कालापानीको गीतले मध्यरात लखेटिएका सर्जक

writer

हिमाल दाहाल/इटहरी

शुक्रबार, ०२ जेठ २०७७


कागजमा कलमले कोरेर हुँदैन धर्तीको विभाजन
रगत पोखी लेख्ने खुकुरी साक्षी छ फैलेको सन्तान 
हाम्रो हो पहाडी स्थान, हाम्रो हो  

गीतकार विजय श्रेष्ठको समूह २०२५ सालतिर एउटा कार्यक्रमका लागि दार्जिलिङ पुगेको थियो। दीप श्रेष्ठ, सुशीला श्रेष्ठसमेत पाँच जनाको समूह थियो। कार्यक्रममा श्रेष्ठले लेखेको उक्त गीत प्रस्तुत भयो।

कार्यक्रम सकियो। 

मध्यरात कसैले उनीहरू सुतेको कोठाको ढोका ढकढक्यायो। बाहिर कार्यक्रम आयोजकका सदस्य थिए। ‘लु तपाईंहरू जानुपर्ने भयो,’ कसैले भन्यो।

बाहिर जिप पनि तयारी अवस्थामा थियो। उनीहरू सबैलाई मध्यराति सिलगुडी ल्याएर छाडियो। 

‘पछि बुझ्दा थाहा भयो, हामीलाई त्यो गीतको कारण वारेन्ट काटेको रहेछ,’ विजय श्रेष्ठ भन्छन्, ‘बिहानसम्म बसेको भए समातिने रहेछौँ।’ उनले त्यो गीत नेपाल ल्याएर रेकर्ड गर्न चाहे। तर, उनले भनेका गायकले गीत गाइदिएनन्, अरूलाई उनले दिएनन्।

श्रेष्ठले स्कुल पढ्दै हो, गीत लेख्न थालेको। उनका कति गीत रेकर्ड भए, उनैलाई त्यति हेक्का छैन। उनले सबै प्रकारका गीत लेखे। राष्ट्रिय गीत लेख्न उनलाई औधी मन पथ्र्यो। त्यस्तै गीतले उनलाई चिनायो पनि।

उनका छोरा विधानलाई पत्रकार, निर्देशक भूषण दाहालले एक पटक कालापानीको गीत नबनेको बताएपछि विधानले बुबा विजयलाई सुनाए। विजयलाई पनि दिमागमा क्लिक भयो। उनले पाँच दिन लगाएर लेखे, ‘माछी मार्न जाऊँ न दाज्यै कालापानीमा।’

गीत रेकर्ड गरेर म्युजिक भिडियो बनाइसक्दा त्यो बेला डेढ÷दुई लाख रुपैयाँ खर्च भयो। तर, यति दुःख गरेर २०५६ सालमा रेकर्ड गरिएको यो गीत झण्डै चार वर्ष प्रतिबन्धमा प¥यो। त्यतिबेलाका चल्तीका मिडियाले यो गीत बजाएनन्। किन बजेन, विजय र छोरा विधान अनभिज्ञ छन्। भन्छन्, ‘भारतीय दबाब हुन सक्छ।’

राष्ट्रियताका गीत लेख्दा, गाउँदा दार्जिलिङबाट रातारात भाग्नुपरेको घटना र कालापानीको गीत नबजेको देख्दा उनलाई औधी दुःख लाग्यो। तर, उनले गीत लेख्न छाडेनन्। 

उनले अर्को गीत लेखे– ‘ज्ञानबहादुर छोरो, तन्नेरी छोरो...’ 

यो गीत पनि त्यो बेला निकै मन पराइएको थियो। त्यहाँ पनि कालापानीको प्रसंग उल्लेख छ। तर, त्यो गीत पनि बजेन।

‘त्यतिबेला पञ्चायत होइन, प्रपञ्चकारीहरूले रोक लगाए,’ उनी भन्छन्। सँगै ‘हाम्रो बडा पृथ्वी बाले भनेका, एकता नै बल हो...’ बोलको उनको अर्को गीत पनि शासकले सुन्न सकेनन्। 

यो गीतमा पृथ्वीनारायण शाहलाई ‘बडा बा’ भनेर सम्बोधन गरिएको थियो। यस्तै राजालाई ऊ पनि मान्छे हो भनेर इंगित गरिएको थियो। ‘त्यति ठूलो इस्यू थिएन,’ उनी भन्छन्, ‘तर, राजाका चम्चाहरूले त्यसलाई ठूलो इस्यू बनाए।’

युट्युब र सामाजिक सञ्जाल नभएको त्यो समयमा दुईचार वटा रेडियो र टेलिभिजनले प्रतिबन्ध लगाउँदा गीत जनताले सुन्न पाउँदैनथे। आजका दिनमा कालापानी, लिपुलेकको प्रसंग ब्युँतिरहँदा कालापानी गीतको सान्दर्भिकता बढेको छ। तर, पनि मिडियामा गीत नबजेको देख्दा उनी अचम्भित छन्। भन्छन्, ‘यो त जनतालाई अहिले चाहिएको गीत हो। किन बज्दैन ?’

उनका अनुसार कालापानी मिचिनु, नेपालको राष्ट्रियता संकटमा पर्नुका पछि नेपालका नेताहरूकै दोष छ। त्यसमा पनि पञ्चायतकालमा राजा र जनताको बीचमा बसेर खेल्ने पञ्चका कारण नेपालको दुर्भाग्य सुरु भएको उनको ठम्याइ छ। भन्छन्, ‘नेपालले विश्वमा वीरताका लागि नाम कनायो। तर, अहिले आफैँ अन्यायमा परेको छ।’

कालापानी अतिक्रमित भइरहँदा आफूलाई पीडा भएको उनी बताउँछन्। कूटनीतिक तरिकाले समस्या समाधान गर्नुपर्नेमा जोड दिन्छन्। उनका गीत शासकले कहिल्यै मन पराएनन्। पञ्चायतदेखि गणतन्त्र, नेपालदेखि भारतसम्म उनका गीत प्रतिबन्धमा परे। तर, जनतामाझ भने उनले लेखेका शब्द र संगीत आजसम्म प्रिय छन्।

अहिले एउटा नयाँ गीत लेखेका छन्। छोरा विधानले नै गाएका छन्। ‘म्युजिक भिडियो बनिरहेको छ, चाँडै सार्वजनिक हुँदै छ,’ उनी भन्छन्। खुकुरीको बारेमा लेखिएको गीतमा भनिएको छ, 

हामी त्यसै निस्किँदैनौ, 
निस्किसकेपछि कि त साँधै हालिन्छ कि त मारै ढालिन्छ
शान्ति क्षेत्र रक्षा गर्ने खुकुरी पो हौँ
नेपालको गौरव राख्ने नेपाली पो हौँ।

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि