कोरोनामोडमा समाजको गाडी

writer

युग पाठक

बुधबार, ३१ बैशाख २०७७


टिप्पणी
 

बहत्तर सालको भूकम्पमा एउटा कुरा चल्योः भूकम्पले सबैलाई समान बनाइदियो। धनी, गरिब, घरधनी, डेरावाल सबै सडकमा आइपुगेका थिए। टेन्ट वा जस्ताकोे ओत लिएर सबैलाई खुला आकाशमुनि सुत्नुपरेको थियो। त्यसैले एक झट्कामा सबै समान भएको कुरा चल्यो। सतही कुरा थियो, त्यसैले त्यो सत्य थिएन। परकम्पहरूले केही हप्ता सबैलाई सताइरह्यो, तर छिट्टै नै सामाजिक, राजनीतिक र आर्थिक सम्बन्धहरू पुरानै ठाउँमा पुगेर यथावत्थेग्रिए।

कोरोना विश्वव्याधिले ठीक यतिबेला धेरै ठूलो उथलपुथल ल्याइरहेको छ। यो नेपाली समाज वा कुनै देशमा सीमित छैन। संसारलाई नै यसले ठप्प, सशंकित र भयभीत तुल्याइदिएको छ।महाव्याधिको प्रभाव हेर्दा यसले शक्तिशाली र धनी देशलाई सबैभन्दा धेरै सताइरहेको छ। कमजोर र गरिब मुलुक अहिलेसम्म यसको ध्वंसात्मक प्रभावबाट बचिरहेका छन्। तर, यसको प्रभाव केवल स्वास्थ्यको तथ्यांकले देखाउन सक्दैन। लकडाउन भन्ने शब्द अहिले संसारको शब्दकोशमा सबैभन्दा चहकिलो बन्न पुगेको छ। यसले ल्याइरहेको आर्थिक, सामाजिक ध्वंस आकलन गरिएभन्दा खतरनाक हुने स्पष्ट संकेत यत्रतत्र देखिएका छन्।

विश्वको अर्थतन्त्र भयावह संकटतिर लम्किरहेको छ। पुँजीवादी विश्वव्यवस्थामा संसारका सबै मुलुक यो वा त्यो तरिकाले जोडिएका हुनाले सबै मुलुक र प्रत्येक व्यक्तिलाई आसन्न आर्थिक संकटले नराम्रोसँग हान्ने निश्चित छ। नेपालकै कुरा गर्ने हो भने पर्यटनलगायत व्यापार–व्यवसायलाई यसले तीन महिनाअघिदेखि नै घाइते तुल्याउन थालेको हो र धराशायी भइसकेका यी क्षेत्र कसरी खडा हुन्छन् भन्ने उपाय हामीसँग छैन। चलायमान पैसाको स्रोत रहँदै आएको रेमिट्यान्समा ठूलो धक्का लागिसकेको छ र निकट भविष्यमा कम्तीमा २० लाख युवा बेरोजगार घर फर्कने पक्का भइसक्यो। बितेका ७० वर्षमा ध्वस्त पारिएको कृषि तत्काल तंग्रिने सम्भावना छैन। कोरोनाको त्रास र आर्थिक संकटको महाविपत्तिले समाजलाई कुन भिरमा लगेर खस्नका लागि छाडिदिने हो, त्यसको कुनै लेखाजोखा गर्ने जाँगर पनि हामीले देखाइरहेका छैनौँ।

कुनै पनि संकटले नयाँ प्रणाली, व्यवस्था वा सामाजिक सम्बन्ध निर्माण गर्ने होइन, बरु पहिल्यैदेखि विद्यमान प्रणाली र विचारहरूले संकटसँग सामना गर्ने हो। त्यसरी सामना गर्ने क्रममा प्राप्त अनुभवका आधारमा व्यवस्था, प्रणाली वा सम्बन्धहरू फेर्ने पहल लिन सकिन्छ।

जब समाज आतंकित छ, राज्य असंवेदनशील छ र व्यक्ति अभूतपूर्व ढंगले आफैँमा खुम्चिएको छ, सामाजिक सम्बन्धमा छालजस्तो छचल्कन आउनु स्वाभाविक छ। तर, धेरैले ठानेजस्तो यो विश्वव्याधिले विश्वव्यवस्थामा परिवर्तन ल्याइहाल्ने छैन, न त सामाजिक सम्बन्धमा बिलकुल नयाँ आयाम नै ल्याउनेछ। सम्बन्धका केही रूपहरू परिवर्तन भने पक्कै हुनेछन्। भइरहेका पनि छन्। यति कुरा बुझ्नका निम्ति प्रसिद्धि श्रेष्ठलाई सम्झे पुग्छ। फ्रान्सबाट आएकी प्रसिद्धि नेपालभित्र प्रमाणित भएको दोस्रो नम्बरकी संक्रमित थिइन्। मानौँ, कोरोना ल्याउनकै लागि उनी खटिएकी थिइन् जस्तोगरी सामाजिक सञ्जाललगायत स्पेसमा घृणाका अभिव्यक्तिहरू देखिए। निको भएर घर फर्केपछि उनले यसबारे भोगेको तिक्त अनुभवबारे लेखिन्। यो घटनाले समाजमा पहिल्यैदेखि विद्यमान विभेदकारी विचारलाई उजागर ग¥यो।

कुनै पनि संकटले नयाँ प्रणाली, व्यवस्था वा सामाजिक सम्बन्ध निर्माण गर्ने होइन, बरु पहिल्यैदेखि विद्यमान प्रणाली र विचारहरूले संकटसँग सामना गर्ने हो। त्यसरी सामना गर्ने क्रममा प्राप्त अनुभवका आधारमा व्यवस्था, प्रणाली वा सम्बन्धहरू फेर्ने पहल लिन सकिन्छ। त्यस्तो पहलका निम्ति पनि पुराना संकट र असफलताबाट मुक्त हुँदै अघि बढ्ने विचार चाहिन्छ। विचारको पहल हुँदै गरिने परिवर्तनको अभियानले मात्र व्यवस्था, प्रणाली वा सम्बन्धमा फेरबदल ल्याउने तागत जन्माउँछ। त्यसैले यो विश्वव्याधिको संकटले तुरुन्तै संसार र मान्छेले बनाएका अनेकन् जञ्जालहरू बदल्नेछैन। बरु हाम्रो बनिबनाउ राजनीतिक, सामाजिक र आर्थिक व्यवस्थाले यो विश्वव्याधिसँग सामना गर्न सकिरहेको छ कि छैन, यो आजको ज्वलन्त सवाल हो।

उदयपुर र नेपालगञ्जमा संक्रमण फैलिएपछि हामीले मुस्लिम समुदायलाई लाञ्छित गरिएको देख्यौँ। यो भाइरसले जन्माएको व्यवहार होइन। भारतमा मोदीको उदयसँगै मौलाएको हिन्दू अतिवादले पहिल्यै एउटा स्थितिको निर्माण गरिसकेको तथ्य यहाँ स्मरणीय छ। भारतमा त झन् मुस्लिम समुदायले विभेद र घृणाको भयावह मूल्य चुकाउनु परिरहेको छ। दक्षिण एसियामा यसको ऐतिहासिक पृष्ठभूमि छ र त्यही रोग हामीकहाँ बेलाबेलामा छिर्ने गरेको तथ्य इतिहासका मोडमोडमा भेटिन्छ। प्रधानमन्त्री ओलीको टिम र उनीहरूका आसेपासेबाट नै मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीलाई सामाजिक सञ्जालमा लाञ्छित गर्ने काम यही विचारद्वारा प्रेरित थियो।

लकडाउनकै अवधिमा बलात्कार र हिंसाका कैयौँ घटनामा साना नानीदेखि महिलाहरू प्रताडित भए। यसको पनि ऐतिहासिक शृंखला छ र यसविरुद्ध प्रतिरोधको पनि इतिहास छ। यहीबेला राहत वितरणमा पनि विभेदका शृंखला देखिए। दलितलगायत शक्तिसम्बन्धको सीमान्तमा धकेलिएका समुदायले राहत नपाउने वा पाए पनि विभेदको तिखो अनुभूतिबाट गुज्रिनैपर्ने स्थिति आयो। कुसुण्डा, चेपाङजस्ता कमजोर समुदायका गाउँहरू भोकमरीको चपेटामा पर्नसक्ने स्पष्ट संकेत देखिएका छन् र उनीहरूलाई राहत उपलब्ध गराउन राज्य वा अरू कसैले तदारुकता देखाएका छैनन्। काठमाडौँमा थुनिएका मजदुरहरू सयौँ किलोमिटर हिँडेर घर गइरहेका दारुण दृश्य त हामीले देखिसक्यौँ। अझ दर्दनाक कुरा के छ भने कैयौँ मजदुर डेराबाट निकालिएका छन् र हिजोआज सडकमा रात काटिरहेका छन्। उता वडा कार्यालयहरूले राहतका निम्ति पनि नागरिकता खोजिरहेको छ।

एउटा मान्छे अर्को मान्छेको नजिक पर्न डराउने स्थितिले सामाजिक सम्बन्धमा ठूलो खलबल पु¥याउने अनुमान संसारभरि गरिएको छ। तर, यसले पनि पहिल्यैका विभेदकारी व्यवस्थालाई झन् बलियो बनाउने मात्र सम्भावना छ। परिचित र समान वर्गका मानिसहरू सहजै नजिक आउनेछन्। तर, गरिबलाई धनीले छोइछिटो गर्ने सम्भावना बढी छ। दलित र ऐतिहासिक रूपमा कमजोर समुदायका मानिसहरू झन् ठूलो विभेदमा पर्नेछन्। राज्यले भाइरसको त्रासबाट जन्मने आर्थिक, सामाजिक, राजनीतिक सम्बन्धहरूको दरार भर्न विशेष पहल गर्नुपर्ने हुन्छ, तर हामीसँग विभेदलाई नै राष्ट्रवाद लगायतका बहानाले थप संस्थागत गर्ने नेतृत्व सत्तामा छ। त्यसैले सामाजिक सम्बन्धमा बढेर जाने तिक्तताको उपचार गर्न सामुदायिक पहल सुरु गर्नुपर्ने हुन्छ।

मूलतः दलाल अर्थतन्त्र संस्थागत गर्न पछिल्लो ७० वर्ष लगानी भएको समाज हो, हाम्रो। यहाँ घरजग्गाको भाउ रातारात कागजैकागजमा बढाएर नक्कली पैसा कमाउनेहरूको भाउ छ। त्यसैगरी, युरोप–अमेरिकामा पढ्न पठाउने कन्सल्टेन्सीको नाममा शिक्षाको दलाली, उतै जाने सपना बेच्ने निजी कलेज तथा शैक्षिक संस्थाहरूको धन्दा चम्केको मुलुक हो यो। श्रमिक निर्यात गर्ने म्यानपावरदेखि तिनै श्रमिकले पठाउने रेमिट्यान्समा बल्छी थाप्ने बैंक, घरजग्गा कारोबारी, मनी ट्रान्सफर आदिको धन्दा पनि उत्तिकै सम्माननीय छ। यी नक्कली सपनाबाट मान्छे अचानक ब्युँझनेछन्। किनभने, अब यी तमाम दलाली धन्दामा आसन्न आर्थिक संकटले पहिलो मुक्का बजार्नेछ। यी धन्दा मात्र सुक्ने होइन, समाजमा उनीहरूको चुरीफुरी र विलासी जीवनशैलीले जन्माएको नक्कली उन्माद पनि अचानक धराशायी हुनेछ।

युरोप, अमेरिका, अस्ट्रेलिया, जापान जाने सपना अब सपना रहनेछैन। कमसेकम केही वर्ष बालबच्चाले यो सपना देख्न छाड्नेछन्। त्यसो हुँदा धनी र शक्तिशाली मुलुकको नाममा फुर्तीफार्ती गर्ने मानिसहरूको फुर्ती सेलाउनु स्वाभाविक हुन्छ। अहिल्यै ती देशबाट फर्कने मानिसले भोगेको छिःछिः दूरदूर निकै उल्लेख्य देखियो। बरु विभेदकारी व्यवस्थाको चेतनाले विदेशबाट फर्कनेको घरमा रातो स्टिकर टाँसेर आफ्नो रूप देखाइसक्यो। एकातिर बेरोजगारको ठूलो संख्याले समाज व्यवस्थामा ठूलो असन्तुलन ल्याउनेछ भने अर्कातिर कृषि वा स्थानीय सीप, शिल्प र उद्यमबाट नयाँ जीवनको खोजी गर्नुपर्ने स्थितिले नयाँ सन्तुलनको माग गर्नेछ।

हामी कुन बाटो हिँड्छौँ, कस्ता छनोट गर्छौं भन्ने कुराले भविष्य रेखांकन गर्ने हो। प्रधानमन्त्री ओली र नेकपा नेतृत्वले मुलुकलाई सही छनोट, सही विकल्प र सही चेतनाले दिशानिर्देश गर्ने सम्भावना शून्यप्रायः छ। त्यसैले यसको पहलकदमी कसरी र कसले गर्छ, अबको प्रतीक्षा र कर्मको बाटो त्यतैबाट निर्धारित हुनेछ। भविष्यका बारेमा आफ्नै धरातलमा उभिएर सोच्ने, विचार निर्माण गर्ने र कर्मको बाटो खन्ने यो निकै उर्बर अवसर पनि हो।
@YugPathak

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट