‘सात पटक पोजिटिभपछि बल्ल आयो नेगेटिभ’

writer

सम्पूर्ण

बुधबार, ३१ बैशाख २०७७


कोरोना विजेता

 

धनगढीको सेती प्रादेशिक अस्पताल शुक्रबारदेखि कोरोना संक्रमितमुक्त भएको छ । पाँच जना कोरोनाका बिरामी भर्ना भएकाका सबै जना निको भएर घर फर्किसकेका छन् । धनगढी उपमहानगरपालिका, हसनपुरकी ३४ वर्षीया दीपा शाही तीमध्ये एक हुन् । उनीसँग ‘अन्नपूर्ण सम्पूर्ण’ का लागि शिवराज भट्टले कुराकानी गरेका छन् । 


    
अहिले कस्तो छ तपाईंलाई ?
एकदम ठीक छ । अस्पतालमा पनि ठीकै थिएँ । ३५ दिनसम्म अस्पतालमा बसेँ, तर कोरोना संक्रमणका कुनै लक्षण देखिएनन् । कतिखेर त मेरो रिपोर्ट गलत आयो कि भन्ने पनि लाग्थ्यो । तर, लगातार सात पटक रिपोर्ट पोजिटिभ आएपछि गलत त नहोला भन्ने लाग्यो । 

अस्पताल बसाइलाई कसरी सम्झिनुहुन्छ ?
मेरा देवर अमृत शाही दुबईबाट आएका थिए । कोरोना संक्रमण देखिएपछि उनी अस्पतालमा भर्ना भए । उनलाई संक्रमण देखिएपछि हामी एकै परिवारका नौ जना र आफन्त गरी ११ जनाको स्वाब लगिएको थियो । तीमध्ये मेरो मात्रै पोजिटिभ रिपोर्ट आयो । अस्पतालबाट फेरि चेक गर्नुप¥यो भनेर फोन आयो । एकैछिनमा  एम्बुलेन्स आयो । म सेती प्रादेशिक अस्पताल गएँ । त्यहाँ पुगेपछि आफ्नो रिपोर्ट पोजिटिभ आएको थाहा पाएँ । सुरुमा एकदमै डराएँ । तर, मलाई लक्षण भने केही पनि देखिएको थिएन । १४ दिनमा निको भइहाल्छ भनेको सुनेकी थिएँ । १४ दिन जसरी नि कटाउनुप¥यो भनेर बसिराखेँ । अस्पतालमा कोरोनाका अरू बिरामी पनि भर्ना भए । सबै केही हुँदैन भन्थे । आत्मविश्वास बलियो बनाइराखेँ । चार जना मभन्दा अघि निको भएर घर फर्किए । म एक्लै बसेँ अस्पतालमा । ३५ दिनसम्म अस्पतालमा बसेँ । आइसोलेसनको त्यत्रो हलमा एक्लै हुन्थेँ । छोराछोरीको याद आउँथ्यो । दिक्क लाग्थ्यो ।

घरपरिवारसँग कसरी सम्पर्क गर्नुहुन्थ्यो ? 
भिडियो कल गर्थें । फोनमा कुरा गर्थें । बिहानै छोराछोरीको फोन आइहाल्थ्यो । सबैभन्दा बढी चिन्ता छोराको लाग्थ्यो । ऊ सानै छ, चार वर्षको । छोरी त अलि बुझ्ने भइसकी । छोरीले त ‘मामु तातो पानी खानुहोला, निराश नहुनू, निको भइहाल्छ’ भन्थी । तर, छोरासँग कुरा गरे रिसाउँथ्यो । ‘मलाई छोडेर कहाँ गएको’, ‘कहिले आउने मामु ? किन छोडेर गएको ?’ भन्थ्यो । त्यतिबेला नरमाइलो लाग्थ्यो । फोन र इन्टरनेट नभएको भए घरको न्यास्रोले मर्थें होला सायद । 

कोरोना संक्रमणको दोस्रो चरण तपाईंबाटै सुरु भयो । त्यतिखेर समाजबाट कस्तो व्यवहार पाउनुभयो ?
त्यतिबेला संक्रमणले भन्दा मान्छेले भन्ने कुराले तनाव भयो । सहयोग गर्नेहरू पनि थिए । टोलभरिका मानिस घरमै नआउने, के–के न भयो भन्ने । त्यसले बढी तनाव दिन्थ्यो । तर, सबैमा डर थियो, त्यही भएर होला । अहिले चाहिँ कोरोना निको हुने रहेछ भनेर सबैलाई विश्वास भएको छ । त्यतिबेला त कोरोना लागे बाँचिदैन भन्ने सोच थियो । देश–विदेशका समाचार सुनिन्थे, यति मरे, उति मरे भनेर । त्यही भएर होला, समाजको नानाथरी कुरा सुन्नुप¥यो । अहिले अवस्था सामान्य हुँदै गएको छ । 

अहिले नेपालभरि थुप्रै कोरोना संक्रमित अस्पतालमा भर्ना छन् । उनीहरूलाई के भन्न चाहनुहुन्छ ?
कोरोना जित्न आत्मबल बलियो बनाउनुपर्छ । आत्मबलबाहेक यसको कुनै औषधि छैन । अर्को कुरा समाचार हेरेर मान्छे डराइरहेका छन् । यति मरे, उति मरे भनेर समाचार आइरहन्छन् । त्यसले आत्मबल घटाउने काम गर्छ । नेपालमा त कोरोनाले एक जनाको पनि ज्यान गएको छैन । यो रोग सजिलै निको हुने रहेछ । त्यसैले आत्तिनु हुँदैन भन्न चाहन्छु । 

अस्पतालमा डाक्टर, नर्स आउँदैनन् भन्छन् । तपाईंको अनुभव कस्तो रह्यो ? 
आउन त खासै आउँथेनन्, तर फोनमा कुराकानी भइराख्थ्यो । सुरु–सुरुमा मलाई पनि डाक्टर, नर्स आइदिए हुन्थ्यो भन्ने लाग्थ्यो । किनकि, उनीहरूका कुराले आत्मबल बढ्थ्यो । फोनमै पनि उनीहरूले भनेको कुराले छिट्टै निको भएर घर जाने आशा जाग्थ्यो । आएर केही भनी दिएको भए त झन् राम्रै हुन्थ्यो । एकदुई पटक त म रिसाएँ पनि । तर, लक्षण केही देखिएकै छैन । औषधि खानु नै परेको छैन भने उनीहरू किन जोखिम मोलेर आउनु त भन्ने कुरा पछि बुझेँ । डाक्टर, नर्स फोन गरिराख्थे । ‘तपाईं छिट्टै घर जान पाउनुहुन्छ, चिन्ता नगर्नुस्’ भन्थे ।
 
रिपोर्ट नेगेटिभ आउँदा कस्तो लाग्यो ?
सात पटक लगातार रिपोर्ट पोजिटिभ आएको थियो । आजको रिपोर्ट पोजिटिभ, भोलिको पोजिटिभ...डाक्टर पनि हैरान थिए । शुक्रबार बिहान ११ बजे डाक्टरको फोन आयो । ‘घर जाने होइन, कहिले जाने ?’ भन्नुभयो । मैले भनेँ, ‘जाने त हो, तर कहिले हो कहिले ? रिपोर्ट पोजिटिभका पोजिटिभ छ ।’ उहाँले ‘ल बधाई छ, तपाईंको रिपोर्ट नेगेटिभ आएको छ, आज बेलुकी घर जानुहुन्छ’ भन्नुभयो । यो सुन्दा खुशीको सीमा नै रहेन । कतिखेर ४ बज्ला भन्ने भयो । हस्पिटलले ४ बजे मात्रै कोरोनाका बिरामी घर पठाउँथ्यो । एम्बुलेन्सले नै घर छोडिदियो । अहिले सावधानी अपनाएर घरको काम गरिरहेकी छु । 

तपाईको कमेन्ट