यो पाराले भाइरससँग लडिँदैन

सम्पूर्ण
बुधबार, २४ बैशाख २०७७
कोरोनो भाइरस (कोभिड–१९) विरुद्ध लड्न लगाइएको लकडाउनमा सत्तारूढ दलका नेतानैएकापसमा लडिरहेको दृश्य देखेर जनता लजाइरहेका छन्। कोरोनासँग जोगिएर जनजीवनलाई पुरानै लयमा फर्काउन गर्नुपर्ने कठोर यत्न बाँकी नै छ। लकडाउनमा अलपत्र परेका मजदुर र विपन्न वर्गलाई कसरी मद्दत गर्ने भन्नेमा सरकारको ध्यान गएकै छैन। सरकारले सजिलै लकडाउन त गर्यो, तर लकडाउनका बेला गर्नुपर्ने काम प्रभावकारी ढंगले गर्न नसक्दा कोभिड–१९को संक्रमणका नयाँ नयाँ ‘हटस्पट’ देखापरिरहेका छन्। यस्तो बेलामा सत्तारूढ दलका नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाखुरा सुर्केर एकअर्कालाई सिध्याउने खेलमा सहभागी भएको घटनाको जति भत्र्सना गरेपनि कम हुन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका विवादास्पद कदमका कारण संक्रमित भएको सत्ता राजनीतिको संकट तत्कालकालागि टरेको छ। तर, गत दुई हप्ता सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र गुटगत खिचातानीका जेजस्ता दृश्य देखिए, त्यसले लकडाउनको शान्त वातावरणमा ठूलो खैलाबैला मच्चाएको छ।प्रधानमन्त्री ओलीले आत्मालोचना गरेपछि साम्य भएको भनिएको सत्तारूढ दलभित्रको घरझगडाका नयाँ ‘केस’ देखिन बाँकी नै छन्। त्यसकालागिअहिलेपनि गुटगत छलफल जारी रहेका खबर आइरहेका छन्।
गुटगत समीकरण फेरबदलपछि साम्य भएको भनिएको पार्टीभित्रको रगडा फेरि कुनै न कुनै निहुँमा ब्युँतिने सम्भावना ज्युँकात्युँ छ। ‘पार्टीका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’को चोचोमोचो मिलेरमात्र पार्टीभित्रको सन्तुलन कायम नरहने’ भन्दै वरिष्ठ नेता माधवकुमार नेपाललेअहिले टरेको संकट अस्थायी भएको संकेत गरेका छन्। प्रधानमन्त्री ओलीले पार्टीको सरसल्लाहमा सरकार चलाउने, एकलौटी निर्णय नगर्नेदेखि निर्वाचन हारेका उपाध्यक्ष वामदेव गौतमलाई संघीय संसद्मा निर्वाचन गराएर ल्याउने र प्रधानमन्त्री बनाउनेसम्मका योजनाका साथ टरेको संकटले आगामी दिनमा थप नयाँ के–के संकट ल्याउने हुन्, हेर्न बाँकी नै छ। पार्टीभित्रको झगडा स्थगन भएपछि स्थायी कमिटी सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘बडो तनाव थियो, अब कोरोना नियन्त्रणमा फोकस दिन पाइने भो’ भनेका थिए। नेताहरूलाई यो बेला गुटगत झैझगडा, प्रधानमन्त्री फेरबदल तथा पार्टी विभाजनसम्मका हर्कत गर्ने होइन भन्ने पक्कैपनि बुझेका छन्। तर, उनीहरूबाटै यस्ता गतिविधि हुनुले उनीहरू देश र जनताप्रति अलिकतिपनि जिम्मेवार छैनन् भन्ने पुष्टि हुन्छ।
डेढ महिनासम्म देशलाई ठप्प पारेर गरिएको लकडाउनमा कोभिड–१९ को संक्रमण फैलिन नदिन र संक्रमण देखिएका ठाउँमा प्रभावकारी उपचार व्यवस्था गर्न सरकारले के–के गर्यो, सोधखोज गर्ने बेला भएको छ। आम मानिसको दैनिक गुजारा चल्नै नसक्ने स्थितिमा पुगिसकेपछि पनि अब थप कतिदिन लकडाउने गर्ने हो ?लकडाउन कुन रूपमा र कसरी हटाउँदै जाने भन्ने विषयमा सरकारको तयारी भरपर्दो देखिएको छैन। चिकित्सक तथा विज्ञहरू डेढ महिना लकडाउन गर्दापनि कोभिड–१९ फैलिन नदिन अस्पताल, जनशक्ति, चिकित्सा सामग्री, संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ लगायत महत्त्वपूर्ण क्षेत्रमा दह्रो तयारी नभएको बताइरहेका छन्। १४ देखि २१ दिनको क्वारेन्टिन अवधिमा नयाँ केस देखिनुपर्ने हो। तर, नेपालमा संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न नसकिएकाले विभिन्न स्थानमा कोरोनाका नयाँ केस देखिएको भन्दै चिकित्सकले चिन्ता व्यक्त गरिरहेका छन्। नेपालगञ्जमा कन्ट्याक्ट ट्रेसिङमा पर्याप्त ध्यान दिननसक्दा संक्रमण फैलिएको चिकित्सकले बताएका छन्। अहिलेकै अवस्थामा लकडाउन खुकुलो बनाउँदा स्थिति भयावह हुन सक्ने भन्दै विज्ञहरू चिन्तित छन्। तर, चिकित्सक, विज्ञ, सर्वसाधारणमा कोरोना भाइरसलाई लिएर जुन चिन्ता छ, नेतृत्व तहलाई छैन भन्न सकिन्छ। उनीहरू पार्टीको सचिवालय बैठक, त्यसपछि स्थायी समितिको बैठक कहिले र कसरी गर्ने, त्यसमा आफू र आफ्नो गुटको ‘पोजिसन’ कसरी बलियो बनाउने भन्ने धुनमा लागेको देखिन्छ। यतिबेला पार्टीका आन्तरिक काम थाती राखेर कोरोना नियन्त्रणमा नेताहरूको ध्यान जानुपर्ने हो। छिमेकी देश भारतमा उकालो लागिरहेको संक्रमण–ग्राफ हेरेर सरकारले रातदिनकाम गर्नुपर्ने अवस्था छ। विश्वका शक्तिशाली र धनी देशलाई हावाकावा खेलाएको कोरोना भाइरसले हाम्रो जनजीवनलाई पुर्याउन सक्ने अधिकतम क्षतिको आकलन गरेर त्यसबाट कसरी उम्कने भन्ने विषयमा गम्भीर छलफल हुनुका साथसाथै सरकारले क्षतिबाट उम्कने नीति सार्वजनिक गर्नुपर्ने बेला हो, यो।
भारतमा लकडाउन खुकुलो भएपछि त्यहाँबाट नेपाल भित्रिने तथा वैदेशिक रोजगारीबाट लाखौँको संख्यामा नेपाल आउने नागरिकका बारेमा सरकारले अहिलेदेखि नै सोच्न थालेन भने भाइरसको भय कति समयसम्म रहन्छ, यसै भन्न सकिने अवस्था छैन। कोभिड–१९ विरुद्धको खोप नबन्दासम्म संक्रमणको भय जुनसुकै बेला हुनसक्ने भएकाले हामीले यसबाट जोगिने उपाय अपनाउँदै जनजीवन चलाउन कसरी कार्यक्षेत्रमा खटिने भन्ने निक्र्यौल गर्नुपर्छ।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७ -
नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई
शनिबार, १३ भदौ २०७७