सीमामा फसेका नेपाली सोध्छन्– ‘कहिले खुल्छ जन्मभूमिको ढोका ?’

writer

शिवराज भट्ट

बुधबार, ३१ बैशाख २०७७


तस्बिर: शिवराज भट्ट

कैलालीसँग सिमाना जोडिएको भारतको पलियामा कैलाली, कञ्चनपुर, बैतडीलगायत जिल्लाका दुई सयभन्दा बढी नेपाली क्वारेन्टिनमा बसिरहेका छन्। उनीहरू देश फर्किन पाउनुपर्ने माग गरिरहेका छन्। प्रश्न गरिहेका छन्– ‘के हामी नेपाली होइनौँ ?’ 


बैतडीको पञ्चेश्वर गाउँपालिकाका वीरेन्द्र भट्ट चैत १५ गते कैलालीसँग सिमाना जोडिएको भारतको पलिया पुगे। तर, लकडाउनका कारण उनलाई त्यहाँकै एक स्कुलमा भारतले बनाएको क्वारेन्टिनमा राखियो। उनीसँगै थिए, कञ्चनपुरको भीमदत्त नगरपालिकाका गोरखबहादुर महर। उनीहरू त्यहाँ बसेको ४५ दिन नाघिसक्यो। भारतको पञ्जाबस्थित एक कम्पनीमा काम गर्थे। कम्पनीले लकडाउनका कारण उनीहरूलाई घर पठाइदियो।

‘मालिकले कम्पनी बन्द गरेर ताला लगाएपछि घर त आउनुप¥यो, तर घर जान पाउने÷नपाउने टुंगो छैन,’ पलियाको क्वारेन्टिन बसिरहेका महरले भने,  ‘खेतीपातीको बेला थियो। घर जान पाइने आशैआशमा ४५ दिन बितिसक्यो।’

कैलालीसँग सिमाना जोडिएको भारतको पलियामा कैलाली, कञ्चनपुर, बैतडीलगायत जिल्लाका दुई सयभन्दा बढी नेपाली क्वारेन्टिनमा बसिरहेका छन्। उनीहरूले स्वदेशमै थप क्वारेन्टिनमा राखे पनि बस्ने भन्दै नेपाल लगिदिन आग्रह गरेका छन्।

पलिया मात्रै होइन, कञ्चनपुरपारि भारतको बनबसामा पनि २ सय ३ जना नेपाली चैत १२ गतेदेखि नै बसिरहेका छन्। कञ्चनपुरको पुनर्बासपारि पनि १८ जना नेपाली क्वारेन्टिनमा छन्। ‘दार्चुला र बैतडी पारिका क्वारेन्टिनमा बसेका मात्रै नेपाली हुन् र ? हामी के अनागरिक हौँ ?’ बनबसामा चैत १२ गतेदेखि बसिरहेका कैलाली, गोदावरी नगरपालिका, ओलानीका गणेश विकले भने। उनले राज्यले नागरिकमाथि यस्तो विभेद गर्न नपाउने बताए। ‘बैतडी र दार्चुलाका नेपालीहरू घर जाने तयारीको समाचार हामीले पनि हेरिरहेका थियौँ,’ उनले भने, ‘हामी पनि घर जान पाउने आशामा थियौँ। तर, हाम्रा लागि कसैले केही पहल गरेनन्। के हामी सौतिनी नागरिक हौँ ?’ 

बनबसाको एक स्कुलमा बसिरहेका नेपालीहरूले भारतीय सुरक्षाकर्मीले दुव्र्यवहार गर्ने गरेको बताए। ‘उनीहरू ‘तिमीहरूको सरकार कस्तो रहेछ, तिमीहरूको वास्तै गर्दैन, आधालाई लग्यो, तिमीहरूलाई लगेन’ भनेर हामीलाई होच्याउँछन्,’ विकले भने।  

केही दिनअघि भारतको पलिया र बनबसामा भारतीय सुरक्षाकर्मीहरूले नेपालीसँग गरेको दुव्र्यवहारको भिडियो सार्वजनिक भएको थियो। भिडियोमा भनिएको छ, ‘के तिमीहरूलाई हामीले डोली चढाएर ल्याएका हौँ र ? तिमीहरू त नोकरी गर्न पो आएका हौ। तिमीहरूका नाममा भारत सरकारको धेरै अन्न सकिसक्यो। तिमीहरूले यताउता ग¥यौ भने जेल हालिदिन्छौँ।’ 

बैतडी र दार्चुलाको स्थानीय प्रशासनले भारतसँगको समन्वयमा वैशाख १८ गते भारततिर रहेका करिब १५ सय नेपालीलाई नेपाल आउन दिएको थियो। ‘उनीहरूका लागि बिहीबार जन्मभूमिको ढोका खुल्यो,’ पलियाको क्वारेन्टिनमा रहेका दानी महरले भने, ‘हामी नेपाली नागरिक होइनौँ ? हाम्रा लागि जन्मभूमिको ढोका कहिले खुल्छ ? सरकारले हामीलाई पनि छिटोभन्दा छिटो नेपाल लैजानुपर्र्छ।’ 

बैतडी र दार्चुलापारि भारतीय क्वारेन्टिनमा रहेका नेपालीका लागि वैशाख १८ गते बिहानदेखि बेलुकासम्म नाका खुला रहेको थियो। तर, सुदूरपश्चिमकै कैलाली र कञ्चनपुरपारि ३६ दिनदेखि क्वारेन्टिन बसेका नेपालीका लागि कुनै पहल नभएपछि सामाजिक सञ्जालमा पनि सरकारको आलोचना भएको छ। ‘हामीमाथि यो विभेद किन ?’ दानी महरले भने।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा भने गृह मन्त्रालयको आदेशबिना सीमामा फसेका नेपालीलाई नेपाल ल्याउन नसकिने बताए। ‘बैतडी र दार्चुलाका लागि मौखिक सहमति आएको भन्ने सुनेको छु,’ बोहराले भने, ‘हामीहरूलाई पनि त्यस्तै गरी ल्याउन दिन भनेर गृह मन्त्रालयमा अनुरोध गरेका ग¥यै छौँ, तर केही जवाफ आएको छैन।’ उनले पलियाको क्वारेन्टिनमा रहेका नेपालीसँग भिडियो कल गरेर ‘सीमानाका खुलाउने कुरा जिल्ला र प्रदेशको हातमा नरहेको’ भन्दै सम्झाएको बताए। 

भारतले बैतडी र दार्चुलाका नेपालीलाई छोड्ने बेला एक जना पनि भारतीय नागरिक भारत प्रवेश नगर्ने शर्तमा सीमा खोलेको बताइएको छ। तर, कैलाली र कञ्चनपुरको नाका खोलेमा उसका आठ हजारभन्दा बढी नागरिकले भारत जान प्रयास गर्ने भएकाले उसले यी दुई जिल्लाका सिमाना खोल्ने सहमति नदिएको बताइएको छ।

स्थानीय प्रशासनको तथ्यांकअनुसार कैलालीमा ३५ सय र  कञ्चनपुरमा चार हजारजति भारतीय मजदुुर इँटाभट्टामा काम गरिरहेका छन। उनीहरू नाका खुल्नेबित्तिकै भारत जान चाहेको तर भारतले लिन नमानेको सुरक्षा स्रोतले बतायो। ‘उनीहरू अहिले भट्टा मालिककै रोहबरमा बसिरहेका छन्,’ सुरक्षा स्रोतले भन्यो, ‘भट्टा छोडेर बाहिर आएपछि तिनलाई सरकारी क्वारेन्टिनमा राख्नुपर्ने हुन्छ। त्यसैले पनि गृह मन्त्रालयले नाका नखोलेको होला।’ 

म लाचार छुः मुख्यमन्त्री भट्ट
भारतबाट नेपालीले दैनिक गर्ने फोनका कारण सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि हैरान भएका छ्न। भारतको क्वारेन्टिनमा बसेका नेपाली मात्रै होइनन्, उनलाई भारतको विभिन्न शहरमा अलपत्र परेका नेपालीले पनि घर फर्किन फोन गरिरहेका छन्।

अहिले भारतका धेरै शहरका सयौँ नेपालीले मुख्यमन्त्री भट्टलाई फोनमा गुहार गरिरहेका छन्। ‘भारतमा मजदुरी गर्नेहरूको पीडा मैले जति कसले बुझेको होला र ?’ भट्टले भने, ‘म आफैँ प्रवासमा मजदुरी गरेको व्यक्ति हुँ। सीमा खोलेर ल्याउने कुरा प्रदेश सरकारको अधिकारभित्र पर्दैन। म लाचार छु।’ 

उनले भारतमा रहेका नागरिकका लागि नाका खोलियो भने प्रदेश सरकार उनीहरूलाई क्वारेन्टिनमा राख्न तयार रहेको बताए। ‘मैले गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहसचिव, परराष्ट्र सचिव सबैसँग कुरा गरिसकेँ,’ भट्टले भने, ‘तर, कुनै पहल भएको छैन।’

भट्टले हरेक दिन भारतीय क्वारेन्टिनबाट नेपालीहरूले फोन गर्ने बताए। ‘कि त कसैलाई नेपाल आउन दिनु हुन्थेन,’ उनले भने, ‘ढाई हजारलाई आउन दिइयो। त्यसले झन् समस्या थप्यो। ‘हामीलाई पनि लैजानू’ भनेर हरेक दिन भारतीय क्वारेन्टिनबाट नेपाली नागरिकका फोन आइरहन्छन्।’ 


नेपाली क्वारेन्टिनमा भारतीय नागरिक 

तसद्दुक हुसेन भारत, उत्तरप्रदेश, लखिमपुरका बासिन्दा हुन्। उनी विगत चार वर्षदेखि कैलालीको अत्तरियामा लुगा सिउने काम गर्छन्। तर, अहिले उनी ४२ दिनदेखि धनगढीको मुख्य बजारमा रहेको त्रिनगर माविको क्वारेन्टिनमा छन्। भारतस्थित घरबाट नेपाल काममा फर्केका उनले आएको चार दिनपछि दुवै देशमा  लकडाउन लागू भइहाल्यो। त्यसपछि पसल बन्द गरेर मालिकले उनलाई घर जान भनी अत्तरियाबाट पठाइदिए। तर, उनी प्रहरीको नजरमा परे। उनलाई धनगढीको त्रिनगर माविमा भारतीयका लागि बनाइएको क्वारेन्टिनमा राखियो। ‘घरमा छोराछोरी श्रीमती रोएर हैरान छन्,’ हुसेनले भने, ‘आफू पनि बालबच्चासँग कुरा गर्छु र रुन्छु। भारत सरकारले हामीलाई छिट्टो फिर्ता लैजानुपर्छ।’

लखिमपुरकै सञ्जयकुमार सिग्धर पनि त्रिनगर माविको क्वारेन्टिनमा बसेको ३८ दिन भइसक्यो। उनले डडेल्धुरामा स्वास्थ्य चौकी र विद्यालय भवनमा हेड मिस्त्रीका रूपमा तीन महिना काम गरेका थिए। काम बन्द भएपछि घर जाने भन्दै धनगढी पुगेका थिए। ‘क्वारेन्टिनमा १४ दिनका लागि भनेर राखिएको थियो,’ सिग्धरले भने, ‘तर, ४२ दिन भइसक्यो। कहिले घर जान पाउने हो, ठेगान छैन। उत्तरप्रदेश सरकारलाई आग्रह गर्छु– हामीलाई बोलाइयोस्।’ उनीहरू ४० जनाको समूहमा डडेल्धुरा आएका थिए। ‘नौ जना त्रिनगर माविमा छौँ भने अरू साथी महेन्द्रनगरमा क्वारेन्टिनमा छन्,’ सिग्धरले भने, ‘हामी कहिले घर जान पाउछौँ, थाहा छैन। हामीलाई हाम्रो सरकारले कुनै खबर पनि पठाएको छैन।’

सुरुमा १४ दिनको क्वारेन्टिन भनेर राखिएको थियो। तर, अहिले क्वारेन्टिनको अवधि कति हो भन्नेबारे दुई देशबीच कुनै संवाद नभएकाले उनीहरूको घर जाने सपना क्वारेन्टिनमै बन्द भएको छ।

त्रिनगर माविको क्वारेन्टिनमा रहेका ५३ जना भारतीयमध्ये अधिकांश मुस्लिम छन्। धनगढीमा किताब बाइन्डिङको काम गर्ने भारत, बिहारका सरिफ अन्सारी ३८ दिनदेखि क्वारेन्टिनमा फसेका छन्। ‘ईद आइरहेको छ,’ उनले भने, ‘यो हामीहरूको सबैभन्दा ठूलो चाड हो। ईदका बेला नेपालमा दशैं मनाएझैँ हामीहरू घरका सबै जना एकैठाउँमा भेला भएर रमाइलो गर्छौं। आमाबाले छिटो आइज भनिरहेका छन्।  तर, कसरी जानु ?’ 

धनगढीमा लुगा सिउने, घर निर्माण गर्ने, कपाल काट्ने, अन्य पसलमा काम गर्ने भारतीय युवा क्वारेन्टिनमा छन्। त्रिनगर माविको भवनमा उनीहरूमध्ये अधिकांसले ४५ दिनभन्दा बढी बिताइसकेका छन्। 

धनगढी उपमहानगरपालिकाको मातहतमा रहेको उक्त क्वारेन्टिनमा मारवाडी सेवा समाज, धनगढीले उनीहरूलाई दिनमा दुई पटक नास्ता र दुई पटक खाना खुवाइरहेको छ। जिल्ला स्वास्थ्य कार्यालयले उनीहरूको स्वास्थ्य जाँच गरिरहेको छ। 

धनगढी उपमहानगरपालिका नगरप्रमुख नृपबहादुर ओड दुवै देशको संघीय सरकारले आफ्ना नागरिक बिचल्लीमा पारेको आरोप लगाउँछन्। ‘नेपाल र भारत सरकारले दुवै देशका यसरी सीमामा बिचल्लीमा परेका नागरिकको उद्धार गर्नुपर्छ,’ ओडले भने, ‘उनीहरूलाई १४ दिनको क्वारेन्टिन भनेर राखिएको हो। अहिले  ४२ दिन भइसक्यो। उनीहरू कहिले घर जान पाइन्छ भनेर सोध्छन्। हामीसँग जवाफ छैन।’ 

तपाईको कमेन्ट

मुख्य समाचार