लुकीछिपी देश छिर्नेबाट असुरक्षित सुदूर

writer

शिवराज भट्ट

बुधबार, ०७ जेठ २०७७


बैतडी, दार्चुला र डडेल्धुरा गरी तीन जिल्लामा पर्ने महाकालीको किनारमा सशस्त्र प्रहरी तैनाथ छ । तर, भारतबाट लुकीछिपी आउनेको संख्या बढिरहेको छ । तिनका कारण कोरोना संक्रमणको जोखिम बढेको बताइन्छ । 


जोखिम बढ्दै, अलमलमा प्रदेश सरकार
सुदूरपश्चिममा वैैशाखयता कोरोनाका संक्रमित भेटिएका छैनन् । तर, भारतबाट लुकीछिपी आएकाबाट कोरोनाको जोखिम भने कायमै छ । सीमानाकाबाट औपचारिक रूपमा सबै तथ्यांक राखेर, चेकजाँच गरेर र स्थानीय तहमा क्वारेन्टिनमा राखिएकाबाट जोखिम कम भए पनि लुकीछिपी आएर सीधै घरमा गएका व्यक्तिबाट भने जोखिम बढेको हो । दार्चुला र बैतडीबाट मात्रै वैशाखयता तीन सयभन्दा बढी नेपाली महाकाली तरेर लुकीछिपी गाउँ पसेका छन् । 

सुदूरपश्चिमको कैलाली र कञ्चनपुरको केही भागबाहेक भारतसँगको सिमाना महाकाली नदीले विभाजन गर्छ । त्यहाँ हरेक ठाउँमा डुंगाबाट वा पौडी खेलेर नेपाल आउन सक्ने धेरै स्थान छन् । 

बैतडी, दार्चुला र डडेल्धुरा गरी तीन जिल्लामा पर्ने महाकालीको किनारमा सशस्त्र प्रहरी तैनाथ छ । तर, एक चेकपोस्टदेखि अर्को चेकपोस्टसम्मको दूरी ५ देखि १० किलोमिटरसम्म भएकाले पनि भारतबाट लुकीछिपी आउनेको संख्या बढिरहेको छ ।

सशस्त्र प्रहरीले सम्भावित घाटहरूलाई लक्षित गरेर मात्रै सीमामा तैनाथी गरेको छ । तर, भारतबाट फर्किने नेपालतिर सोधपुछ गरेर सशस्त्र प्रहरी नभएको स्थान रोजेर नेपाल फर्किने गरेका छन् । ‘भारतबाट नदी तरेर फर्किनेका कारण कोरोनाको जोखिम बढेको छ,’ बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले भने, ‘यसरी लुकीछिपी आउनेहरू क्वारेन्टिनमा बसेका पनि छैनन् ।’ 
‘स्थानीय तहका वडाहरूले यसरी भारतबाट आएका व्यक्तिको पहिचान गरी क्वारेन्टिन गर्नुपर्छ,’ उनले थपे, ‘केही स्थानीय तह त व्यवस्थापनमा लागेका पनि छन्, तर केही वडाले लापर्बाही गरिरहेका छन् ।’ 

अलमलमा प्रदेश सरकार
नेपाल र भारतको सीमा खोल्ने अधिकार नभएको प्रदेश सरकार अहिले पनि कोरोना नियन्त्रणका लागि अलमलमै देखिएको छ । दुई महिनाअघि प्रदेश सरकारले गरेको बैतडी र डोटीमा पीसीआर मेसिनसहितको प्रयोगशालाको काम सुरु नै भएको छैन भने प्रदेश मन्त्री परिषद्को बैठकले किनेर ल्याउने भनेका २० थान भेन्टिलेटरको खरिद प्रक्रिया पनि अलमलमा परेको छ ।

अहिले सुदूरपश्चिममा कोरोनाका बिरामी नरहे पनि भारतबाट आउने नेपालीको संख्या बढिरहेको र भारतमा यातायात खुकुलो भएसँगै नेपाल फर्किने ओइरिन थालेका छन् । 

सुदूरपश्चिम प्रदेश सरकारले अहिले ८८ वटा स्थानीय तहमा १० हजार बेडको क्वारेन्टिन रहेको जनाएको छ । तर, त्यसमा आइतबारसम्म १६ सय ९६ जना मात्रै बसिरहका छन् । प्र्रदेश सरकार एकातिर १० हजार क्षमताका क्वारेन्टिन भएको बताइरहेको छ भने अर्कातिर भारतको सीमानाकामा पुगेका नेपालीलाई पनि भित्रिन दिइरहेको छैन ।

अब सिमानामा पुगेका नेपाली र भारतबाट फर्किने नेपालीलाई त्यहीँ रोक्नुको सट्टा प्रदेशमा खाली रहेका क्वारेन्टिनमा राख्नपर्नेमा विज्ञहरू जोड दिइरहेका छन् । 

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट सीमानाका खोल्ने अधिकार नभएकाले समस्या भएको बताउँछन् । अन्दाजी कति नेपाली फर्र्किएलान्, कसरी क्वारेन्टिन गर्ने, सीमानाकामा आरडीटी गर्ने कि पीसीआर, प्रदेश सरकार अन्योलमा छ । ‘१० हजार क्वारेन्टिन बेड छन्, मन्त्री परिषदको बैठकले त्यसलाई २५ हजार बनाउने निर्णय गरिसकेको छ,’ प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले भने, ‘त्यसमा लागेका छौँ ।’ 

परीक्षणको गति सुस्त
सुदूरपश्चिममा दैनिक २ सय ५० जनाको थ्रोट स्वाब टेस्ट गर्न सक्ने क्षमताको पीसीआर मेसिन छ । तर, त्यसको दैनिक टेस्टको अनुपात ३० जनाको हाराहारीमा छन् । चैतमा पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएपछि संघ सरकारले धनगढीमा यो क्षमताको नयाँ रियल टाइम पीसीआर मेसिन जडान गरी टेस्ट थालेको हो । 

२०६८ सालको जनगणनाअनुसार सुदुरपश्चिमको जनसंख्या २५ लाखको हाराहारीमा छ । तर, सोमबारसम्म कोरोना जाँचको संख्या २२ हजार ६ सय ९६ जना मात्रै भएको छ । यसमा पनि १८ हजार ८ सय ५९ त आरडीटी टेस्ट हो । पीसीआर टेस्ट भने ३ हजार ८ सय ३७ जनाको मात्रै गरिएको छ । 

प्रदेश सरकारले दुई वटा भेन्टिलेटर र दुई वटा रियल टाइम पीसीआर मेसिनलगायत उपकरणका लागि चैतमै टेन्डर आह्वान ग¥यो । केही टेन्डर परे । तर, विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डका उपकरण नभएकाले ती टेन्डर रद्द भए । 

त्यसपछि सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले थप दुई पटक टेन्डर प्रकाशित गरिसकेको छ । ‘तर, मापदण्ड अनुसारका टेन्डर नै पर्दैनन्, उपकरण किन्नमै समस्या भयो,’ सुदूरपश्चिमका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने । प्रदेशभरिका लागि एक लाख आरडीटी किट संघमा माग गरेको उनले बताए । ‘तर, संघमै पनि पर्याप्त स्वास्थ्य सामग्री छैन, के गर्ने ?’ डा. अवस्थीले भने । संघीय सरकारको भर मात्रै पर्नुभन्दा आफूले प्रदेश सरकारसँग आरडीटी किट खरिदका लागि बजेट माग गरेको अवस्थीले बताए । 


‘खराब अवस्था आउन दिँदैनौँ’ 

कृष्णराज सुवेदी, सामाजिक विकास मन्त्री, सुदूरपश्चिम प्रदेश 

भारतबाट नेपालीहरू भित्रिने क्रम सुरु भयो । के छ तयारी ?
हामीले १० हजार शड्ढयाका क्वारेन्टिन बनाएका छौँ । त्यहाँ अहिले १७ सयको हाराहारीमा मात्रै मान्छे छन् । आठ हजारभन्दा बढी मानिस अहिले नै क्वारेन्टिन गर्ने क्षमता हामीसँग छ । अझ त्यसमा पनि मन्त्री परिषद्को निर्णयले थप १५ हजार बेड थपेर २५ हजार बनाउने निर्णय भइसकेको छ । भारतबाट आएका नेपालीहरू खुवाउन र बसाउनका लागि हामी सक्षम छौँ ।

भारतबाट लाखौँ मानिस आए भने स्थिति भयावह हुन्छ भनेर विज्ञहरूले चेतावनी दिइरहेका छन् त ? 
प्रदेश सरकार सबै व्यवस्थापनमा लागिरहेको छ । २५ हजार क्वारेन्टिन बेडले पनि पुगेन भने हामीले जिल्ला सदरमुकामका होटल पनि हेरेका छौँ । होटल व्यवसायीहरूसँग कुरा पनि भएको छ । सबैले होटल दिन्छौँ भनेका छन् । प्रदेशभरि अहिले १ सय ३६ आइसोलेसन बेड छन् । त्यसमा पनि ५० शड्ढयाको धनगढीमा छुट्टै कोरोना अस्पताल बनिसकेको छ । एक÷दुई दिनमा त्यो हस्तान्तरण हुने तयारीमा छ । कञ्चनपुरमा पनि ५० शड्ढयाको छुट्टै कोरोना अस्पताल बनिरहेको छ । त्यसको निर्माण अन्तिम चरणमा छ । अहिले हामीसँग पीसीआर प्रविधिमै झण्डै एक हजार जनाको कोरोना जाँच गर्नका लागि किट र केमिकल छ । तीन हजार आरडीटी किट मौज्दात छन् । त्यसैले आत्तिनुपर्ने अवस्था छैन । 

परीक्षण त कछुवाको गतिमा भइरहेको छ ? कसरी पत्ता लाग्छन् त संक्रमित ?
सुरुमा परीक्षणको गति तीव्र थियो । फेरि टेस्टका लागि पनि संघ सरकारको निर्देशिका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसका लागि सबैलाई टेस्ट गरिहाल्नुपर्छ भन्ने पनि छैन । विदेशबाट आएका सबै पोजिटिभको सम्पर्कमा आएका व्यक्ति, आफन्त, परिवार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीलगायत व्यक्ति भनेर संघको गाइडलाइनले नै तोकिदिएको छ । घरमा बसिरहेका व्यक्तिलाई त कोरोना सर्दैन नि । त्यसैले टेस्टको पनि विधि छ । त्यो कार्यविधिमा आउने कसैलाई पनि हामीले टेस्टको दायरामा छुटाएका छैनौँ ।

प्रदेश सरकारले कुरा मात्र ग¥यो, काम गरेन भनेर आलोचना भइरहेको छ नि ? 
सकारात्मक आलोचना ग्रहणयोग्य छ । तर, पूर्वाग्रही भएर गरेको आलोचनाले कसैलाई पनि फाइदा गर्दैन । तीन÷तीन पटक टेन्डर प्रकाशित गर्दा कसैको पनि उपकरण, औषधि सप्लाईको टेन्डर पर्दैन । परेकाले हामीलाई चाहिएको समयमा सप्लाई गर्न सक्दैन भन्छन् । कसैले विश्व स्वास्थ्य संगठनको मापदण्ड नपुगेको टेन्डर हाल्छन् भने कसरी समयमा काम गर्नु ? तैपनि सरसामान जुटेसम्मका काम भएका छन् । कोरोनाका पाँच जना बिरामी स्वास्थ्य सेवा पाएर निको भएर घर पनि फर्किसके । के यो काम होइन ?

तपाईंले भन्नुभयो, १० हजार क्वारेन्टिन बेड छ, भारतबाट मात्रै एक दिनमा १८ हजार मानिस आएका उदाहरण पनि छ । त्यस्तै भयो भने के गर्नुहुन्छ ?
त्यतिबेला सीमानाका खुला थियो । पछि जान पाइँदैन कि भनेर धेरै मानिस एकैपटक आए । तर, अहिले भारतमा पनि लकडाउन छ, अनि नेपालमा पनि । दुवै देशका सीमा सिल छन् । त्यसैले हाम्रो क्षमताअनुसार उनीहरूलाई भित्र्याइन्छ, क्वारेन्टिन गरिन्छ । त्यसैले अहिले सीमानाकामा आवागमन व्यवस्थित छ ।

तपाईको कमेन्ट

मुख्य समाचार