सुदूरमा सम्भावित संकट

writer

शिवराज भट्ट

बुधबार, २४ बैशाख २०७७


भारतबाट स्वदेश फर्किएका नेपालीहरूबाट कोरोना संक्रमण भयावह हुने अनुमान गरिएको थियो। चैत १ गते देखि १० गतेसम्म उर्लिएको नेपालीको भीडले गाउँ–गाउँ कोरोना पुगेको कुराले चर्चा पाउन थालेको थियो। कञ्चनपुरको वेदकोट नगरपालिका र कैलालीको लम्कीचुहा नगरपालिकामा भारतबाटै आएका एक÷एक जनामा कोरोना पोजिटिभ देखिएपछि त सबै आत्तिएका थिए। तर, सुदूरपश्चिममा कोरोनाको पहिलो चरणको खतरा टरेको छ। भारतबाट आएर गाउँ पसेकाले ४० दिनभन्दा बढी समय बिताइसकेका छन्।

अहिले कोरोना भारतभरि फैलिसकेको छ। कोरोनाका बिरामी दिनदिनै बढिरहे पनि भारत सरकारले प्रदेश सरकारको सिफारिसमा सार्वजनिक सवारी साधन चलाउने घोषणा गरिसकेको छ। त्यहाँ आफ्ना नागरिक लैजाने र ल्याउने नाममा उसका प्रदेशले रेल र सार्वजनिक यातायात चलाए वा भारतमा लकडाउन खुकुलो भयो भने त्यहाँ रहेका लाखौँ नेपाली घर फर्किनेछन्। अनौपचारिक तथ्यांकअनुसार  अहिले सुदूरपश्चिमबाट मात्रै भारतमा बर्सेनि आठ लाख मानिस कामका लागि जाने गर्छन्।

‘‘लकडाउनअघि आएका नेपालीबाट कोरोनाको जोखिम नरहेको कुरा लगभग प्रस्ट भइसक्यो। हामीले एक चरण पार त गरिसक्यौँ, तर खतरा अब आउने नेपालीबाट छ।’’  –त्रिलोचन भट्ट, मुख्यमन्त्री, सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट भन्छन्, ‘लकडाउनअघि आएका नेपालीबाट कोरोनाको जोखिम नरहेको कुरा लगभग प्रस्ट भइसक्यो। हामीले एक चरण पार त गरिसक्यौँ, तर खतरा अब आउने नेपालीबाट छ।’

प्रदेश सरकार भारतमा तीव्र गतिमा बढिरहेको संक्रमण र मृत्युको दरले चिन्तित छ। उसले कोरोना भाइरस (कोभिड–१९) रोग नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी कार्ययोजना पास गरेको छ। कार्ययोजनामा हरेक जिल्ला सदरमुकाममा कम्तीमा पनि तीन सयदेखि पाँच सय शड्ढयासम्मका क्वारेन्टिन बनाउनुपर्ने उल्लेख छ। यसै गरी हरेक स्थानीय तहले एक सयदेखि दुई सयसम्मको क्वारेन्टिन बनाउने भनिएको छ। तर, नागरिक समाजका अगुवा तथा सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिस्ट्रार डा. हेमराज पन्त तीनदेखि चार लाखको संख्यामा आउने नेपालीका लागि यो व्यवस्थापन हात्तीको मुखमा जिरा पनि नहुने बताउँछन्। डा. पन्त भन्छन्, ‘तीनचार लाख मानिस आए यति क्वारेन्टिन शड्ढयाले त केही पनि हुन्न। त्यसैले सरकारले अब आउने संकटबारे सोचेर योजना बनाउनुपर्छ।’

टेस्टको साँघुरो दायरा

सम्भावित महामारीलाई मध्यनजर गर्दै चैत २९ गतेदेखि सुदूरपश्चिममा एक पटकमा ९६ जनाको (चार घण्टामा) थ्रोट स्वाब परीक्षण गर्ने मेसिन जडान भयो। त्यो मेसिनलाई दैनिक तीन सिफ्ट अथवा १२ घण्टा मात्रै चलायो भने पनि दैनिक २ सय ८६ जनाको थ्रोट स्वाब परीक्षण गर्न सकिन्छ। सेती प्रादेशिक अस्पतालका प्रयोगशाला प्रमुख रमेश शाही भन्छन, ‘त्यो मेसिनबाट  दैनिक ३० जनाको मात्रै टेस्ट भइरहेको छ। थ्रोट स्वाबका नमुना नै फिल्डबाट आइरहेका छैनन्। हामीले टेस्ट गर्ने हो। संकलन जिल्ला अस्पतालका प्रयोगशालाका साथीहरूले गर्ने हो। नमुना नै नआए के चेक गर्ने ?’

सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार शनिबारसम्म पीसीआरबाट २८ सय ६१ जनाको परीक्षण भएको छ भने १३ हजार ८ सय २३ जनाको र्‍यापिड डायग्नोसिस टेस्ट (आरडीटी) भएको छ। सुदूरपश्चिममा भारतबाट आएकाहरूको हरेक स्थानीय तहले तथ्यांक राखेको भए पनि आरडीटीको मात्रा बढाइएको छैन।

सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी भने आवश्यक परेको र मापदण्डमा परेका सबैलाई टेस्ट गरिरहेको बताउँछन्। भन्छन्, ‘नेपाल सरकारले पहिलो चरणमा मगाएका ७५ हजार आरडीटी किटमध्ये सुदूरपश्चिममा २० हजार आएका हुन्। तीमध्ये १४ हजारको हाराहारीमा टेस्ट भइसकेका छन्। समय र मापदण्डअनुसार मात्रै टेस्ट गर्नुपर्छ।’

उनले यसअघि भारतबाट उर्लन सक्ने मानवसागरका लागि कम्तीमा पनि एक लाख आरडीटी किट माग गरेको बताए। ‘अब भारतबाट आउने नेपालीमा संक्रमणको दर अवश्य बढ्नेछ,’ डा. अवस्थी भन्छन्, ‘सरकारले पहिलो कुरा त उनीहरूमध्ये कसैलाई नछुट्ने गरी क्वारेन्टिनमा बसाउनुपर्‍यो। घर पठाउने बेला हरेकको आरडीटी हुने गरी टेस्ट किटको व्यवस्थापन हुनुपर्‍यो।’ उनी अब भारतबाट आउने सबै नेपालीलाई टेस्टको दायरामा ल्याउनैपर्ने अपरिहार्यता देख्छन्।

 

 

 

 

तपाईको कमेन्ट

मुख्य समाचार