जसको बालुवाटार दाहिना, उही बोर्ड अध्यक्ष

writer

सामीप्यराज तिमल्सेना

बुधबार, ३१ बैशाख २०७७


पुस महिनायता रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दर्जनहाराहारी आकांक्षी देखिएका छन्। सो पदमा सरकारले आवेदन खुला गरेसँगै फिल्मकर्मी राजनीतिक सेटिङ मिलाउन सक्रिय रहेका छन्। सरकारले १५ दिनको सूचना राखेर प्रकाशित गरेको आवेदनको म्याद मंगलबार सकिएको छ। गत मंसिर २९ गते तत्कालीन विकास बोर्ड अध्यक्ष केशव भट्टराईको हृदयाघातका कारण निधन भएपछि बोर्ड अध्यक्षविहीन थियो।

मंगलबार यो समाचार तयार पार्दासम्म १० फिल्मकर्मीले अध्यक्षका लागि आवेदन दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले बतायो। अध्यक्षको दौडमा नाम चलेका अभिनेता भुवन केसीदेखि नामै नसुनिएका फिल्मकर्मीसम्म पनि छन्। 

अध्यक्षको घटाइएको योग्यता 
सरकारले दुई हप्ताअघि अध्यक्ष बन्न पाउने योग्यता घटाएर सूचना प्रकाशित गरेको थियो। तीन वर्षअघि शेरधन राई सञ्चारमन्त्री भएको बेला अध्यक्ष बन्नलाई कम्तीमा स्नातक हुनुपर्ने प्रावधान तोकिएको थियो। तर, यो साल २० वर्ष फिल्मक्षेत्रमा बिताएको मान्छेले आईए वा सोसरहको शैक्षिक योग्यता हुँदा मात्र पनि अध्यक्ष बन्न पाउने प्रावधान राखिएको छ। अध्यक्षका लागि घटाइएको योग्यतालाई धेरै फिल्मकर्मीले मन्त्रालयको औपचारिकताको रूपमा व्याख्या गरेका थिए। कुनै एक व्यक्तिलाई अध्यक्ष बनाउन मन्त्रालयले योग्यताको मापदण्ड नै परिवर्तन गरेको उनीहरूको आशंका छ। आवेदन खुल्नेबित्तिकै सामाजिक सञ्जाल यस्तै अनुमानयुक्त स्ट्याटसले भरिएको थियो। तर, अध्यक्षका आकांक्षीमा यसको कुनै प्रभाव देखिएन। उनीहरू आफू नै अध्यक्ष हुने विश्वासका साथ राजनीतिक आवेदन हालेर राजनीतिक लबिङमा लागेका छन्। 

तर, आकांक्षी जति धेरै भएपनि अध्यक्षका लागि वर्तमान बोर्ड सदस्य दयाराम दाहाल र भुवन केसीबीच कडा प्रतिस्पर्धा रहेको स्रोत बताउँछ। अन्य  प्रत्याशीले जति जोरलगाए पनि बालुवाटारले दाहाल र केसीमध्ये एकलाई तीनबर्र्से कार्यकालका लागि अध्यक्षको कुर्सीमा बसाउने स्रोतको दाबी छ।

केसी कि दाहाल : द्विविधामा बालुवाटार 
दाहाललाई पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले केशव भट्टराईभन्दा पहिला नै अध्यक्ष बनाउन चाहेको चर्चा थियो। तर, एमालेको भ्रातृ संगठन जनपक्षीय चलचित्रकर्मी संघले भट्टराईको नाम अगाडि सारेपछि दाहाल बोर्ड सदस्यमै सीमित भएका थिए। भ्रष्टाचारको आरोप लागेर मन्त्री पद गुमाए पनि धेरैको बुझाइमा अहिले पनि सञ्चार मन्त्रालय गोकुल बाँस्कोटाले नै चलाइरहेका छन्। यति मात्र होइन, बालुवाटारमा उनीमाथिको विश्वास ज्युँका त्युँ छ। यस हिसाबले पनि दाहाललाई अध्यक्षका लागि सशक्त प्रतिस्पर्धी मानिएको छ। यति मात्र होइन, उनकै लागि सञ्चार मन्त्रालयले शैक्षिक योग्यताको मापदण्ड घटाएको समेत फिल्मवृत्तमा चर्चा छ। साथै, जनपक्षीय चलचित्रकर्मी संघले यो पटक उनलाई नै सिफारिस गरेको छ। दाहाल राजनीतिक लबिङमा पनि उत्तिकै सक्रिय छन्। बालुवाटारसम्म सोझो पहुँच नभएका उनले यसका लागि कोमल वली र दिनेश डिसीको सहारा लिइरहेको बताइन्छ। कलाकारिताको विषयमा प्रधानमन्त्री केपी ओलीले गायिका वलीलाई ‘अथेन्टिक’ मान्ने गरेको स्रोत बताउँछ। बालुवाटारमा केशव भट्टराईले जेजति काम गरेका थिए, ती सबै काम दाहालले गरेको भन्ने रिपोर्टिङ पनि गरिएको छ। यस हिसाबले बाँकी प्रत्याशीभन्दा उनी थोरै सुविधामा देखिन्छन्। 

चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि भुवन केसीजस्ता वरिष्ठ अभिनेतादेखि नामै नसुनिएका फिल्मकर्मीसम्मले आवेदन दिएका छन्। उनीहरू राजनीतिक सेटिङमा सक्रिय छन्। बालुवाटार दाहिना हुनेले नै अध्यक्ष पद भेट्टाउनेमा कुनै संशय छैन। यो दौडमा केसी र निर्देशक दयाराम दाहालबीच ‘नेक एन्ड नेक’ प्रतिस्पर्धा छ। 

दाहालको अध्यक्ष बन्ने सपनालाई भुवन केसीको दाबेदारीले संकटमा पारेको छ। केसीलाई अध्यक्ष बन्न वरिष्ठ कलाकारको विशेषणले मात्र साथ दिएको छैन, उनीतत्कालीन एमालेका सबै शीर्षस्थ नेतानिकट छन्। कुनै समय पार्टीले उनलाई समानुपातिक सांसद्को कोटामा राखेर पछिहटाएको थियो। पार्टीले केसीलाई अझै त्यसको शोधभर्ना गर्न बाँकी छ। त्यसैले अध्यक्षको दाबेदारीमा उनको पनि पल्ला पनि उत्तिकै भारी छ। बालुवाटारमा सीधा पहुँच राख्ने उनले उताबाट ‘ग्रिन सिग्नल’ पाएपछि नै आवेदन दिएका हुन्। तर, स्रोत भन्छ, ‘भुवनजीलाई अध्यक्ष दिने कि पछि अरू कुनै पद दिने भन्नेमा बालुवाटार द्विविधामा छ। बोर्डमा काम गर्न सक्ने मानिस आओस् भन्ने यताको चाहना छ।’ यस्तोमा बालुवाटारले केसीलाई भविष्यमा अरू कुनै पद दिने आश्वासनमा मात्र अध्यक्षमा अरू कुनै उम्मेदवारलाई नियुक्त गर्ने सम्भावना छ। 

यसपालि अध्यक्षका लागि निर्माता अर्जुन कुमार, निर्देशक दीपक श्रेष्ठ, कलाकार सोहित मानन्धर, निर्देशक राजेन्द्र उप्रेती, कलाकार भीमा मैनाली, सांस्कृतिक संस्थानकापूर्व प्रबन्ध निर्देशक राजेश थापा, ध्यानबहादुर सुब्बा र परशुराम चौधरीले आवेदन बुझाएका छन्। मानन्धर शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका भतिजा हुन् भने उप्रेतीवाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलनिकट छन्। मैनालीले पनि मुख्यमन्त्री पौडेललाई नै गुहारिरहेको स्रोत बताउँछ।

किन पछि हटे संग्रौला र उप्रेती ?
आवेदन नदिएपनि एकताका लय संग्रौला र निखिल उप्रेतीको नाम पनि चर्चामा थियो। संग्रौलालाई आवेदन नै नखुलाई नियुक्ति दिने तयारी गरिएको चर्चा थियो। तर, आवेदन खुलाएपछि उनले अध्यक्षमा प्रतिस्पर्धा नगर्ने बताएका थिए। उनले कसैका लागि ‘डिजाइन’ गरिएको पदमा नजाने मिडियामा बताइसकेका छन्। ‘स्वच्छ प्रतिस्पर्धा हुने अवस्था देखियो भने निवेदन दिन्छु,’ उनले बाह्रखरी अनलाइनसँगको कुराकानीमा भनेका थिए, ‘अन्यथा, म मेरो व्यक्तित्वको नै अपमान हुने अवस्थामा आवेदन दिन्नँ।’एमालेकै पृष्ठभूमिका संग्रौला अहिलेका सञ्चारमन्त्री तथा अर्थमन्त्री युवराज खतिवडाका सहपाठी हुन्। दुवैबीच तँतँ र ममको सम्बन्ध रहेको चर्चा थियो। तर, बोर्ड अध्यक्षको निर्णयका लागि खतिवडाले बालुवाटारलाई नै जिम्मा दिएको अनुमान गरिएको छ। यही कारण खतिवडा संग्रौलालाई अध्यक्ष बनाउने निर्णयबाट पछि हटेको स्रोत बताउँछ।

एक झमट अगाडि बढेर पछि हट्नेमा निखिल उप्रेती पनि रहे। आवेदन खुल्नेबित्तिकै उनले पनि अध्यक्षका लागि आवेदन दिन लागेको समाचार आएका थिए। तर, बीचैमा उनले स्वतन्त्र रूपमा काम गर्न सक्ने वातावरण नभएकाले नजाने घोषणा गरे। अध्यक्ष बन्नका लागि उनले रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटघाटसमेत गरेको समाचार आएका थिए। स्रोतका अनुसार उनको नाममा बालुवाटार पनि सकारात्मक थियो तरपछि उनी एकाएक किन पछि हटे ?यसले उनीहरूलाई पनि आश्चर्यमा पारेको छ। निखिलका दाजु हरि उप्रेतीतत्कालीन एमालेका पूर्वसभासद्पनि हुन्।

आउने अध्यक्षलाई अचाक्ली चुनौती
तर, अहिले बन्ने अध्यक्षले चुनौतीको पहाड छिचोल्नुपर्ने फिल्मकर्मीको बुझाइ छ। फिल्मकर्मीको एकसूत्रीय माग रहेको बक्स अफिस स्थापना भएर पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन भने पास हुन लागेको चलचित्र ऐन २०७६ अनुसार कार्ययोजना तयार गर्न पनि सजिलो छैन। अझ त्यसमाथि कोराना विश्वव्याधिका कारण यो क्षेत्रको भविष्य नै अन्योलमा परेको छ।

निर्देशक केपी पाठक नयाँ बन्ने अध्यक्षलाई काम गरेर देखाउने अवसर पनि उत्तिकै रहेको बताउँछन्। ‘अहिलेसम्म कुनै पनि अध्यक्षले ‘ल यो काम चाहिँ गज्जब गरे है’ भन्न पाइएको छैन,’ पाठक भन्छन्, ‘अहिलेको अध्यक्षलाई त्यो अवसर छ। किनकि, जति धेरै चुनौती भयो, अवसर पनि त्यति नै हुन्छन्।’

पाठकझैँ चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी पनि नयाँ अध्यक्षले पहिलेभन्दा दोब्बर काम गर्नुपर्ने आवश्यकता देख्छन्। कोरोनाका लागि फिल्ममा आश्रित हजारौँले रोजगारी गुमाउने र निर्माताहरू पनि पलायन हुँदा हलको लगानी जोखिममा रहेको उनको ठम्याइ छ। ‘सरकारलाई यो क्षेत्रको योगदानबारे बुझाएर नीति–निर्माणमा सहयोग लिन र निर्माता, प्रदर्शकको मनोबल बढाउने काम गर्न जरुरी छ,’अधिकारी भन्छन्, ‘सँगै, भविष्यमा आउने यो खालको संकटको सामनाका लागि पनि काम गर्नुपर्ने आवश्यकता छ।’

तर, बोर्डबाट जति अपेक्षा भएपनि बोर्ड एक्लैले भने केही गर्न सक्ने अवस्था छैन। सञ्चार मन्त्रालयको श्रव्यदृश्य शाखाअन्तर्गत रहेको बोर्डले सानादेखि साना काम पनि मन्त्रालयबाट पास गराउनुपर्ने हुन्छ। त्यसैले एकथरी फिल्मकर्मी भने बोर्ड पूर्ण रूपमा स्वायत्त नभएसम्म कुनै पनि काम गर्न नसकिने बताउँछन्।

तपाईको कमेन्ट