‘प्रलयको हल्लाबीच बिहे गरियो’

writer

सृजना खड्का

आइतबार, २७ फागुन २०७४


बिहे हुँदा म १५ वर्षको थिएँ, सरला १२ वर्षकी थिइन्। एक हिसाबले हाम्रो बालविवाह भएको थियो। हाम्रो पुख्र्यौली घर धनकुटा हो। तर, हामी धरानमा बस्थ्यौं। म धरानको पब्लिक हाई स्कुलमा १० कक्षामा पढ्थेँ। २०१८ सालको माघ महिनामा ‘ठूलो प्रलय आउँछ, कोही पनि बाँच्दैन’ भनेर निकै हल्ला फैलिएको थियो। त्यतिखेर म एसएलसी परीक्षाको तयारीमा थिएँ। जसोतसो जाँच दिएँ।

 

जाँच सकिनेबित्तिकै मेरो बिहेको कुरा चल्न थाल्यो। एक दिन हजुरबुबाले ‘अब हामी बुढाबुढी भयौं। काशी बास जान्छौं। फर्कन्छौँ/फर्कन्नौँ। तेरो बिहे गरिदिएर जान पाए हुन्थ्यो’ भन्नुभयो। म हजुरबुबाको सबैभन्दा प्यारो नाति थिएँ। मेरो नाम भोला पनि उहाँले नै राखिदिनुभएको थियो। मैले ‘बा, भर्खर त एसएलसी दिएँ।

 

रिजल्ट नै आएको छैन। अहिले नै कहाँ बिहे गर्ने ? ’ भने। तर, हाम्रो घरमा हजुरबुबाको इच्छा कसैले टार्न सक्दैनथे। एक दिन काइँलो काकाले ‘तेरो बिहेको कुरा पक्का गरेर आएँ, बाले असाध्यै कर गर्नुभयो’ भन्नुभयो। हजुरबुबाको कुरामा नाइँनास्ति गर्न सक्ने हिम्मत ममा थिएन।

 

त्यसको केही दिनमा एकजना पुरोहित र काइँलो काकाले ‘केटी हेर्न जाऊँ हिँड्’ भन्नुभयो। ‘तपाईंहरूले कुरा पक्का नै गरिसक्नुभयो अब मैले के हेर्नु ? ’ भने। हाम्रो घर धरानको पुरानो बजार। त्यसको केही पर नयाँ बजार भन्ने ठाउँ थियो। जहाँ अग्निधर घिमिरेको घर थियो। उहाँको काइँलो छोरा खगेन्द्र र म एउटै कक्षामा पढ्थ्यो। कुरा बुझ्दै जाँदा अग्निधर मेरा हुनेवाला ससुरा र खगेन्द्र जेठान हुनुहुँदो रैछ। उहाँको घरमा म कहिलेकाहीँ जान्थें। तर, सरलालाई भने देखेको थिइनँ।

बिहेमा दाजुभाइ खलकका मान्छे गरी सय जनाजति जन्ती थिए। त्यतिबेला जन्तेबाख्रो खाने चलन थियो। बिहेको भोज ठ्याक्कै अहिलेको पिकनिक जस्तै हुन्थ्यो।

एक दिन खगेन्द्र मेरो जुत्ता र कोटको नाप लिन भनेर बोलाउन आउनुभयो। उहाँहरूसँग जाने इच्छा थिएन। तर, ‘गइनँ भने हजुरबुबाले चित्त दुखाउनुहुन्छ कि’ भनेर कोटको नाप दिन भनेको ठाउँमा गएँ र उहाँहरूलाई जुत्ताको साइज पनि भएँ। हुनेवाला जेठानले ‘एक पटक घर जाऊँ, हाम्री बहिनी कस्ती छिन् हेर्नुस् न’ अप्रत्यक्ष रूपमा भन्नुभयो। कुरा पक्का भइसकेकाले जान मनै लागेन। किनकि, अब जानु र नजानुको कुनै अर्थ थिएन, मैले नाइँ भन्न मिल्ने ठाउँ पनि थिएन।

 

२०१९ साल असार ४ गते बिहेको मिति तय भयो। धरानको चतरा लाइनमा बिहे गर्ने कुरा भयो। त्यो दिन बिहानै मेरो मनमा एउटा उट्पट्याङ सोच आयो ‘जग्गेमा केटी हेर्छु, मन परेन भने त्यहीबाट भाग्छु’। स्कुलमा हुँदा म अलराउन्डर थिएँ। गीत गाउँथेँ, कविता भन्थेँ, खेलकुदमा पनि त्यति नै रुचि राख्थेँ। त्यसैले जहाँ गए पनि आफ्नो पेट पाल्न सक्छु भन्ने लाथ्यो।

 

बिहेको दिन मनमा हर्ष–उल्लास केही थिएन। पहिला स्वयंवर भयो। स्वयंवरमा मैले सरलालाई देखेँ। उनी एकदमै ‘इनोसेन्ट’ लागिन्। हेर्नेबित्तिकै माया बस्यो। निकै राम्री लागिन्। मनमा भएको उट्पट्याङ विचार यसै हरायो। त्यो बेला बिहेको प्रक्रिया निकै लामो हुन्थ्यो। हाम्रो स्वयंवर दिउँसो ३/४ बजेतिर भएको थियो। बेलुका ७ बजेबाट मात्रै बिहेको सुरसार भयो। बिहे सक्किँदा बिहानको ३ बजिसकेको थियो।

Dr-bhola-rijal

हाम्रो पालामा अधिकांश दुलाहादुलहीले एकअर्कालाई देखेकै हुँदैनथे। धेरैको मागी विवाह हुन्थ्यो। एउटा परिवारले अर्को परिवारलाई चिनेका हुँदैनथे। बिहेको दिन दुलाहादुलहीलाई सुपारी खेलाउने, उचालेर ठाउँ सार्ने, दही चटाउने जस्ता क्रियाकलाप हुन्थे। त्यसकै मार्फत दुलाहादुलही एकअर्कासँग घुलमिल हुन्थेँ।

 

बिहेमा हाम्रा दाजुभाइ खलकका मान्छे गरी सय जनाजति जन्ती थिए। त्यतिबेला जन्तेबाख्रो खाने चलन थियो। बिहेको भोज ठ्याक्कै अहिलेको पिकनिक जस्तै हुन्थ्यो। केही व्यक्तिलाई थालमा र अन्यलाई सालको टपरीमा राखेर खुवाइन्थ्यो। त्यो बेलामा एउटा खसी १४ रुपैयाँमा आउँथ्यो। सात रुपैयाँमा एक मन (४० केजी) धान पाइन्थ्यो। पाँच रुपैयाँमा एक डोको सुन्तला आउँथ्यो। जसमा पाँच सय दाना सुन्तला हुन्थे। सुन दुई सय रुपैयाँ तोला थियो। लगभग दुई हजार रुपैयाँमा बिहे उतारियो।

 

बिहेका दिन ससुरा एकदमै चिन्तित हुनुहुन्थ्यो। उहाँलाई कान्छी छोरीको बिहे सानै उमेरमा हुन लाग्यो भन्ने पिर परेको रहेछ। भनेको टार्न नसकेर मात्र छोरी दिनुभएको रहेछ। बिहे सकियो। सरलालाई लिएर जाने बेला भयो। त्यो बेलासम्म हामी एकअर्कासँग बोलका थिएनौँ। उनी गाडीको झ्यालपट्टि बसेकी थिइन्। कसैले उनी बसेको झ्यालको सिसा ड्याम्म लगाउन खोज्यो। त्यो झ्यालले उनको हात च्याप्ला भनेर मैले हत्तपत्त उनलाई तानेँ। देख्नेहरूले ‘लौ न भोलाले कति माया गरेको’ भनेर जिस्काएका थिए।

सात रुपैयाँमा एक मन (४० केजी) धान पाइन्थ्यो। पाँच रुपैयाँमा एक डोको सुन्तला आउँथ्यो। जसमा पाँच सय दाना सुन्तला हुन्थे। सुन दुई सय रुपैयाँ तोला थियो। लगभग दुई हजार रुपैयाँमा बिहे उतारियो।

म लाजले भुतुक्कै भएको थिएँ।बिहे गरेको तीन/चार महिनापछि म आईएस्सी पढ्न बनारस गएँ। विराटनगरमा साइन्सको पढाइ राम्रो छैन भनेर हजुरबुबाले त्यता बोलाउनुभएको थियो। त्यसपछि एमबीबीएसका लागि पाकिस्तान गएँ। पढ्न जाने बेलामा सरलाले कहिल्यै रोकटोक गरिनन्। १२ वर्षको उमेरमा बिहे भएको केटीले श्रीमानई बाहिर पढ्न जान प्रोत्साहन गर्नु भनेको सानो कुरा थिएन।

 

रिजाल परिवार निकै ठूलो थियो। त्यो परिवारमा व्यवहार गर्न/खप्न जो पाए त्यसले सक्दैनथ्यो। त्यो बेला फोनको जमाना थिएन। चिठीबाटै मनको कुरा पोखिन्थ्यो। तर, उनले चिठीमा कहिल्यै घरमा खेपेको दुःख र घरको बुहार्तन पठाइनन्। आज म जे छु, त्यसको श्रेय उनैलाई दिन चाहन्छु। हाम्रो बिहे भएको ५६ वर्ष भयो। छ वर्षअघि हामीले ५० अौं वर्षगाँठ धूमधामसँग मनायौं। दुवैजनामा भएको सकारात्मक सोच, समझदारी र सहयोग नै हाम्रो सफल वैवाहिक जीवनको रहस्य हो।

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि