‘हजुरआमा सम्झँदै बेसार–पानी खान्थेँ’

writer

सम्पूर्ण

शुक्रबार, १९ बैशाख २०७७


कोरोना विजेताको बयान

 

धादिङकी अजिता सिम्खडा हाल बेलायतको ऐल्सवरी, बकिङ्गमसायरमा बस्छिन्। ४४ वर्षीया उनी स्टकम्यान्डभिल अस्पतालमा वरिष्ठ नर्सका रूपमा कार्यरत छिन्। कोरोनाको संक्रमण देखिएपछि घरमै आइसोलेसनमा बसी ठीक भएर उनी काममा फर्किएकी छिन्। 


कोरोनाको लक्षण देखिँदा म अस्पतालमै थिएँ।त्यहाँसबै भयभीत थियौँ। अन्योलग्रस्त थियौँ। तैपनि, काम गरिरहेका थियौँ। 

मलाई ज्वरो आयो। शरीर दुख्न सुरु भइसकेको थियो। अलि–अलि खोकी पनि लागेको थियो। अस्पतालमै सिटामोल खाएँ।

ड्युटी सकेपछि घर फर्किएँ। खाना खाएर सुतेँ। तर, मध्यराततिर शरीर कामेको जस्तो अनुभव भयो। जीउ बेस्कन दुखिरहेको थियो। ज्वरो ह्वात्तै बढेको थियो। ज्वरोको औषधि खाएँ। 

बिहान ५ बजे इमर्जेन्सी सेवामा फोन गरेँ। मैले आफ्नो लक्षण बताएपछि उताबाट तुरुन्त आइसोलेसनमा बस्ने सल्लाह दिइयो। ‘सास फेर्न गाह्रो भयो भने चाहिँ फोन गर्नू’ भने। 

भाइरसको असर बढ्न नदिन घरेलु उपचार नै उचित हो भन्ने लाग्यो। छोराछोरीलाई जिरा, अदुवा, बेसार, दालचिनी हालेर पानी उमाल्न भनेँ।त्यसमा अलिकति नुन हालेर दिनको तीनपटक खान थालेँ।यसरी तातो पानी खाँदा हजुरआमालाई खूब सम्झिएँ। उहाँ बितेको धेरै भइसक्यो। तर,बाल्यकालमा रुघाखोकी लाग्दा हामीलाई यसरी नै पानी खुवाउनुहुन्थ्यो। ‘तात्तातो खाऊ, आत्थाआत्था गर्दै भाग्छ’ भन्नुहुन्थ्यो। तर, के भाग्थ्यो, भन्नुहुन्थेन। उहाँको प्रेमसम्झंँदै तातो पानी खाएँ। मनतातो नुनपानीले मुख कुल्ला गरेँ।हरेक बिहान टुथब्रसले जिब्रोको तल्लो भागलाई बिस्तारै कोतरेर सफा गर्थें। बेलुका तातो दूध, मह र बेसार खान्थेँ। यसरी खाँदा एक त निद्रा मज्जाले लाग्थ्यो।साथै,बेसारले एन्टिसेप्टिकको काम पनि गथ्र्यो। दिउँसो जसोतसो बित्थ्यो,तरराति गाह्रो हुन्थ्यो। ज्वरोका कारण आएको पसिनाले शरीर निथ्रुक्क हुन्थ्यो। 

यो बेलामा मुखमा स्वाद पटक्कै नहुने रहेछ। तर, पनि खाना छिन–छिनमा खान्थेँ। मलाई विश्वास थियो, शरीरले नै मलाई बचाउन सक्दो प्रयास गर्नेछ। मैले शरीरलाई प्रेम गर्नुपर्छ। शरीरले पनि मलाई प्रेम गर्छ। यही विश्वासमा थिएँ।

फ्रिजमा नराखेको जुस प्रशस्त खान्थेँ। शरीरमा संक्रमण छ, त्यसैले पहिलेको भन्दा धेरै खानुपर्छ भन्ने ज्ञान थियो। यसो गर्दा पेटमा गडबडी पनि भयो। उल्टी गरेँ। पखाला पनि लाग्यो। तर, पनि खाना खान छाडिनँ। अहिले तीन हप्ता पूरा भइसक्यो, तर पनि स्वाद फर्किसकेको छैन। यो बेलामा शरीर यति दुख्यो कि १०–१२ जना मान्छेले पिटेजस्तो अनुभव हुन्थ्यो। नुहाउंँदा पानीको फोहोराले पनि दुखाउँथ्यो। 

आफू त संघर्ष गरिरहेकी थिएँ, छोरालाई पनि लक्षण देखिँदा पो झसंग भएँ। कतिबेला उसलाई पनि सरिसकेछ।

प्रत्येक छ घण्टामा सिटामोल खान्थेँ। सिटामोल खाएपछि हल्का हुन्थ्यो। ओशोको दीक्षा लिएकाले उनको प्रवचन सुन्थेँ। मन पर्ने गीत सुन्थेँ र धेरै निदाउँथेँ। जसले गर्दा मनमा अनेक शंका–उपशंका हुन्थेन। मीठो निद्रा पर्दा शरीरले पूर्ण आराम पाउंँछ। अनि प्रत्येक कोषले आराममहसुस गर्छ र संक्रमणविरुद्ध ऊर्जा उत्पन्न गर्छ। अलि सक्ने भएपछि ध्यान गर्न थालेँ।

मनमा त्रास हुँदा शरीरका कोशिकामा परिवर्तन आउँछ। यस्तो बेलामा शुभ सोच्दा शरीरमा सकारात्मक ऊर्जानिर्माण हुन्छ भनेअशुभ सोच्दानकारात्मक ऊर्जानिर्माण हुन्छ।अनि त्यसले शरीरको‘हिलिङ’मा असर गर्छ। वनको बाघले खाओस्/नखाओस्,मनको बाघले खाइरहेको हुन्छ। त्यसैले संक्रमण भएमा नकारात्मक सोच्नु हुँदैन।सकारात्मक सोच राख्नुपर्छ। 

सेल्फ आइसोलेसनमा हुँदामेरीभाउजू सीता भण्डारीसँग कुरा भयो, जो वेम्ब्लीमा बस्नुहुन्छ र नर्थविक पार्क हस्पिटलमा काम गर्नुहुन्छ। उहाँलाई पनि कोरोनाले समातेछ। आइसोलेसनमा बस्दा उहाँ र म कुरा गर्ने साथी भयौँ।

संक्रमणपछि धेरै खाना खाने भएकी छु। सायद भाइरसले हाम्रो सबै ऊर्जा लिँदो रहेछ। अहिले म ठीक छु। काममा फर्किसकेकी छु। छोरा पनि ठीक भइसक्यो। अस्पतालमा गाह्रै छ।तर, हामीले हिम्मत हारेका छैनौँ। 

त्यसैले सबैलाई सावधानी अपनाउनअनुरोध गर्छु। योग, ध्यान,नाचगान गर्नुस्, फिल्म हेर्नुस्। बगैँचामा काम गरेर, प्रकृतिसँग नजिक भएर मन भुलाउनसकिन्छ। यो समय आत्मविचार गर्ने हो। हामीलेशान्तिसँग दिनभरि बस्न पाएका थिएनौँ। बिदाको दिनमा पनि विभिन्न कार्यक्रम, पार्टी, भोजभतेर, भेटघाटमा व्यस्त हुन्थ्यौँ। यो अमूल्य अवसर हो, आफू र आफ्नो परिवारलाई समय दिने। 

प्रस्तुतिः कृष्णप्रसाद शर्मा/लन्डन

तपाईको कमेन्ट