पास दुरुपयोगकर्तालाई कारबाही

writer

सुमित सुवेदी

बिहिबार, १८ बैशाख २०७७


एउटा कामका लागि भनेर पास बनाउने तर अर्काे काममा सवारी साधन प्रयोग गर्ने र दुई हप्ताअगाडि बनाएको पास देखाएर सवारी चलाउने चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गर्न थालेको छ। 


पछिल्लो समय पासको दुरुपयोग गर्ने सवारी चालकको संख्यामा वृद्धि भएको छ। वैशाख ११ देखि १४ गतेसम्म काठमाडौँका विभिन्न स्थानबाट पास दुरुपयोगमा २ हजार १ सय ५ जना सवारी चालक कारबाहीमा परेको ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमढकालले बताए। 

ढकालका अनुसार मानिसहरूले गैरकानुनी पास प्रयोग गर्ने गरेका छन्। ‘पास दुई हप्ताअगाडि लिएका हुन्छन्,’ उनले भने, ‘तर, अहिले पनि त्यही पास देखाएर यात्रा गर्न खोज्छन्। त्यस्ता चालक कारबाहीमा परेका छन्।’ त्यसै गरी, दुई दिनका लागि पास लिएर तेस्रो दिनपनि सवारी साधन चलाउने प्रशस्तै चालक पनि कारबाहीमा परेका छन्। 

एउटा कामको लागि पास बनाएर अर्काे काममा सवारी प्रयोग गर्ने चालकहरूको संख्या पनि बढ्न थालेको एसएसपी ढकालले बताए। ‘जुनसुकै कामको लागि त प्रशासनले पास दिँदैन,’ उनले भने, ‘त्यसैले मान्छेहरू एउटा कामको लागि भनेर पास बनाउँछन्, अनि अर्काे कामका लागि सवारी साधन प्रयोग गर्छन्। त्यस्ता चालकलाई पनि हामीले कारबाहीको दायरामा ल्याएका छौँ।’

कहिलेकाहीँ बाटो खाली छ भन्दै सवारी कुदाउने सिकारुहरू पनि भेटिने गरेको एसएसपी ढकालले बताए। ‘खाली बाटो देखेपछि सिक्दै गरेका मान्छेहरू पनि सवारी लिएर निस्किएको भेटियो,’ उनले भने, ‘उनीहरूलाई पनि हामीले कारबाही गर्ने गरेका छौँ।’ त्यस्तै, बिदाको समयमा घुम्न निस्किएकालाई पनि ट्राफिक प्रहरीले कारबाही गर्दै आएको छ। ‘घरमा बस्दाबस्दा अल्छी लागेर भएको पासको दुरुपयोग गर्दै नगरकोटलगायत ठाउँ घुम्न निस्कनेहरू पनि कारबाहीको दायरामा पर्ने गरेका छन्,’ महाशाखा प्रमुख ढकालले बताए। पासको दुरुपयोग गर्ने सवारी चालकको सवारी साधन ट्राफिक प्रहरीले ‘होल्ड’ गर्ने गरेको छ। चार दिनमा पास दुरुपयोगलगायत अन्य कारबाहीमा पर्ने सवारी साधनको  संख्या १४ हजार ६८ छ। यो संख्या धेरै हो। वैशाख १४ गते मात्र ट्राफिक प्रहरीले ४ सय ५३ सवारी साधनलाई कारबाही गरेको थियो। जसमा ४ सय २२ वटा दुईपांग्रे र ३१ वटा चारपांग्रे सवारी साधन थिए। 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि