घरबन्दीः घुमक्कडलाई यातना

writer

अस्मिता खड्का

शुक्रबार, १९ बैशाख २०७७


वसन्त ऋतु घुम्नका लागि उपयुक्त मानिन्छ। यही ऋतुमा घरभित्र बस्नुपर्दा घुमफिरप्रेमीलाई यातना भएको छ। आफू ‘पिँजडाको चरा’ भएको अनुभव गरेका छन्। 


डाँडापाखा, खोलानाला, शहरबजार घुम्ने बानी लागेका घुमक्कडहरू लकडाउनमा घरभित्रै बस्नुपर्दा उकुसमुकुस महसुस गरिरहेका छन्।घुम्नका लागि उपयुक्त मानिने वसन्त ऋतुमा समेत घरभित्र थुनिँदा ‘पिँजडाको चरा’जस्तै भएका छन्। घुम्न नपाउँदा खुट्टा जाम भइसकेको अनुभव गरिरहेका छन् भने प्रकृतिको न्यास्रोले समेत उनीहरूलाई सताइरहेको छ। कोराना संक्रमणका कारण कतिपयको घुम्ने योजना रद्द भएको छ।

गत फागुनमा रसुवाको गोसाइँकुण्ड घुमेर फर्किएका थिए, ललितपुर बस्ने दोलखाकासागर क्षत्री। आफूलाई ‘सिजनलसोलो ट्राभलर’ भन्न रुचाउने उनीहरेक महिना लामो र छोटो यात्रामा निस्कन्छन्। वसन्त ऋतुका लागि उनले थुप्रै योजना बनाएका थिए। लकडाउनका कारण सबै योजना भताभुंग भएको उनी बताउँछन्। ‘गोसाइँकुण्डबाट फर्किनेबित्तिकै अन्नपूर्ण बेस क्याम्प र त्यस वरिपरिका विभिन्न ठाउँ घुम्ने योजना थियो,’ उनी भन्छन्,‘घुम्ने खर्च र सामान तयार पारेको थिएँ। लकडाउनले सबै योजना असफल पारिदियो।’

लकडाउन सुरु भएको पहिलो हप्ता केही आशावादी थिए, उनी। लकडाउनको समयतालिका हेर्दै बस्थे।लकडाउन थपिँदै गएपछि उनको आशा निराशामा बदलिएको छ। ‘चैत १० मा लकडाउन एकहप्ता मात्र हुने भनेपछि मनमा आशा थियो–अर्को हप्ता लकडाउन खुल्छ, त्यसपछि घुम्न निस्किनुपर्छ,’ सागर सुनाउँछन्, ‘लकडाउन के खुल्थ्यो? बरु हप्तैपिच्छे बढेको छ। अब कहिले खुल्ने हो, थाहा छैन। बन्द कोठामा बस्दा–बस्दा साह्रै गाह्रो भइसक्यो। ट्र्यापमा परेजस्तो लागिरहेको छ।’ लकडाउन खुल्नेबित्तिकै घुम्न जाने सोच उनले बनाएका छन्।

वैशाखमा घुम्ने योजना बनाएको एकहप्ताभित्रै आफ्नो योजना परिवर्तन गर्नुपरेको,काठमाडौँ, बाफलका चिराग शर्मा बताउँछन्। उनी पनिघुमफिरप्रेमी हुन्। वैशाखमा रारा घुम्न जाने योजना बनाएका थिए। महामारीले गर्दाउनको योजना सफल हुन सकेन। ‘कस्तो समय आएको ?’ उनी भन्छन्, ‘देशका विभिन्न ठाउँ घुम्न जानु त परको कुरा हो, वल्लो घरदेखि पल्लो घर हिँड्न नपाइने समय आएको छ।’ घुमघाम गर्न नपाएर घरमै बस्नुपर्दा पीडा भएको उनी सुनाउँछन्।‘लकडाउन नभएको भए यतिबेला रारा घुमेर फर्किसकेको हुन्थेँ,’ उनी भन्छन्,‘घुम्न जाने अर्को ठाउँबारे सोचिसकेको हुन्थेँ।एकैठाउँमा बस्नुपर्दा एकदमै तनाव भइरहेको छ।’ 

अवस्था सामान्य भएपछि घुम्न निस्कने उनी बताउँछन्। भन्छन्, ‘अहिलेलाई घुम्ने योजना रद्द गरे पनि लकडाउन खुलेपछि घुम्न जान्छु।’घरमा उनी सामाजिक सञ्जालमा व्यस्त हुन्छन्। परिवारसँग समय बिताउँछन्। 

‘भर्चुअल टुरिस्ट’
पछिल्लो समय पोखराकाप्रशान्त कार्कीको भ्रमण स्वभावमा परिवर्तन भएको छ। उनी भर्चुअल टुरिस्टका रूपमा रमाइलो गरिरहेका छन्। व्यस्त रहन रुचाउने उनी लकडाउनको समयमा इन्टरनेटमा विभिन्न ठाउँका भिडियो हेरेर समय बिताउँछन्। आफूलाई भर्चुअल टुर निकै रमाइलो लागिरहेको बताउँछन्।‘आपूm पुगेका ठाउँका तस्बिर र भिडियो हेरेर पनि समय कटाइरहेको छु,’ उनी भन्छन्, ‘लकडाउन नभएको भए यतिबेला कता घुम्ने, कसरी घुम्ने, बजेट कति छुट्याउनेलगायत योजना बुनिरहेको हुन्थेँ। तर, घुम्ने वातावरण नभएपछि त के गरी बस्नु ?दिनभर अन्नपूर्ण, मार्दी हिमाल, मनाङ–मुस्ताङ, खप्तडतिर घुमेका फोटो र भिडियो हेर्छु। राति सपनामा पनि तिनै ठाउँमा पुगेको हुन्छ।’ लकडाउनले आफूलाई सपनीमै रमाउन सक्ने बनाएको उनी बताउँछन्।कहिलेकाहीँ जाँगर चल्दा गिटार बजाउँछन्। भ्लग र ब्लगमा आफ्ना तस्बिर र भिडियो अपलोड गर्छन्। ‘बन्द कोठामा यत्तिकै बस्दाबस्दै दिक्क लाग्न थालिसक्यो,’ प्रशान्त भन्छन्,‘भएभरका टुरिस्ट डेस्टिनेसन, फिल्म, सिरिज हेरिसकँे। पढ्न मन लागेका किताबपनि पढेर भ्याएँ। आफू घुमेका ठाउँका भिडियो बनाउँछु, ब्लग लेख्छु। यसो गर्दा आनन्द लाग्छ। समय पनि सजिलै बित्छ। नत्र घरभित्रके गरेर बस्नु ?’ 

घुम्न नपाउँदा खुट्टा जाम
सिन्धुपाल्चोककी पेम्बा शेर्पालाई पनि घुम्न मन पर्छ। फुर्सदमाएक्लै घुम्ने उनीविदेशी पर्यटकलाई घुमाउने पनि गर्छिन्। लकडाउनका कारण घरसमेत जान नपाएकी पेम्बा बन्धनमा परेकोजस्तो लागेको बताउँछिन्।‘अरू बेला आफ्नै तालमा घुम्थेँ,’ उनी भन्छिन्,‘कसैले रोकतोक गर्दैनथे। यतिबेला साँच्चिकै बन्धनमा परेजस्तो लागिरहेको छ। एउटा स्वतन्त्र चरालाई पिँजडामा थुनेजस्तो महसुस भइरहेको छ। लकडाउन सकिएपछि एकलट हिँड्ने तालिम लिनुपर्छ, नत्र त हिँड्न बिर्सेर घिस्रेरै हिँडिएलाजस्तो लाग्न थालिसक्यो।’

क्याफे, रेस्टुरेन्ट, हेरिटेज साइट, ओपन स्पेस सबै बन्द छन्। कतैपनि निस्कन नपाउँदा साह्रै नमज्जा लागिरहेको पेम्बा बताउँछिन्। ‘केही नभएपनि वर्षमा पाँचछ वटा लामो टुर गर्थें,’ उनी भन्छिन्, ‘हाइकिङमा जान्थेँ। पर्यटकलाई पनि घुमाउँथेँ। अहिले कतै हिँड्न नपाउँदा खुट्टा जाम भइसके। त्यो एउटै कोठा कति मिलाउने, कति सफागर्ने? एउटै खाले चिया र खाना कति खाने ? तनाव भइसक्यो। सबै कुरा सम्झिँदा साह्रै नमज्जा लाग्छ।’

आफू घुमेको र पर्यटक घुमाउन लगेका ठाउँको न्यास्रो लागिरहेको उनी बताउँछन्। ‘बौद्ध, वसन्तपुर, पाटन, भक्तपुरलगायत ठाउँमा हुने मान्छेको भीडभाड र गाडीको आवाजको पनि न्यास्रो लागिरहेको छ,’ उनी भन्छिन्,‘पर्यटकहरूको झझल्को आउँछ। फेरि ती ठाउँमा कहिले जान पाइएलाजस्तो भइरहेको छ। हिमाल, पहाड,वनजंगलमा फुल्ने पूmल, स्वच्छ हावा, खुला ठाउँको न्यास्रो लागिसक्यो।’

अहिले पेम्बाजस्ता हजारौँ घुमक्कड घरभित्रै छन्। उनीहरूलाई घरबन्दी यातनासरह भएको छ।

तपाईको कमेन्ट

मुख्य समाचार