यस्ताे विचित्र घटना घटेकाे थियाे इतिहासमा !!!

writer

सम्पूर्ण

बिहिबार, ०५ पुष २०७५


सन् १९४५ मा दोस्रो विश्वयुद्ध अन्त्य भयो। जापानले आत्मसमर्पण गरेको थियो। तर, एक जना जापानी सैनिकले भने सन् १९७४ सम्म युद्ध गरिरहे। युद्ध सकिएपछि पनि २९ वर्षसम्म युद्ध गर्ने सैनिक थिए, हिरू ओनोदा। उनी र उनका तीन जना सहयोगी फिलिपिन्सस्थित लुबाङ टापूमा खटिएका थिए। सेनाको हाइकमान्डले उनलाई आत्मसमर्पण नगर्ने आदेश दिएको थियो।

जापानले आत्मसमर्पण गरिसकेको खबर दुर्गम टापूमा रहेका ओनोदासम्म पुग्न पाएन र उनी युद्ध गरिरहे। उनको टोलीले आक्रमण गर्ने नाममा टापूका ३० जनाभन्दा बढी फिलिपिनो बासिन्दाको हत्या गरेका थियो। ओनोदाका तीन जना सहयोगीको पनि मृत्यु भएको थियो।

सन् १९७४ मा नोरिओ सुजुकी नामक जापानी यात्रीले ओनोदालाई भेटेका थिए र जापानले आत्मसमर्पण गरिसकेको जानकारी दिएका थिए। उनले कुनै वरिष्ठ अधिकृतको आदेशबिना आफूले आत्मसमर्पण नगर्ने बताएका थिए। केही महिनापछि सेनाका मेजर योसिमी तानिगुचीले ओनोदालाई भेटेर आत्मसमर्पण गर्न आदेश दिएका थिए। अन्ततः ओनोदा हिरू जापान फर्किएका थिए, जहाँ उनलाई ‘हिरो’जसरी व्यवहार गरिएको थियो। सन् २०१४ मा उनको निधन भयो। 
०००

भिक्टोरियन युग (सन् १८३७–१९०१) मा जुँगा पाल्ने लोकप्रिय चलन थियो। जुँगालाई लामो, बाक्लो र कडा पार्न बेलायतीहरू त्यसमा मैन लगाउने गर्थे। चिया खाँदा भने पुरुषहरूलाई समस्या हुन्थ्यो। जुँगा चियामा चोपिन्थ्यो र मैन पग्लिन्थ्यो। सन् १८६० तिर यो समस्या हल गर्न एक जना कुमाले हार्भे एडम्सले विशेष खालको कप बनाएका थिए। उक्त कपमा जुँगालाई छेक्ने गरी जुँगा आकारको ढक्कन बनाइएको थियो। 
०००

सन् १९१० मा ‘हालेज कमेट’ नामक लामपुच्छे्र तारा पृथ्वीनजिक हुँदै गुज्रिने तथ्य खगोलविद्हरूले सार्वजनिक गरे। यसको पुच्छरमा स्यानोजेन नामक अत्यन्त विषालु ग्यास भएको वैज्ञानिकले पत्ता लगाए। उनीहरूले लामपुच्छ्रे ताराको पुच्छर पृथ्वीनजिक हुँदै गुज्रिने भए पनि यसबाट मान्छेलाई कुनै पनि हानि नपुग्ने पनि प्रस्ट पारे।

तर, त्यतिबेलाका अमेरिकी पत्रपत्रिकाले यस विषयलाई अत्यन्त भ्रामक प्रचार गरे। उनीहरूले पृथ्वीको अन्त्य निकट आएको भनेर मान्छेहरूको बुद्धि भुटे। अवसरवादी व्यापारीहरूले मौका पाए र उनीहरूले लामपुच्छ्रेबाट जोगाउने औषधि (एन्टी–कमेट पिल) र लामपुच्छ्रेबाट जोगाउने छाता (एन्टी–कमेट अम्ब्रेला) बनाउन भ्याए। अमेरिकीहरूले तँछाडमछाड गरेर यस्ता औषधि र छाता किनेका थिए। 

तपाईको कमेन्ट