विज्ञहरू भन्छन्– भुसको आगोसरी सल्किरहेछकोरोना

writer

सृजना खड्का/दिनेश गौतम

बिहिबार, ०८ जेठ २०७७


राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘नेपालभित्र सबैको जीवन रक्षा गर्न सफल भएको’ उद्घोष भएको अघिल्लो दिनै नेपालमा कोरोना संक्रमणबाट पहिलो मृत्यु भइसकेको थियो। सिन्धुपाल्चोक, बाह्रबिसे–९ की एकजना सुत्केरी महिलाले कोरोना संक्रमणबाट ज्यान गुमाइन्। २९ वर्षीया उनको शव धुलिखेल अस्पतालमा थियो। आफन्त शोकाकुल थिए।

‘‘कोभिड–१९ को संक्रमण प्रारम्भ भएलगत्तै नेपाल सरकारले अवलम्बन गरेको स्पष्ट रणनीति, समन्वयात्मक कार्यशैली एवं सबै नेपालीको एकता, धैर्य र सहयोगले अहिलेसम्म यस रोगको संक्रमणबाट नेपालभित्र सबैको जीवन रक्षा गर्न हामी सफल भएका छौँ।’’ –राष्ट्रपति विद्यादेवी भण्डारी, सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै, २०७७ जेठ २ गते 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीहरू उनको मृत्युप्रति अनभिज्ञता प्रकट गरिरहेका थिए। जेठ १ गते राति ज्यान गुमाएकी महिलाको भोलिपल्ट आरडीटी र पीसीआर परीक्षणमा कोरोना भाइरस पोजिटिभको पुष्टि भइसके पनि विवरण गोप्य राखियो। समाचार स्रोतको उपयोग गर्दै सञ्चारकर्मीले कोरोना संक्रमणबाट निधन भएको पहिलो केसको तथ्य सार्वजनिक गर्दा पनि स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा ती महिलाबारे बोल्न हिचकिचायो। जेठ ४ गते राति प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाबाट नेपालमा पहिलो मृत्युको पुष्टि गर्न सरकार बाध्य भयो। 

प्रधानमन्त्री केपी ओलीले आइतबार ट्वीटरबाट मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे– ‘कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोकनिवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ।’

‘अरू मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने छ’ भन्दै प्रधानमन्त्री ओलीले ट्वीटरमा लेख्नुअघि नै बाँकेमा २५ वर्षीय युवाले क्वारेन्टिनमा छटपटाउँदै ज्यान गुमाए। निरन्तर बान्ता गरेका ती युवालाई तुरुन्त चार किलोमिटर दूरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा लैजान कोही पनि तयार भएन।

उता, स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की सिन्धुपाल्चोककी ती महिलाको मृत्यु कोरोनाको कारणले भएको भन्नेमा अझै सहमत छैनन्। ‘उहाँ सुत्केरी आमा हुनुहुन्थ्यो,’ उनको तर्क छ, ‘सुत्केरीको जटिलता उहाँको मृत्यु हुनुको कारण हुन सक्छ। उहाँलाई टेस्ट गर्दा पोजिटिभ देखिएको कुरा साँचो हो। यसलाई कोभिड संक्रमण भएको व्यक्तिको मृत्यु भन्न मिल्छ। तर, कोरोनाकै कारणले मृत्यु भएको भन्न खासै प्रमाणहरू पुग्दैनन्। किनभने, उहाँको कोरोनाको उपचार गर्दागर्दै मृत्यु भएको होइन।’

हाल अमेरिकाको एट्लान्टामा बस्दै आएका भाइरोलोजिस्ट डा. सुदीप खड्का सामाजिक सञ्जाल फेसबुकमा कुराकानी गर्दै सिन्धुपाल्चोककी महिलाको कोरोनाबाटै मृत्यु भएको बताउँछन्। ‘मृतक महिलाको कोरोना परीक्षण पोजिटिभ देखिँदादेखिँदै यसलाई सुत्केरी बिग्रिएर मृत्यु भएको भन्नु एकदमै गलत हो,’ उनी भन्छन्।

कोरोनाले स्वस्थभन्दा अस्वस्थ व्यक्तिलाई छिट्टै आक्रमण गर्ने डा. खड्का बताउँछन्। ‘तर, हाम्रोमा दम लागेको कोही मानिसको मृत्यु भयो र उसलाई कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको छ भने पनि ‘बिचरा बूढोलाई दम थियो, मर्‍यो’ भनेर टार्न बेर लगाउँदैनन्,’ उनी भन्छन्,‘विभिन्न बहाना गरेर तथ्यलाई बंग्याउन पाइँदैन। सही तथ्यांक बाहिर ल्याउनुपर्छ।नेपालको हकमाकोरोनाले मृत्यु भएको पहिलो केस सिन्धुपाल्चोकको सुत्केरी महिलाको नहुन सक्छ। त्यो थाहा भएको पहिलो केस हो। थाहा नपाएर मर्ने अरू पनि हुन सक्छन्।’

संवेदनहीन सरकार

सिंगो देश कोरोनाका कारण सन्त्रासमा छ। दुईजना संक्रमितको ज्यान गइसकेको छ। लकडाउनजेठ २० गतेसम्म लम्ब्याइएको छ। नागरिककोजीवन कष्टकर बन्दै गएको छ।

कोरोना संक्रमण तेस्रो चरण अर्थात् समुदायतर्फ उन्मुख भइसकेको जानकारहरू बताइरहेका छन्। तर, सरकार भने कोरोेना भाइरस संक्रमण दोस्रो (क्लस्टर) चरणमा रहेको दाबी गरिरहेको छ। आईसीयू विशेषज्ञ डा. अर्जुन कार्की भन्छन्, ‘भुसको आगो जसरी यो भित्रभित्रै सल्किरहेको छ।’

सरकारले कोराना अहिलेसम्म नेपाल आइपुगेको छैन भनिरहेको बेला वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले नेपालमा कोरोना भाइरसको संक्रमण भइसकेको ठोकुवा गरेका थिए। नभन्दै उनले दाबी गरेको तीन दिनपछि कोरोना भाइरसको संक्रमित भएको पुष्टि भयो। उनी सही ठहरिए।

डा. दीक्षित भन्छन्, ‘काठमाडौँ खाल्डोमा मात्रै एक लाख परीक्षण गर्ने हो भने १० देखि १५ हजारलाई कोरोना भएको हुन सक्छ।’ तर, उनी अहिले पनि स्थिति बिग्रिनसकेको बताउँछन्। ‘परीक्षणको दायरा बढाउनुपर्छ,’ उनी भन्छन्।  

कोरोना भाइरसले चीनमा उत्पात मच्चाइरहँदा आसन्न संकटप्रति प्रधानमन्त्री ओलीका साथै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलगायत मन्त्रीहरू संवेदनशील देखिएनन्। चीनलगायत २७देशमा कोरोना भाइरस संक्रमण फैलिएको पुष्टि हुँदा गत फागुन ६ गते मन्त्री भट्टराईले नेपाललाई कोरोनामुक्त मुलुकका रूपमा घोषणा गर्दै पर्यटक भित्र्याउन सकिने धारणा सार्वजनिक गरेका थिए, जुन बेला चीनमा १ हजार ८ सयभन्दा बढी मान्छेको ज्यान गइसकेको थियो।

कोरोनाको लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिँदा सर्वसाधारण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षणका लागि जान थालिसकेका थिए। अस्पतालका निर्देशक डा. सागर राजभण्डारी भन्छन्, ‘सामान्य रुघाखोकी लाग्दा नै परीक्षण गर्दिनुस् भन्दै दैनिक डेढ–दुई सय जना आइरहेका  थिए। उनीहरूमा एक खालको कोरोना फोबिया थियो।’

चैत ५ मा बल्ल सरकारले कोरोना संक्रमण रोकथामका लागि २५ जनाभन्दा बढी मानिस भेला हुन रोक लगाउने घोषणा गरेको थियो। रक्षामन्त्री पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले एसईईसहित सबै परीक्षा स्थगित गर्दै भेला हुन प्रतिबन्ध लगाउने घोषणा गरेको थियो। चैत ७ मा सरकारले कोरोना भाइरसको संभावित संक्रमण रोक्न मुलुकभर अत्यावश्यक बाहेकका सबै सेवा चैत ९ गतेदेखि २१ गतेसम्म बन्दको घोषणा गरेको थियो। प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै अत्यावश्यक बाहेकका सेवा बन्दको घोषणा गरेका थिए। अन्य मुलुकमा ११ हजारभन्दा बढीको ज्यान गइसकेको थियो। चैत ९ मा बसेको मन्त्रीपरिषद् बैठकले भारत र चीनसँग जोडिएका नाकामा एक साता आवागमन बन्द गर्ने निर्णय गरेको थियो। चैत १० मा सरकारले बल्ल कोरोना संक्रमणको जोखिम बढेको जनाउँदै एकसाताका लागि लकडाउन घोषणा गरेको थियो।

आसन्न संकट पर्खेर बस्दा नै ढिलो भइसकेको थियो। संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा चीनले अपनाएका विधि लाभदायक हुनेतर्फ सरकार जागरुक देखिएन। सर्जिकल मास्कलगायत स्वास्थ्य सामग्रीको तत्कालै जोहो गर्नेतर्फ ध्यान दिइएन।

जनप्रतिनिधि पनि चेतनाशून्य देखिए। महाव्याधिको महासंकटतर्फ मुलुक होमिँदै गर्दा सांसद् निर्वाचन क्षेत्र बजेटलाई कटौती गर्दै केन्द्रीय कोरोना कोषमा पठाउन खोज्दाअधिकांश सांसद् विरोधमा उत्रिए। लकडाउन घोषणाको दुई महिनाको अवधिमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले आफनो ओज घटाउने काम गरे।  जनताको नजरमा आलोच्य हुन पुगे।

जनशक्ति परिचालन र पूर्वाधार, स्वास्थ्य सामग्रीलगायतको व्यवस्थापनमा राज्य संयन्त्र अलमलिएको ग्रान्डी इन्टरनेसनल अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे बताउँछन्। ‘धन्न, चीनबाट कोरोना भाइरस अमेरिका र युरोपतिर संक्रमण हुन पुग्यो,’ डा. पाण्डे भन्छन्, ‘नेपालमै देखापरेको वा चीनबाट नेपालतिर संक्रमण आएको भए के हबिगत हुन्थ्यो होला ? कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारसँग पर्याप्त समय भएर पनि त्यसको सदुपयोग गर्न सकेन।’

व्यवस्थापनमा बिजोग

कोरोना संक्रमित २५ वर्षीय युवा बाँकेको नरैनापुर गाउँपालिकास्थित दीपेन्द्र प्राथमिक विद्यालय भोजभगवानपुरमा रहेको क्वारेन्टिनमा बान्ता गर्दै ज्यान गुमाउन बाध्य हुनु व्यवस्थापनको चरम लापर्बाही भएको धेरैले ठम्याएका छन्। व्यवस्थापकीय पक्षको टिप्पणी गर्दै डा. रामेश कोइरालाले ट्वीटर गरेका छन्, ‘पाँचदिनदेखि युवक स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टिनमा अनि एक्कासी कोरोनाले मृत्यु ! पत्याइयो। तर, क्वारेन्टिनर आइसोलेसनको व्यवस्था हेर्दा विदेशमा भएका नेपालीले चाहिँ खान,बस्न सम्भव छ भने नआएकै जाती ! यहाँभन्दा पत्रु तयारी, जाँच र उपचार सेवा संसारभर कतै नहोला ! दिशाहीन सरकार !’

शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा लैजानुपर्ने कार्यविधिमा उल्लेख छ। तर, पहिलो संक्रमित महिलालाई मृत्यु भएको दुईदिनपछि पशुपति आर्यघाटमा लगिएको थियो। व्यवस्थापकीय कमजोरीका ज्वलन्त उदाहरणका रूपमा दुवैजना संक्रमितको मृत्युपछि कोरोना संक्रमणको पुष्टि हुनुलाई लिन सकिन्छ। दुवै जनाको कोरोना भाइरस पोजिटिभको पुष्टि मृत्युपछि भएको थियो।

क्वारेन्टिनबाट किन भाग्छन् मान्छे ?

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–८ स्थित महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टिनमा सयौँको भीड थियो। कतिपय मान्छे त्यहाँबाट भागे।

विपत् व्यवस्थापनविज्ञ गंगालाल तुलाधार कमजोर व्यवस्थापनकै कारण मानिसहरू आइसोलेसन र क्वारेन्टिनबाट भागिरहेको बताउँछन्। ‘मानिसहरूकिन भागिरहेका छन् त ?’ तुलाधर भन्छन्, ‘उचित सेवा–सुविधा नपाएपछि उनीहरूसँग भाग्नेबाहेक अर्को विकल्प हुँदैन। उनीहरूलाई गोली ठोक्ने आदेश दिएको कुरा पनि आएको छ। मर्न ठिक्क परेको मानिसलाई सरकारले गोली ठोक्छु भनेर गर्न खोजेको के हो ?’

भाइरोलोजिस्ट डा.खड्का नेपालमा क्वारेन्टिनको उचित व्यवस्था नभएको  बताउँछन्। ‘धेरैजसो क्वारेन्टिन मापदण्डविपरीत छन्,’ उनी भन्छन्, ‘कोरोना भएका, कोरोनाको शंका लागेको सबैलाई एकैठाउँमा राखिएको छ, जसकारण सामान्य ज्वरो र रुघाखोकी लागेर लगिएको मानिसलाई पनि कोरोना लाग्ने सम्भावना देखिन्छ। क्वारेन्टिनमा राख्नु भनेको समाजबाट मात्र होइन, व्यक्ति–व्यक्तिबाट पनि टाढा राख्नु हो। यो कुरा बुझ्न नसक्दा भोलि ठूलो दुर्घटना हुन सक्छ।’ विभिन्न डर र त्रासका कारण मानिसहरूक्वारेन्टिनबाट भाग्ने गरेको उनी बताउँछन्। बताए। ‘धेरै मान्छे सोच्छन्– क्वारेन्टिनमा जानेबित्तिकै कोरोना सर्छ,’ उनी भन्छन्, ‘त्यसमाथि क्वारेन्टिनबाट भाग्नेलाई गोली ठोक्ने आदेश छ। सरकारले गोली ठोक्ने बुद्धि बिरामी किन भागिरहेका छन् भनेर पत्ता लगाउनमा खर्चिनुपर्छ। क्वारेन्टिनमा राख्नु भनेको मान्छेलाई जबर्जस्ती कोच्नु होइन।’

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा.खेम कार्की भने क्वारेन्टिन र आइसोलसनबाट भाग्नुको कारण चेतनाको कमी मान्छन्। ‘क्वारेन्टिनमा के होला, कसो होला भनेर धेरैमा त्रास फैलिएको छ,’ उनी भन्छन्, ‘धेरैले सन्त्रास फैलाउने काम गरिरहका छन्। कतिपय ठाउँमा आधारभूत सुविधा नपुगेको हुन सक्छ। तर, त्यस्ता ठाउँ एकदमै थोरै छन्। सरकारले आफूसँग भएको साधनस्रोतको उचित र अधिकतम व्यवस्थापन गरेर काम गरिरहेको छ।’

सरकार पक्षबाट यस्तो कुरा आइरहँदासंक्रमितलाई राखिएको अस्पतालको आइसोलेसन वार्डमा दिइएको खाना स्वास्थ्यकर नभएको गुनासो सार्वजनिक भएको छ। त्यसै गरी, चिकित्सक, स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई)को समेत राम्रो व्यवस्था नभएको गुनासो निरन्तर आइरहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर करिब २७ हजार बेड छन। आईसीयू बेड १ हजार ५ सय ९५ र भेन्टिलेटर ८ सय ४० वटा छन्। आईसीयू सुविधासहितका अस्पताल १ सय ९४ वटा छन्। कोभिड क्लिनिक सञ्चालन भएका अस्पतालको संख्या १ सय ११ रहेको छ। ती अस्पतालमा आइसोलेसन बेड ३ हजार ७६ वटा छन्। संक्रमितको संख्या बढेको अवस्थामा पूर्वाधार पर्याप्त छैन।

सीमित स्वास्थ्यकर्मी

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष एवं वरिष्ठ मुटु शल्यचिकित्सक प्रा.डा.भगवान कोइरालानेपालमा चिकित्सकको संख्या सीमित भएको बताउँछन्। ‘हाम्रोमा चिकित्सकको संख्या सीमित छ,’ उनी भन्छन्, ‘विश्व स्वास्थ्य संगठनले तोकेअनुसार न्यूनतम चिकित्सकको संख्या हामीसँग छैन। दर्ता भएका २६ हजार चिकित्सकमध्ये काम गर्ने चिकित्सक एकदमै थोरै छन्।जनशक्तिको उपलब्धतासँगै, बेड संख्या, उपकरण र क्रिटिकल केयरको हिसाबले पनि हामी एकदमै जोखिमको अवस्थामा छौँ।’ यस्तो अवस्थामा चनाखो भएर आफूसँग उपलब्ध स्रोत र साधनलाई बुद्धिमतापूर्ण हिसाबले प्रयोग गर्दै संकटको सामना गर्नुपर्ने डा. कोइराला बताउँछन्। ‘संसारले थाम्न नसकेको समस्या हामीकहाँ पनि आइपुगेको छ,’ उनी भन्छन्, ‘अहिले त्यसले हामीलाई नराम्रोसँग गाँजिरहेको छ। यस्तो बेलामाभावनामा नबगी‘हिट हार्ड, हिट अर्ली’ हिसाबबाट काम गर्नुपर्छ।’

डेन्जर जोनमा नेपाली

भाइरोलोजिस्ट डा. सुदीप खड्का कोरोनाबाट मृत्यु हुन थालिसकेकाले नेपालीहरू डेन्जर जोनमा भएको कुरा बुझ्न ढिला गर्न नहुने बताउँछन्। ‘नेपालमा अहिले जुन खालका केस देखिएका छन्, त्यसको हिसाबले भाइरस भित्रभित्रै फैलिरहेको छ,’ उनी भन्छन्, ‘त्यसैले परीक्षण, त्यसमा पनि आरडीटी मात्रै नभएर पीसीआर परीक्षण बढाउनुपर्छ।’

डा. खड्का लकडाउनलाई समाधान मान्दैनन्। ‘लकडाउन मात्र कोरोनाको समाधान होइन,’ उनी भन्छन्, ‘यसले संक्रमणलाई स्लोडाउन गर्न सहयोग गर्छ तर कोरोना निमिट्यान्न भने पार्न सक्दैन। लकडाउन गर्नुको मतलब यो बेलामा उपकरणहरूको जोरजाम गर्नु, स्वास्थ्यकर्मीलाई तालिम दिनु, उनीहरूलाई, सुविधासम्पन्न बनाउनु र कोरोनाविरुद्ध लड्नका लागि तयार बनाउनु हो।’ एउटा फ्लेक्स बोर्डमा कोरोना अस्थायी अस्पताल भनेर टाँस्दैमा केही नहुने उनी बताउँछन्। ‘सरकारले अहिले वैज्ञानिक आधारमा गर्नुपर्ने तयारी देखावटी आधारमा गरिरहेकोआभास हुन्छ,’ उनी भन्छन्।

विपत् व्यवस्थापनविज्ञ तुलाधर भोलि सोच्दै नसोचेको दिन पनि आउन सक्ने बताउँछन्। ‘कोरोनाले सबैलाई त्राहिमाम् बनाएको स्थिति छ,’ उनी भन्छन्, ‘यस्तो बेलामा सरकारले चुस्त तरिकाले काम गर्नुपर्ने हो, आत्तिने र झिँजो मान्ने होइन। यस स्थितिमा सबै संयन्त्रको प्रयोग गरेर व्यवस्थित ढंगले अघि बढ्नुपर्छ।’ अहिलेसबै क्षेत्रका व्यक्तिलाई परिचालन गर्नुपर्ने उनको भनाइ छ। ‘अहिले फिल्डमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र मिडियाकर्मी मात्रै देखिएका छन्,’ उनी भन्छन्,  ‘यस्तो बेलामा शिक्षक, कर्मचारी र विभिन्न क्षेत्रका मानिसलाई विभिन्न प्रयोजनका लागि खटाउनुपर्छ।’

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी पनि सरकारले गर्नुपर्ने काम केही नगरेको बताउँछन्। ‘काठमाडौँमा १० हजार परीक्षण गर्ने भन्ने कुरा थियो,’ उनी भन्छन्, ‘यो काम तुरुन्तै गर्नुपर्छ।’ काठमाडौँमा मात्र नभएर तराईका संक्रमित जिल्लामा पनि परीक्षणको दायरा बढाउनुपर्ने उनी बताउँछन्। त्यस्तै,‘कन्ट्याक्ट ट्रेसिङ’ पनि चुस्त हुनुपर्ने आवश्यकता उनले देखेका छन्। ‘मृत्यु भएकाको सम्पर्कमा आएका मानिसहरूमा २४ घण्टाभित्र कन्ट्याक्ट टे«सिङ गर्नुपर्छ,’ डा. सुवेदी भन्छन्, ‘यसमा कसैलाई पनि छुटाउनु हुँदैन। कन्ट्याक्ट टे«सिङ जति ढिला भयो, अरूलाई सर्न सक्ने सम्भावना उति धेरै हुन्छ। टे«सिङमै पाँच–छ दिन लगायो भने त्यतिञ्जेल धेरैलाई संक्रमण फैलिसकेको हुन्छ।’ कन्ट्याक्ट ट्रेसिङ गरिसकेपछि त्यसको राम्रोसँग तथ्यांक राख्नुपर्ने, बाहिरी जिल्लाबाट आएका र क्वारेन्टिनमा बसेकालाई राम्ररी परीक्षण गर्नुपर्ने उनको सुझाव छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन काठमाडौँमा संक्रमितहरू देखापरेसँगै पछिल्लो समय अस्पतालहरू पनि असुरक्षित बन्दै गएको बताउँछन्। ‘अब राज्यले पीपीईलगायत थप आवश्यक सामग्रीको सहज आपूर्ति गरिदिनुपर्छ,’ डा. पुन भन्छन्, ‘यो लामो समयदेखि स्वास्थ्यकर्मीहरूले आग्रह गर्दै आएको कुरा हो। लकडाउन बढेपनि केस बढेको बढ्यै भएकाले लकडाउनको समीक्षा गरी कहाँ के कमजोरी छ, त्यसमा सुधार गर्दै लैजानुपर्छ।’

डा. सुन्दरमणि दीक्षित संक्रमण देखिएको ठाँउमा लकडाउन कडा गरेपनि नदेखिएको ठाँउमा खुकुलो गर्नुपर्ने बताउँछन्। ‘तर, लकडाउन कडा गर्नभन्दा खुकुलो गर्न गाह्रो छ,’ उनी भन्छन्, ‘त्यसका लागि सरकारले सतर्क भएर निगरानी गर्नुपर्छ। खुकुलो पारेको एरियामा टेस्टिङ बढाउनुपर्छ। अनि मात्र, हामी सुरक्षित कि असुरक्षित, थाहा हुन्छ।’

‘लकडाउन सफल भइरहेको छ’

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकाल लकडाउन सफल भइरहेको बताउँछन्। ‘सडकमा सरकारले अनुमति दिएका अत्यावश्यक सवारीसाधन मात्र गुडिरहेका छन्,’ उनी भन्छन्, ‘नाकाबाट आउने गाडीहरूको हकमा सुरक्षा चेकजाँच कडा गरिएको र मुख्य र सहायक नाकामा सुरक्षाकर्मीको नयाँ पोस्ट पनि खडा गरिएको छ।’ नाकामा सुरक्षाकर्मी थप गरिएको, नाकाबाट छिर्नेहरूको यथार्थ विवरण लिने गरिएको र नाकाबाट आएका अनधिकृत सवारीसाधनलाई फर्काउने गरेको उनी जानकारी दिन्छन्। पैदल नाकाहरूमा समेत प्रहरीलाई ड्युटीमा खटाइएको उनी बताउँछन्। ‘उपत्यकालाई बचाउनका लागि सुरक्षाका हिसाबले सबै खालका उपाय अपनाएका छौँ,’ उनी भन्छन्, ‘नाका र उपत्यकामा भएका स्थानीय जनप्रतिनिधिसँग पनि समन्वय गरेका छौँ।’

अहिलेसम्म लगभग २४ सय व्यक्तिलाई पास दुरुपयोगबापत कारबाही गरेको उनी बताउँछन्। ‘ती व्यक्तिको पास हामीले जफत गरेका छौँ,’ उनी भन्छन्, ‘लकडाउन उल्लंघन गर्ने ३२ हजार सवारी साधनलाई कारबाही गरिसकेका छौँ।’ 

संक्रामक रोग ऐन, २०२० अन्तर्गत कसैले लकडाउन कार्यान्वयनमा बाधा गर्‍यो, कार्यान्वयन गरेन भने छ महिनासम्म कैद गर्न सक्ने प्रावधान छ। ‘लकडाउन भनेको विगतमा भएको नेपाल बन्दजस्तो होइन,’ एसएसपी ढकाल भन्छन्, ‘कोरोना चानचुने विषय होइन। यस भाइरसविरुद्ध स्वास्थ्यकर्मी र सुरक्षाकर्मी मात्र होइन, । हामी सबै लडाइँमा छौँ। लकडाउन जति सफल हुन्छ, कोरोनालाई त्यति चाँडो हराउन सकिन्छ।’


‘सरकार अरिंगालको गोलोमा धुवाँ हालिरहेको छ’

डा. सुन्दरमणि दीक्षित

मैले पहिला पनि नेपालमा कोरोना भित्रिसकेको छ भनेको थिएँ।स्वास्थ्य मन्त्रालयले परीक्षणै नगरी कोरोना छैन भनेको थियो। मैले ‘परीक्षण नगरेर कोरोना नदेखिएको हो’ भनेको थिएँ। अहिले परीक्षण सुरु गर्नेबित्तिकै संक्रमण पनि बढ्दो क्रममा देखिन थालेको छ। अबका दिनमा परीक्षणको दायरा जति बढाउँछौँ, कोरोना त्यतिनै देखिन्छ। काठमाडौँ खाल्डोभित्र एक–दुई लाख मात्रै परीक्षण ग¥यो भने कमसेकम १५ देखि २० हजारको हाराहारीमा संक्रमण भेटिन सक्छ। मानिसमा जति संक्रमण बढ्दै जान्छ, त्यति नै भाइरसको संख्या पनि बढ्दै जान्छ। त्यसले नयाँ–नयाँ व्यक्तिलाई समात्छ। अरिंगालको गोलोबाट निस्किएका अरिंगालले एकैचोटि आक्रमण गर्नु र फाट्टफुट्ट आक्रमण गर्नुमा फरक पर्छ। अहिले हामी अरिंगालको गोलोलाई बढाएर एकैचोटि आक्रमण गरोस् भनेर पर्खेर बसेका छौँ। फैलिन लागेको अरिंगालको गोलोमा सरकारले धुवाँ हाल्ने काम मात्रै गरिरहेको छ।

सरकारले सिमानामा लकडाउन गरेर मात्र हुँदैन, सिल नै गर्नुपर्छ। मुलुकमा मुख्य खतरा त्यहीँबाट भित्रिएको छ। मानिसहरूविभिन्न ठाउँबाट लुकीछिपी आइरहेका छन्। त्यसलाई नियन्त्रण गर्न सकिएको छैन। काठमाडौँमा छिर्ने मुख्य तीन नाका छन्, नागढुंगा, फर्पिङ र बीपी राजमार्ग। संक्रमित जिल्लाबाट काठमाडौँ सुरक्षित छ भन्दै रातारात थुप्रै मानिस भित्रिएका छन्। तर, उनीहरूको परीक्षण भएको छैन। तर, अहिले पनि केही बिग्रिएको छैन। परीक्षणको दायरा बढाउनुपर्छ। आरडीटी मात्र होइन, पीसीआर टेस्ट नै गर्नुपर्छ। त्यसका लागि स्वास्थ्यकर्मी, ल्याब टेक्निसियन जो–जो चाहिन्छ, उनीहरूको संख्या बढाउनुपर्छ। तिनलाई सुरक्षाका साधन दिनुपर्छ। परीक्षणले अहिलेको अवस्थामा हामीलाई धेरै सहयोग गर्न सक्छ। तर, यसमा सरकारले कुनै योजना बनाएको देखिँदैन। के गर्ने भन्नेकुरा नै सरकारलाई थाहा छैन।

अहिले सुरक्षामा खटिएका सुरक्षाकर्मी पनि फ्रन्टलाइनमा बसेर काम गरिरहेका छन्। लकडाउन उल्लंघन गर्नेलाई पनि उनीहरूले नै नियन्त्रण गरिरहेका छन्। उनीहरूलाई दिएको मास्क कुनैपनि हालतमा भाइरस छेक्ने खालको छैन। त्यसैले सुरक्षाकर्मीको सुरक्षातिर पनि ध्यान दिनुपर्छ। यति काम गरियो भने छ–सात महिनामा नेपाललाई कोरोनाबाट मुक्ति दिन नसकिए पनि वातावरण सहज भने बनाउन सकिन्छ।

यस्तो बेलामा लकडाउन गर्नुपर्छ। तर, सरकारले लकडाउन गर्न नपर्ने ठाँउमा खुकुलो पार्नुपर्छ। जहाँ धेरै संक्रमित देखिएका छन्, त्यहाँ झन् कडा गर्नुपर्छ। तर, एउटा कुरा के बुझ्नुपर्छ भने लकडाउन गर्न सजिलो भए पनि लकडाउन खुकुलो पार्ने काम एकदमै गाह्रो हो। यसका लागि सरकारले सतर्क भएर निगरानी गर्नुपर्छ। खुकुलो पारेको एरियामा टेस्टिङ बढाउनुपर्छ। अनि मात्र, हामी सुरक्षित कि असुरक्षित थाहा हुन्छ। चीनले ‘हामी सुरक्षित भयौँ’ भनेर वुहान खोलिदियो। तर, फेरि कोरोना देखियो। त्यसैले लकडाउन खोल्दा धेरै विचार पु¥याउनुपर्छ। किनभने, सधैँ लकडाउन गरेर पनि साध्य लाग्दैन। मानिसहरूले खान पाएका छैनन्। घरघरमा अन्न सकिन थालेर मानिस छटपटिन थालिसके। सामाजिक संस्थाले कति दिनसम्म कतिजनालाई खुवाउन सक्छन्?

अहिलेसम्म कोरोना हाम्रो हातबाट बाहिर निस्किएको छैन। तर, हातबाट बाहिर गयो भने यसको जिम्मा सरकारले लिनुपर्छ।


‘देशको कुनै पनि क्वारेन्टिन बस्नलायक छैन’

गंगालाल तुलाधर, विपत् व्यवस्थापनविज्ञ

नेपालमा कोरोना संक्रमण भर्खर सरु हुँदै छ। संक्रमितको संख्या बढिरहेको अवस्थामा भारतबाट ह्वारह्वार सीमा पार गरेर मानिसहरू आइरहेका छन्। केही समयपछि खाडीमा रोजीरोटी गुमाएका पनि आउँछन्। त्यसपछि झन्संक्रमणको संख्या बढ्छ। त्यहीअनुसार मृतकको संख्या पनि बढ्दै जान्छ।

अब सरकारले ‘जस्तो पर्ला उस्तै टर्ला’ भन्ने हिसाबले काम गर्नु भएन। जनताले पनि ‘नेपालीहरू मर्दैनन्, पशुपतिनाथको देश पशुपतिनाथले जोगाउँछन्, यहाँका मानिसकोरोग प्रतिरोधात्मक क्षमता बलियो छ’ भनेर मात्रै बसेर हुँदैन।

सरकारले आफ्नो तयारी एकदमै ढिला ग¥यो। पछिल्लो समय संक्रमण कम देखिएको र मृत्यु हुँदैन भनेर सरकार उत्साहित थियो। कतिपय ब्याकअपमा राख्नुपर्ने सामान पनि राखेन। क्वारेन्टिनको संख्या बढेपनि त्यसको गुणस्तरमा अलिकति पनि ध्यान दिइएको छैन। देशको कुनै पनि क्वारेन्टिन बस्नलायक छैन। खरिपाटीको क्वारेन्टिनमा सबै सुविधा थिए। फ्रन्टलाइनमा सबै दक्ष मानिस मात्र थिए। त्यहाँको जस्तो क्वारेन्टिनदेशभर नभएपनि भारतबाट प्रवेश गर्ने मुख्य नाकामा व्यवस्था गर्नुपर्छ। तर, सरकार कार्यदक्षतामा एकदमै कमजोर र अप्रभावकारी छ।

