क्वारेन्टिनका नाममा खेलाँची नगरियोस्

writer

सम्पूर्ण

बुधबार, ०७ जेठ २०७७


कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले विष्फोटको रूप नलिँदै नियन्त्रण गर्न अपनाउनुपर्ने विधिबारे बोल्दाबोल्दा जनस्वास्थ्य क्षेत्रका विज्ञ एवं चिकित्सक  थाकिसकेका छन्। संक्रमण समुदायमा फैलिन नदिन र संक्रमणको ‘चेन ब्रेक’ गर्न लागू गरिएको लकडाउन दुई महिना बित्न लाग्दा संक्रमणदर भने प्रतिघण्टा तीन जना पुगेको छ। सरकारले कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न गर्नुपर्ने तयारीका लागि पर्याप्त समय पाएको थियो। विश्वभर डढेलोझैँ फैलिएको संक्रमणको गति नेपालमा सुस्त थियो। अन्तर्राष्ट्रिय अनुभव र अन्य देशले भोगेका समस्या र रोकथामका लागि गरेका प्रयासबाट हामीले सिक्ने अवसर पनि पाएका थियौँ। तर, लकडाउनगरेकोे चैत ११ गतेदेखि हरेक मिनेटको हिसाब गरेर संक्रमण फैलिन नदिनका लागि अपनाउनुपर्ने रणनीति, खडा गर्नुपर्ने भौतिक पूर्वाधार, जुटाउनुपर्ने स्रोत साधनबारेसरकार गम्भीर नहुँदा दुई महिनापछि पनि हाम्रो अवस्था सुरुवातकै चरणमा जस्तो छ। 

संक्रमणदर तीव्र गतिमा बढिरहेको छ। कोरोना भाइरसका कारण मृत्यु हुन थालिसकेको छ। दुई महिनासम्म घरभित्र थुनिएर बस्दापनि संक्रमणको त्रास कम नभएकोमा सर्वसाधारण आत्तिएका छन्। लकडाउनलाई अनुशासित ढंगले पालना गर्दा कोरोना भाइरसको संक्रमणको चक्र टुटाउन सकिने भएपनि हामीकहाँ त्यो नभएको देखिएको छ। बेलैमा लकडाउन नगरिएको भए परिस्थिति अहिलेभन्दा धेरै गुणा भयावह हुने थियो भन्नेमा दुईमत छैन। तर, सरकारले दुई महिना जसरी बितायो, यसमा भने थुप्रै प्रश्न उब्जिएका छन्। सरकारले आफ्ना गल्ती स्वीकार गरेर थप नयाँ रणनीतिका साथ संक्रमितको उपचार र संक्रमण रोकथाममा सम्पूर्ण ध्यान केन्द्रित नगर्ने हो भने हामीले भोग्नुपर्ने क्षति निकै ठूलो हुने निश्चित छ। 

संक्रमणको आशंका गरिएकालाई समुदायबाट छुट्टै राखेर निगरानी र उपचार गरिने विधि क्वारेन्टिन व्यवस्थापनमा भएको लापर्बाही छताछुल्ल भइसकेको छ। क्वेरन्टिनमा रहेका एक युवाको मृत्यु भएको घटनालाई विज्ञले चरम लापर्बाही भनेका छन्। विश्व स्वास्थ्य संगठनले तोकेका मापदण्ड पूरा गरेर सञ्चालन गर्नुपर्ने क्वारेन्टिनको अवस्था भद्रगोल छ। प्रहरीले थुनुवालाई राखेजसरी मानिसलाई क्वारेन्टिनमा राख्ने गरिएका समाचार आइरहेका छन्। क्वारेन्टिनमा राखिएकाले सामाजिक दूरी कायम नगरेको, दिनभर क्वारेन्टिनमा बस्ने र रात परेपछि आफ्नै घरमा सुत्न जाने गरेको समेत भेटिएको छ। यस्ता लापर्बाहीहटाइएनन् भने कोरोना भाइरस संक्रमण हामीले नियन्त्रणै गर्न नसक्ने गरी विष्फोट हुनेछ। 

परीक्षणको दायरा बढेसँगै संक्रमितको संख्या पनि बढिरहेको छ। पीसीआर परीक्षण जति बढ्दै जान्छ,संक्रमितको संख्या त्यही अनुपातमा बढ्ने निश्चित छ। संक्रमितको पहिचानसँगै उनीहरूको सम्पर्कमा आएकाको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्न सकिएन भने फेरि पनि हामी भाइरसको चेन ब्रेक गर्न सक्दैनौँ। धुलिखेल अस्पतालमा मृत्यु भएकी महिला कसरी संक्रमितभइन् भन्ने अझै पत्ता लागेको छैन। संक्रमित व्यक्तिको सम्पर्कमा आएकाको ट्रेसिङ प्रभावकारी हुन सकेन भने कोरोना भाइरसको फैलावट रोक्न सकिँदैन। व्यक्तिगत तहमा अपनाउनुपर्ने सावधानी र सरकारले गर्नुपर्ने बन्दोबस्तबीच समन्वय हुन सक्दामात्र हामी कोरोनामाथि जीत हासिल गर्न सक्छौँ। संक्रमितको संख्या बढ्दै जाने, उपचारका लागि तोकिएका अस्पताल भरिँदै जाने, मृत्युको संख्या पनि बढ्ने अवस्था आयो र सरकारले अब सकिएन भन्ने अवस्था बन्यो भने त्यो सबैभन्दा दुःखद क्षण हुनेछ। सरकारले ‘कोसिस गरेकै हो, सकिएन, के गर्नु त’भन्ने छुट पाउनेछैन। 

संक्रमितको संख्या बढ्दै जाँदा गम्भीर लक्षणका बिरामी थपिँदै जाने सम्भावनाहुन्छ। कोरोनाको उपचारका लागि तोकिएका अस्पताल हामीसँग कति उपलब्ध छन् ?तिनले धान्ने बिरामी संख्या कति हो ?त्यसपछिको ‘ब्याकअप’ के छ ?तयारी अवस्थामा कुन÷कुन अस्पताललाई राख्ने भन्नेबारे सरकारले आलटाल नगरी निर्णय लिनुपर्छ। निजी क्षेत्रका मेडिकल कलेजर अस्पतालहरूसँग पनि समन्वय गरेर उपचारको व्यवस्था मिलाउनुपर्छ। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभर अस्पालको बेड करिब २७ हजार छन्। आईसीयू बेड १ हजार ५ सय र भेन्टिलेटर ८ सय ४० वटा छन्। यीमध्ये करिब एकतिहाई कोरोना उपचारमा उपलब्ध हुने अवस्था छ। अधिकतम बिरामीको संख्या अनुमान गरेर उपचारको ‘ब्याकअप’ तयारी अवस्थामा राख्नुपर्छ। 

भारत लगायत अन्य देशबाट फर्किनेलाई अनिवार्य रूपमा मापदण्ड पूरा गरेका क्वारेन्टिनमा तोकिएको अवधिभर राख्ने व्यवस्था कडाइका साथ लागू गर्नुपर्छ। अब पनि क्वारेन्टिनको नाममा खेलाँची गर्ने हो भने कोरोना संक्रमण समुदायमा मात्र होइन, हरेकको घरघरमा पुग्ने अवस्था आउन सक्छ। कोरोना रोकथाम र उपचारसँगै सरकारले लकडाउनका कारण जीवन अस्तव्यस्त भएकालाई तत्काल सहयोग गर्नुपर्ने खाँचो छ। महामारी रोकिएपछि आर्थिक दूरावस्थाका कारण समाजमा अहिलेभन्दा ठूलो महामारी मच्चिने अवस्था रहेकोभन्दै विभिन्न क्षेत्रका विज्ञले भन्दै आएका कुरा सरकारले ध्यानपूर्वक सुन्न जरुरी छ। सरकारको अहिलेसम्म तालमाल हेर्दा‘सबैआफसेआफ ठीक भइहाल्छनि’ भनेर ढुक्क बसेजस्तो देखिन्छ।यसले देशीलाई संकटको भीरबाट घचेट्ने स्थिति आउन सक्छ।

तपाईको कमेन्ट