श्रम सम्बन्धमा तिक्तताको संकेत

writer

पुष्पराज आचार्य

शुक्रबार, ०२ जेठ २०७७


कोरोना भाइरस महामारी (कोभिड–१९) ले विश्वभर जनस्वास्थ्यमा संकटसँगै अर्थतन्त्रमा बहुपक्षीय प्रभाव सिर्जना गरेको छ। नेपाल पनि यसबाट अप्रभावित छैन। सरकारले चैत ११ देखि सुरु गरेको बन्दाबन्दीलाई छ पटक थपरे जेठ ५ सम्म पुर्‍याएको छ।

देशभर आर्थिक गतिविधि ठप्पप्रायः छन्। यसको प्रत्यक्ष मार सबैभन्दा पहिले दैनिक ज्यालादारी गर्ने श्रमिक वर्गमा देखियो। अनौपचारिक (असंगठित) क्षेत्रमा काम गर्ने मजदुर कार्यक्षेत्रबाट विवशतापूर्वक रातबिरात हिँडेर आफ्ना गाउँघर पुगेका भावुक दृश्य र तिनका कारुणिक कथाव्यथाका हामी सबै साक्षी छौँ। अनौपचारिक क्षेत्रका कामदार र खास गरी दैनिक ज्याला–मजदुरी गरेर खाने श्रमिकहरू महामारीका कारण सबैभन्दा उच्च जोखिममा छन्। रोग र भोकको दोहोरो समस्यासँग संघर्षरत यो वर्गलाई सरकारले स्थानीय निकायमार्फत राहत दिने घोषणा गरे पनि त्यसको प्रभावकारिता प्रश्नको घेरामै छ। संकट लम्बिँदो छ, उच्च जोखिममा रहेको यो समुदायमाझ सरकारको उपस्थिति कमजोर छ। 

अब क्रमशः औपचारिक (संगठित) क्षेत्रमा पनि श्रमिक र रोजगारदाताबीच सम्बन्धमा टकराव देखापर्न थालेको छ। गत साता मात्र पर्यटन क्षेत्रका उद्यमले कर्मचारीलाई १२.५ प्रतिशत तलब दिने र व्यवसाय छ महिनाका लागि बन्द गर्ने घोषणा गरे। उद्यमी, व्यवसायीका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतले वैशाख २१ मा संयुक्त वक्तव्य जारी गरेर कर्मचारीलाई ५० प्रतिशत भन्दा बढी तलब दिन नसकिने उद्घोष गरे। उद्यमी, व्यवसायी अर्थात् रोजगारदाताका निर्णयहरू एकपक्षीय रूपमा आइरहेका र उनीहरूले श्रमिकलाई पूर्णतः बेवास्ता गरेको आरोप श्रमिकका हकहितमा काम गर्ने ट्रेड युनियनहरूले बताएका छन्। 

‘विगतमा निकै मेहनत गरेर श्रमिक, रोजगारदाता र सरकारबीच धेरै चरणको सघन छलफलपछि नेपालमा श्रम सम्बन्ध सुधार भएको हो,’ नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठ भन्छन्, ‘विश्वभर फैलिएको महामारीका कारण सिर्जित समस्यालाई सबै पक्षले राम्रोसँग बुझेका छन्। तर, पनि सरोकारवाला पक्षसँग वार्ता र संवादबिना गरिने एक पक्षीय निर्णयले समस्या निम्त्याउनेछ।’

