सुनसान लुम्बिनीका छाक खोसिएका मजदुर

writer

लक्ष्मण पोखरेल

बुधबार, ३१ बैशाख २०७७


लुम्बिनी सुनसान छ । रिक्साचालक, होटल मजदुर, पथप्रदर्शक आदि आराम गरिरहेका छन् । तर, यो आरामभित्र बेचैनी छ । लुम्बिनी सुनसान हुँदा मजदुरका छाकहरू खोसिएका छन् ।  



गौतमबुद्धको जन्मस्थल लुम्बिनीको मध्यभागमा ‘बेबी’ बुद्धको मूर्ति छ । औँला ठडाएर पश्चिमतर्फ फर्किएका बुद्ध सोचमग्न छन् । अहिले त्यो मूर्तिवरिपरि फोटो खिच्ने र सेल्फी लिनेहरू छैनन् । न मानिसहरूको भीड छ, न कोलाहल । करिब ५० दिनमा एकाध भिक्षुबाहेक मूर्तिअगाडी कोही उभिएनन् । पहिलोजस्तो होहल्ला र प्रदूषण छैन । 

लुम्बिनीमा बुद्धजयन्तीका अवसरमा बर्सेनि १ सय ११ देशका नागरिक आउँछन् । तर, यसपालिको बुद्धजयन्ती सुनसान भयो । २५६४ औँ बुद्धजयन्तीमा  अनुयायीहरू लुम्बिनी आउन पाएनन् । सामूहिक पूजापाठ र अनुष्ठान हुन सकेनन् । शान्तिपूजासमेत भिक्षुहरूले मुख छोपेर र एकअर्काबाट टाढा रहेर गर्नुप¥यो ।

कोरोना महामारीविरुद्ध सजग हुँदै शान्तिपूजामा भिक्षु सहभागी भए । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेय भन्छन्, ‘प्रार्थना, ध्यान गर्नेका लागि अहिलेको वातावरण निकै उपयुक्त छ । तर, लुम्बिनी आएरै ध्यान गर्न खोज्नेका लागि प्रतिकूल बन्यो ।’ लुम्बिनीमा बाहिरबाट जान रोक लगाइएको छ । बन्दाबन्दीका कारण कोही जान सक्ने स्थिति छैन ।

लुम्बिनी बौद्ध साधना र अध्ययन–अनुसन्धानको केन्द्र हो । बौद्धमार्गीका लागि आस्थाको धरोहर हो । बौद्ध साधनाका लागि शान्त र प्राकृतिक वातावरण आवश्यक पर्छ । लुम्बिनीमा अहिले बिलकुल यस्तै पर्यावरण छ । तर, त्यहाँसम्म पुग्ने कुनै उपाय छैन । यहाँ अहिले केही भिक्षु मात्र छन्, जो यहाँ रहेका बौद्ध विहारहरूमा बस्दै आएका छन् । पूजा, दीप प्रज्वलनमा यिनै भिक्षु मात्रै सहभागी हुन्छन् । 

बेबी बुद्धको अगाडि नहरमा रहेका डुंगाहरू यात्रुको पर्खाइमा छन् । डुंगाको मोटरले लामो समयदेखि आराम पाइरहेको छ । विहार–विहार यात्रु बोकेर चल्ने रिक्साका पेडलले आराम पाएका छन् । रिक्साचालक मजदुरले पनि आराम पाएका छन् । तर, यो आरामभित्र शान्ति र सन्तोष छैन । छटपटी छ, बेचैनी छ । लुम्बिनी सुनसान हुँदा धेरैको रोजीरोटी खोसिएको छ । बसपार्क आसपासका पसलहरू बन्द छन् । माला, खाजा र नास्ता बेच्नेहरू देखिँदैनन् । ‘पसल खोल्न नपाउँदा धेरैको चुलो बाल्न कठिन हँुदै गएको छ,’ स्थानीय बासिन्दा वीरेन्द्र मिश्रा भन्छन्, ‘लुम्बिनी शान्त भए पनि यसमा निर्भर रहनेहरू अशान्त छन् ।’ 

लुम्बिनीको पर्खालबाहिर कैयौँ होटल छन् । ती होटलमा सयौँ मजदुर आश्रित छन् । होटलहरू सुनसान छन् । उता चीनको वुहानमा कोरोनाका बिरामी बढ्दै थिए, यता लुम्बिनीका होटलमा ग्राहक घटिरहेका थिए । पर्यटक भित्रिने खास सिजनमै महामारीले धक्का दिएपछि होटल मजदुर र व्यवसायी सबै पीडामा छन् ।

होटलका सयौँ कर्मचारी बेरोजगार भएका छन् । रोजगारीको ग्यारेन्टी छैन् । होटलमा खपत हुने कृषि उपजहरू खेतबारीमै कुहिएका छन् । स्थानीय स्तरमै बनेका उपहार सामग्री थन्किएका छन् । पथप्रदर्शकको आम्दानी टुटेको छ । ‘घुम्नेहरू नै नभएपछि घुमाउनेले कसलाई घुमाओस् ?’ एक जना पथप्रदर्शकले भने, ‘लुम्बिनी सुनसान हुँदा हजारौँ मजदुरका छाक खोसिएका छन् ।’ 

होटल व्यवसायी मिथुनमान श्रेष्ठ भन्छन्, ‘कोरोना नेपाल प्रवेश नगर्दै पर्यटनमा मन्दी सुरु भएको थियो । लकडाउन जति धेरै लम्बिन्छ, त्यति धेरै नोक्सानी हुन्छ ।’ लुम्बिनीमा आन्तरिकसमेत गरी वार्षिक करिब १८ लाख पर्यटक घुम्न आउँछन् । ती पर्यटकको प्रतीक्षामा छन्, यहाँका होटल व्यवसायी ।

लुम्बिनीमा आउने पर्यटकहरूमध्ये सबैभन्दा धेरै नेपाली छन् भने त्यसपछि भारतीय छन् । तेस्रो मुलुकका दुई लाख हाराहारीका पर्यटक लुम्बिनी आउँछन् । भारतीयको संख्या करिब पाँच लाख छ । ती पर्यटकलाई सेवा–सत्कारका लागि लुम्बिनीमा ४६ वटा होटल छन् । ती होटलमा सात अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ । 

भिक्षु मैत्रेय यो कठिन अवस्थाको चाँडै नै अन्त्य हुनेमा आशावादी छन् । भन्छन्, ‘बुद्धले अनित्यको शिक्षा दिएका छन् । कुनै पनि वस्तु वा परिस्थिति सधैँ कायम भइराख्दैन । परिवर्तन भइरहन्छ । दुःखपछि सुख अवश्यम्भावी छ । महामारीको कहालीलाग्दो अवस्था पनि निरन्तर रहँदैन ।’ भिक्षु मैत्रेय अर्काे महामारी ननिम्त्याउनका लागि तृष्णा हटाउनुपर्ने बताउँछन् । भन्छन्, ‘मान्छेले तृष्णालाई त्याग्नुपर्छ । प्रकृतिलाई प्रेम गर्नुपर्छ । द्वन्द्व छाडेर शान्तिप्रिय हुनुपर्छ ।’ उनी कोरोनाको औषधि बन्नेमा विश्वस्त छन् । ‘यो महामारीको अवश्य अन्त्य हुनेछ,’ उनी भन्छन्, ‘फेरि लुम्बिनीमा अनुयायीको घुइँचो लाग्नेछ ।’ 

भिक्षु मैत्रेयले भनेझैँ लुम्बिनी आफू फेरि गुलजार हुने प्रतीक्षामा छ । एक जना गाइड भन्छन्, ‘मायादेवीमा शान्त भएर मार्करस्टोन दर्शन गर्नेको लावालस्कर हुनेछ । हजारौँ दीप फेरि बालिनेछन् । नहरमा चल्ने डुंगाहरूलाई यात्रु बोक्न भ्याइनभ्याइ हुनेछ । होटलहरू खचाखच भरिनेछन् । हजारौँ मजदुरको अनुहारमा फेरि खुशी छाउनेछ ।’
 

तपाईको कमेन्ट

मुख्य समाचार