समाजसेवाका लागि पेन्टिङ

writer

सम्पूर्ण

बुधबार, ०७ जेठ २०७७


लकडाउनले कलाकारलाई भान्छा र टिकटकमा मात्र व्यस्त बनाएको छैन। केही कलाकार आफ्ना नयाँ–पुराना रुचि ब्युँत्याउने प्रयत्नमा छन्। यसमा पनि अभिनेत्री सञ्चिता लुइँटेल, सुरक्षा पन्त र अर्जुन कुमारले पेन्टिङलाई माध्यम बनाएका छन्। सुरक्षा पन्त इन्जिनियरिङकी विद्यार्थी हुन्, जसमा पेन्टिङ आधारभूत ज्ञानमै पर्छ। त्यसैले उनले पेन्टिङको सोख पाल्नु अनौठो भएन। तर, यस विधामा सञ्चिता लुइँटेल र अर्जुन कुमारको पनि दक्षता देखिएको छ। सञ्चिताले आफूले गरेका पेन्टिङ फाट्टफुट्ट फेसबुकमा राख्ने गरेकी छिन् तर अर्जुन कुमारले त यो अवधिमा ३५ वटा पेन्टिङ बनाइसकेका छन्। निर्माता र गायकको परिचय बनाएका उनले पेन्टिङबाट पनि धेरैलाई प्रभावित बनाएका छन्। 

‘चपली हाइट’, ‘फिट्किरी’, ‘फाटेको जुत्ता’ जस्ता फिल्मका निर्माता अर्जुनले लकडाउनको समयमा बनेका पेन्टिङ समाजसेवाका लागि प्रयोग गर्ने बताएका छन्। उनले आफूले बनाएका पेन्टिङ कुनै सामाजिक संस्थालाई दिने वा कसैले किनेमा  सो बापतको रकम समाजसेवामा खर्चने बताएका छन्। अर्जुनको पेन्टिङ रुचि पुरानो हो। कक्षा छमा पढ्ने बेलादेखि नै चित्र बनाउँथे। उनले सन् १९९५ मा पेन्टिङ बेचेर कमाएको पैसाले किनेको भेस्पा बाइक अझै पनि घरमा राखेका छन्। लकडाउन अवधिभर बनाएका सबै पेन्टिङ च्यारिटीका लागि निःशुल्क दिने अर्जुनले बताए। ‘जीवन रंगिन हुनुपर्छ’ भन्ने उनले पेन्टिङ पनि उस्तै बनाएका छन्। फ्लेक्स व्यवसाय गर्ने उनले यिनै सामग्रीबाट पेन्टिङ बनाएको बताए। ‘फ्लेक्सको रहलपहललाई सदुपयोग गरेको हुँ,’ उनले भने, ‘सामाजिक सञ्जालमा सुरुवातदेखि नै उत्साहजनक प्रतिक्रिया पाएपछि दिनमै तीनचार वटा चित्र बनाइयो। हेर्दाहेर्दै ३५ वटा पुगिसकेछन्। यसबाट जेजति आम्दानी हुन्छ त्यो सबै समाजसेवामा खर्चन्छु।’

अर्जुन निर्मित पछिल्लो फिल्म ‘चपली हाइट ३’ रिलिजको सँघारमा आएर कोरोनाका कारण रोकिएको थियो। उनी चलचित्र विकास बोर्डको अध्यक्षका आकांक्षी पनि हुन्।


 

तपाईको कमेन्ट