क्रिसमसकाे चहलपहल, चोकचोकमा सान्टा क्लज

writer

प्रकृती दाहाल

शुक्रबार, ०६ पुष २०७५



इसाई धर्मावलम्बीको ठूलो चाड क्रिसमस डेलाई पछिल्लो समय नेपालीहरूले पनि धूमधामसँग मनाउन थालेका छन् । डिसेम्बर २५ मा मनाइने यो पर्व नेपालमा २०६२-६३ को आन्दोलनपछि मुलुक धर्म निरपेक्ष भएसँगै सार्वजनिक रूपमा मनाउन थालिएको राष्ट्रिय क्रिस्चियन महासंघ नेपालका उप–महासचिव धनराज घिमिरे बताउँछन् ।  ‘२०६४ सालमा राष्ट्रिय क्रिस्चियन महासंघ नेपाल स्थापना भएपछि क्रिसमस पर्वले विस्तारित रूप लिएको हो,’ उनी भन्छन् । 

सरकारले डिसेम्बर २५ मा हरेक वर्ष सार्वजनिक बिदा दिने गरेको छ । क्रिसमस डे नजिकिँदै गर्दा सपिङ मल, रेस्टुरेन्ट, तारे होटललगायत सबै क्रिसमसको तयारीमा जुुटेका छन् । राजधानीका विभिन्न चर्चदेखि सपिङ मल र गिफ्ट सपमा झिलिमिली बत्तीले क्रिसमस ट्री सजाइएका छन् । क्रिसमसको चहलपहल बजारमा राम्रै देखिन्छ । 

काठमाडौँ, बानेश्वरका कमल खत्री क्रिसमस पर्व नजिकिँदै गर्दा सान्टा क्लजको ड्रेस किन्दै भेटिए । आफूलाई क्रिसमसले मज्जाले छुने उनी बताउँछन् । ‘क्रिसमस इभदेखि नै साथीहरूसँग रमाइलो गर्ने, घुुमफिर गर्ने, कन्सर्टमा झुुम्ने गर्छु,’ उनी भन्छन्, ‘यो हाम्रो पर्व होइन । तर, यस पर्वमा पनि रमाइलो गर्दा के हुन्छ त ?’ 

काठमाडौँ, अनामनगरका सन्तोष त्रिताल पनि साथीभाइको लहलहैमा क्रिसमस मनाउन थालेको बताउँछन् । ‘साथीभाइ एकापसमा क्रिसमसको शुुभकामना आदान–प्रदान गर्छौं,’ उनी भन्छन्, ‘क्रिसमस डेमा घुम्ने, रमाइलो गर्ने गर्छौं ।’ 

अहिलेका धेरै युवाले लहलहैमा क्रिसमस डे मनाए पनि विश्वभरि नै क्रिस्चियन धर्म मान्नेहरू बढेको बताउँछन्, राष्ट्रिय क्रिस्चियन महासंघ नेपालका उप–महासचिव धनराज घिमिरे । ‘अहिले विश्वव्यापी रूपमा क्रिसमस डे मनाउन थालिएको छ,’ उनी भन्छन्, ‘अहिले येसुका वचन पछ्याउनेहरू बढेका छन् ।’

क्रिसमस डेलाई पर्वका रूपमा मनाउने संस्कार बढेको बताउँछन्, पास्टर रुवेन पाख्रिन । ‘क्रिसमसलाई फेसनका रूपमा मात्र नभई संस्कारका रूपमा मनाउन थालिको छ,’ उनी भन्छन् ।

क्रिसमसमा चम्किएको बजार


ललितपुर, कुुपण्डोलकी शान्ता शर्माले क्रिसमस मनाउन थालेको करिब तीन वर्ष भयो । दुुई सन्तानकी आमा उनले हरेक वर्ष छोराछोरीलाई सान्टा क्लजको ड्रेस किन्दिने गरेकी छिन् । ‘छोराछोरीले रहर गर्छन्,’ उनी भन्छिन्, ‘क्रिस्चियन भएकाले क्रिसमसमा मेरो किनमेल निकै हुुन्छ ।’

गत वर्ष साथीहरूलाई क्रिसमस कार्डसहित उपहार दिएको उनी बताउँछिन् । ‘यसपालि गरिब विद्यार्थीलाई कपी, कलम उपहार दिनेछु,’ उनी भन्छिन्, ‘येसुको गरिब–दुःखीलाई सहयोग गर्नुपर्छ भन्ने वचनबाट प्रभावित छु ।’ अरूलाई सहयोग गर्न पाउँदा खुशी लाग्ने उनी बताउँछिन् । ‘यो क्रिसमसमा विद्यार्थीहरूलाई सहयोग गर्ने योजना बनाएकी छु,’ उनी भन्छिन् । 

अहिले राजधानीका गिफ्ट पसल क्रिसमसका सामग्रीले भरिएका छन् । क्रिसमस कार्ड, ट्री, सान्टा क्लजको ड्रेस र विभिन्न उपहार पसलमा देखिन्छन् । व्यापारी सोनु लामा क्रिसमसलाई आम्दानीको पर्व मान्छिन् ।

‘अहिले धेरैले क्रिसमस मनाउन थालेका छन्,’ उनी भन्छिन्, ‘मेरा लागि त यो आम्दानीको पर्व हो । त्यस दिन वल्र्ड ट्रेडमा मेला लाग्ने भएकाले पनि राम्रो व्यापार हुन्छ ।’ सोनुको काठमाडौँ, त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा गिफ्ट पसल छ । ‘यतिबेला क्रिसमस डेकोरेसन सामग्री खूब बिक्री भइरहेका छन्,’ उनी भन्छिन्

काठमाडौँ, बानेश्वरमा रहेको गिफ्ट पसलका व्यापारी सुुरेश कार्की क्रिसमसका लागि शुभकामना कार्ड बढी बिक्री हुने बताउँछन् । ‘युुवाहरूबीच लोकप्रिय छ क्रिसमस,’ उनी भन्छन्, ‘कार्ड, उपहार धेरै बिक्री हुने गरेका छन् ।’ 

विद्यालयमा क्रिसमस माहोल 
आजभोलि विद्यार्थीहरूलाई पनि क्रिममस धेरै लाग्ने गरेको छ । स्कुलदेखि कलेजसम्मका विद्यार्थीले क्रिसमस मनाउने गरेका छन् । विशेष गरी मन्टेश्वरीका नानीबाबुले । स्कुुले स–साना नानीहरूलाई क्रिसमसबारे जानकारी दिन स्कुलमा यो पर्व मनाउने गरेको बताउँछिन्, काठमाडौँ, वनस्थलीस्थित एन्जल भ्याली मन्टेश्वरी स्कुलकी प्रिन्सिपल प्रमिला जोशी ।

‘साना नानीबाबुलाई हरेक पर्वको जानकारी दिने गरेका छौँ,’ उनी भन्छिन्, ‘स्कुलमा दशैँ, तिहार, होली, कृष्ण जन्माष्टमीलगायत पर्वजस्तै क्रिसमस पनि मनाउने गरेका छौँ ।’ 

‘हरेक चाडबाडलाई सेलब्रेट गर्ने गरेका छौँ,’ उनी थप्छिन्, ‘यसको उद्देश्य विद्यार्थीहरूले सबै प्रकारका चाडपर्वबारे जानकारी होस् भन्ने हो ।’ क्रिसमसका विद्यालयमा क्रिसमस ट्री सजाएर, विद्यार्थीहरूलाई प्रोजेक्ट वर्क गर्न लगाइने प्रिन्सिपल जोशी बताउँछिन् । 

आजभोलि विद्यार्थीहरू आफैँ पनि विद्यालयमा क्रिसमस मनाउन उत्साहित हुने गरेको नेपाल मेगा स्कुुलका प्रिन्सिपल मदन पोख्रेल बताउँछन् । ‘विद्यालयबाट क्रिसमस पर्वको आयोजना हुने गरेको छैन,’ उनी भन्छन्, ‘तर, विद्यार्थीका रहरका लागि सामान्य प्रोजेक्ट वर्क भने गर्ने गरेका छौँ ।’ 
  
‘क्रिसमस नेपालीको चाड बनिसक्यो’ 
धनराज घिमिरे, उप–महासचिव 
राष्ट्रिय क्रिस्चियन महासंघ नेपाल 

नेपालमा २०६२–६३ को जनआन्दोलनपछि मुलुक धर्म निरपेक्ष भएसँगै सार्वजनिक रूपमा क्रिसमस मनाउन थालिएको हो । २०६४ सालमा राष्ट्रिय क्रिस्चियन महासंघ, नेपालको स्थापना गरी यस धर्मलाई सुरक्षित र व्यवस्थित गर्दै लगिरहेका छाैँ ।

नेपालभरि करिब १२ हजार चर्च रहेका छन् । क्रिमसस डेमा सामूहिक रूपमा खाना खाने, चर्चहरूमा संगति गर्ने, ‘मेरी क्रिसमस’ भन्दै उपहारसहित एकअर्कामा शुुभकामना आदान–प्रदान गर्ने गरिन्छ । यो वर्षको क्रिसमसमा हामीले विभिन्न कार्यक्रम गर्ने योजना बनाएका छौँ । राजधानीदेखि प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गर्नेछौँ । क्रिसमस अब नेपालीको पनि चाड भइसकेको छ । 
 

तपाईको कमेन्ट