महँगो पर्न सक्छ हेलचेक्य्राइँ

सम्पूर्ण
बुधबार, ३१ बैशाख २०७७
कोरोना भाइरस (कोभिड–१९) को परीक्षणको दायरा बढ्दै जाँदा संक्रमितको संख्या पनि ह्वातै बढ्न सक्ने भन्दै जनस्वास्थ्य विज्ञ एवं चिकित्सकहरूले चेतावनी दिँदै आएका थिए। न्यून संख्यामा गरिएको परीक्षणका कारण संक्रमितको संख्या थोरै देखिएको अनुमान विज्ञहरूको थियो। परीक्षणको दायरा बढ्दै जाँदा कोरोना भाइरसको संक्रमणको संख्या बढ्ने सम्भावनाबारे उनीहरूले हरेक दिनजसो बोल्दै र लेख्दै आएका छन्। अन्य देशमाजस्तै नेपालमा पनि कोभिड–१९ को विष्फोट हुन सक्ने र त्यसको परिणाम चाहिँ कत्रो हुन्छ भन्नेमा सरकारको रोकथामको उपाय र उपचारको क्षमतामा भर पर्ने भन्दै विज्ञ एवं चिकित्सकले सचेत गराउँदै आएका छन्।
केहीदिनदेखि स्वाब संकलन र परीक्षण तीव्र पारिएसँगै सोमबार एकैदिन २४ र मंगलबार ५७जनामा कोभिड–१९ पुष्टि भएपछि विज्ञहरूको अनुमान सही ठहरिएको छ। लकडाउन लम्बिएर दुई महिना पूरा हुनलाग्दा कोरोना संक्रमित पनि बढ्न थालेपछि आगामी दिनमा थप चुनौती सामना गर्नुपर्ने स्थिति सिर्जना भएको छ। कोभिड–१९ को संक्रमण कम देखिएका शहर र स्थानमा लकडाउन खुकुलो बनाउँदै लैजाने सरकारको घोषणालाई संक्रमित संख्या वृद्धिसँगै पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ। कोभिड–१९ को संक्रमण फैलिन नदिन लकडाउन मुख्य विकल्प भएपनि यो उपचार भने होइन। लकडाउनका बेला जो जहाँ छन्, उनीहरूलाई त्यही ठाउँमा राखेर‘ट्रेसिङ’र बढीभन्दा बढी परीक्षण गर्न सक्दामात्र संक्रमित पत्ता लाग्ने हुन्। लकडाउन थपिएसँगैपरीक्षणको दायरा बढाउँदै लान सकेको भएयतिबेला नेपालमा संक्रमण कुन स्तरमा पुगेको छ भन्ने थाहा पाउने अवस्था बन्ने थियो। तर, सरकार लकडाउनको दुई हप्ता पार्टीभित्रको आन्तरिक खिचलोमा अड्कियो। परीक्षणका लागि किट अभाव थियो। सरकारले पीसीआर परीक्षणको दायरा बढाउन नसकेकाले पनि शंकास्पद क्षेत्रमा पर्याप्त परीक्षण गर्न सकेको थिएन।
छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेकालेपनि हामी उच्च जोखिममा छौँ। सोमबार कोभिड–१९ संक्रमण पुष्टि भएका अधिकांश भारतबाट लुकीछिपी आएका नै छन्। भारतले मंगलबारदेखि रेल सेवा सञ्चालन गर्ने निर्णय गरेको छ, जसका कारण सिमानामा आइपुग्ने नेपालीको संख्या अझै बढ्ने देखिन्छ। उनीहरूको व्यवस्थापन सही ढंगले गर्न सकिएन भने भाइरसको जोखिम थप उच्च हुनेछ। सीमापारि विभिन्न ठाउँका क्वारेन्टिनमा रहेका नेपालीलाई भारतीय पक्षले रातारात दशगजामा ल्याएर छोड्न थालेको छ। नेपालको प्रशासन र सुरक्षा निकायसँग कुनै समन्वय नगरी एकतर्फी रूपमा भारतमा रहेका नेपालीलाई दशगजामा ल्याएर छोड्नेउसको कदमले नेपालमा कोभिड–१९ ले विष्फोटको रूप लिन सक्ने जोखिम झन् बढेको छ। भारतमा संक्रमितको संख्या बढिरहेको बेला भइरहेका यस्ता गतिविधिप्रति नेपाल सरकारले तुरुन्तै चासो दिएर भारतसँग कुराकानी गर्नुपर्छ। सीमाक्षेत्रमा आइपुगेका आफ्ना नागरिकलाई देशभित्र कसरी सुरक्षित तरिकाले क्वारेन्टिनमा राख्ने, परीक्षणलाई कसरी तीव्रता दिने भन्नेमा स्पष्ट कार्ययोजनाका साथ सरकारले काम गर्न जरुरी छ। खुला सिमानाको फाइदा उठाउँदै भारतबाट नेपाल र नेपालबाट भारत ओहोरदोहोर गर्नेलाई कडाइ गर्न सकिएन भने कोभिड–१९ को संक्रमण रोकथाम गर्न दुवै देशलाई गाह्रो पर्नेछ। नयाँ केस शून्यमा पुगिसकेको एक महिनापछि भाइरसको उद्गमस्थल चीनको वुहानमा नयाँ संक्रमण देखिएको खबर आएको छ। दक्षिण कोरियामा नियन्त्रणमा आइसकेको भाइरस फेरि देखिएको छ। त्यसैले ‘यति दिन लकडाउन गरियो’, न्यून परीक्षणका आधारमा‘संक्रमणको दर यस्तो छ’, ‘नेपालमा एक जनाको पनि मृत्यु भएको छैन’ भनेरअहिले नै तर्क गर्न थालियो भने हामीले अकल्पनीय क्षति व्यहोर्नुपर्नेछ।
लकडाउनले मात्र कोभिड–१९ को संक्रमण नियन्त्रणमा आउन सक्दैन भन्ने पुष्टि भइसकेको छ। लकडाउन थपिँदै जाँदा पछिल्ला दुई हप्तामा संक्रमितको संख्या ह्वात्तै बढेको छ। लकडाउन खुकुलो बनाउँदै जाँदा पर्याप्त सावधानी अपनाउन सकिएन भने देशका सबै भाग र शहरमा एकसाथ संक्रमण दर उच्च हुने जोखिम छ। सामान्यतः संक्रमणका लक्षण १४ दिनसम्म देखापर्छन् भन्ने गरिन्छ। तर, नेपालमै पनि कसैको २५ दिनपछि त कसैको ४० दिनपछि पनि रिपोर्ट पोजिटिभ आएको छ। पछिल्ला रिपोर्टले एक महिनासम्म पनि भाइरस रहिरहन्छ भन्ने तथ्य बाहिर ल्याएका छन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले औसतमा १४ दिनमा संक्रमणको लक्षण देखिन्छ भनेको छ। तर, यो अवधिमा कतिपयलाई लक्षण नदेखिन पनि सक्छ। संक्रमण हुँदा कतिपयलाई लक्षण नदेखिने हुँदा यस्ता व्यक्तिले धेरैलाई रोग सार्न सक्ने भएकाले संक्रमणको दर जुनसुकै बेला उच्च हुने जोखिम छ। जोखिमका कारण र क्षेत्र पहिचान भइसकेकाले अबरोकथाम, पहिचान र उपचारमाध्यान केन्द्रित गर्नुपर्छ। भारतलगायत अन्य देशबाट नेपाल फर्किनेलाई अनिवार्य क्वारेन्टिनमा राख्ने र बढीभन्दा बढी पीसीआर परीक्षण गर्नुको विकल्प छैन। लकडाउन खुकुलो हुँदा वा पूरै खुल्दा जनस्तरबाट अपनाउनुपर्ने सावधानीमा हेलचेक्य्राइँ गरियो भने त्यसको मूल्य महँगो पर्ने निश्चित छ।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७ -
नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई
शनिबार, १३ भदौ २०७७