न भारी छ न भात

writer

नारायण ढुंगाना

बिहिबार, ०८ जेठ २०७७


बाघबहादुर तामाङको जिन्दगीमाभारीको अहम् महŒव छ। सिन्धुपाल्चोक, मेलम्ची, नवलपुरका उनले काठमाडौँमा भारी बोक्न थालेको जुग भइसक्यो। उमेरले ६७ वर्ष लागे पनि यी मजदुर ५० केजीको भारी पनि सजिलै बोक्न सक्छन्। 

अहिले शरीरमा भारी छैन। उनलाई भारी दिने बजार बन्द छ। त्यसैले उनको छाक टर्न छोडेको छ। ‘जीउमा भारी नभएर के गर्नु, मनमा एक धोक्रो भारी छ,’ काठमाडौँ, जोरपाटीमा भेटिएका उनले भने। बाघबहादुर र उनका मजदुर साथीहरूको पेटमा लकडाउनले लात हानेको छ।

‘कुनै संस्थाले खुवाए एक छाक खायो, नभए कोठामा भोकै सुत्यो,’ बाघबहादुरले भने, ‘हामी अहिले संस्थाले दिएको खानाको भरमै छौँ।’

उनलाई पहिले त लकडाउन भनेको नेपाल बन्दजस्तै लागेको थियो। एक्कासि सबै गतिविधि ठप्प कसरी भयो भनेर उनी सुरुमा त छक्कै परे। बिस्तारै साथीभाइसँग बुझ्न थाले। ‘काठमाडौँमा त ‘नेपाल बन्द’ भएछ भन्ने ठानेको थिएँ,’ उनले सुनाए, ‘साथीभाइले भनेपछि पो थाहा पाएँ। भाइरसले संसारै सिद्ध्याउन आँटेको रहेछ। लकडाउन लगाको रे भन्ने थाहा पाउन धेरै समय लाग्यो। लकडाउन भन्या कडा खालको नेपालब बन्द रहेछ।’ 

अघिपछि नेपाल बन्द हुँदा बरु केही न केही गतिविधि हुन्थे। थाप्लोमा नाम्लो हाल्न पाइन्थ्यो। तर, अहिलेको ‘नेपाल बन्द’ले उनलाई साह्रै गाह्रो पारेको छ।‘पहिले–पहिले हुने नेपाल बन्द यति लामो समय पनि हुँदैनथ्यो,’ उनले भने, ‘काम गर्न र खाना खान समस्या हुँदैनथ्यो। केही न केही काम पाइन्थ्यो। तर, यसपालिभने बिजोगै छ।’ 

उनलाई मान्छेहरू स्वार्थी भएर यस्तो भयानक महामारी आएको भन्ने लाग्छ। ‘मानिस धेरै स्वार्थी भैगो, पापी भैगो,’ उनले भने, ‘अनि त महामारी आयो नि।’ 

बाघबहादुर र उनका मजदुर साथीहरूको पेटमा लकडाउनले लात हानेको छ। ज्यानले भारी पाएको छैन, पेटले भोजन।

यतिखेर विश्व नै कोरोनाका कारण आहत छ। लाखौँ संक्रिमत भएका छन्, कति मृत्युसँग लड्दै छन्, कतिले ज्यान गुमाइसकेका छन्। हरेक देशको अर्थतन्त्र डामाडोल छ। विश्वमा मानवीय क्षति बढ्दै गर्दा त्यसको प्रभाव नेपालमा पनि पर्ने त्रास छाएको छ। यस्तो विषम परिस्थितिमा बाघबहादुरजस्ता लाखौँ मजदुरको बिचल्ली छ। 

बाघबहादुर दिनमा पाँचसात सय कमाउँथे। छाक टथ्र्यो। बचाएर महिना÷दुई महिनामा घरमा अलिकति रकम पनि पठाउँथे। ‘अहिले त मजदुरलाई एक छाक खानै मुस्किल छ,’ उनले भने। 

बाघबहादुरझैँ सिन्धुलीका हरिबहादुर माझीका दुःखका दिन पनि यसै गरी बितिरहेका छन्। ‘अहिलेजस्तो सकस त कहिल्यै भएको थिएन,’ भक्तपुरमा भारी बोक्ने उनले भने, ‘दिउँसो कसैले दिएको खाना खाइन्छ अनि कतै पाटीतिर गएर सुतिन्छ।’ 

दैनिक भारी बोक्न पाउँदा उनीजस्ता अनगिन्ती मजदुर खुशी हुन्छन्। ‘जति धेरै भारी पायो, उति धेरै खुशी हुने ज्यान हो हाम्रो,’ हरिबहादुरले भने, ‘बसीबसी खाने, हप्तौँ आराम गर्ने हाम्रो बानी हुँदैन। त्यो त ठूलाबडाको बानी हो।’ 

उनका साथीहरू भाइकाजी खत्री, रामबहादुर वाइबा, बाबुराम गुरुङ, प्रेम धिमालकोदिनचर्या पनि फरक छैन। गुजारा गर्ने बाटो नै टुटेपछि उनीहरू निराश छन्। अहिलेसम्म केही संस्थाले खाना दिएका छन्। कतिपय स्थानीय तहले यसरी निःशुल्क खाना बाँड्न रोक लगाएका छन्। सरकारले उनीहरूलाई स्थानीय तहको विकास निर्माणमा सहभागी गराउने निर्णय गरेको छ। त्यसमा पनि आफ्ना मान्छेलाई मात्र काम दिने होलान् भन्ने चिन्ता मजदुरको छ। ‘हामीजस्ता गरिबले न राहत पायौँ, न अब काम नै पाउँछौँ,’ भक्तपुरको शंखधर चोकमा भेटिएका भाइकाजीले गुनासो गरे, ‘गरिबको कोही पनि छैन।’ 

सरकारले यसअघि असंगठित क्षेत्रका मजदुरलाई राहत दिने निर्णयका विषयमाभाइकाजीको तीतो अनुभव छ। ‘नागरिकता बोकेर स्थानीय तहमा गए पनि राहत पाइनँ,’ उनले भने, ‘आफ्ना मान्छेलाई, घर भएकालाई, जिम्मा लिनेलाई मात्रै राहत दिन थालेपछि रित्तो हात फर्किएँ।’ 

सबै मजदुरको साझा गुनासो छ– सरकारले गरिखानेका पक्षमा केही पनि काम गरेन। ‘सरकार हामी मजदुर सडकमा भोकै मरे पनि हेर्न आउँदैन,’ बाघबहादुरले दुःख र आक्रोश मिसिएको लवजमा भने। 

तपाईको कमेन्ट