हठात् रोकिए हजारौँ वर्षदेखि चलिआएका जात्रा

writer

शिशिर वैद्य

शुक्रबार, ०२ जेठ २०७७


लकडाउनका कारण देश बन्द भएको सातौँ हप्ता नाघिसक्यो। कोरोना संक्रमण फैलिन नदिन सबैभन्दा उत्तम उपाय ठानिएको लकडाउनले स्कुल, बजार, यातायात बन्द छन्।मानिसहरूलाई घरबाहिर निस्कन निषेध छ। जमघट गर्न निषेध छ। डेढ महिनाको लामो लकडाउनपछि आंशिक रूपमा केही कलकारखाना, कार्यालयले  खोल्ने अनुमति पाएका छन्। सधँै व्यस्त रहने उपत्यकाका सडकहरूलकडाउन अवधिभरि सुनसान रहे। लकडाउन खुकुलो पारिएसँगै सवारीको संख्या एकाएक बढेको छ। तर, संस्कृति र जात्रापर्वको धनी काठमाडौँ उपत्यकाका सांस्कृतिक जात्रापर्व भने अझै बन्द छन्। 

लकडाउन घोषणाकै दिन घोडेजात्रा 
सरकारले लकडाउन घोषणा गरेको दिन उपत्यकामाघोडेजात्रा पर्व थियो। तर,न काठमाडौँको टुँडिखेलमा घोडा दौडाइए, न ललितपुर बालकुमारीमा एकल घोडा दौडियो।न घोडा दौडिएको हेर्नेको घुइँचो नै लाग्यो। घोडेजात्राका दिन उपत्यकाका विभिन्न टोलमा बालबालिकालाई वर्षभरि स्वस्थ रहने कामनासहित मलजा ख्वाउने गरिन्छ। प्राचीन शहर असनमा अष्टमातृका देवीहरूको खट जुधाइन्छ। तर, लकडाउनका कारण यी सांस्कृतिक पर्व मनाइएनन्।
०७६ सालमा उपत्यकावासीले मनाएको अन्तिम पर्व रह्यो, पाँहा चह्रे (पिशाच चतुर्दशी)। जमिनमुनि लुकिबसेका महादेवको पूजा गरिने यो पर्व उपत्यकाको मौलिक पर्व हो। 

यो वर्ष अन्न र सहकालका देवता मत्स्येन्द्रनाथको रथ बनेन। सहकालका देवता भएकाले महामारीबाट मुक्ति मिलोस्, कसैलाई पनि रोग नलागोस् भनेर प्रतीकात्मक रथारोहण गरियो।

काठमाडौँ जात्रा, पर्व, देवी, देवता र मन्दिरैमन्दिरको शहर हो। प्राचीन बस्तीवरपर रहेका मन्दिर र यीसँग सम्बन्धित जात्रा यहाँको सांस्कृतिक, धार्मिक, ऐतिहासिक सभ्यताका साक्षी हुन्। प्राचीन भित्री शहरमा मात्र नभएर उपत्यका वरपरका हाँडीगाउँ, विशालनगर, चाबहिल, बौद्ध, टोखा, इचंगु, मातातीर्थ, मत्स्यगाउँलगायत बस्तीहरूमा पनि विभिन्न तिथिमा हुने जात्रापर्वले सांस्कृतिक रूपमा सम्पूर्ण काठमाडौँ उपत्यका निकै धनी रहेको बुझिन्छ। 

सामान्य पूजामा सीमित भए जात्रा 
मत्स्यनारायण मेला, सेतो मत्स्येन्द्रनाथको रथयात्रा, बालाजु बाइसधारा मेला (ल्हुति पून्ही), रातो मत्स्येन्द्रनाथ स्नान (बुंगद्यः न्हवं), साँखु वज्रयोगिनी जात्रा, भक्तपुरको बिस्काः जात्रा, टोखाको सपनतीर्थ मेला, चम्पादेवी मेला, भक्तपुरको ब्रह्मायणी, छुमा गणेश, भैरवभद्रकाली जात्रा, ठिमी चण्डेश्वरी रथयात्रा, ठिमी, बोडेको जिब्रो छेड्ने जात्रा,मातातीर्थ मेला, चाँगुनारायण छिन्नमस्ताकिलेश्वर रथयात्रा, लुभु महालक्ष्मी÷भैरव जात्रा, रातो मत्स्येन्द्रनाथ रथयात्रा, बुद्धजयन्ती आदि सबै सांस्कृतिक जात्रा तथा पर्वहरू औपचारिक पूजामा सीमित भए। लकडाउनका कारण प्राचीनकालदेखि चल्दै आएका उपत्यकाका थुप्रै सांस्कृतिक पर्वहरू रोकिए।

काठमाडौँ जनबहाः स्थित ‘जनबहाः द्य’ (सेतो मत्स्येन्द्रनाथ) र ललितपुर बुंगमती स्थित ‘बुंग द्य’ (रातो मत्स्येन्द्रनाथ) को हरेक साल गरिने रथयात्रा उपत्यकाको महŒवपूर्ण जात्रा हो। हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन जनबहाः द्यको रथयात्रा गर्ने परम्परा रहिआएको छ। जनबहाः द्यको रथ यात्रा परापूर्वकालदेखि नेवाः समुदायभित्रका विभिन्न समुदायको सांस्कृतिक एकताको रूपमा चल्दै आएको जात्रा हो। ज्यापु, नकःमी, मुनिकार, सिकःमी, साय्मी, वज्राचार्य, शाक्य जातिका अनेक समूह र गुठीको सहभागिता र सहकार्यमा रथ निर्माण र जात्रा सञ्चालन हँुदै आएको छ। किंवदन्तीअनुसार राजा शिवसिंह मल्ल (नेसं ७०८)को पालामा जमलमा सेतो मत्स्येन्द्रनाथको मूर्ति फेला परेको थियो। शिवसिंह मल्लले सोही स्थानबाट उक्त रथयात्रा चलाएका थिए। काठमाडौँमा चार दिन चल्ने यो जात्रा लकडाउनका कारण यसपटक सामान्य पूजामा मात्र सीमित रह्यो।

मत्स्येन्द्रनाथको प्रतीकात्मक रथारोहण
विभिन्न वर्णनका आधारमा रातो मत्स्येन्द्रनाथको जात्रा नेपालमा मध्यकालको प्रारम्भिक समयदेखि नै प्रचलित भएको बुझिन्छ। प्रत्येक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि ललितपुर नगरको पुल्चोकबाट सुरु भई निर्धारित मार्ग हुँदै जावलाखेलमा पुगेर भोटो देखाएपछि यो जात्रा सकिन्छ। जात्रा सकिएपछि मत्स्येन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुंगमतीस्थित द्यछें (देवताको घर)मा लगिन्छ। संस्कृतिविद् हरिराम जोशी भन्छन्– ‘गोपालराजवंशावलीमा वर्णित भएअनुसार राजा नरेन्द्रदेव र आचार्य बन्धुदत्तले यो यात्रा चलाएका थिए। अर्थात्,दशौँ शताब्दीदेखि यो रथयात्रा निरन्तर चलिआएको छ।’उपत्यकाकै सबैभन्दा लामो समय, झण्डै दुई महिना चल्ने अन्न र सहकालका देवता मत्स्येन्द्रनाथको रथ बनेन। रथ नबने पनि परम्परालाई निरन्तरता दिन मत्स्येन्द्रनाथ राखिएको स्थानमा नै देवता राख्न मात्र मिल्ने खट बनाएर रथारोहण गरियो। सहकालका देवता भएकाले महामारीबाट मुक्ति मिलोस्, कसैलाई पनि रोग नलागोस् भनेर प्रतीकात्मक रथारोहण गरियो।

काठमाडौँ र ललितपुरजस्तै उपत्यकाका अन्य स्थान पनि सांस्कृतिक जात्रापर्वका लागि निकै धनी छन्। वैशाख पूर्णिमा र त्यसको भोलिपल्ट कृष्णपक्षको प्रतिपदाको दिन बनेपास्थित चण्डेश्वरीमाईको जात्रा भव्य रूपमा मनाइन्छ। संस्कृतिविद् जोशी भन्छन्– ‘आराध्यदेवी चण्डेश्वरी माई बनेपाकी रक्षिका हुन्। चण्डासुर नामक राक्षसबाट बनेपा शहरको रक्षा गरेकोले बनेपावासीका लागि चण्डेश्वरी जात्राले निकै महŒव राख्छ।’

काठमाडौँदेखि उत्तरमा रहेको टोखामा नववर्षको दिन भव्य मेला लाग्छ। सपनतीर्थका रूपमा प्रसिद्ध उक्त तीर्थ टोखास्थित एउटा सानो खोलाको छेउमा रहेको छ। उक्त दिन सो नदीमा स्नान गरेमा रोगव्याधि लागेर दुर्गन्धित भएको शरीरका सम्पूर्ण रोग निर्मूल हुने लोकोक्ति रहेको छ। काठमाडौँ पूर्वोत्तरमा पर्ने साँखुमा पनि वज्रयोगिनी देवीको भव्य जात्रा हुने गरेको छ।

त्यस्तै, भक्तपुरको बिस्काः जात्रा उपत्यकाको निकै महŒवपूर्ण सांस्कृतिक पर्व हो। प्रत्येक वर्ष चैतको अन्तिम साता सुरु भई नववर्षको पहिलो दिन पचपन्नहाते लिंगो ढालिएसँगै जात्रा समापन हुने गरेको छ। बाह्रौँ शताब्दीदेखि चलिआएको मानिने यो जात्रा पनि यसपटक कोरोना महामारी संक्रमण फैलिने डरले औपचारिक पूजामा सीमित गरियो। भक्तपुर, थिमीको बिस्काः पनि अर्को महŒवपूर्ण सांस्कृतिक पर्व हो। नववर्षको दोस्रो दिन मनाइने यो जात्रामा ३२ वटा खटमाविभिन्न देवीको मूर्तिलाई नगर परिक्रमा गराइन्छ। तर, यसपटक यो जात्रा पनि औपचारिकतामा सीमित रह्यो।

‘संसारमा दुःख छ, दुःखका कारण छन्, दुःखबाट मुक्ति पाउन सकिन्छ र दुःखबाट मुक्ति पाउने मार्ग पनि छ’ भनि आर्य अष्टांगिक मार्ग प्रतिपादन गर्ने भगवान् बुद्धको जन्मस्थल रहेको देशमा बुद्धजयन्तीका दिन सामान्य पूजा मात्रै भए। विगतमा जस्तो चहलपहल भएन। बौद्ध तीर्थस्थलहरूमा लाग्ने भीडले घरघर दिपावली गरी चित्त बुझाए। 

जात्राको अस्तित्व नै संकटमा 
हजारौँ वर्षदेखि निरन्तर चलिआएका रथयात्रा एवं विभिन्न जात्रापर्व रोकिएको इतिहास छैन। तर, यसपटक कोरोना महामारी फैलिने आशंकामा देशभरिका जात्रापर्व रोकियो। संस्कृतिविद् जोशी भन्छन्, ‘उपत्यकाको पहिचान भन्नु नै यहाँको विविध संस्कृति र चाडपर्व हो। संक्रमण र महामारीका कारण संस्कृति र चाडपर्व रोकिँदा शहरीकरणसँगै मासिँदै गएको हाम्रो संस्कृति विलुप्त हुने त होइन भन्ने चिन्ता थपिएको छ।’

यो महामारी र संक्रमणबाट पार पाउन दुईतीन वर्ष पनि लाग्न सक्छ। यसबीच मानिसहरू सामूहिक रूपमा जम्मा नहुने कार्यको निरन्तरता रह्यो भने हाम्रा जात्रापर्व कसरी बाँच्लान् ?

विभिन्न विश्वासकासाथ मनाइने जात्रापर्व, भोज, पूजाआजा उपत्यकाका सभ्यताका प्रतीक हुन्। समाजमा आइपरेका अनेक समस्याबाट पार पाउन परापूर्वकालमा देवीदेवतास्थापना गरिए, जात्रापर्व सुरु गरिए। मानव समाज रहे मात्रै संस्कृति र जात्रापर्व पनि निरन्तर रहन्छन्। मानव सभ्यतालाई नै चुनौती दिने महामारी र संक्रमण फैलिन थालेसँगै रोकिएका जात्रापर्व फेरि सुरु हुन सक्छन्। तर, यसकालागि हामी जीवित हुनुपर्छ। मृत्युको ताण्डव देखाइरहेको कोरोना महामारीमाथि विजय प्राप्त गर्न सामाजिक दूरी नै एक मात्र उपाय रहेको वर्तमान अवस्थामा भीडभाड हुने जात्रापर्व नमनाउनु विवेकपूर्ण निर्णय हो।

तपाईको कमेन्ट