कोरोना विष्फोट हुन नदिऊँ

writer

प्रा.डा. अर्जुन कार्की

शुक्रबार, १९ बैशाख २०७७


कोरोना भाइरस विश्वभरि फैलिएको छ। मृत्यु हुनेको संख्या बढिरहेको छ। नेपालमा पनि संक्रमितको संख्या बढ्दो छ। केही संक्रमित निको भएर घर फर्केका छन्। भारतलगायत अन्य मुलुकबाट आएका व्यक्ति क्वारेन्टिनमा बसिरहेका छन्। उनीहरूकोपरीक्षण भइरहेको छ। क्वारेन्टिनमा हुँदापरीक्षण गर्दा देखिएन भन्दैमा जथाभावी गर्नु हुँदैन। क्वारेन्टिनबाट मुक्त हुनेबित्तिकै ‘अब मलाई केही पनि हुँदैन’ भनेर लापर्बाही गर्नु हुँदैन। यसो गर्दा जोखिम बढ्न सक्छ।

नेपालमा कोरोना भाइरसको संक्रमणले कस्तो रूप लिन्छ भन्नेबारे यकिनसाथ भन्न सकिँदैन। परीक्षणको दायरा बढ्दै जाँदा कोरोना भाइरसको संक्रमणको संख्या बढ्ने सम्भावना छ। अन्य देशजस्तो कोभिड–१९को विष्फोट हुन पनि सक्छ। कति ठूलो विष्फोट हुन्छ भन्ने मात्र हो। 

सीमानाकाबाट कति स्वदेश आए, त्यसको कुनै यकिन तथ्यांक छैन। भुसभित्रको आगोजस्तो हुने सम्भावना पनि छ। लकडाउन नगरिएको भए अहिलेसम्म झन् ठूलो विष्फोट भइसक्थ्यो। 

कोरोना भाइरसबारे विश्वमा विभिन्न अनुसन्धान भइरहेका छन्।सामान्यतः संक्रमणकालक्षण १४ दिनसम्म देखापर्छन्। तर, नेपालमै पनिकसैको २५ दिनपछि त कसैको ४० दिनपछि पनि रिपोर्ट पोजिटिभ आएको छ। पछिल्ला रिपोर्टहरूले एक महिनासम्म पनि भाइरस रहिरहन्छ भन्ने तथ्य प्रकाशमा आएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले औसतमा १४ दिन भनेर समय निर्धारण गरेको हो। यस अवधिमा लक्षण देखिनुपर्छ भन्ने पनि छैन।संक्रमण हुँदा कतिपयलाई लक्षण देखिन्छ, कतिपयलाई नदेखिने रहेछ। लक्षण पटक्कै नदेखिएकाले पनि रोग सार्न सक्ने सम्भावना हुन्छ।

संसारभरका मुलुकमा मृत्युको जुन प्रकृति देखिएको छ, त्यो नियमले हामीलाई छुँदैन भन्ने खालको निष्कर्ष निकालियो भने हामीले आफूलाई धोका दिएको ठहर्छ।

कोभिड–१९ को संक्रमितमध्ये ८० प्रतिशत व्यक्ति अस्पताल भर्ना भएर औषधि उपचार गर्ने अवस्थामा नै पुग्दैनन्। २० प्रतिशत मात्र अस्पताल भर्ना हुन्छन्।तीमध्ये पनि पाँचदेखि सात प्रतिशतलाई मात्र सघन उपचार कक्ष (आईसीयू)मा लैजानुपर्छ। अहिलेको आँकडा हेर्दा आईसीयूमा रहेर उपचार गरेकामध्ये पनि औसतमा दुई÷तीन प्रतिशतको मात्र मृत्यु हुन्छ।

ज्यान जाने सन्दर्भमा भाइरसको आक्रामकता र व्यक्तिको रोगप्रतिरोधात्मक क्षमतालगायत अन्य पक्ष पनि जिम्मेवार हुन्छन्। दीर्घरोगबाट पहिले नै शरीर शिथिल भएको अवस्थामा ज्यान जाने जोखिम हुन्छ। दीर्घरोगका लागि सेवन गरिरहेको औषधि वा अन्य कारणले रोगप्रतिरोधात्मक शक्ति क्षीण भएको छ भने त्यो समूहको मृत्युदर बढी हुन्छ। संक्रमित भएको सबै उमेर समूहका व्यक्तिलाई एकै ठाउँमा राखेर जोडजाड गरेर औसत निकाल्ने हो भने दुई÷तीन प्रतिशत मान्छेको मृत्यु हुने देखिएको छ। तर, उच्च जोखिममा रहेका व्यक्तिको मात्र हिसाबकिताब गर्दा त्यसमा तथ्यांक बढी हुन सक्छ। सबैले बुझ्नुपर्ने कुरा के हो भने संक्रमण हुनेबित्तिकै मरिहाल्ने होइन। केही प्रतिशतमा मात्रै रोग यति कडा भइदिन्छ कि डाक्टरले प्रयत्न गर्दागर्दै पनि बचाउन सकिँदैन।

सामान्य रुघाखोकी लागेमा आत्तिनुपर्दैन। सासफेर्न गाह्रो भएको छैन भने र शिथिल भएको अनुभव छैन भने आश्वस्त हुने खालको परिस्थिति हो।संक्रमित व्यक्तिको सम्पर्कमा आइयो भने उच्चसतर्कता अपनाउनुपर्छ। चिकित्सकको सल्लाह लिएर जाँच गराउनुपर्छ।संक्रमणको शंका मात्र छ भने क्वारेन्टिनमा बस्नुपर्छ। रिपोर्ट कोभिड–१९ पोजिटिभ आएपछि चिकित्सकले एक्ल्याएर आइसोलेसनमा राख्छन्। 

संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको छ। पछिल्लो समय नेपालमै बसिरहेका व्यक्तिमा पनि संक्रमण देखिएको छ। संक्रमण फैलिएको बाहिरी मुलुकमा नगएको भएपनि संक्रमित भएर आएको व्यक्तिको सम्पर्कका कारण रोग देखिएको पुष्टि भएको छ। यसो हुनु भनेको संक्रमित व्यक्तिले आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई भटाभट रोग सारिसकेको संकेत हो। 

तर, नेपालमा संक्रमणको विष्फोट हुन नदिन संक्रमण भएको मुलुकबाट आएका व्यक्तिले क्वारेन्टिनमा बस्ने, मास्क लगाउने गर्नुपर्छ।शंका लाग्नेबित्तिकै परीक्षण गराइहाल्ने गरेको देखिँदैन। यदि एकले अर्कालाई संक्रमण सार्ने प्रक्रिया जारी नै छ भने विष्फोट हुन सक्ने अवस्था देखिएको हो। अहिले नै यो किन भएन भने ८० प्रतिशत व्यक्ति त सामान्य लक्षणमै सीमित हुन्छन्। त्यसैले धेरै रिपोर्टिङ नभएको हुन सक्ने सम्भावना छ। भित्रभित्रै सल्किँदै गएर एकैचोटि धेरै व्यक्ति संक्रमित हुने सम्भावना रहन्छ। विष्फोट भनेको संक्रमित व्यक्तिको कडा लक्षण एकैपटक प्रकट हुने अवस्था हो। 

वैज्ञानिक तथ्य, सिद्धान्त र संसारभरका मुलुकमा मृत्युको जुन प्रकृति देखिएको छ,त्यो नियमले हामीलाई छुँदैन भन्ने खालको निष्कर्ष निकालियो भने हामीले आफूलाई धोका दिएको ठहर्छ। यसो भन्दैमा अत्तालिने कुरा पनि आएन। सुरक्षित रहन हामीले गर्न सक्ने काम गर्न चाहिँ अल्छी मान्नुहुँदैन। 

कुनै नयाँ वस्तु छोएको अवस्थामा साबुन–पानीले हात धुनुपर्छ, अथवा स्यानिटाइजर लगाउनुपर्छ। त्यो नगरी हात अनुहारतिर लैजाने गर्नु हुँदैन। बाहिर निस्कँदा मास्क लगाउनुपर्छ।अरू व्यक्तिसँग बोल्दा दूरी कायम गर्नुपर्छ। बजारबाटसरसामान वा तरकारी किन्दापनि अरू व्यक्तिसँग भौतिक दूरीकायम राख्नुपर्छ। कुनैसंक्रमित व्यक्तिले सरसामान वा सागसब्जी ओल्टाइपल्टाई गरेको हुन सक्छ। खरिद गरेको सामानबाट पनि भाइरस घरभित्र आउन सक्छ। खरिद गरेर फर्केपछि पनि साबुन–पानीले हात धुनुपर्छ। आहारविहार र व्यायाममा ध्यान दिनुपर्छ। यसले शरीरको रोगप्रतिरोधीक्षमता बढाउन मद्दत गर्छ। 

(प्रा.डा. कार्की वरिष्ठ फोक्सो तथा सघन उपचार (आईसीयू) विशेषज्ञ हुन्।) 

तपाईको कमेन्ट