गर्भ रहन नदिन परिवार नियोजनका साधनका विकल्प के–के छन् ?

writer

डा. सुमनराज ताम्राकार

शुक्रबार, ०२ जेठ २०७७


कोरोना संक्रमणले विश्वभरि सन्त्रास पैmलाइरहेका बेला जनस्वास्थ्यविज्ञले अबको केही समय मानिसहरूको प्रजनन क्षमता बढ्ने र सन्तान उत्पादनमा वृद्धि हुने आकलन गरेका छन्। कारण प्रष्टै छ, लकडाउनको समय छ, मानिसहरू घरभित्र बस्न बाध्य छन्। घर–घरमा पत्रपत्रिका आउन छाडेका छन्। टीभीमा पनि टक सो, फिल्म र टेलिसिरियल दोहोरिन थालेका छन्। यसरी मान्छेका मनोरञ्जनका साधन सीमित हुन थालेका छन्। एकातिर गरिब र पिछडिएका समुदायमाझ यौन गतिविधि नै मनोरञ्जनको राम्रो साधन हुनसक्छ भने हुनेखानेको पनि पोर्नोग्राफीमा सहज पहुँच भएकालेउनीहरू पनि फुर्सदमा यौनकार्यमै लाग्ने सम्भावना रहन्छ। नेपालको परिप्रेक्ष्यमा गएको माघ, फागुन महिनामा विवाहका लगन टन्नै थिए। यसको तात्पर्य नेपालमा नवविवाहितहरूको जमात बाक्लै छ। र, यी नवजोडीलकडाउनको समयमायौन गतिविधिमा सक्रिय हुन सक्छन्। 

नेपालको पछिल्लो तथ्यांकअनुसार १९ वर्षमुनि विवाह गर्नेको संख्या धेरै छ। यसमा पनि किशोरको दाँजोमा पाँच गुणा बढी किशोरीले बिहे गर्ने गरेको देखिन्छ। 
प्रायः बिहे भएको दुई वर्षभित्र करिब ८० प्रतिशत दम्पतीले बच्चा पाउने गरेका छन्। त्यसैले पनि यो लकडाउनको समयमा युवावस्थामै वा उमेर नपुगीकनै (प्रायः १३ देखि १९ वर्षभित्र) गर्भवती हुने सम्भावना बढी छ।

त्यसो भन्दैमा अनिच्छित गर्भ रोक्ने उपाय नभएको होइन। परिवार नियोजनकै विभिन्न अस्थायी साधन छन्। तर, परिवार नियोजनका प्रयोगकर्तामा ती साधनले कुनै न कुनै साइड इफेक्ट देखिने भएकाले नवजोडी ती साधन प्रयोग गरिहाल्न हिच्किचाउँछन्। त्यसमाथि कन्डम प्रयोग गर्दा यौन सन्तुष्टिमा कमी आउने मान्यता, कन्डम फुट्ने डर, प्रयोग गर्दाहुने झन्झटजस्ता कारणले गर्दा पटक–पटक यी सबै साधनको विकल्पमा प्राकृतिक उपाय खोज्न थाल्छन्।

सबैभन्दा सुरुमा महिनावारी चक्रको सबै दिनमा गर्भ रहने होइन भन्ने कुरा बुभ्mन जरुरी छ। महिनावारीको बीचतिर डिम्ब निष्कासन हुने आसपासका दिनहरूमा मात्र गर्भ रहन सक्ने बढ्ता सम्भावना भएकाले सुरुमा सुरक्षित चक्रबारे जानकारी राख्दा राम्रो हुन्छ। 

सुरक्षित चक्र
प्राकृतिक रूपमा परिवार नियोजन गर्न चाहने र परिवार नियोजनका अन्य साधन अपनाउन नचाहने दम्पतीका लागि सुरक्षित चक्र एउटा राम्रो विकल्प हो। क्यालेन्डर विधि पनि भनिने यो विधि नियमित रूपमा महिनावारी हुने महिलामा मासिक स्रावको बाह्रौँदेखि सोह्रौँ दिनसम्म डिम्ब निस्कन्छ भन्ने सिद्धान्तमा आधारित छ। त्यसो त महिलापिच्छे महिनावारी चक्र फरक–फरक हुन सक्छ। अधिकांश महिलामा २६ देखि ३४ दिनको भएपनि केही महिलामा २१ देखि ३५ दिनसम्मको महिनावारी हुन सक्छ।

तर, पनि नियमित रूपमा (प्रत्येक २८ दिनमा) महिनावारी हुने महिलामा महिनावारीको दशौँ  दिनदेखि अठारौँ दिनमा यौन सम्पर्क भए गर्भ रहन सक्छ। र, मासिक स्राव नियमित नहुने महिलाको छोटो चक्रमा १८ दिन घटायो भने गर्भ रहने पहिलो दिन निस्कन्छ भने लामो चक्रमा १० दिन घटायो भने गर्भ रहन सक्ने अन्तिम दिन निस्कन्छ। उदाहरणका लागि, २५ देखि ३४ दिनसम्म महिनावारी हुने महिलामा सातौँ (२५–१८ दिन) दिनदेखि चौबीसौँ (३४–१० दिन) दिनसम्म गर्भ रहन सक्छ। 

यसरी हिसाब गरिराख्न झन्झटिलो छ र माथि उल्लेखित हिसाब प्रष्ट भएन भने महिनावारी भएको आठौँदेखि बाइसौँ दिनसम्म यौनसम्पर्क नराख्न वा राख्नुपर्ने भए कन्डम, फेमिडोम (महिला कन्डम), कमल चक्कीजस्ता अस्थायी साधन अपनाउनुपर्छ। गलत तरिकाले हिसाब गरेमा, अनियमित तरिकाले यौनसम्पर्क राखेमा र असुरक्षित अवधिमा अन्य साधन नअपनाएमा फेल खाने सम्भावना बढी हुन्छ। 

अर्को तरिका 

मेडिकल भाषामा ‘कोइटस इन्टरप्टस’ भनिने यस विधिमा यौनसम्पर्कका क्रममा यौन उत्कर्षमा पुरुष पार्टनरले वीर्य स्खलन हुनै लाग्दा लिंगलाई योनिबाट निकाली बाहिरै स्खलन गर्छन्। यस विधिमा पुरुष पार्टनरमा धेरै संयम चाहिन्छ। योनिभित्रै वीर्य स्खलन हुन गएमा गर्भ रहने सम्भावना हुन्छ। प्रयोगकर्तामा भर पर्ने हुनाले यो विधि चारदेखि २२ प्रतिशतसम्म फेल खान सक्छ। दिनमै अथवा एक रातमैपटक–पटक यौनसम्पर्क राख्ने व्यक्तिले प्रत्येक पटकको यौनसम्पर्कपछि आफ्नो यौनांग राम्ररी नपखालेको खण्डमा लिंगको टुप्पाको छालामुनि शुक्रकीट बाँकी रहन सक्छ। फेरिे यौनसम्पर्क राख्दा गर्भ रहन सक्ने सम्भावना हुन्छ। वीर्य स्खलनसँगै पुरुष पार्टनरले मात्र यौन सन्तुष्टि पाउने हुन्छ। महिला पार्टनरले पनि यौन सन्तुष्टि पाउँछिन् नै भन्ने हुँदैन। अर्थात्, प्रत्येक पटकको यौनसम्पर्कमा पुरुष र महिलाले एकैसमय यौन सन्तुष्टि पाउँछन् भन्ने हुँदैन। त्यसो भएर पटक–पटकको विधिमा महिला पार्टनरमा यौन असन्तुष्टि बढ्दै जाने सम्भावना हुन्छ। कालान्तरमा महिलामा यौन चाहनामै कमी आउन सक्छ।

योनिरसको जाँचबाट पनि गर्भ रहन सक्ने अवधि विचार गर्न सकिन्छ। डिम्ब निष्कासन हुने समयावधिको योनिरसलाई बूढी औँला र चोर औँलाले लामो हुने गरी तन्काउन सकिन्छ। जबकि, डिम्ब निष्कासन भइसकेपछिको योनिरस बाक्लिन थाल्ने हुनाले त्यसरी तन्काउन सकिन्न। योनिरस तन्काउन खोजेपनि चाँडै चुँडिन्छ। यो विधिको लागि अनुभवको खाँचो हुन्छ।

यी सबै प्राकृतिक विधि अपनाउनका लागि महिला र पुरुषबीच सामञ्जस्य र सहयोग आवश्यक हुन्छ। 

तपाईको कमेन्ट