क्वारेन्टिनमा हाल्दिने खाऊ भनी बिस्कुट फाल्दिने

writer

राजकरण महतो/जनकपुरधाम

बुधबार, ०७ जेठ २०७७


प्रदेश २ का क्वारेन्टिनमा संक्रमितले तातो पानीसमेत खान पाउँदैनन्। हात धुने साबुन र नुहाउने साबुन पनि व्यक्तिपिच्छे छैन। स्यानिटाइजर छँदै छैन। बाटोमा चियाको गिलास राखिदिन्छन्, बिस्कुट फालिदिन्छन्। चिया दिने मान्छे गएपछि क्वारेन्टिनमा बसेकाहरू टिपेर खान्छन्।


चैत ३ मा वीरगञ्जमा तीन जनामा कोरोना भाइरसको संक्रमण देखियो। उनीहरूतीनै जना भारतीय नागरिक थिए। ती भारतीयबाट फैलिएको भाइरसबाट जेठ ५ सम्म पर्सामा ९१ जना संक्रमित भइसकेका छन्।

पर्साको वीरगञ्जबाट बलेको कोरोनाको झिल्को प्रदेश २ भरि फैलिँदो छ।  यो समाचार लेख्दासम्म  प्रदेश २ का  १ सय ३१ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ। भारतबाट आएकामा सबैभन्दा बढी कोरोनाको संक्रमण देखिएको छ। कोरोनाको संक्रमण स्थानीय बासिन्दा हुँदै पत्रकार, नेपाली सेनाको प्रदेश २ का मध्यपूर्वी पृतनापति र त्यहाँका डाक्टरसम्म पुगिसकेको छ।  देशको सात वटै प्रदेशमध्ये सबैभन्दा धेरै संक्रमितप्रदेश २ मै छन्।

संक्रमित भारतीय नागरिकले कहाँ–कहाँ भेटघाट, उठबस गरेको भन्ने जानकारी समयमा दिएनन्। कन्ट्रयाक्ट ट्रेसिङमै ढिलो भयो, प्रहरी—प्रशासनमा ढिलो गरीसूचना पुग्यो। तबसम्म पर्सामा संक्रमणको संख्या बढिसकेको थियो।

सूचना लुकाउँदा संक्रमण बढ्यो

प्रादेशिक स्वास्थ्य निर्देशनालय प्रदेश—२ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाका अनुसार भारतबाट आएकामै बढी कोरोनाको संक्रमण भेटिएको छ। ‘भारतबाट लुकीछिपी मान्छेहरू घर आएका छन्,’ उनले भने,‘उनीहरूलाई क्वारेन्टिनमा राख्न जरुरी छ। आइसोलेसन कक्ष व्यवस्थित बनाउन जरुरी छ। संक्रमण पत्ता लगाउन पीसीआर परीक्षण बढाउनुपर्छ।’

 ४३ हजार कहाँ छन् ?

नेपालमा लकडाउन भएपछि भारत र अन्य मुलुकबाट प्रदेश २ मा ५२ हजारभन्दा बढी नेपाल आएका छन्। प्रहरी स्रोतका अनुसार व्यवस्थित रूपमा २ हजार ५ सय ९७ जना मात्र नेपाल आएका छन्।

सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेका अनुसार हालसम्म ८ हजार २ सय ३५ जना क्वारेन्टिनमा बसेका छन्। भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेका ४३ हजा ७ सय ६५ जना मान्छे अझै आफ्नै घरमा रहेका छन्।५ हजार ५ सय ५२ जनाको कोरोना परीक्षण गरिएको छ।

सीमा सुरक्षामा जनशक्ति अभाव

प्रदेश २ मा भारतसँग जोडिएका ४ सय ६४ किलोमिटर खुल्ला सीमा छ। सरकारले नेपाल–भारत दुवै देशबाट सीमाबाट आउजाउ बन्द गरेको दुई महिना पुग्दै छ। तर, संक्रमितको संख्या बढिरहेको छ। खेतको आली हुँदै भारतमा रहेका नेपाली घर फर्किरहेका छन्।

प्रदेश २ का आठ जिल्लामा सडकबाट ओहोरदोहोर गर्ने २ सय ४६ वटा ठूला–साना नाका छन्।सीमाबाट हुने आवतजावत बन्द गर्न अहिले ५३ स्थानमा बोर्डर आउट पोस्ट राखिएका छन्। जहाँ तीन हजारभन्दा बढी सशस्त्र प्रहरीले रात–दिन पहरा दिइरहेका छन्। सीमा सुरक्षामा अझै पनि जनशक्ति अभाव छ।

परीक्षण गर्न स्रोतसाधन अभाव

प्रदेश २ मा स्रोतसाधन अभावले हाल कोरोना संक्रमण परीक्षण कार्य रोकिएको छ। जनकपुरको प्रादेशिक अस्पतालमा सीमित स्रोतसाधन र दक्ष जनशक्ति अभावका बीच परीक्षण कार्य सुरु गरिएको थियो। तर, पीसीआरले गलत रिपोर्ट दिन थालेपछि परीक्षण रोकिएको छ।

वीरगञ्जको नारायणी अस्पतालमा पनि पीसीआर मेसिनबाट कोरोना जाँच गरिएको छ। त्यहाँ पनि मेसिनबाट गलत रिपोर्ट आएपछि प्रदेशमा गरिने परीक्षण पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमै पठाउनुपर्ने बाध्यता रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामका निर्देशक रामविनय साहले बताए।

सप्तरीको राजविराजबाटस्वाब संकलन गरेर जाँचका लागि विराटनगर पठाइन्छ।प्रदेश २ को सामाजिक विकास मन्त्रालयले कोरोना जाँच गर्न गुणस्तरीय मेसिन खरिद गर्ने प्रक्रिया अघि बढाएको छ।

आइसोलेसनबाट मान्छे भाग्छन्

कोरोना संक्रमणका सम्भावित बिरामीलाई राख्न प्रदेश २ मा तयार गरिएका आइसोलेसन वार्ड र क्वारेन्टिनको अवस्था कहालीलाग्दो छ। यहाँ झुल, खानेपानी,व्यवस्थित शौचालयसमेत उपलब्ध छैन। एउटै कक्षमा कोचाकोच गरेर संक्रमित राखेको पाइएको छ।

प्रदेश २ का आठवटा जिल्लामा १ सय ८८ वटा क्वारेन्टिन छन्। जहाँ ५ हजार ६ सय ९७ जनालाई राख्न सकिन्छ। ३ हजार ३ सय ६२ जनालाई मात्र क्वारेन्टिनमा राखिएको छ। अरू बेड त्यसै खाली छन्। बाहिरबाट आएका मानिस भने गाउँमै डुल्ने गरेका छन्।

अधिकांश क्वारेन्टिन र आइसोलेसन वार्डमा आवश्यकताका सामान पनि छैनन्। त्यसैले मानिस त्यहाँबाट भाग्ने गर्छन्।

स्वास्थ्यकर्मीले संक्रमितलाई तातो पानी खानुपर्छ भन्छन्। तर, उनीहरूले चिसो पानीसमेत पाउँदैनन्। हातधुने साबुन र नुहाउने साबुन पनि व्यक्तिपिच्छे छैन। क्वारेन्टिनमा स्यानिटाइजर छँदै छैन। बाटोमा चियाको गिलास राखिदिन्छन्, बिस्कुट फालिदिन्छन्। चिया दिने मान्छे जान्छन् अनि क्वारेन्टिनमा बसेकाहरू टिपेर खान्छन्। क्वारेन्टिनमा बस्नेहरूसँग अमानवीय व्यवहार गरिएको त्यहाँ बस्नेहरू बताउँछन्।‘दुई बोतल पानीमा खाना र खाजा खानुपर्छ,’ क्वारेन्टिनमा बसेका प्रमोदकुमार राउतले भने,‘त्यो पनि धाराको चिसो पानी खानुपर्छ। क्वारेन्टिनमा बसेकाहरूका लागि जारको पानी दिनुस् र तातो गर्ने व्यवस्था मिलाइदिनुस् भनेर मेयरलाई भनेको तीन दिन भयो।तर, सुनवाइ भएको छैन।’

महोत्तरीको बर्दिबास—१३, बिजलपुराका प्रमोद १२ दिनदेखि क्वारेन्टिनमा बसिरहेका छन्। भारतमा कमाउन गएका उनी भोकै भएपछि लुकेर नेपालको सीमा पार गरी नेपाल पसेका थिए। उनी छठ पर्व मनाएर भारतको अहमदाबाद कामको खोजीमा गएका थिए। लकडाउन थपिँदै गयो। भारत सरकारले ट्रेन चलाउने निर्णय ग¥यो। उनीहरू रेल चढेर त्यहाँबाट नेपाल फर्किए। ‘ट्रेनले मुजफरपुर झारिदियो,’ प्रमोदले भने, ‘त्यहाँबाट हिँडेर बोर्डरमा आएँ। प्रहरीले नेपाल छिर्न दिएन। त्यसपछि भारततिर फर्किन खोज्यौँ। भारतीय प्रहरीले पनि ‘नेपाल जाऊ’ भन्यो। ‘कसरी जाने बोर्डर बन्द छ’ भन्यौँ। उनीहरूले नै चोर बाटो देखाइदिए। झिसमिसे बिहानीमा लुकेर नेपाल छि¥यौँ।’

‘गाउँमा छिर्नै दिएन,’ उनले थपे, ‘हामीलाई क्वारेन्टिनमा ल्याएर राखिदियो। हामी इमानदारीसाथ बसिरहेका छौँ। तर, पेटभरि पानी पनि खान दिएको छैन। १२ दिनदेखि क्वारेन्टिनमा छौँ। यति दिनमा दुई दिन मात्र खाजा आयो। त्यो पनि भुजा, च्युरा–तरकारी र चाउमिन दिन्छ।’ उनीहरूको करोना जाँच गरिएको छैन।

प्रमोदजस्तै भारतबाट पाँच दिनअघि महोत्तरीको बर्दिबास–९, पशुपतिनगरका ४५ वर्षीय विजय दास नेपाल आए। उनी पनि बर्दिबास नगरपालिकाको क्वारेन्टिनमा बसेका छन्। ‘होली सकेर कामको खोजीमा भारतको हरियाणा गएका थियौँ,’ विजयले भने, ‘गएको तीन दिन मात्र काम चल्यो। त्यसपछि लकडाउन भयो।  कहिले भोकै त कहिले आधा पेट नुन रोटी खाएर ४५ दिन कटायौँ। ४६ दिनमा भारतले ट्रेनमा चढाएर सीमामा छोडिदियो।’

त्यसपछि उनीहरू सीमा क्षेत्रको नजिकैको नेपाली गाउँ आए। पाँच दिनयता उनी क्वारेन्टिनमा छन्। ‘खाना त जसोतसो पाइन्छ,’ उनले भने, ‘खानेपानीको समस्या छ। बस्ने व्यवस्था पनि राम्रो छैन।’

चुलाइदास चौधरी महोत्तरीको बर्दिबासमा कवाडीको काम गर्थे। लकडाउनपछि डेढ महिना बर्दिबासमै बसे। पैदल हिँडेर घर उदयपुर पुगे। त्यहाँ कसैले घरमा पस्नै दिएन। हिँडेर फेरि बर्दिबास फिर्ता भए। बर्दिबास नगरपालिका  वडा–१ का वडा अध्यक्ष चुडामणि पोखरेलले क्वारेन्टिनमा राखिदिए। उनी क्वारेन्टिनमा बसेको २१ दिन भयो। उनको कोरोनाको चेकजाँच अहिलेसम्म भएको छैन। ‘हामीलाई यहाँ घृणा गरिन्छ,’उनले भने,‘बाटोमै चिया राखिदिन्छ, बिस्कुट फालिदिन्छ। अनि, उठाएर खान्छौँ। ’

बर्दिबास नगरपालिकाका मेयर विदुरकुमार कार्कीले क्वारेन्टिनको व्यवस्थापन राम्रोसँग नभएको स्वीकार गरे। ‘त्यहाँबाट अर्को ठाउँमा क्वारेन्टिन सार्ने तयारी गरेका छौँ,‘ मेयर कार्कीले भने, ‘आफ्नै मेसमा खाना बनाएर खुवाउने व्यवस्था मिलाउँछु। चाँडै क्वारेन्टिनमा बसेकाहरूको परीक्षणको तयारी भइरहेको छ।’ प्रदेशका अधिकांश क्वारेन्टिन र आइसोलेसनको हालतमहोत्तरीको बर्दिबासको जस्तै छ।

महामारीमा हेलचेक्य्राँइ

कोरोना नियन्त्रण, कोरोनाबाट संक्रमित भएकाहरूको व्यवस्थापनमा प्रदेश सरकारले जोड नदिएको राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभले टिप्पणी गरे। ‘कोराना नियन्त्रणमा प्रदेश सरकारसँग रणनीतिक योजना छैन,’ उनले भने, ‘नेताहरू सत्ता जोगाउने खेलमा लागेका छन्। महामारीको विपत्तिलाई नेताले राजनीतिक खेल बनाए।’

संघीय सरकारले सीमाको यथार्थ नबुझेर रातारात सिल गर्दा प्रदेश–२ मा कोरोनाको जोखिम बढेको नेपाल–भारत सम्बन्धका जानकार पत्रकार चन्द्रकिशोरको बुझाइ छ। ‘खुल्ला सीमालाई कोरोना भाइरसको वाहकको रूपमा सरकारले बुझ्यो,’ उनले भने, ‘प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरेर सीमा क्षेत्रमा क्वारेन्टिन स्थापना गर्नुपथ्र्यो। उनीहरूका लागि मेस सञ्चालन गर्नुपथ्र्यो। १५ दिन मान्छे  आरामले बसेर चेकजाँच गरेर घर आउँथे। त्यस्तो केही भएन। हूलका हूल मान्छे सीमा बन्द भएपछि लुकीछिपी नेपाल पसे।सरकारले भारतमा रहेको नेपालीलाई घर फर्किन चाहे सावधानीसाथ घर ल्याउने स्थिति बनाउनुपर्ने थियो।त्यसमा प्रदेश सरकार चुक्यो।’


‘कोरोना नियन्त्रण साझा लक्ष्य हो’          

लालबाबु राउत, मुख्यमन्त्री, प्रदेश

सीमानाकासँग जोडिएका समस्या समाधानका लागि हामीले उच्च सतर्कता र सावधानी अपनाउनु जरुरी छ। सीमामा रोकिएका नेपालीलाई भिœयाउन नीतिगत निर्णय हुनासाथ उनीहरूलाई राख्नका लागि प्रदेश सरकारले आठवटै जिल्लाका सीमानाका नजिकै तीन/तीन सय बेड क्षमताको क्वारेन्टिन निर्माणको प्रक्रिया सुरु गरिसकेको छ। कोरोना संक्रमित भई प्रदेशका विभिन्न स्वास्थ्य संस्थामा उपचारको क्रममा रहेका दाजुभाइ, दिदीबहिनीको उपचारमा प्रदेश सरकारले कुनै पनि कसर बाँकी राख्नेछैन।

आज हामी राजनीतिक आस्था र विचारभन्दा माथि उठेर कोरोनाले निम्त्याएको संकटको समाधान गर्नुपर्ने अवस्थामा छौँ। ‘कोरोना संक्रमणबाट हाम्रो देश र प्रदेशलाई सुरक्षित’ राख्ने अवस्थाको निर्माण नै हामी सबैको साझा लक्ष्य हो। कोरोना संक्रमण नियन्त्रणका लागि हामी हरदम तत्पर छौँ।प्रदेश सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि हरेक उपाय अपनाउनेछ।

तपाईको कमेन्ट

मुख्य समाचार