बटौलीका मनकारी मान्छे

writer

लक्ष्मण पोखरेल/बुटवल

शुक्रबार, १९ बैशाख २०७७


सडकमा भोकभोकै हिँडेका मजदुर देखेपछि बुटवलका केही सचेत नागरिकले उनीहरूलाई खाना खुवाए। गाडीको व्यवस्था गरेर गन्तव्यसम्म पुग्ने मेसो मिलाइदिए।


शनिबार रातको १० बज्दै थियो। पुरानो बटौलीका महेन्द्र लिगलको मोबाइलमा घण्टी बज्यो। उताबाट स्वर सुनियो– ‘सर, हामी पैदल हिँड्दै आएर अलपत्र छौँ, सहयोग गरिदिनुपर्‍यो।’ दिनभरको थकानले आराम गर्न थालेका लिगल उठेर बटौलीको लायन्स चोक पुगे। अलपत्र १० जनालाई उनको टिमले खाना खुवायो। बाँके, बर्दिया, दाङ हिँडेका थकित मजदुरलाई गाडीको व्यवस्थापन गरेर गन्तव्यमा पठाए।

बटौली अर्थात् घीउ बेचेर नुन किन्ने पुरानो शहर ! यही बटौलीमा लिगलसहित १० जना मनकारी व्यक्तिले अहिलेसम्म साढे सात सय जनालाई दालभात खुवाएका छन्। बुटवल वार्ड–१ र २ का स्थानीयले यो अभियानमा साथ दिएका छन्। सडकमा भोकभोकै आँशु चुहाउँदै हिँडेका मजदुर देखेपछि उनीहरूले खाना खुवाउने कामको थालनी गरे।

लिगल वडा–१ का वडाध्यक्षसमेत हुन्। यो अभियानमा उनलाई स्थानीय सरकारको सहयोग छैन। ‘हामी १० जना खाना पकाउने, खुवाउने काममा खटिएका छौँ,’ उनले भने, ‘राहत, उद्धारमा पुरानो बटौलीवासीले सहयोग गर्नुभएको छ। अहिले सहयोग गर्नेहरू थपिँदै गएका छन्।’ 

हिँड्दै आएका यात्रुलाई सडकमा जुन साधन भेटिन्छ, प्रहरीसँग समन्वय गरेर पठाउने गरिएको छ। ढुंगा बोक्ने टिपरमा लिगलको समूहले दाङका मजदुरलाई पठायो। ट्रक, पिकअपलगायत साधनमा करिब साढे छ सय यात्रुलाई पठाइएको छ। 

खाना खुवाउने अभियानका अर्का पाका व्यक्ति रवीन्द्र गोपाल लाकौलले भने, ‘दुःख पाएकालाई उद्धार गरेर पठाउन पाउँदा खुशी छौँ।’ पूर्वबाट पश्चिम हिँडेका सबै मजदुर बुटवल हुँदै नै गन्तव्यमा लाग्नुपर्छ। पोखरातिरबाट आउने मजदुर पनि बुटवल हुँदै जाने गरेका छन्।

‘चार दिनपछि पेटभरि खान पाइयो,’ पोखरा हुँदै बुटवल आएका दाङका बलवीर चौधरीले भने, ‘गाडीमा पठाइदिने भन्नुभएको छ। अब त घर पुगिन्छ भन्ने आश लागेको छ।’ उनीसहित नौ जनाको टोली पोखराबाट बुटवल आएको हो।

शनिबार बुटवल उपमहानगरले दुई वटा बसमा १ सय ५२ नागरिकलाई गन्तव्यमा पठाएको थियो। तीमध्ये ९० जना कोहलपुर, ४५ जना दाङ गए। हिँड्दै आएकामध्ये १७ जनामा ज्वरो देखिएपछि बुटवलमै राखिएको छ। अहिलेसम्म १३ सय जनालाई बुटवल उपमहानगरले उद्धार गरेको छ। 

बुटवल, दीपनगरका हरि क्षत्री राहत बोकेर विपन्नको घर–घर पुग्छन्। घरका सदस्यले राहत पोको पार्छन्। जहाँबाट खान पाइएन भन्ने खबर पुग्छ, त्यहीँ राहत पुर्‍याउँछन्। ‘अहिलेसम्म ४ सय ८६ परिवारमा राहत पुर्‍याएँ,’ उनले भने, ‘दुःखमा सहयोग गर्नुपर्छ भन्ने लागेर सहयोग गरेको हुँ।’ उनले खानाको अभावमा रहेका १ सय ७४ मजदुरलाई समेत राहत बाँडे। सडकमा खटिने सुरक्षाकर्मीलाई स्यानिटाइजर, पञ्जा र मास्क वितरण गरे। उनी एक्लै यो अभियानमा खटिएका छन्। करिब दुई लाखको राहत घर–घरमा पुर्‍याइसकेका छन्। उनको अभियानमा अन्यले अन्न, पैसा दिएर सहयोग गरे। 

बुटवलमा मनकारी व्यक्तिहरू सडकमा पानी, खानेकुरा लिएर बसेका छन्। पैदल यात्रुलाई खुवाउने काममा लागेका छन्। बुटवलको नयाँ गाउँमा सडकमै बसेर खानेकुरा बाँडिरहेका स्थानीय गोपाल पाण्डेले भने, ‘नेपालीलाई नेपालीले सहयोग गर्ने बेला यही हो। जसले जे सकिन्छ त्यही सहयोग गरेर महामारीविरुद्ध लड्नुपर्छ।’

ढिलो जागे स्थानीय तह
सडकमा अलपत्र आधाभन्दा धेरै मजदुर गन्तव्यमा पुगेपछि स्थानीय तह उद्धारमा जुटेका छन्। सैनामैना नगरपालिकाले कैयाँै यात्रुलाई खुवाउने र गन्तव्यमा पठाएको मेयर चित्रबहादुर कार्कीले बताए। 

प्रदेश ५ सरकारले पैदल यात्रुलाई खानपान, स्वास्थ्य चेकजाँचको व्यवस्था मिलाउन स्थानीय तहलाई निर्देशन दिएपछि उद्धार थालिएको हो। सडकमा हिँडिरहेका मजदुरलाई क्वारेन्टिनमा राख्न असम्भव थियो। प्रदेश ५ को प्रवेशद्वार बर्दघाट नगरपालिकाले झण्डै पाँच सय मजदुरलाई स्वास्थ्य चेकजाँचपछि उद्धार गरेको छ।

नवलपरासीकै सुनवल नगरपालिकाले तीन सय मजदुरको उद्धार गरी गन्तव्यमा पठाएको छ। बाँके, बर्दिया, कैलाली, सुर्खेतका लागि हिँडेका यात्रुलाई उद्धार गरिएको नगरप्रमुख भीमबहादुर थापाले बताए।

बुटवल उपमहानगरपालिकाले १ हजार ३ सय मजदुरलाई गन्तव्यमा पठाएको छ। बस, ट्रक, टिपरमा राखेर पठाइएको हो। बुटवलले वडा–१ बटौली र वडा–१२ नयाँ गाउँमा खाने व्यवस्थासमेत गरेको थियो। ‘बुटवलसम्म आएका मजदुरलाई उद्धार गरेर पठाएका छौँ,’ नगरप्रमुख शिवराज सुवेदीले भने।

स्थानीय तहले मजदुरको उद्धार गरेपछि सडकमा कष्टकर यात्रा गर्नेहरू छैनन्। छोटो दूरीका मजदुरलाई समेत गन्तव्यमा पठाइएको छ।

तपाईको कमेन्ट

मुख्य समाचार