इन्टरनेट न ल्यापटप : अनलाइन शिक्षाको गफ !

writer

सृजना खड्का

शुक्रबार, २६ बैशाख २०७७


वैशाख १८ गते पोखरा महानगरपालिकाको शिक्षा समितिले त्यहाँका निजी विद्यालयहरूलाई लक्ष्य गर्दै सूचना प्रकाशित ग¥यो– ‘अनलाइन कक्षा तत्काल बन्द गर्नू।’ महानगरको शैक्षिक प्रशासन महाशाखाले एक पत्र लेख्दै निजी विद्यालयले आफूखुशी सञ्चालन गरेका अनलाइन कक्षा बन्द गर्न निर्देशन दियो।

निजी विद्यालयले अनुमति र पूर्वाधारबिनै अनलाइन कक्षा सञ्चालन गरेको, यसले समाजमा थप विकृति निम्त्याएको र यसको पहुँचमा नरहेका विद्यार्थी तथा अविभावकलाई मानसिक दबाब परेकाले त्यस्ता कक्षा बन्द गराउनुपर्ने उजुरी महानगरमा परेपछि महाशाखाले सो निर्देशन दिएको थियो।

यसलाई शिक्षाविद् विद्यानाथ कोइराला ‘डिजिडल डिभाइड’ले उत्पन्न गरेको समस्या मान्छन्। ‘पोखरामा अनलाइन कक्षा बन्द गर्नुको एउटै कारण हो, यसले विपन्नलाई छुट्यायो,’ उनले भने, ‘तर, विपन्नलाई छुट्यायो भन्दैमा सम्पन्नलाई फ्याँक्न मिल्दैन।यसका लागि सम्पन्नलाई कसरी लैजाने, मध्यम वर्गलाई कसरी लैजाने र विपन्नलाई कसरी लैजाने भनेर योजना बनाउनुपर्छ। सबैलाई अनलाइनबाट लैजानेभन्दा न शिक्षक तयार हुन्छन्, न विद्यार्थी, न अभिभावक।’

०००

काठमाडौँ, कपन बस्ने लीला नगरकोटीका छोरा कक्षा पाँचमा पढ्छन्। केही दिनअघिस्कुलले आमाको मोबाइलमा एउटा म्यासेज पठायो–‘तपाईंहरूका नानीबाबुको रिजल्ट अनलाइनमा हालिदिएका छौँ, हेर्नुहोला।’ लीला अक्क न बक्क भइन्। अनलाइनमा कसरी परीक्षाको नतिजा हेर्ने, उनलाई थाहा थिएन। छिमेकीको सहयोगमा उनले छोराको रिजल्ट हेरिन्। हालसालै मात्र उनको छोराको स्कुलले अनलाइन कक्षा सञ्चालन गर्ने सूचना पठाएको छ। ‘अनलाइन कक्षा के हो, कस्तो हुन्छ, केही थाहा छैन,’ लीलाले भनिन्, ‘स्कुलले ‘मोबाइलभन्दा कम्प्युटर वा ल्यापटपमा पढाउँदा राम्रो !’ भनेको छ। आफूसँग न ल्यापटप छ, न कम्प्युटर। छिमेकीकहाँ पठाउनुपर्ला।’ नौ कक्षामा पढ्ने अर्काे छोरालाई श्रीमान्ले गाँउ लिएर गएका छन्। ‘गाँउमा नेट चलाउन नमिल्ने भएकाले उसले चाहिँ पढ्न नपाउने भयो,’ लीलाले गुनासो गरिन्।

०००

काठमाडौँ,वसुन्धरास्थित युनिभर्सिटी स्कुलमा पाँच कक्षामा पढ्ने अग्रता भण्डारीले अनलाइनबाट कक्षा लिन थालेको दुई हप्ता भयो। अनलाइन कक्षाभन्दा स्कुलमै गएर पढेको बुझिने उनले अनुभव गरेकी छिन्। ‘अहिलेसम्म के पढाएको हो, केही बुझेकी छैन,’ उनले भनिन्, ‘योभन्दा त बरु स्कुलमै गएर पढ्दा बुझिन्थ्यो।’ उनी दिनको ४० मिनेट अनलाइन कक्षामा बस्छिन्।आमाबुबा दुवै विदेश भएकाले अहिले उनी हजुरआमासँग बस्छिन्।‘केही साथीका ड्याडीममी अगाडि बसेर सिकाउनुहुन्छ,’ उनले भनिन्, ‘मेरो हजुरआमालाई मोबाइल चलाउन आउँदैन। घरमा सिकाउने मान्छे नहुँदा गाह्रो हुन्छ। टिचरले ‘गुगल क्लासरुममा होमवर्क पठाऊ’ भन्नुहुन्छ। कसरी पठाउने मलाई आउँदैन।’

अनलाइन कक्षाः अभिभावकलाई पीडा

भक्तपुर, आदर्श बस्ने रोहन दास च्याम्हासिंहस्थित बागेश्वरी उच्च माध्यमिक विद्यालयमा नौ कक्षामा पढ्छन्। स्कुलले अनलाइनबाट पढाउने तयारी गरेको थाहा पाएपछि घरमा नेट जोडिदिनुप¥यो भन्दैउनी झगडा गर्न थालेका छन्। ‘लकडाउनले गर्दा खान–लाउनै समस्या भएको बेलामा कहाँबाट वाइफाई जोड्ने, कहाँबाट ल्यापटप ल्याउने?’ उनकी आमा भगवतीले गुनासो गरिन्, ‘हामीजस्तो एउटा कोठामा बसेर गुजारा टार्नेले यो सबै कसरी पु¥याउने ? तीन–तीनटा छोराछोरीलाई कसरी तीन–तीनटा ल्यापटप किनिदिने ?’

बागीश्वरीका प्रधानाध्यापक कृष्णप्रसाद धन्साले सरकारी स्कुलका ९० प्रतिशतभन्दा बढी विद्यार्थीलाई अनलाइन कक्षाले पीडा दिने बताए। ‘हातमा स्मार्टफोन र घरमा इन्टरनेट नभएका प्रत्येक अभिभावक अहिले पीडामा छन्,’ उनले भने, ‘त्यसैले हाम्रोजस्तो विद्यालयका लागि अनलाइन कक्षा प्रभावकारी छैन। अनलाइन कक्षाले निजी र सरकारी, विपन्न र सम्पन्नलाई सर्लक्कै छुट्याउने काम गरेको छ। हामीले अभिभावकलाई अनलाइन कक्षाको कुरा गर्नु उनीहरूलाई जानी–जानी पीडा दिनु हो।’

एसईईका परीक्षार्थीका लागि बागीश्वरीले नगरपालिकाको संयोजकत्वमा टेलिभिजनमार्फत भर्चुअल कक्षा सञ्चालन गरेको छ। ‘हामीले प्रयास नगरेका होइनौँ,’ प्रधानाध्यापक धन्साले भने, ‘तर, त्यसमा पनि एकदमै थोरै विद्यार्थी मात्र सहभागी हुन्छन्।’

भक्तपुर, व्यासीस्थित वासु उच्च माध्यमिक विद्यालयकी प्रधानाध्यापक अम्बिका न्याइच्याईले पनि बहुसंख्यक विद्यार्थी र अभिभावकका हकमा अनलाइन कक्षा प्रभावकारी नहुने धारणा राखिन्। ‘सबै ठाँउमा नेट हुँदैन,’ उनले भनिन्, ‘अहिले स्कुल बिदा भएर धेरै विद्यार्थी आ–आफ्ना घर गएका छन्। हाम्रा थुप्रै विद्यार्थी रोल्पा, रुकुम, दैलेख, बाजुराका छन्। फोनको रिचार्ज कार्ड नपाइने ठाउँमा विद्यार्थीहरू गएका छन्। त्यहाँ उनीहरूले गुगल क्लासरुममा गएर कसरी पढ्न सक्छन् ?’

भक्तपुर, बालकोटस्थित माउन्ट भ्यू इंग्लिस बोर्डिङ स्कुलका संस्थापक तथा निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)का प्राज्ञिक सल्लाहकार राजकुमार महर्जनले अनलाइन शिक्षाले सरकारी र निजी स्कुलबीच मात्र नभई निजी स्कुलकै बीचमा पनि खाडल निम्त्याएको बताए। ‘निजी स्कुल पनि हजारदेखि एक लाख रुपैयाँसम्म फीलिने खालका छन्,’ उनले भने, ‘निजी स्कुलमा सम्पन्नका बालबच्चा मात्र पढ्छन् भन्ने मान्यतालाई पहिला चिर्नुपर्छ। दोस्रो, सरकारी स्कुलमा आईटीका लागि स्रोत–साधन छैन भन्नु गलत हो।’ सरकारी स्कुलमा सरकारले सूचना–प्रविधिका लागि छुट्याएको बजेट कुनै महँगो प्राइभेट स्कुलले खर्च गर्नेभन्दा कम नभएको उनले बताए। ‘त्यसलाई प्रयोगमा नल्याउनु उनीहरूकै कमजोरी हो,’ महर्जनले भने, ‘निजी स्कुलले एउटा सामान पायो भने त्यसलाई १५ वर्षसम्म कसरी चलाउने भनेर सोच्छ। त्यही सामान सरकारी स्कुलले पायो भने दुई वर्षमा कसरी थोत्रो बनाउने भनेर हेर्छ।’

अहिलेको समयमा सबैको हात–हातमा स्मार्टफोन हुने भएकाले अनलाइन शिक्षा ठूलो विषय नभएको उनले बताए। ‘कम्प्युटर नहोला, ल्यापटप नहोला, तर अहिलेको जमानामा एउटा सामान्य मजदुरी गर्ने अभिभावकको हातमा पनि स्मार्टफोन हुन्छ,’ उनले भने, ‘नेटका लागि आवश्यक पर्ने खर्चको कुरा गर्ने हो भने लकडाउनले गर्दा अहिले थुप्रै डाटा प्याकेजका अफर छन्। महिनामा दुईतीन सयको डाटा किन्न नसक्ने कोही हुँदैन। अनलाइन शिक्षा सम्भव छैन भन्नु बहानाबाजी गर्नुमात्र हो।’

महर्जनका अनुसार आजका केटाकेटी ‘डिजिटल चिल्ड्रेन’ हुन्। ‘आधुनिक युगका डिजिटल चिल्डे«नलाई किताबकापी मात्रै तेस्र्याएर हुँदैन,’ उनले भने, ‘उनीहरूको ध्यान स्क्रिनमा छ। स्क्रिनमा पढ्न पाउँदा उनीहरू खुशी हुन्छन्।’ तर, उनी अनलाइन शिक्षालाई समाधान मान्न तयार छैनन्। ‘अनलाइन शिक्षा विकल्प भएपनि सधैँका लागि समाधान भने होइन।’

केहीका लागि हो, सबैका लागि होइन

प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले प्याब्सनअन्तर्गतका सबै स्कुललाई अनलाइन, टेलिभिजन र रेडियोबाट कक्षाहरू सञ्चालन गर्नका लागि आह्वान गरिएको बताए। ‘अनलाइनले सबै अभिभावकलाई समेट्न नसक्ने हुनाले रेडियो र टेलिभिजनबाट गरिने सिकाइलाई पनि हामीले प्राथमिकतामा राखेका छाँै,’ उनले भने, ‘अनलाइनबाट शिक्षण गराउनका लागि शिक्षकहरूलाई तालिम दिइरहेका छौँ। परीक्षणका रूपमा केही कक्षा सञ्चालन पनि भएका छन्।’ प्याब्सनले लकडाउनको स्वरूप परिवर्तन गर्न सरकारलाई आग्रह गरेको पनि उनले बताए। ‘कोभिड–१९ को संक्रमण नदेखिएका क्षेत्रमा सामाजिक दूरीलाई व्यवस्थापन गरेर भर्नाका कार्यक्रम सुरु गर्न दिनुपर्छ भन्ने अनुरोध गरेका छाैँ,’ उनले भने, ‘सामाजिक दूरी कायम गरेर अभिभावकले विद्यार्थीको मार्कसिट लैजाने, आफ्ना बालबालिकाका लागि नयाँ विद्यालय छान्ने काम गर्ने व्यवस्था गर्नुपर्छ।’विद्यालयमै गएर पठनपाठन गर्नका लागि भने केही समय लाग्ने भएकाले अनलाइन कक्षा अहिलेका लागि विकल्प हुन सक्ने उनले बताए। ‘भोलिका दिनमा यो सुरुवातले प्रविधिलाई शिक्षामा जोड्न सहयोग पु¥याउँछ,’पुरी आशावादी देखिए।

शिक्षाविद् विद्यानाथ कोइरालाले अनलाइन शिक्षा केहीका लागि भएपनि सबैका लागि नभएको बताए। ‘अनलाइन सबैका लागि होइन, कसैका लागि हो,’ उनले भने, ‘जोसँग जे साधन उपलब्ध छ, त्यसको आधारमा पढाउनुपर्छ। महावीर पुनजस्ता बुद्धि हामीसँग छन्। यस्ता बुद्धिलाई उपायोग गरेर विकट ठाउँमा स्याटलाइटबाट पढाउन सकिन्छ। त्यस्तै, अफलाइनका सामग्री उत्पादन गरेर दुर्गममा सेन्टर बनाएर पढाउन सकिन्छ।सबै विद्यार्थीलाई एकैचोटि लक्ष्य गर्न उपलब्ध साधन अनलाइन, अफलाइन, रेडियो, टेलिभिजन र टेलिफोन सबैबाट एकैचोटि दिनुपर्छ।’

शिक्षकहरूमा अनलाइन शिक्षालाई लिएर उत्सुकता रहेकोकोइरालाले बताए। ‘तर, कसरी पढाउने भन्नेबारे उनीहरूले तरिका जानेका छैनन्,’ उनले भने, ‘अनलाइन कक्षामा पनि शिक्षकहरू सामान्य कक्षाकोठामा जस्तै घण्टौँ कराएर पढाइरहेका छन्। त्यहाँ न विद्यार्थीले बोल्न पाएका छन्, न उनीहरूले छलफल नै गर्न पाएका छन्।’ आगामी दिनमा शिक्षक पछिपछि र विद्यार्थी अघिअघि हुने उनले बताए। ‘अबका शिक्षक गाई गोठालाजस्तै हुन्,’ उनले भने, ‘चराउन लैजाँदा गोठालोले गाईलाई घाँस पेटभरि कोच्न सक्दैन। उसको काम ठाउँमा लगेर छाडिदिने हो। पठनपाठनमा यो सिद्धान्त प्रयोग गर्न कक्षाकोठा होस् वा अनलाइन, शिक्षकको भूमिका परिवर्तन गर्नुपर्छ।’

जुम र भाइबर अनलाइन क्लास होइनन्

काठमाडौँ, काँडाघारीस्थित अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराईले वैशाखको पहिलो सातादेखि नै अनलाइन कक्षा सञ्चालन गर्दै आइरहेकी छिन्। ‘हामीले पहिला पनि गुगल क्लासरुम र अनलाइन शिक्षण गर्दै आएकाले खासै गाह्रो भएको छैन,’ उनले भनिन्, ‘पेपरलेस पढाइ गर्ने भनेर हामी पहिलादेखि नै डिजिटल्ली गएका थियौँ। शिक्षकहरूलाई अनलाइन टे«निङ पनि दिइरहेका थियौँ।’

स्कुलले सञ्चालन गरेको अनलाइन शिक्षणमा विद्यार्थी र अभिभावकको राम्रो सहभागिता भएको उनले पाएकी छिन्। ‘अभिभावकलाई केही अप्ठ्यारो भएकाले उनीहरूलाई पनि वर्कसपको व्यवस्था गरेका छाँै,’ भट्टराईले भनिन्, ‘हाम्रा ७० प्रतिशत अभिभावक आईटी साक्षर छन् भने ३० प्रतिशतलाई हामीले वर्कसप दिइरहेका छाँै।’

कतिपय स्कुलले‘जुम’ र ‘भाइबर’को प्रयोग गरेर अनलाइन क्लास चलाइरहेकोमा प्रिन्सिपल भट्टराई असन्तुष्ट छिन्। ‘खासमा जुम र भाइबर चलाउँदैमा त्यसलाई अनलाइन कक्षा भन्न मिल्दैन,’ उनले भनिन्,‘अनलाइन क्लासका लागि सम्पूर्ण रूपमा भर्चुअल प्लेटफर्म प्रयोग गरेर बालबालिकालाई ‘फेस टू फेस’ तरिकाले सिकाउनुपर्छ। हामीले ‘स्कुल फ्रम होम’ भनेर बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म त्यसरी नै पढाइरहेका छौँ।’

प्रिन्सिपल भट्टराई नेपालमा अनलाइन शिक्षा सम्भव हुने मत राख्छिन्। ‘अमेरिकाको बच्चाले इन्टरनेटबाट पढ्न र सिक्न सक्छ भने हाम्रा बच्चाले किन सक्दैनन् ?’ उनी आशावादी छिन्, ‘यस अवस्थामा केही पनि नगरी बस्नुभन्दा केही गर्नु जाती हो। यो बेला हरेक स्कुल सञ्चालकले शिक्षकको ऊर्जा र सिर्जनशीलतालाई कसरी प्रयोग गर्ने भनेर सोच्नुपर्छ। घरमा बसेका शिक्षकलाई अल्छी बनाउनु हुँदैन। नत्र पछि लामो समयपछि स्कुल खुल्दा उनीहरूलाई काममा फर्किन समय लाग्छ।’ नयाँ प्लेटफर्मबाट पठनपाठन गर्दा अभिभावक र विद्यार्थी मात्र होइन,शिक्षक पनि स्मार्ट हुँदै गइरहेको उनको अनुभव छ। ‘धेरै विद्यार्थी र शिक्षकले हिजोका दिनमा ग्याजेट भनेको गेम खेल्ने कुरा मात्रै हो भनेर बुझेका थिए,’ उनले भनिन्, ‘तर, अनलाइन कक्षा सुरु गरिसकेपछि उनीहरूले यसबाट पनि धेरै कुरा सिक्न सकिने रहेछ भन्ने बुझेका छन्।’

सन् २०११ देखि ‘अनलाइन एन्ड डिस्ट्यान्स लर्निङ’को क्षेत्रमा काम गरिरहेका निर्जन दहाल अक्षरा स्कुलमा ८, ९ र १० कक्षामा गणित पढाउँछन्। अहिले उनी अनलाइनबाट विद्यार्थीलाई क्लास लिन्छन्। अनलाइन कक्षामा उनी पहिला कुन पाठ पढाउने, त्यसबारे जानकारी दिन्छन्। त्यसबारे छलफल गर्छन्। ‘कक्षाकोठामा आफू केन्द्रमा बसेर शिक्षण गराउने भएपनि अनलाइनमा विद्यार्थीलाई केन्द्रमा राखेर पढाउँछु,’ उनले भने,‘उनीहरूलाई धेरै बोल्न र प्रश्न गर्न दिन्छु।’

केही शिक्षकलाई अनलाइन शिक्षणबारे थाहा भएपनि धेरै शिक्षकमा जग बनिनसकेको उनले बताए। ‘यसका लागि शिक्षकलाई तयार बनाउने कार्यक्रम कम छन्,’ दहालले भने, ‘अनलाइन क्लासमा छिरेपछि पहिलो चरणमा के गर्ने, दोस्रो चरणमा के गर्ने, विद्यार्थीको ध्यान कसरी केन्द्रित गराउने भन्ने खालका आइडिया शिक्षकमा छैन।’

लामो समयदेखि अनलाइन शिक्षाको क्षेत्रमा काम गरिरहेका उनले अहिले कास्की, इलाम, धनगढीलगायत १७वटा जिल्लाका शिक्षकलाई अनलाइनमा कसरी पढाउने भनेर कक्षा दिन्छन्। ‘मसँग सम्पर्कमा आएका कतिपय शिक्षकको त इमेल आईडी नै छैन,’ उनले भने, ‘अनलाइनबाट पढाउने कुरा धेरैलाई हाउगुजी लागेको छ। कसरी पढाउने, कुन टेक्नोलोजी प्रयोग गर्ने भन्ने कुरामै उनीहरू अलमल परेका छन्। तर, सिक्ने कुरामा सबै इच्छुक छन्।’

भक्तपुर, गट्ठाघरस्थित सिद्धार्थ विद्यापीठकी प्रिन्सिपल दीपिका रिमालले पनि आफ्नो स्कुलमा अनलाइन कक्षा सुरु गरिसकिन्। ‘सुरुमा १० देखि १५ प्रतिशत विद्यार्थीले सहभागिता जनाए पनि अहिले विद्यार्थीको संख्या दिन प्रतिदिन बढ्दो छ,’ उनले भनिन्, ‘अनलाइन कक्षा हुने भनेर हामीले अभिभावकलाई जानकारी गराएपछि उनीहरूले चासो देखाउन थालेका छन्। हामीले जुम, गुगल क्लासरुम र भाइबरबाट पढाइरहेका छाँै। किताब पनि सफ्ट कपीमा मगाएका छौँ।’ बिदाको बेलामा विद्यार्थीको ध्यान अन्यत्र नजाओस् भन्नका लागि स्कुलले अनलाइन कक्षा सञ्चालन गरेका उनले बताइन्। ‘अनलाइन कक्षामा विद्यार्थीले साथी भेट्न पाउँछन्, शिक्षकसँग कुराकानी गर्न पाउछन्,’ उनले भनिन्, ‘विद्यार्थीलेकेही वर्षपहिलेमहाभूकम्प भोगे, अहिले कोरोनाको महामारीझेलिरहेका छन्। त्यसैले मानसिक रूपमा उनीहरूलाई तगडा राख्नका लागि भए पनि केही न केहीमा व्यस्त राख्नु जरुरी छ।’

अनलाइन कक्षामा अधिक अन्तरक्रिया

भक्तपुर, दधिकोटस्थित अरनिको माध्यमिक विद्यालयका शिक्षक महेन्द्र श्रेष्ठ केही समयदेखि ११ र १२ कक्षाका विद्यार्थीलाई अनलाइनबाट अंग्रेजी विषय पढाइरहेका छन्। कक्षाकोठा र अनलाइनमा पढाउँदा उनले निकै फरक महसुस गरेका छन्। ‘कक्षाकोठामा भन्दा अनलाइन कक्षामा विद्यार्थी रमाइरहेका छन्,’ उनले भने,  ‘एकपटक अनलाइनमा जोडिएका विद्यार्थी डाटा किनीकिनी भएपनि सहभागी भइरहेका छन्। हाम्रोजस्तो देशमा मुख्य कक्षाको आधार अनलाइनलाई मान्न सकिँदैन। तर, पहुँच पु¥याउन सकेमा यस्तो परिस्थितिमा अनलाइन शिक्षण एकदमै प्रभावकारी हुने देखिन्छ।’

दीपेश घिमिरे अरनिको विद्यालयमा ११ कक्षामा पढ्छन्। चार वटा विषयमा अहिले अनलाइन कक्षा लिइरहेका छन्। विद्यार्थी र शिक्षकमा हुनुपर्ने अन्तरक्रिया कक्षाकोठामा भन्दा अनलाइन कक्षामा राम्रोसँग हुने उनले अनुभव गरे। ‘क्लासमा पढाउँदा हल्ला हुन्छ, अनलाइनबाट पढाउँदा हल्ला हुँदैन,’ उनले भने, ‘लकडाउनको बेलामा घरमा यत्तिकै बस्नुभन्दा अनलाइन कक्षा लिँदा समयको सदुपयोग भएको छ। हामीले नयाँ कुरा जान्न पाएका छाँै।’

दीपेशका अनुसार कक्षाकोठाभन्दा अनलाइन कक्षाले विद्यार्थीको ध्यान तानिरहेको छ। ‘क्लासरुममा कोही विद्यार्थी अगाडि हुन्छन्, कोही पछाडि,’ उनले भने, ‘बोर्डमा कम ध्यान जान सक्छ। तर, अनलाइनमा स्क्रिन आफ्नै अगाडि हुन्छ। कक्षामा कसैले बोलाइदेला, चलाइदेला भन्ने हुँदैन।’ बिदामा गाँउ गएका साथीहरू भने यसबाट वञ्चित भएको उनले बताए। ‘हाम्रोमा २० देखि २५ प्रतिशत विद्यार्थी मात्र सहभागी छन्,’ उनले भने, ‘अनि सानो कक्षाका लागि भने अनलाइन शिक्षा खासै प्रभावकारी छैन।’ कक्षा १ मा पढ्ने उनका भाइ रूपेशको पनि अनलाइन कक्षा हुन्छ। ‘बच्चाहरूका लागि भने एकजना अभिभावकले अगाडि बसेर गाइड गर्नुपर्छ,’ उनले भने, ‘सबैका अभिभावक छोराछोरीलाई गाइड गर्न सक्ने हुँदैनन्।’

अनलाइन कक्षाविकल्प मात्रै हो

न्यू मिडिया अभियन्ता प्रवेश सुवेदीले अनलाइन शिक्षणलाई समाधान नभईविकल्पका रूपमा लिनुपर्ने बताए। ‘अनलाइन शिक्षणलाई मुख्य विकल्प नहुँदा दोस्रो विकल्पका रूपमा प्रयोग गर्नुपर्छ,’ उनले भने।

उनका अनुसार संसारभरिको अभ्यासमा अनलाइन शिक्षणलाई सबैले विकल्पका रूपमा प्रयोगगरिरहेका छन्। ‘कोसिसका हिसाबले हाम्रोमा पनि यसलाई ठीकै मान्न सकिन्छ,’ सुवेदीले भने, ‘तर, हाम्रो र विकसित देशको परिस्थिति एउटै छैन। अनलाइन शिक्षाका लागि पहिलो पूर्वाधार इन्टरनेट हो।’ सरकारी तथ्यांकअनुसार इन्टरनेट चलाउनेमध्ये २३ प्रतिशतमात्र घरमा तार जोडेर इन्टरनेट प्रयोग गर्ने(डेडिकेटेड इन्टरनेट युजर) भएको उनले बताए। बाँकी७७ प्रतिशतले मोबाइलबाटै इन्टरनेट चलाउने गरेका छन्। ‘हाम्रोमा मोबाइल इन्टरनेट शुल्क एकदमै महँगो छ,’ उनले भने, ‘त्यसैले महँगो इन्टरनेट सेवाबाट महँगो अनलाइन कोर्स लिन धेरै अभिभावक र विद्यार्थी हिचकिचाउने गरेका छन्।’ त्यसै गरी, अनलाइन शिक्षाका लागि प्रयोग गर्ने साधन अर्को चुनौती रहेको उनले बताए। ‘ल्यापटप र कम्प्युटरबाट इन्टरनेट चलाउन जति सजिलो हुन्छ,मोबाइलबाट त्यति सजिलो हुँदैन,’ उनले भने, ‘मोबाइलबाट सबै प्लेटफर्ममा आबद्ध हुन पनि सकिँदैन। सानो डिभाइसमा विद्यार्थीको ध्यान राम्ररी केन्द्रित हुन सक्दैन।सञ्चारका लागि सामाजिक सञ्जाल चलाउन मोबाइल ठीक छ। तर, एउटा डेडिकेटेड क्लासरुम सञ्चालनका लागि त्यो पर्याप्त छैन।’

पाठ्यक्रम चर्काे चुनौती भएको सुवेदीको भनाइ छ। ‘कक्षाकोठाका लागि छापिएका पाठ्यक्रम र शिक्षण सामग्री अनलाइनका लागि उपयोगी नहुन सक्छन्,’ उनले भने, ‘अनलाइनमा पढाउनका लागि त्यही अनुसारको पाठ्यक्रम र शैक्षिक सामग्री निर्माण गर्नुपर्छ।’

मनोविद् गोपाल ढकालले अनलाइन कक्षाले विद्यार्थीलाई साथीभाइसँग घुलमिल गराउने भएकाले यसले फाइदा गर्ने बताए। लामो समय विद्यालय बिदा भएको विद्यार्थीलाई कुनै न कुनै कुरामा ‘इन्गेज्ड’ गराउनुपर्ने आवश्यकता उनले देखेका छन्। ढकालका अनुसार विद्यार्थीहरू परिवारभन्दा साथीभाइसँग बढी घुलमिल हुने खालका हुन्छन्। यस्तो बेलामा आफ्ना भावना साथीसँग साट्न नपाउँदा चिन्तित हुन्छन्। ‘अनलाइन क्लासले उनीहरूलाई साथीसँग भेट्ने मौका जुराउँछ,’ मनोविद् ढकालले भने, ‘राम्रोसँग प्रयोग गर्न सक्यो भने यसले फाइदै गर्छ। लामो ग्यापका कारण पढ्न मन नलाग्ने, ग्याजेटमा मात्रै झुण्डिनेजस्ता नराम्रा बानीलाई अनलाइन कक्षाले नियन्त्रण गर्छ।’

पहुँचको कुरा महŒवपूर्ण हुने मनोविद् ढकालको विचार छ। ‘इन्टरनेट र प्रविधिमा पहुँच नभएका विद्यार्थी र अभिभावकका निम्ति अनलाइन कक्षा आकाशको फल हो,’ उनले भने।


‘शिक्षकलाई निदाएर बस्न दिनु भएन’

विद्यानाथ कोइराला, शिक्षाविद्

हामीहरूको बुद्धि भेडाको जस्तो छ। एउटा भेडो जता जान्छ, अरू सबै त्यतैतिर जान्छन्। अहिले एउटाले अनलाइनबाट कक्षा लिने भन्नेबित्तिकै सबै अनलाइनमा गइरहेका छन्। अधिकांश विपन्न केटाकेटीलाई इन्टरनेट त टाढाको कुरा, रेडियो र टेलिभिजनको समेत सुविधा हुँदैन। त्यस्ता विद्यार्थीका लागि छुट्टै किसिमको प्याकेज बनाउनुपर्छ। त्यसको जिम्मा शिक्षकलाई दिनुपर्छ। उनीहरूले टेलिफोनबाट वा १० देखि १५ वटा घरका विद्यार्थीको जिम्मा लिएर आलोपालो गर्दै घरमा गएर पढाउन सक्छन्। शिक्षकले उपलब्ध शिक्षण सामग्रीलाई जम्मा गरेर र अपुग सामग्री बनाएर पढाउनतिर लाग्नुपर्ने हो। तर, विडम्बना, अहिले शिक्षक निदाएर बसेका छन्। त्यस्ता निदाएर बसेका शिक्षकलाई सम्बन्धित निकायले ब्युँझाउनुप¥यो।

अहिले ८४ लाख विद्यार्थी घरभित्र छन्। त्यसमा १९ लाख एसईई र ११–१२ का विद्यार्थी छन्। त्यसैले उनीहरूलाई सक्रिय बनाउन जे उपलब्ध छ, त्यसैबाट पढाउने र सिकाउने कामको थालनी गर्नुपर्छ। दैलेखमा रेडियोबाट पढाउने अभ्यास भइरहेको छ। टेलिभिजन अर्को तरिका हो। त्यसका लागि पनि पठनपाठन सामग्री बनाउनुपर्छ। त्यस्तै, टेलिफोनमा हामीले जतिबेला फोन उठाउँदा किन कोरोना यसरी लाग्छ भनेर मात्र सुन्ने ? अरू सुन्न मिल्दैन ? त्यसमा पढाइका कुरा, सिकाइका कुरा सुन्न मिल्दैन ?

बालबालिकाले एउटा फोटो मात्रै खिचे भने पनि शिक्षकले त्यो विषयमा विद्यार्थीसँग छलफल गर्न सक्छन्। हामीकहाँ अर्काको मुख ताक्ने बानी छ। नत्र यस्तो बेलामा कोर्सको किताब नै पढाउनुपर्छ भन्ने पनि छैन। जिन्दगीको अनुभव गराए पनि हुन्छ। घरैभित्र बालबालिकालाई अनुसन्धानमा लगाउन पनि सकिन्छ। प्रेसरकुकरमा पकाउँदा भात किन छिटो पाक्छ ? कसौडीमा पकाउँदा किन ढिलो पाक्छ ? भनेर प्रश्न खडा गरिदिने हो भने त्यही विद्यार्थीहरूको सिकाइ हुन्छ। तर, यस्तो सिर्जनशील चिन्तन शिक्षक र प्रधानाध्यापकलाई कसरी र कसले हाल्ने ?

