति ठाउँमा फोहोर देखिएका छन् । त्यसलाई व्यवस्थापन गरिरहेका छौँ । 

उपत्यकाको फोहोर विभिन्न निजी कम्पनीले पनि उठाइरहेका छन् । लकडाउनमा घरको फोहोरमैला छिटो–छिटो उठाउन कर्मचारी परिचालन गरेका छौँ । सबै मानिस लकडाउनले गर्दा घरमै छन् । त्यसैले फोहोर धेरै उत्पादन हुन्छ । लामो समय रहँदा फोहोरको कारणले अन्य समस्या सिर्जना हुन सक्छ भनेर काम छिटो गरिरहेका छौँ । सबैतिर समयमा नै फोहोर उठाइरहेको अवस्था छ । यसका लागि सफाइमा खटिने कर्मचारीले एकदमै राम्रोसँग काम गरिरहेका छन् । अहिले फुटपाथमा फोहोर नभएकाले बजारमा फोहोर कम छ । फुटपाथको फोहोर व्यवस्थापन गर्न नपरेकाले पनि हामीलाई घरमा उत्पादन भएको फोहोर उठाउन सहज भएको छ । फोहोर थुप्रिएर अर्को समस्या ननिम्तियोस् भनेर एकदमै सजग भएर काम गरिरहेका छौँ । 

काम गर्दा अर्को चुनौती भनेको कर्मचारीको सुरक्षा रहेको छ । अहिले महानगरअन्तर्गत सरसफाइमा खटिने कर्मचारी सात सय हाराहारीमा छन् । यसभित्र सडक बढार्ने, फोहोर जम्मा गर्ने, लोड–अनलोड गर्ने काममा खटिएका सबै कर्मचारी पर्छन् । फोहोरमा खटिने कर्मचारी पनि संक्रमणको जोखिममा हुन्छन् । किनकि, उनीहरूले हरेक ठाउँका मानिससँग सम्पर्कमा जानुपर्ने हुन्छ । फोहोरमा पनि प्रत्यक्ष सम्पर्क गर्नुपर्छ । सफाइ कर्मचारीले ‘स्यालुट’योग्य काम गरिरहेका छन् । 

नेपालमै पनि सफाइ कर्मचारीलाई समेत कोरोनाको संक्रमण देखिएको अवस्था छ । तर, महानगरमा फोहोरमा खटिने कर्मचारीको सुरक्षाका लागि विभिन्न सामग्री प्रदान गरेका छौँ । सफाइ कर्मचारीको सुरक्षाका लागि पञ्जा, बुटलगायत दिँदै आएका थियौँ । तर, अहिले कोरोनाका कारणले अझ जोखिम भएकाले थप सुरक्षा साधन उपलब्ध गराएका छौँ । हातखुट्टामा सुरक्षाका साधन प्रयोग गर्न र मास्कको अनिवार्य प्रयोग गर्न लगाएका छौँ । त्यसबाहेक सफाइ कर्मचारीलाई पीपीई पनि उपलब्ध गराएका छौँ । डिसइन्फेक्सन औषधि प्रयोग गरेर मात्र फोहोर व्यवस्थापन गर्न लैजाने गरेका छौँ । लकडाउनको अवधिमा दैनिक औसत नौ सय टन फोहोर उत्पादन भइरहेको छ । गाडीमा लैजाँदा पनि सुरक्षित ढंगले नै लाने गरेका छौँ ।

                                                                                                                                               (उपेन्द्र अर्यालसँगको कुराकानीमा आधारित)
 

तपाईको कमेन्ट

मुख्य समाचार