इन्काउन्टर : अ फिक्सनल फ्याक्ट

writer

सम्पूर्ण

बिहिबार, ०१ जेठ २०७७


विमल आचार्य 
— अयोग्य लडाकुको ट्याग बोकेको म अब गाउँमा बस्न योग्य छैन रैछु । म अब भोलि नै काठमाडौँ जान्छु । 
— जा जान त, तर पढाइ सुरु गरेस् । एउटा जागिर नि खाएस् । सरखारी जागिर । 
०००
— बीए पनि पास भइहालिस् । अब लोकसेवा दे । खर्दारमा लड् । तँ सक्छस् ।
— काँ बुवा, देश बदल्न हिँडेको मान्छे, यति चाँडै पाइला बदल्ने ? हुन्न ।
— काठमान्डूमा बसेर के गर्छस् त तँ ? जागिर खानुपर्दैन ? 
— पर्दैन । 
— के गर्छस् त पछि ? 
— जे अहिले गरिराछु । 
— यही नौटंकी गरेर, हल्लेर जिन्दगी चल्छ भन्या छस् ? 
— मेरो साध्य र लक्ष्य जिन्दगी चलाउनु मात्रै हैन, संसार चलाउनु हो, बुवा । 
— जागिर नखानी भा यत्रो किन पढिस् ? 
— पढ्नु भनेको जागिर खान मात्र हैन, बुवा । पैसा नकमाउनी भा तपाईं पनि किन सधैँ नेताको पछि मात्र लाग्नुहुन्छ त ? 
— सबैले त्यही गर्नुपर्छ भन्ने छैन । 
— सबैले यही गर्नुपर्छ भन्ने पनि त छैन । 
— बेरोजगारै बस्नु थियो भने त्याँ गएर यत्रो वर्ष क्याम्पिस धाको के अर्थ भो ? 
— अर्थको लागि मात्र हैन बुवा, पढाइ । फेरि म केही नगरी बसेको पनि त छैन । घरबाट पठाउनु प¥या छैन । यता मैले चोरेर, चाकडी गरेर, लुटेर, ढाँटेर त खा छैन त । 
— म पनि नेतागिरी गरेर बिग्रेँ, सकिएँ । तँ पनि नमर् भन्या मात्र हो । घरको अवस्था तँलाई थाहै छ । तीन–तीन जना बहिनी छन् । यिनीहरूको बिहे गर्ने बेला हुन लाग्यो । तँ एक्लो छोरो पढाइसढाइ छोडेर जंगल हिँडेदेखि तेरी आमा बिरामीका बिरामी छ । तँलाई यो सब थाहै छ ।  
०००
— त्यो लेख्नेसेख्ने काम छोड् । यस्तो नौटंकी गरेर पिल्सिङ पाक्छ ? सञ्चेकोष काटिन्छ ? पाउँछस् भत्ता ? पाउँछस् बिल मिलाउन ? खुरुक्क सरखारी नखार । 
— अब मलाई फोन नगर्नुस्, यस्ता कुरा लिएर । 
०००
— ओइ, अब बे गर्नुपर्दैन ? 
— पर्दैन । सबैले गर्नुपर्छ भन्ने छ र ? 
— ३० पुग्न लागिसकिस् । अझ कति हल्लिन्छस् ? तँसितका सबले छोछोरी पाइसके । यसपालि ब्या गर्ने हो, मैले हेरिसक्या छु । 
०००
— बे गरेको पनि तीन वर्ष तीन महिना तीन दिन भइसक्यो आज । केही सुरसार छैन अझै ?
— ल बुहारीसितै कुरा गर्नुस् । 
— मर्लास् अल्यै । तेरो उमेरमा मेरा बा बाजे भइसक्या थे । ढिलो नगर् अब । 
— जागिर–सागिर, काम–धाम, बचत–सचत केही छैन । अब यस्तोमा बच्चा पाउने जस्तो कच्चा काम मबाट हुँदैन । हामीले नपाउने निर्णय गरिसकिम् ।  
०००
— ओए, सुन् त !
— हजुर । 
— याँ गाउँमा मन्दिर बनाउने भन्या छन् । हाम्रो नाउँमा पाँच हजार रुप्या चढा’छन् । पैसा पठादेलास् है भोलि । 
— गाउँको भएको त्यो मन्दिर बन्द गर्ने, अनि नयाँ किन चाहियो फेरि ? 
— हैन, के भन्छ यो ? 
— त्यो तपाईंले आफैँले मरिमेटेर बनाएको, मैले पाँचसम्म पढेको कालिका प्रावि मन्दिर किन बन्द भो ? निःशुल्क शिक्षा दिने मन्दिर बन्द गरेर पल्लो गाउँमा बोर्डिङ जाने कसले बनायो ? 
— चर्च खुलेको छ गाउँमा, त्यही भएर मन्दिर बनाउने भन्छन् । 
— धर्मका पसल खोल्ने जति अधर्मी यो दुनियाँमा मैले कोही देख्या छैन । गाउँमा पुस्तकालय खोल्ने हो भने म मेरा पाँच बोरा किताब पठाइदिन्छु । पाँच रुप्या पनि नभा बेला मन्दिरका लागि पाँच हजार ? म यता लुटेर मन्दिर बनाउन त्यता पैसा पठाऊँ ? 
०००
 —धेरै महिना भो, फोन पनि गर्नुभएन । एउटा राम्रो खबर सुनाऊँ भनेर । 
— भन्, के पायौ ? 
— बुवा, डेट आउँदै छ के, त्यो हैन । मैले बनाएको चित्र फस्ट भयो । मैले एक लाख रुप्याको पुरस्कार पाएँ ।  
— ल, ठीकै छ नि त, अब चाँडै छोरा पाएस् । 
०००
— बहिनीको बिहे वैशाख १४ गते निश्चित भो । तिमीहरू सबै चाँडै आओ अब । अँ, सुन् त, चार लाख जति पैसा नि जुटाएस् । 
—मसित घर आउनलाई चार सय भाडा त छैन । मैले कसरी जुटाउने त्यत्रो ? म आउँदिनँ, बुवा । 
— के भनेर मर्छ यो ? पोर कत्रो पुरुस्कार पाएँ भन्तिस् त । काँ गो त्यो ? गएदेखि एक रुप्या पठा छैनस् ।
— लगत्तै नातिनी जन्मिँदा सब खर्च भो । त्यसले नपुगेर सापटीले चलाएँ । त्यता गाउँमा सरकारी स्कुल बन्द गर्नुभो । यता शहरमा सरकारी अस्पतालमा पालो पाइन्न । गरिबका लागि कालका दुई सन्तान शिक्षा र स्वास्थ्य हुन् भन्ने बुझ्नुस् । यी दुई सन्तान धनी र बेपारीका लागि चैँ वरदान हुन् । 
— लौ भइगो, तँ जोगीबाट मैले केही आश ग¥या छैन । आउन चैँ आए सबै जना । 
— विनिता र नानी आउँछन् । म आउन सक्दिनँ, बुवा । 
— तँलाई घर–परिवार कोही चाहिन्न ? जे मन लाग्छ त्यही गर् । 
— बुवा, सुन्नुस न, मैले खेलेको नाटक ‘कोर्टमार्सल’ यो वैशाख महिनाभरि लाग्दै छ । कत्रो दुःख गरेर अनुप बराल, राजेश हमालहरूसित खेल्न पा’छु । मैले दिनदिनै खेल्नुपर्छ । म यो छोड्न सक्दिनँ, बुवा । 
— मलाई थाहा थियो, तेरो यो सब नाटक । अब बन्द गर्, मसित यस्तो नौटंकी । 
०००
— सुन् त, त्यहाँ भक्तपुरको आशापुुरी भन्ने ठाउँमा आनाको ८० लाख मात्रै छ रे । चार आना जसरी पनि किन् । अब नातिनीको बिहे गर्ने बेला पनि भो । डेरा मात्र ३० चोटि सरिसकिस् होला । अब एउटा स्यानो झुपडी भए नि बनाइफाल् । 
— बल्ल त छ कक्षामा पढ्दै छिन्, हजुरकी नातिनी । बिहेसिहेको कुरा ननिकाल्नुस् न, बुवा । 
— किन ? किन्न त किन् । नत्र कुकुरले नपाएको दुःख पाउँछस् तँैले पनि । हुन त कुकुरभन्दा के नै माथि छस् र ! 
— बुवा, बरु मलाई ६० हजार रुप्या ऋण काढेर पर्सिसम्म पठाइदिनुस् न । नातिनीको  फिस ति¥या छैन । मेरो पत्रिका बन्द भयो । काम पनि छैन अहिले । 
०००
— घर आउने कुरा नगर् है । जे जस्तो भए पनि उतै बस् । यत्रो वर्षपछि खाली हात गाउँ आएर लाजको मर्नु !
— नातिनी अब पढ्न बाहिर जान्छु भन्छे । हामी बड्डाबड्डी गाउँमै आउँछम् बुवा । आफ्नो घरमा आउन केको लाज र ? 
— यता सुन्, हामी पनि बूढाबूढी भइम् । हाम्रो स्याहार गर्न घिन नमान्ने भए, ठास्स र ठुस्स नगर्ने भए मात्र आओ । रमिता देखाउन नआओ । हामी जे छम्, ठीकै छम्, बिथोल्न नआओ । 
— हजुर...। 
— सुन् न, तँ घर नआको कति वर्ष भो ? थाह छ ? मैले भएको सबै घरजग्गा गुमाइसकेँ । म अस्ति गाउँ उपप्रमुखमा उठ्दा तँ कुपुत्र घर आइस् ? दुई भोटले हारेँ मैले... 
(फ्ल्यासब्याकः हामी जुन व्यवस्थाले हेपियौँ । । तपाईं नै त्यसको पक्षमा उठ्ने ? तपाईं उतिबेला आफैँ पञ्चायतविरोधी नेताको पछि लाग्नुभो । अनि अहिले ? तपाईंलाई भोट हाल्न म आउँदिनँ । तपाईंको पार्टीले हारोस् । तपाईं हार्नुहोस् । फेरि मैले यो चुनाव नामको खसीबजारलाई पूरै बहिष्कार गरेको छु । तपाईंलाई खसी पार्छ, यो व्यवस्थाले ।) 
...चुनाव हारेपछि खर्च र ऋण धान्न नसकेर मैले भएको सबै बेचिसकेँ । तेरो घरमा अहिले वडा कार्यालय बस्या छ । मैले त्यहाँ पिउनको काम सुरु गरेको छु । चुनावी ऋण अझै बाँकी छ । यहाँ आएर के गर्छस् ? कहाँ बस्छस् ? हामी त विष्टको गोठमा सरेका छम् ।  
०००
— तँलाई त्यस्तो उपध्रो गर्नु किन परेको थियो ? किन जेल परिस्, नढाँटी भन् । 
—चित्र बनाएर माइतीघरमा प्रदर्शन गर्दै थिएँ । पक्रिइयो । पच्चीस हजारको धरौटी नभएर म अड्किएको छु । यत्ति हो बुवा । 
— सद्दे मान्छेले त्यस्तो चित्रै बनाउँदैन । तँ पागल भइसकिछस् । महामहिमज्यू, सम्माननीयज्यू, माननीयज्यूहरूको शीघ्र स्खलन भएको लज्जांगसहितको सर्वांग नांगो चित्र बनाउँदा तँ आफैँ नांगिइस् । हामीलाई, बुहारीलाई र नातिनीलाई पनि नंग्याइस् । तँ त्यही जेलभित्र सडेर मरेको खबर छिट्टै सुन्न पाऊँ । शहीदको बुवा हुन पाऊँ । 
०००
— तपाईंको बुवा अहिले यहाँ जिल्ला अस्पतालमा हुनुहुन्छ । अवस्था अलि चिन्ताजनक छ । 
०००
— म यहाँ जेलबाट निस्किन गाह्रो छ । फेरि म काजकिरियामा विश्वास पनि गर्दिनँ । समाजवादको किरिया खाएका नेताहरूको मसाजवादको तस्बिर बनाउँदा म पागल भएँ । 
०००
जेलभित्र अहिले ऊ अन्नपूर्ण पोस्ट् पढ्दै छः कालिका गाउँपालिका–४ का ६५ वर्षीय धनबहादुर मिजारका दुई छोरी स्थानीय सामुदायिक भवनमा बाबुको किरिया बस्न खोज्दा गाउँलेहरूबीच झडप भएको छ । झडपमा परी धनबहादुरकी श्रीमती लक्षिमा— जो आफैँ लामो समयदेखि मुटुको रोगी थिइन्— को निधन भएको छ भने घाइते दुई पुत्रीलाई सुरक्षार्थ सदरमुकाम ल्याइएको छ । बुवालाई लाप्रपाले पार्टीको झन्डा ओढाउन खोज्दा इन्कार गरेका छोरीहरूलाई वडाअध्यक्ष डिल्ली शर्माको नेतृत्वको टोलीले नै गाउँ छोड्न आदेश दिएको थियो । सामुदायिक भवन बनाउँदा एक रुपैयाँ पनि सहयोग नगरेकालाई भवनमा बस्न नदिने निर्णय भएको वडाध्यक्ष शर्माले बताए । छोरीमान्छे किरिया बस्न नहुने भन्दै अर्काथरीले विरोध मात्र जनाएनन्, उनीहरूको यो कदम प्रकृतिविरोधी भएकाले प्रकृति रिसाएर संसारभर कोरोना भाइरस फैलिएको आरोप पनि लगाएका छन् । उता आतंककारी गतिविधिमा संलग्न भएको आरोपमा थुनामा रहेका धनबहादुरका एक्ला छोरा मनबहादुर मिजार जेलबाट भाग्न खोज्दा धर्मेन्द्र खनालको इन्काउन्टरमा परी ज्यान गएको समाचार छ ।  
ट्वीटरः @BimalSalyan

तपाईको कमेन्ट