धेरै अभिभावकले ‘आफैँ अशिक्षित छौँ, केटाकेटीलाई घरमा कसरी पढाउने?’ भनेर गुनासो गरेको पाइन्छ। गाई चराउन जाँदा ‘गोठालो गएको बारे लेखेर राख, स्कुल खुलेपछि शिक्षकलाई देखाउनू’ भन्नका लागि कुनै डिग्री जरुरी हुँदैन। भूगोल, प्रविधि, सिक्ने शैली, सिकाउने मानिसको तागतले विद्यार्थी–विद्यार्थीबीच खाडल बनाउँछ। यो अवस्थामा हामीले खाडल खन्नतिर होइन, त्यसमाथि पुल हाल्नतिर लाग्नुपर्छ।

अहिले कोरोनाका कारणले हामीले शिक्षणका लागि प्रयोगमा ल्याउने इन्टरनेट, टेलिभिजन, रेडियो र मोबाइल भोलिका दिनमा ठूलो सम्पत्ति हुन सक्छन्। भोलिका दिनमा यसले कमजोरभन्दा कमजोर विद्यार्थीलाई पनि उकास्न सक्छ। पछि तिनलाई हामीले परिपूरक सामग्रीका रूपमा प्रयोग गर्न सक्छौँ। यस्ता सामग्रीको उचित प्रयोग गर्न सकियो भने भोलि विद्यार्थी त्यस्ता माध्यमबाट पढ्छन् र स्कुल छलफल गर्नका लागि मात्रै जान्छन्।


‘अनलाइन शिक्षा फेसन बनेको छ’

अभिषेक घिमिरे, संयोजक, बृहत् राष्ट्रिय शिक्षा अभियान

अनलाइन शिक्षण सबैका लागि होइन। विश्वमा प्राविधिक क्रान्ति गरेका मुलुकले पनि पूर्ण रूपमा यसलाई अवलम्बन गर्न नसकेर सामाजिक दूरीसहित विद्यालय सञ्चालन गर्न थालेको समाचार आउन थालेका छन्। नेपालमा मोबाइल तथा इन्टरनेट प्रयोगकर्ताको संख्या पछिल्लो समयमा ह्वात्तै बढेको भएपनि इन्टरनेट सेवा महँगो र अस्थिर छ। सबै स्थानमा र बालबालिकाको पहुँचमा नभएकाले औपचारिक सिकाइकै लागि भने यो त्यति भरपर्दो छैन।

अनलाइन कक्षा अहिले फेसनजस्तै बनेको छ। धेरै विद्यालयले यसलाई देखासिकीका रूपमा प्रयोग गरेजस्तो देखिन्छ। तर, यसलाई नकारात्मक भन्न मिल्दैन। यो समयमा उनीहरूले जे सक्छन्, जे जानेका छन्, त्यही गरेका छन्। यसले सबैलाई एक किसिमको ऊर्जा र उत्साह दिएको छ। विद्यालयसँग अभिभावक र विद्यार्थी जोडिएका छन्। सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट आउन सक्ने नकारात्मक प्रवाहलाई कम गर्न र केही मात्रामा भएपनि सिर्जनात्मक हुन विद्यार्थीलाई प्रोत्साहन गरेको छ। हिजो कम्प्युटर खोल्न नसक्ने शिक्षक आज भिडियो कन्फरेन्समा सहभागी हुन थालेको देखिन्छ। शिक्षण सिकाइमा डिजिटल क्रान्तिको सुरुवात भएको छ। शिक्षक र विद्यार्थीलाई प्रविधिमैत्री बन्न सहयोग पुगेको छ।

सबै विद्यार्थीको पहुँचमा नभएकाले अहिले स्थानीय सरकार तथा विद्यालयले मिलेर विद्यार्थीलाई उनीहरूसँग भएका स्रोत र साधनका आधारमा वर्गीकरण गर्नुपर्छ। सोही वर्गीकरणका आधारमा विभिन्न मोडल बनाएर शिक्षण सिकाइ गतिविधि सञ्चालन गरिनुपर्छ। स्थानीय तथा प्रदेश सरकारको पहलमा रेडियो, टेलिभिजन, टेलिफोन, मोबाइलमार्फत राहत कक्षा सञ्चालन गर्न सकिन्छ। तर, यो समय औपचारिक पाठ्यक्रम वा कोर्स नपढाई विद्यार्थीको सामाजिक विकासलगायत पक्षमा बढी पहल गर्नुपर्छ। विद्यार्थीले किताबी ज्ञानलाई व्यावहारिक रूपमा प्रयोग गर्ने अवसरका रूपमा लकडाउनलाई लिनुपर्छ। विद्यालय र शिक्षकले शिक्षण सिकाइ पद्धतिमा रूपान्तरण गर्ने अवसरका रूपमा यसलाई लिनुपर्छ।

तपाईको कमेन्ट