हुन पनि पछिल्लो १०–१२ वर्षमा रोजगारदाता र श्रमिकको सम्बन्ध निकै सुमधुर भएको पाइन्छ। विगतमा जस्तो ट्रेड युनियनले औद्योगिक प्रतिष्ठानमा बारम्बार हडताल गर्ने, उद्यमी÷व्यवसायीहरू तालाचाबी सरकारलाई बुझाउन अग्रसर हुने अवस्था पछिल्लो दशकमा देखिएन। सुमधुर श्रम सम्बन्धको लाभ रोजगारदाता र श्रमिक दुवै पक्षलाई भयो। उत्पादन, उपभोग र रोजगारी वृद्धिसँगै विदेशी लगानीका लागि सुमधुर सम्बन्ध अपरिहार्य छ। त्यसकारण श्रमिक र रोजगारदाताबीचको मध्यस्थतामा सरकारले प्रभावकारी भूमिका निर्वाह गरेको थियो। श्रमसम्बन्धी कानुनहरू पनि यसबीचमा सरोकारवालाको सहमतिमा ल्याइए र उनीहरूबीच आपसी विश्वासको वातावरण बन्दै गयो। नत्र, त्यसअघिसम्म नेपालमा विदेशी लगानी विकर्षणको एक प्रमुख कारणका रूपमा बाह्य लगानीकर्ताले श्रम समस्या (लेबर अनरेस्ट) बताउने गर्थे। आन्तरिक उद्यमीहरू समस्या झेल्दाझेल्दा हैरान भएर सरकारलाई उद्योगको तालाचाबी बुझाउन तम्तयार हुन्थे। 

पछिल्ला सबै विकासक्रमले श्रम सम्बन्ध राम्रो भइरहेका बेला कोरोना भाइरसको महामारी सुरु भएलगत्तै पुनः रोजगारदाताले एकपक्षीय निर्णय लिन थालेको र सरकारले मौनता साँधेको बताउँछन्, संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र (जेटीयूसीसी) का अध्यक्ष पुष्कर आचार्य। ‘भोलि महामारी साम्य भएपछि पनि दुवै पक्ष मिलेर अघि बढ्नुपर्नेछ,’ आचार्य भन्छन्, ‘महामारीकै बीच पनि कार्यस्थलमा सुरक्षा मापदण्ड अपनाएर काम गर्नुपर्नेछ। यस्तो अवस्थामा एकपक्षीय निर्णय गरेर श्रमिकलाई एक्ल्याउने काम गर्नु हुँदैन।’ 

जिफन्टका अध्यक्ष श्रेष्ठको धारणा पनि समान छ। ‘अहिलेको संकटले अतिप्रभावित केही क्षेत्रबाहेक अन्य उद्यमी र व्यवसायीको आय १० बाट आठ भयो होला, तर उनीहरूले छिटो र धेरै प्रतिवाद गरे,’ श्रेष्ठ भन्छन्, ‘यथार्थ अवस्थाका बारेमा आपसमा छलफल हुनुपर्छ। किनकि, हामी सबै एउटै जहाजमा छौँ। श्रमिक मात्र डुब्ने, रोजगारदाता सुरक्षित रहने वा श्रमिक मात्र बच्ने र रोजगारदाता डुब्ने अवस्था छैन।’

श्रेष्ठ द्वन्द्वकालमा मुलुकभित्र बढ्दो जोखिमका कारण पर्यटक आवागमन कमजोर हुँदा होटल, सत्कारका क्षेत्रमा काम गर्ने श्रमिकले आधा महिनाको तलबमा काम गरेर रोजगारदातालाई सहयोग गर्नुका साथै उद्यम र व्यवसाय बचाएको स्मरण गर्छन्। ‘अहिले हामीले श्रम सम्बन्ध नबिग्रोस् भनेर समयमा तलब नदिँदा पनि समस्या बाहिर ल्याइरहेका छैनौँ,’ उनी भन्छन्, ‘सरकारले त्यसको अनुगमन गरेर न्यायोचित व्यवहारका लागि आग्रह गरोस् भन्ने चाहन्छौँ। श्रम सम्बन्ध सुधारका लागि उद्यम, व्यवसाय बचाउनका लागि सरकार, मजदुर र रोजगारदाताले बराबर सम्बोधन गर्नुपर्छ।’ सरकारबाट कर र ऋणको ब्याजमा सहुलियत लिने तर श्रमिकमाथि अन्यायपूर्ण व्यवहारलाई स्वीकार गर्न नसकिने उनको भनाइ छ। 

जेटीयूसीसीका अध्यक्ष आचार्य अहिले सबै आत्तिएको बताउँछन्। भन्छन्, ‘सरकार संकट कसरी पार लगाउने भनेर आत्तिएको छ। श्रमिक रोजगारी गुम्ने र उद्यमी एवं व्यवसायी नाफा घट्ने र व्यवसाय डुब्ने डरले अत्तालिएका छन्।’ यस्तो अवस्थामा भय हटाएर त्रिपक्षीय संवादमार्फत अहिलेको संकटलाई कसले कसरी सम्बोधन गर्ने भन्ने सम्बन्धमा स्पष्ट धारणा बनाएर अगाडि बढ्नुपर्ने आचार्य बताउँछन्। श्रम मन्त्रालयले बन्दाबन्दीपछि पहिलो पटक आइतबार श्रम सल्लाहकार परिषद्को बैठक बोलाएको उनी उल्लेख गर्छन्। ‘अहिले श्रम मन्त्रालय, उद्योग र अर्थ मन्त्रालयका फरक–फरक धारणा आइरहेका छन्,’ उनी भन्छन्, ‘सरकारभित्रै पनि तीन आधिकारिक ठाउँबाट तीन थरी धारणा आएका छन्। यसले झन् द्विविधा सिर्जना गरेको छ। श्रम सम्बन्ध बिग्रन नदिन सकारको भूमिका पनि प्रभावकारी देखिएन र अहिले रोजगारदाताको एक पक्षीय निर्णयले श्रमिक वर्ग पेलिएको छ।’

यद्यपि, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकाल कोरोना भाइरस महामारीका कारण उत्पन्न भएको कठिन अवस्थामा श्रमिक वर्गसँग अझ बढी समझदारीका साथ सहयात्रा गर्नुपर्ने बताउँछन्। ‘विश्व अर्थतन्त्र नै थला पर्न सक्ने अवस्था देखिएकाले हामी कोही पनि अधिक सुरक्षित हुन सक्ने अवस्था छैन,’ ढकाल भन्छन्, ‘यस्तो अवस्थामा श्रमिक र रोजगारदाताबीच आपसी सद्भाव, मित्रता र समन्वयको आवश्यकता पर्छ।’ 

संक्रमण घटाउने उपायका रूपमा प्रयोग गरिएका बन्दाबन्दीजस्ता उपाय, निष्फिक्री व्यापार, व्यवसाय चल्न नसक्ने अवस्था र घट्दो उपभोगले विश्वभर रोजगारीमा गम्भीर असर पारेको छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले कोरोना भाइरसको महामारीले १.६ अर्ब जनसंख्या अर्थात् विश्वभरको श्रमशक्तिमध्ये आधाले रोजगारीबाट विमुख हुनुपर्ने अवस्था आउन सक्ने अनुमान गरेको छ। नेपालमा झण्डै ४० लाखको संख्यामा श्रमशक्ति विदेशमा रहेको र विप्रेषण अर्थतन्त्रको टेको भएकाले वैदेशिक रोजगारीमा रहेका नेपाली प्रभावित हुँदा नेपालको अर्थतन्त्र प्रत्यक्ष मारमा पर्ने जानकारहरू बताउँछन्। विदेशमा रोजगारी गुमाएर फर्कने श्रमशक्तिलाई समेत स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने चुनौतीका बीच आगामी दिनमा श्रम सम्बन्धमा तिक्तताको पूर्वाभास हुन थालेको छ। यसलाई सम्बोधन गर्नु सरोकारवाला अर्थात् रोजगारदाता, श्रमिक र सरकारको कर्तव्य हो।
 

तपाईको कमेन्ट