घरबन्दी मुक्तक

writer

विमल आचार्य

बुधबार, १७ बैशाख २०७७


(१)
नाकाबन्दी हुन्छ, अनि एउटा कद हुन्छ 
चुनाव जित्छ, अनि एउटा पद हुन्छ 
पहिलो काम ‘ई’ थप्छ, सर्वहारा–टू–हारी  
आलु कुहिनुको पनि एउटा हद हुन्छ ।

(२) 
ए नाथे ! तँ घरभित्रै बस्— दबाब 
बाहिर निस्कनु राम्रो हैन— सुझाव  
अभाव सहन नसकी निस्कन्छु बाहिर 
सडकभरि म, मालिकको शून्य प्रभाव । 

(३) 
कात्रोमा पनि कमिसन खान्छ ऊ यहाँ, थोकथोकमा 
भूपीले भनेझैँ अनन्त भोक औ शोक छ, चोकचोकमा 
ढुक्क हुनुस् साथी हो, अब सब ठीकठाक हुन्छ किनकि 
‘नयाँ युगको आरम्भ’क्याप्सनमाथि शासक छ, पोलपोलमा ।

(४)
निर्धा, निमुखा, निरक्षर, निःसहाय जति निराश देख्छु 
के हुन लाग्यो यो प्रकृतिमा बतास नै यो हतास देख्छु 
माफ गर्नुस्, यस्तो मुक्तकले हुँदैन अब, ठोक्तक चाहिन्छ
चपाइएका अनुहारभन्दा निल्नेहरू नै म यहाँ उदास देख्छु । 

(५) 
कहिले कमरेडहरू मसित झर्किरहन्छन् 
कहिले कमरेडहरू मसित चर्किरहन्छन्
अभिनय यस्तो कि झर्किंदा र चर्किंदा नि
सधैँ म अनि मेरै कुर्सीतिरै फर्किरहन्छन् । 

(६) 
‘सुखी नेपाली, समृद्ध नेपाल’मेरो नारा छ 
झार्न बाँकी अब एउटै आकाशको तारा छ 
समाजवादी समृद्धि ल्याउँदै छु म, तयार हुनुुस्–
तर हाम्रो खाने अनि देखाउने छुट्टाछुट्टै दारा छ । 

(७) 
दिनमा अठार घण्टा काम गर्छु, कामको कत्रो चाप हुन्छ 
‘गर्‍यो’ कैल्यै भन्दैनन्, मुटुबिनाकालाई खै के छाप हुन्छ 
अञ्जानमै एउटै गतिलो काम गरेको भए क्षमाप्रार्थी छु 
जानीबुझी त मेरो कुर्सीबाट जहिल्यै खालि पाप हुन्छ । 

(८)
मेरो महान् पार्टी हजारौँ फूलको सयौँ थुँगा हो 
अब यो तालमाथिको ढलपल ढलपल डुंगा हो 
घरीघरी त मलाई मैसित वैराग लागेर आउँछ 
अब यो कान फाटेको उही नयाँ जोगीको जुँगा हो । 

(९)
कहिल्यै तीतो हुँदैन सत्ताको ‘चिनी’ जति खाए पनि 
पग्लिन्नँ चास्नी, ‘उखु’वालाले जति माया लाए पनि
त्यो माइतीघर र ती पत्रकारका आँखा कति काँडाका  
फूलको संसारलाई नांगै देख्छन्, दौरा–सुरुवाल लाए पनि । 

(१०)
गरिब सकिए राजनीति सकिन्छ, ती दुःखै नहेर्नुस् 
दलालसितको साँठगाँठ नसिकी मेरो सुखै नहेर्नुस् 
लकडाउनमा ईश्वर–विष्णुले सबैको कल्याण गर्छन्  
अब म मास्क लगाउँछु, भ्रष्टाचारीको मुखै नहेर्नुस् । 
 


ट्वीटरः @bimalsalyan

तपाईको कमेन्ट