अहिले मानिसलाई हात धुने, हाच्छ्युँ गर्दा कुहिनाले मुख छोप्नेजस्ता कुरा सम्झाइरहनुपर्दैन। यो उनीहरूको जीवनपद्धति बनिसक्यो। मुख्यकुरा,क्वारेन्टिनको सुविधा सरकारले बढाउनुपर्छ। त्यस्तै,फ्रन्टलाइनमा काम गर्नेलाई आवश्यक पर्ने ‘प्रोटेक्सन केयर’ राम्रो छैन। विकसित देशमा समेत अग्रमोर्चामा खटिने डाक्टर र नर्सहरू मरेका छन्। यहाँ पनि भोलि त्यो दिन नआउला भन्न सकिन्न। त्यसो भयो भने भोलि डराएर भागदौड गर्न सक्छन्। ‘आफू मरेर भए पनि जनता बचाउँछु’ भन्ने भावना उनीहरूमा जगाउनसरकारले त्यही अनुसारको व्यवस्था गर्नुपर्छ। फ्रन्टलाइनमा काम गर्नेलाई चित्तबुझ्दो हिसाबले बिमा गरिदिनुपर्छ। स्वास्थ्यकर्मी र सुरक्षाकर्मी ‘आइरन म्यान’ होइनन्। उनीहरूलाई संक्रमण हुँदै नहुने होइन। उनीहरू संक्रमणको जोखिममा झन् बढी हुन्छन्। उनीहरूलाई साधारण बुट र हेल्मेटको भरमा मात्र खटाउनु हुँदैन।


‘हावाको भरमा परीक्षण गर्ने कुरा हुँदैन’

डा.खेम कार्की, विज्ञ सल्लाहकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

कोरोना संक्रमणका केस दिनप्रतिदिन बढिरहेका छन्। अझै बढ्नेछन्। किनभने, भारतबाट आउने मानिसको संख्या बढेसँगै केस पनि बढेको हो। पछिल्लो समय पोजिटिभ देखिएका केस भारतबाट आएका व्यक्तिमा देखिएका हुन्। तीन–चार सयको हाराहारीमा केस देखिनेबित्तिकै धैरै डराउनुपर्ने स्थिति छैन। हामीसँग ३ हजार ७५ जनालाई भर्ना गर्न पुग्ने बेड छन्। थोरै केस हुँदासम्म अस्पतालमा राख्ने हो। धेरै केस देखियो भने अवस्था हेरेर सेल्फ आइसोलेसन र क्वारेन्टिनमा राख्ने व्यवस्था हुन्छ। संक्रमण हजारौँमा भएपनि बिरामी कति हुन्छन् भन्ने हो।संक्रमित भएका, तर बिरामी नभएकालाई जहाँ उचित हुन्छ, त्यहीँ राख्ने व्यवस्था हुन्छ।

धेरैले हिजो समुदायमा लुकेर बसेकालाई परीक्षण गर्दा संक्रमितको संख्या बढेको हो भनेका छन्। यो एकदमै गलत कुरा हो। अहिले देखिएका सबै नयाँ केस हुन्। उनीहरू भारतको नाकाबाट छिरेर आएका हुन्। परीक्षणको दायरा बढाएको कारणले कोरोना संक्रमित भेटिएका होइनन्। जति केस देखिएका छन्, त्यसैको आधारमा सरकारले परीक्षण बढाउने हो। यत्तिकै हावाको भरमा परीक्षण गर्ने कुरा हुँदैन। सबैको पीसीआर टेस्ट गर्नुपर्छ भन्ने कुरा पनि धेरैले निकालेका छन्। यो परीक्षणमा धेरै खर्चिलो हुने भएकाले त्यसमा राज्यको करोडौँ लगानी लाग्छ। जापानजस्तो मुलुकले अस्पतालमा भर्ना गरेपछि लक्षण छ भने मात्रै जाँच गर्छ भने हामीले कसरी धान्न सक्छौँ ? हामी अहिले नयाँ केस आयो भने संक्रमितसँग जोडिएकालाई सकेसम्म खोजीखोजी टे«सिङ गरिरहेका छौँ। हचुवाको भरमा परीक्षणको दायरा बढाएर हुँदैन। नयाँ केस देखिएपछि परीक्षणको संख्या पनि बढ्दै जान्छ। जति केस बढ्छ, तयारी पनि थप्दै जान्छौँ।कोरोना रोकथामका लागि सरकार तयार छ। तर, यसका लागि जनताले पनि जीवनशैली र व्यवहारमा परिवर्तन ल्याउनुपर्छ।

तपाईको कमेन्ट