लकडाउनलाई भीआईपीको लोप्पा

writer

सम्पूर्ण

बुधबार, ३१ बैशाख २०७७


संसारभरि नै सर्वसाधारण नागरिक घरभित्र बसेर लकडाउन पालना गरिरहेका छन्। तर, अति विशिष्ट व्यक्तिहरू भने लकडाउन उल्लंघन गरिरहेका छन्। क्यानडाका प्रधानमन्त्रीदेखि ब्राजिलका राष्ट्रपतिसम्म थुप्रैभीआईपीले बन्दाबन्दीलाई लोप्पा खुवाइदिएका छन्।


आफैँले बनाएको लकडाउनका नियम उल्लंघन गरेको समाचार प्रकाशित भएपछि मे ५ मा बेलायतका महामारी रोग विशेषज्ञ प्राध्यापक निल फर्गुसनले राजीनामा दिए। फर्गुसन कोरोना भाइरस महामारी रोकथामका लागि बेलायती सरकारका सल्लाहकारसमेत हुन्। इम्पेरियल कलेज, लन्डनमा उनी वैज्ञानिकहरूको एउटा समूहको नेतृत्व गर्छन्। सोही समूहले केही समयअघि बेलायतमा भाइरसको असर कस्तो पर्छ भनी अध्ययन गरेको थियो। फर्गुसनकै नेतृत्वको टोलीले सरकारका मन्त्रीहरूलाई भौतिक दूरी कायम हुनेगरी कडाइका साथ लकडाउन गर्न सहमत गराएको थियो।

उनीहरूले बनाएको नियम स्पष्ट थियो– घरमा बस्ने। आफ्नो परिवारबाहेक अरू कसैलाई नभेट्ने। बाहिर निस्किनैपर्ने भए मास्क लगाएर जाने। अर्को व्यक्तिबाट छ फिट टाढै रहने। तर, आफैँले बनाएका यी नियम फर्गुसनले पालना गरेनन्।

स्पेनमा संकटकाल घोषणा गरेरै लकडाउन लागू गरिएको थियो। यहाँ सबैभन्दा बढी जरिबाना तोकिएको थियो। प्रतिबन्धित क्षेत्रमा प्रवेश गरे सय युरोदेखि लिएर आपत्कालीन नियम उल्लंघन गरे छ लाख युरोसम्म जरिबाना र जेल सजायको व्यवस्था पनि गरिएको थियो।

‘द टेलिग्राफ’को रिपोर्टअनुसार ३० मार्चमा लकडाउन घोषणा भइसकेपछि ८ अप्रिलसम्म फर्गुसनलाई भेट्न उनकी प्रेमिका एन्टोनिया स्तात्स दुई पटक उनको घर आइन्। पत्रिकाका अनुसार स्तात्सले यसलाई नियम उल्लंघन मान्न अस्वीकार गरेकी छिन्। किनभने, आफू र फर्गुसन एकै परिवारको भएको उनको भनाइ थियो।

तर, सरकारी सल्लाहकारहरू भने आम मानिसलाई त्यसरी नभेट्न आह्वान गरिरहेका थिए। बेलायतका डेपुटी चिफ मेडिकल अफिसर जेनी ह्यारिसलाई २४ मार्चमा प्रश्न गरियो– ‘दम्पती छुट्टाछुट्टै बसेका छन् भने उनीहरूले एकअर्कालाई भेट्नु ठीक हुन्छ कि हुन्न ?’ उनको जवाफ थियो, ‘जोडी अहिले अलग–अलग स्थानमा बसिरहेका छन् भने उनीहरू त्यहीँ बसिरहनु उपयुक्त हुन्छ।’

फर्गुसनले लकडाउन उल्लंघन गरे। नतिजा उनलाई कोरोना भाइरस संक्रमण भयो। उनले लकडाउन उल्लंघन गरेको समाचार बाहिरियो र उनी राजीनामा दिन बाध्य भए। ‘उफ्, हिजोदेखि खोकी लागिरहेको छ। आज बिहान ४ बजेदेखि उच्च ज्वरो पनि आएको छ’– मार्च १८ मा उनले ट्वीट गरेका थिए।

त्यसको दुई सातापछि उनी निको भए र राजीनामा गरे। ‘मैले गलत निर्णय गरेँ,’ फर्गुसनले भनेका छन्, ‘म त्यो स्वीकार गर्छु। त्यसैले सरकारको सल्लाहकार समूहबाट राजीनामा दिन्छु। मलाई रोग लाग्न सक्दैन भन्ने विश्वासका आधारमा मैले यी कदम चालेँ। तर, परीक्षण गर्दा ममा कोरोना भाइरस पोजिटिभ देखियो। संक्रमण देखिएपछि दुई सातासम्म म पूरै आइसोलेसनमा बसेँ।’ आफ्नो कार्यप्रति उनले गहिरो पश्चात्ताप व्यक्त गरेका छन्।

लकडाउन उल्लंघन गर्ने फर्गुसन एक्ला व्यक्ति होइनन्।एक समय विश्वको झण्डै आधा जनसंख्या एकै पटक लकडाउनमा थियो। त्यत्रो जनसंख्यालाई एकैपटक घरभित्र कैद गर्नु साँच्चिकै कठिन काम थियो।

थरीथरी लकडाउन, थरीथरी सजाय

कोरोना भाइरसको महामारी रोक्न विश्वका विभिन्न मुलुकले आ–आफ्ना नागरिकलाई अनेक प्रकारका लकडाउनमा राखे। थुप्रैले सिमाना, यातायात ठप्प पारे। मानिसलाई घरबाट बाहिर निस्किन नदिने नियम लगाए। लकडाउन उल्लंघन गर्नेलाई सजाय र जरिबाना पनि अनेक प्रकारका लागू गरिए। नेपालमा प्रहरीले बाटोमा उभ्याउनेदेखि क्याचर मेसिनले समात्नेसम्मको काम ग¥यो। अहिले कतिपय मुलुकमा लकडाउन खुकुलो बनाउन थालिएको छ।

सबैभन्दा कडामध्येको लकडाउन इटालीमा लगाइयो। मार्च ९ मा लागू भएको लकडाउन केही दिन खुकुलो पारिएको छ। तर, लामो समय त्यहाँ काममा जान तथा औषधि र खाद्यान्न किन्नलाई मात्र घरबाहिर निस्किन दिइएको थियो। अत्यावश्यक काम नपरी आफ्नो नगरबाट बाहिर जान प्रतिबन्ध थियो। बाहिर निस्किनुअघि कारण खुलाएर फर्म भर्नुपथ्र्यो। उल्लंघन गर्नेलाई २ सय ६ युरोदेखि तीन हजार युरोसम्म जरिबाना गराइन्थ्यो।

स्पेनमा संकटकाल घोषणा गरेरै लकडाउन लागू गरिएको थियो। खाना, स्वास्थ्यका कारणले मात्र मानिसहरू बाहिर निस्किन पाउँथे। यहाँ सबैभन्दा बढी जरिबाना तोकिएको थियो। प्रतिबन्धित क्षेत्रमा प्रवेश गरे सय युरोदेखि लिएर आपत्कालीन नियम उल्लंघन गरे छ लाख युरोसम्म जरिबाना र जेल सजायको व्यवस्था पनि गरिएको थियो।कफ्र्यू घोषणा नभएपनि एकाघरका बाहेक दुई जना मानिस घरबाहिर सँगै हुन पाउँदैनथे। जर्मनीमा देशभरका लागि कुनै जरिबाना तोकिएको थिएन। तर, राज्यहरूले यस्तो सजाय तोक्न पाउँथे। नर्थ राइन वेस्टफालियाले २५ हजार युरोसम्म जरिबाना तोकेका थिए।

बेलायतमा अत्यावश्यक सामान किन्न, दिनको एक पटक कसरत गर्न, उपचार आवश्यक परेमा वा कसैको रेखदेखमा जानका लागि मात्र घरबाट बाहिर निस्किन दिइएको थियो। यो नियम उल्लंघन गर्नेलाई जरिबानाको व्यवस्था छ। प्रहरीले घर जाऊ भन्दा नमान्नेलाई ठाउँको ठाउँ ६० पाउन्ड जरिबाना लगाउन सक्छ। १४ दिनभित्र तिरे सो रकम आधा हुन्छ। तर, अटेर गरे ९ सय ६० पाउन्डसम्म जरिबाना तिराउन सक्ने प्रावधान छ।

फ्रान्समा मार्च १७ देखि लकडाउन तोकिएको छ। बाहिर निस्किन अत्यावश्यक कारण खुलाएर एउटा फर्म भर्नुपर्छ। स्वास्थ्य, खाना र पारिवारिक काममा मात्र बाहिर जान पाइन्छ। कसरतका लागि घरबाट एक किलोमिटर टाढासम्म एक घण्टाका लागि जान पाइन्छ। अटेर गर्नेलाई १ सय ३५ युरो जरिबाना गराइएको छ। चार पटक लकडाउन उल्लंघन गर्नेलाई छ महिनासम्म जेल र ३ हजार ७ सय ५० युरोसम्म जरिबाना छ।

त्यस्तै, सिंगापुरमा पनि क्वारेन्टिनको कडा नियम लगाइएको छ। संक्रमित फेला परेयता यहाँ हजारौँ मानिस सेल्फ क्वारेन्टिनमा बसेका छन्।लकडाउन उल्लंघन गर्नेलाई १० हजार डलरसम्म जरिबाना र छ महिनासम्म जेल सजायको व्यवस्था छ।

एकैपटक सवा अर्ब मानिसलाई २१ दिनसम्म लकडाउनमा राखेको भारतमा २२ मार्चका दिन स्वेच्छाले १४ घण्टे कफ्र्यू लगाइएको थियो। यहाँ अत्यावश्यकबाहेक सबै सेवा बन्द भएका थिए। उल्लंघन गर्नेलाई एक वर्षसम्म जेल सजाय तोकिएको छ। पछिल्लो साता भारतमा लकडाउन खुकुलो पारिँदै लगेको छ। मंगलबारदेखि यहाँ रेल यातायात पनि सुरु भएको छ। केन्यामा कफ्र्यू नै घोषणा गरियो। साँझ ७ देखि बिहान ५ बजेसम्म स्वास्थ्यकर्मीबाहेक घरबाट कोहीपनि बाहिर निस्किन पाउँदैनन्।कतिपय मुलुकमा लकडाउन कार्यान्वयवन गराउन प्रहरीले लाठी, अश्रुग्यास र गोलीसमेत चलायो।

लकडाउन तोड्नमा भीआईपी अघि

जतिबेला सर्वसाधारण सरकारको आदेश मानेर लकडाउन पालना गरी घरभित्रै बसिरहेका थिए, त्यतिबेला विश्वका नाम चलेका हस्तीहरू भने लकडाउन उल्लंघन गर्न अघि सरेका देखिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुलुकका जनस्वास्थ्यसम्बन्धी निकायहरूले दिएको सुझावविपरीत मास्क लगाउन अस्वीकार गरे। लकडाउनको विरोधमा आयोजित प्रदर्शनहरूको समर्थन उनले गरे। ब्राजिली राष्ट्रपति जायर बोल्सोनारो त लकडाउन गर्ने पक्षमै थिएनन्। राज्यका गभर्नरहरूले लकडाउन गरेपछि उनी त्यसविरुद्धको प्रदर्शनमा सहभागी भएर भाषण पनि गरे।

गत महिना न्युजिल्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डेनले स्वास्थ्यमन्त्री डेविड क्लार्कको घटुवा गरिन्। कारण थियो– क्लार्कले गरेको लकडाउन उल्लंघन। पूरै देशलाई लकडाउनमा राखेर स्वास्थ्यमन्त्री चाहिँ परिवारसहित समुद्री किनार भ्रमणमा पुगेका थिए। त्यसैले प्रधानमन्त्री आर्डेनले अन्य बेला भए बर्खास्त गर्ने तर संकटकालीन अवस्थामा घटुवा मात्र गर्ने भन्दै उनका केही जिम्मेवारी खोसिन्। क्लार्कले गल्ती स्वीकार्दै आफूलाई ‘मूर्ख’ भने र माफी मागे।

उसो त क्यानडाका प्रधानमन्त्री जस्टिन ट्र्युडोलाई पनि लकडाउन उल्लंघन गरेको आरोप लाग्यो। अप्रिलको मध्यतिर उनी परिवार भेट्न क्युबेक पुगेका थिए। मार्चमा उनकी पत्नी सोफीलाई कोरोना भाइरस देखियो र ट्र्युडोले घरमै क्वारेन्टिन बसेर सरकार सञ्चालन गरे।

त्यस्तै, इजरायलका स्वास्थ्यमन्त्री याकोव लित्जम्यानलाई पनि लकडाउन उल्लंघनको आरोप लागेको छ। यद्यपि, उनले सो आरोप अस्वीकार गरेका छन्। महामारीविरुद्धको कामकारबाहीलाई ठीकसँग नेतृत्व गर्न नसकेको भन्दै आलोचना भएपछि उनले मन्त्रालय फेरेका छन्।

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि