परदेशी नेपालीले यसरी जिते भाइरसलाई

writer

सुमित सुवेदी

बुधबार, ३१ बैशाख २०७७


विश्वव्यापी महामारीकोभिड–१९ का कारण शनिबार साँझसम्म ७८ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ५१ जना नेपालीको मृत्यु भएको छ । त्यस्तै, अमेरिकामा कोरोना भाइरसका कारण १५ जनाले ज्यान गुभाएका छन्  । यूएईमा छजना र आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड्स, बहराइन र स्विडेनमा एक–एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिले जानकारी दिएको छ । समितिका अनुसार नेपालबाहेक विश्वभर ५ हजार ४ सयभन्दा बढी गैरआवासीय नेपाली संक्रमित छन् । तीमध्ये दुई हजारभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको अनुमान समितिले गरेको छ । 

कोरानालाई जितेका नेपालीहरू भन्छन्– ‘कतै विदेशी भूमिमा ज्यान गुमाउनुपर्ला कि भनेर डराएका थियौँ ।’ दह्रो आत्मबलका कारण कोरोनामुक्त हुन सकेको बताउने उनीहरूका कथाव्यथा करिब–करिब समान छन् । 

धादिङ, सर्तुङका मानछिरिङ तामाङ हाल अमेरिकाको न्युजर्सीमा बस्छन् । उनी एक होटलमा काम गर्छन् । कोरोनाको त्रास बढेपछि उनी नेपाल फर्किने तरखरमा थिए । तर, अन्तर्राष्ट्रिय उडान बन्द भएपछि फर्किन पाएनन् । उनी पुनः काममा लागे । मार्च २२ मा उनलाई अचानक रुघाखोकीले च्याप्न थाल्यो । चार दिनपछि बहिनीज्वाइँले उनलाई अस्पताल पु¥याए । ‘ज्वरो उत्पातै आएको थियो,’ मानछिरिङले भने, ‘स्वाद र गन्ध थाहा पाउन छोडिसकेको थिएँ ।’ कोरोना परीक्षणको रिपोर्ट आउन १५ दिन लाग्यो । रिपोर्ट पोजिटिभ आयो । 

मानछिरिङ साथीको अपार्टमेन्टमा सेल्फ क्वारेन्टिनका लागि सरेका थिए । ‘त्यहाँ  म एक्लै बस्थेँ,’ उनले सम्झिए, ‘एक जना बहिनीले हरेक दिन खाना ल्याइदिनुहुन्थ्यो ।’ 

दह्रो आत्मबलका कारण कोरोनालाई जितेको उनले बताए । ‘कोेरोना लागिसकेपछि मैले आफूलाई सम्हालेँ,’ उनले भने, ‘आफूभित्र कोरोनालाइे जित्न सक्छु भन्ने आत्मविश्वास जन्माएँ । दृढ आत्मबलकै कारण कोरोनालाई जितेँ ।’ 

कोरोना भाइरसका कारण त्राहिमाम् भएको न्युयोर्कमा बस्छन्, शम्भु मोक्तान ।  पाँच दिन भेन्टिलेटरमा राखेर उनको उपचार भएको थियो । अहिले उनी कोरोनामुक्त छन् । ‘विदेशी भूमिमा ज्यान गुमाउँछु कि भन्ने डर लागेको थियो,’ उनले भने, ‘डाक्टर र नर्सले अथक परिश्रम गरेर बचाए ।’ 

शम्भुजस्तै पदम जाग्रीलाई पनि परदेशमा प्राण बिसाउँछु कि भन्ने भय थियो । बैतडीका उनी हाल यूएईमा छन् । तीन वर्ष सेक्युरिटी गार्डका रूपमा त्यहाँ बिताइसके । 

‘म र मेरा तीन जना साथीलाई कोरोना लागेको रहेछ,’ उनले भने, ‘तर, मलाई कुनैपनि लक्षण देखिएको थिएन । टेस्ट गर्नुभन्दा १०दिनजति अघि चाहिँ उनलाई हल्का रुघाखोकी लागेको थियो । ‘रिपोर्ट पोजिटिभ आएपछि मलाई परदेशमा मरिन्छ कि भन्ने डर लाग्यो,’ पदमले भने, ‘तर, यो अमूल्य जीवन यति सजिलै कोरोनालाई दिनु हुन्न भनेर मन बलियो बनाएँ ।’ 

अस्पतालले उपचारपछि क्वारेन्टिनका लागि होटलमा राखिदियो । अहिले उनीसहित उनका दुई साथी निको भएर काममा फर्किसकेका छन् । ‘यो एउटा सामान्य रुघाखोकी नै हो,’ पदमले भने, ‘मन बलियो बनाइयो भने भाइरसले केही गर्न सक्दैन । पोषिलो खानेकुरा खाएर यसलाई भगाउन सकिन्छ । तर, मन आत्तियो भने चाहिँ भाइरसले जित्न सक्छ ।’ 

धरानका भरत ढकाल पनि यूएईमा सेक्युरिटी गार्डको काम गर्छन् । उनलाई अस्पतालले कोरोना पोजिटिभ भएको भनेर फोन गर्दा उनका हातखुट्टा कामे । अस्पतालले भनेको थियो– ‘एक्लै बस्नू, एम्बुलेन्स लिन आउँछ ।’ तर, पाँच दिनपछि मात्र एम्बुलेन्स आयो । ‘अस्पताल नगएसम्म निकै डराएको थिएँ,’ भरतले भने, ‘तर, अस्पताल पुगेपछि अब मरिँदैन भन्ने लाग्यो ।’अस्पतालमा उनी दिनमा तीन पटकसम्म तातोपानीको बाफलिन्थे । योग गर्थे । तातोपानीमा कागतीको रस र जिरा मिसाएर खान्थे । अन्ततः उनी निको भए । 

‘कोरोना नलाग्दा ठूलै रोग होला भन्ने सोचेको थिएँ,’ भरतले भने, ‘कोरोना लागेपछि यो रोग केही रहेनछ भन्ने लाग्यो । आत्तियो भने मात्र रोगले गलाउने रहेछ । सुरुमा म पनि डराएँ । तर, ‘मर्न परे देशमै गएर मर्छ, परदेशमा चाहिँ प्राण बिसाउँदिनँ’ भनेर मन दह्रो बनाएँ । मनोबलकै कारण कोरोनालाई जितेँ ।’

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि