नाका नाघेर देश टेकेपछिको हर्ष

writer

भगीरथ अवस्थी/बैतडी

बुधबार, २४ बैशाख २०७७


झुलाघाट नाकाबाट स्वदेश फर्किंदै गरेका नेपाली। तस्बिर : भगीरथ अवस्थी

गत बिहीबार बैतडीको झुलाघाट र दार्चुलाको खलंगा र दत्तु नाकाबाट २६ सयभन्दा बढी नेपाली नागरिक स्वदेश फर्किए। स्वदेश फर्कंदा उनीहरूको मुहारमा चमक छाएको थियो।


बैतडी, डिलाशैनीका रमेशराम ओड गत बिहीबार झुलाघाट नाकाबाट स्वदेश फर्किए। एक महिना लामो भारतीय क्वारेन्टिन बसाइपछि स्वदेश फर्किएका उनले भने, ‘जन्मभूमि आउन पाउँदा युद्ध जितेर आएजस्तो भयो।’उनी पिथौरागढको पिपलकोटमा असोजदेखि काम गर्दै थिए। चैतको दोस्रो साता घर आउने योजनामा थिए। तर, लकडाउनका कारण उतै अड्किए। ‘भारतीय क्वारेन्टिनमा खाने व्यवस्था भएपनि बस्न निकै समस्या थियो,’ रमेशरामले सम्झिए, ‘एउटै कोठामा चारपाँच जना खाँदिएर बस्नुपर्ने अवस्था थियो। ढिलै भएपनि सरकारले हाम्रो पीडा सुन्यो। अहिले स्वदेशको क्वारेन्टिनमा छौं। परदेशमा भन्दा धेरै सजिलो भएको छ।’

पुर्चौंडीका अमरसिंह धामी भने क्वारेन्टिनको नमीठो कथा बोकेर स्वदेश फर्किएका छन्। लकडाउनकै कारण उनले बुबाको मुख हेर्न पाएनन्। उनका दुई भाइले पनि बुबासँग अन्तिम पटक भेट गर्न पाएनन्। धामी दाजुभाइ गत मंसिरमा गहुँ छरेर भारतको पिथौरागढ गएका थिए। ‘हाम्रो ठूलो चाड बिसुका लागि घर फर्कने योजना बनाएका थियौँ,’ अमरसिंहले भने, ‘चैत ११ गतेदेखि भएको लकडाउनले एक महिनासम्म भारतीय क्वारेन्टिनमै बस्यौँ। बुबा बितेको चार दिनपछि मात्रै घर आउन पाइयो।’

पुर्चौंडीकै उत्तम बोहरा पनि पिथौरागढको नाचुनीमा काम गर्थे। उनले पनि बिसुका लागि घर फर्कने योजना बनाएका थिए। कोरोना भाइरसको जोखिमका कारण सरकारले लकडाउन गरेसँगै उनी सीमानाका धार्चुला आइपुगे तर स्वदेश छिर्न पाएनन्। एक महिनाभन्दा बढी उनी साथीहरूसँगै बालुवाकोट क्वारेन्टिनमा बसे। ‘अपराधै नगरी जेल बसेजस्तो भयो,’ उत्तमले भने, ‘क्वारेन्टिनमा खाने व्यवस्था भएपनि सुत्ननिकै अप्ठ्यारो थियो। विपद्मा पर्दा मातृभूमिको सम्झना आउने रहेछ। अहिले कम्तीमा आफ्नाहरूसँग केही भन्न पाएका छौँ।’

गत बिहीबार बैतडीको झुलाघाट र दार्चुलाको खलंगा र दत्तु नाकाबाट २ हजार ६ सयभन्दा बढी नेपाली नागरिक स्वदेश फर्किए। स्वदेश फर्कंदा उनीहरूको मुहारमा चमक छाएको थियो। परदेशको पीडा सीमा तर्नेबित्तिकै बिर्सिएको उनीहरूले बताए।

स्वदेशमा पाइला टेक्न पाउँदा निकै हर्षित भएको झुलाघाट नाकाबाट नेपाल पसेका बैतडीका वीरेन्द्र पाठकले बताए। ‘दुईचार पैसा कमाउँला भनेर परदेश गएका थियौँ,’ उनले भने, ‘पाउनु दुःख पायौँ। देश फर्कंदा खुशी भएका छौँ।’

पुर्चौंडी नगरपालिका–३ का जोगे पार्की एक महिनाभन्दा बढी भारतीय क्वारेन्टिनमा बसे। महिनादिन काट्न धौधौ भयो। अलि–अलि कमाएको पनि सकियो। तर, स्वदेश फर्किंदा उनी पनि निकै खुशी थिए। ‘पारि झुलाघाटबाट नेपाल हेर्दा आँशुले आँखा भरिन्थे,’ उनले भने, ‘मातृभूमिमा टेक्नै नपाइने हो कि भन्ने डर पनि लाग्थ्यो। अहिले आफ्नै माटोमा छु। गद्गद् छु।’

दीर्घराज जोशीसँग पनि भारतीय क्वारेन्टिनको कटु याद छ।  मंसीरमा भारतको पिथौरागढ गएका उनी सडक बनाउने काम गर्थे। नयाँ वर्ष अर्थात् बिसुका लागि घर फर्कने चाँजोपाँजो मिलाइरहेका थिए। एक्कासि लकडाउन भएपछि सीमाबाट घर फर्किन पाइने आशमा उनी पनि झुलाघाट आइपुगे। तर, नाका नखुलेपछि भारतीय क्वारेन्टिनमा बस्न बाध्य भए। ‘हामी ८० जनाको समूह एकैठाउँमा बसेका थियौँ,’ उनले भने, ‘भारतमा पसिना बगाएर कमाएको पैसा  उतै सकियो। स्वदेशमा रित्तो हात फर्किंदा पनि खुशी लागेको छ।’

बझाङको बित्थडचीरका हरिप्रसाद जोशी पनि एक महिना भारतीय क्वारेन्टिनमा बसे। एउटास्कुलको क्वारेन्टिनमा बसेका उनी नेपाली भूमि नियालिरहेन्थे। सीमावर्ती क्षेत्र भएकाले नेपाली एफएमहरू सुनेर दिन बिताउँथे। स्वदेश फर्कन दिने निर्णयको समाचार सुन्न आतुर थिए। ‘विपद्को बेला मातृभूमि र घरको याद आउँदो रहेछ,’ उनले भने, ‘अहिले साह्रै खुशी छौँ।’

भारतीय सीमानाकाबाट फर्केकाहरू अहिले स्वदेशकै क्वारेन्टिनमा बसिरहेका छन्। गत बिहीबार नेपाल फर्केका उनीहरू शुक्रबार आ–आफ्ना पालिकामा पुगेर क्वारेन्टिनमा बस्न सुरु गरे।

परदेशबाट फर्केका अधिकांश नागरिकले अब स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच बनाउन थालेका छन्। दशरथचन्द नगरपालिका–१ का गजेन्द्र भट्टले भने, ‘यो लकडाउनले हामीलाई आफ्नै भूमिमा केही गर्नुपर्छ भन्ने कुरा सिकाएको छ।’

तपाईको कमेन्ट