अर्थरको आलापमा झुम्यो संसार

writer

सम्पूर्ण

बुधबार, ०७ जेठ २०७७


‘को बन्ला नयाँ अमेरिकन आइडल ?’ 
‘अमेरिकन आइडल’को अठारौँ सिजन अन्त्यतिर आइपुग्दा यस्ता शीर्षकमा गरिएका हरेक सर्वेक्षणले नेपाली युवा दिवेश पोखरेलको नाममा मोहर लगाएका थिए। तर, आइतबार बिहान आयोजकले नतिजा घोषणा गर्दा सर्वेक्षणभन्दा फरक नाम निस्कियो। २२ वर्षीया दिवेशभन्दा एक वर्ष कान्छी जस्ट सामले उनलाई उछिन्दै अमेरिकन आइडलको उपाधि चुमिन्। दिवेश पोखरेल अर्थात् अर्थर गन रनरअप भए। 

अमेरिकन आइडलको अन्तिम पाँच प्रतिस्पर्धीलाई समावेश गरेर ट्यालेन्ट रिक्यापले गरेको फ्यान पोलमा दिवेशले  ५३ प्रतिशत मत पाएका थिए। जबकि, विजेता बनेकी जस्ट सामलाई १३ प्रतिशतले भोट गरेका थिए। यस्तै अनुमान अमेरिकी अखबार ‘वासिङ्टन पोस्ट’को पनि थियो। उसले गरेको सर्वेक्षणमा पनि अर्थर गन नै नयाँ आइडल बन्ने अनुमान गरिएको थियो। तर, अन्तिम प्रतिस्पर्धामा सामले बाजी मारिन्। आइडलमा सहभागी हुनुअघि साम सबवेमा गाउने गर्थिन्। जस्ट साम र दिवेशसँगै उत्कृष्ट पाँचमा फ्रान्सिस्को मार्टिन, डिलन जेम्स र जोनी वेस्ट पुगेका थिए। 

दिवेश पनि अमेरिकन आइडलमा जानुअघि कन्सास विचिटाको कफी सपमा गाउँथे। यही कफीसपमा गाउँदा पाएको ताली र प्रशंसाले आफूलाई अमेरिकन आइडलको प्रतिस्पर्धामा जान प्रेरित गरेको उनले बताएका थिए। तर, अडिसनमा गाएको पहिलो गीतले नै उनी निर्णायकको नजरमा परे। उनले अनलाइन अडिसनमा स्टिकी फिंगर्सको ‘इजी सङ’ गाएका थिए भने फिजिकल अडिसनमा क्लिरेन्स क्लियर वाटर रिभाइभलको ‘ह्याभ यू एभर सिन द रेन’ गाएका थिए। गीत सुनेपछि निर्णायक लियोनल रिचीले दिवेशको गायिकीलाई बब मार्लीसँग दाँजेका थिए भने अर्का निर्णायक लुक ब्रायनले उनलाई अमेरिकन आइडलले पाएकामध्ये सबैभन्दा ठूलो स्टार हुन सक्ने बताएका थिए। 

अमेरिकन आइडलले दिवेशको प्रतिभालाई चम्काउने प्लेटफर्म प्रदान गरे पनि यसको आधारशिला काठमाडौँमै तयार भएको थियो। काठमाडौँ, कुलेश्वरमा हुर्किएका उनको स्वरले यहीँ साँध लगाउने अवसर पाइसकेको थियो। एस कलेजबाट प्लस टू गरेर छ वर्षअघि अमेरिका पुगेका उनले फर्केर ‘ग्रहण’ र ‘खोज’ गरी दुई एल्बम निकालेका थिए। उनका यी गीत अहिले आर्थर गनको अफिसियल युट्युब च्यानलमा पनि सुन्न सकिन्छ।

परिवारमा संगीतमा लागेका कोही नभए पनि दिवेश बच्चैदेखि गुनगुनाउँथे, गिटार बजाउन खोज्थे।उनले भनेका छन्, ‘मैले मेरो पहिलो गिटार आमाबाट पाएँ। रेडियो, टीभी जहाँ जुन गीत सुने पनि सँगै गाइहाल्थेँ।’ 

उनको परिवार सन् २००८ मा अमेरिका बसाइँ स¥यो तर पढाइका कारण उनीचाहिँ सन् २०१४ तिर अमेरिका गए। यतिबेलासम्म उनले गायनलाई गम्भीर रूपमा अँगालिसकेका थिए।दिवेशले स्टेज नेम ‘अर्थर गन’ दुई वर्षअघि आफैँले जुराएका हुन्। त्यतिबेला उनी उन्नाइसौँ शताब्दीका प्रभावशाली फ्रेन्च कवि जाँ निकोलस अर्थर रिमबाउका कविता पढ्दै थिए। ‘मलाई अर्थरका कविताले छोएर उनकै नामबाट स्टेज नेम राखेँ,’ दिवेशले प्रस्ट्याएका छन्, ‘यो नाम सजिलो पनि छ।’ 

तीन सिजनयता एबीसी टेलिभिजनबाट प्रसारण हुन लागेको अमेरिकन आइडलले बल्ल २० प्रतिस्पर्धी के छानेको थियो, अमेरिकालाई कोभिड–१९ को प्रकोपले छाप्यो। एबीसीले सबै प्रतिस्पर्धीलाई घर पठायो र घरबाटै अनलाइन प्रस्तुति दिने व्यवस्था मिलायो। त्यसयता अन्तिम प्रतिस्पर्धासमेत अनलाइनबाटैसम्पन्न भएको थियो। निर्णायकले विजेता र उपविजेता पनि अनलाइनबाटै घोषणा गरेका थिए। उपविजेता भएसँग दिवेशले १ करोड ७४ लाख बराबरको डिल प्राप्त गरेका छन्। 

दिवेशको अनुहार पहिलोपटक गत १० फेब्रुअरीमा सम्पन्न एकेडेमी अवार्ड वितरण समारोहमा देखिएको थियो। त्यहाँ अमेरिकन आइडलको विज्ञापन प्रस्तुत गरिएको थियो, जहाँ एल्टन जोनको गीत ‘टाइनी डान्सर’ गाइरहेका प्रतिस्पर्धीहरूमा दिवेश पनि देखिएका थिए। तर, टेलिभिजनबाट सो प्रसारण हुन थालेपछि मात्र विश्वभरका नेपालीले उनलाई पछ्याउन थालेका थिए। अर्थरले अमेरिकन आइडलमा प्रवेश पाउनेबित्तिकै विश्वभरका नेपालीले उनलाई उत्साहका साथ भोटिङ गरेका थिए भने नेपालमा पनि उनको पक्षमा भोटिङ अभियान चलाइएको थियो। लकडाउनका बीच पनि उनलाई भोटिङ गर्न अपिल गरिएका पोस्टर काठमाडौँका कुना–कुनामा टाँसिएका थिए। उनलाई जिताउन लकडाउनको अवस्थामा पनि उनकी हजुरआमाको उपस्थितिमा काठमाडौँमा जुलुस निकालेर अभियान चलाइएको थियो।

अमेरिकन आइडलको जारी अठारौँ संस्करणमा लुक ब्रायन, केटी पेरी र लिओनेल रिची निर्णायक रहेका थिए। टप ११ मा पर्दा निर्णायक लियोनेल रिचीले दिवेशको प्रशंसा गर्दै भनेका थिए, ‘सबैभन्दा महŒवपूर्ण कुरा के हो भने, तिमी जेसुकै गाऊ, त्यो अर्थर गन नै सुनिन्छ। र, हरेक गायकले आफ्नो करिअरमा खोज्ने भनेकै यही हो। यो यात्रामा रमाऊ साथी, तिम्रो यात्रा उत्कृष्ट हुनेछ।’ नभन्दै निर्णायक लियोनेलले भनेझैँ अमेरिकन आइडलमा दिवेशको सांगीतिक यात्रा उत्कृष्ट रह्यो।

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि