दिउँसो सुत्नु हानिकारक

writer

करुणा कुँवर

शुक्रबार, १२ बैशाख २०७७


हाल लकडाउनले गर्दा हाम्रो सुताइ सन्तुलित र नियमित छैन। धेरैजसो मान्छे दिनमा पनि सुत्न थालेका छन्। सुताइमा असन्तुलन हुँदा रोग प्रतिरोधात्मक क्षमतामा पनि कमी आउँछ।


 

निद्राले शरीरलाई ‘रिचार्ज’ गर्छ। सुत्नु भनेको शरीरलाई रिचार्ज गर्नु हो। शरीरको बाहिरी अंगसँगै भित्री अंगले पनि धेरै काम गरिरहेका हुन्छन्। तर, हामीलाई त्यसको ख्याल हुँदैन। मानिस निदाएको बेला शरीरको बाहिरीसँगै भित्री अंगले पनि आराम लिइरहेका हुन्छन्। प्रकृतिले निद्रा यत्तिकै बनाएको होइन।

हाल लकडाउनले गर्दा हाम्रो सुताइसन्तुलित र नियमित छैन।‘केही काम छैन’ भन्दै धेरैजना जुन पायो त्यही बेला सुत्ने र उठ्नेगरिरहेका हुन्छन्।धेरैजसो मान्छे दिनमा पनि सुत्न थालेका छन्। यसो गर्दा आज केही नभए पनि भोलिको दिनमा समस्या निम्त्याउन सक्छ। दिउँसो सुतेपछि राति कम निद्रा लाग्छ। राति ढिला सुत्दा अथवा सुताइमा असन्तुलन हुँदा रोग प्रतिरोधात्मक क्षमतामा पनि कमी आउँछ। जबकि, अहिलेरोग प्रतिरोधात्मक क्षमता झनै बलियो बनाउनुपर्ने बेला हो।

रोग प्रतिरोधात्मक क्षमता बढाउनयो खानुपर्छ, त्यो खानुपर्छ भन्ने कुरा आइरहेका छन्। त्यसैले पनि धेरै मानिस खानपानमा मात्र व्यस्त छन्। उनीहरू हरेक दिन नयाँ–नयाँ परिवार बनाउँदै फेसबुकका भित्ता भरिरहेका छन्। तर, खाना मात्र होइन, रोग प्रतिरोधात्मक क्षमता बढाउन र मनोवैज्ञानिक स्वास्थ्य बलियो बनाउननिद्रा पनि जरुरी छ भन्ने कुरा धेरैले बुझेका छैनन्। सुत्दै नसुतेर धेरै खानेकुरा खाएर मात्र मानिस बलियो हुने होइन।

राम्रो निद्राले दिनको सुरुवात पनि राम्ररी गर्छ। निद्राले शरीरलाई काम गर्ने ऊर्जा दिन्छ, दिनचर्या सन्तुलित बनाउन मद्दत गर्छ।निद्राको लागि उपयुक्त समय पछ्यायौँ भने स्वस्थ भइन्छ।‘छिटो सुत्नुपर्छ, छिटो उठ्नुपर्छ’ भन्ने एउटा भनाइ नै छ। यो एकदमै सार्थक भनाइ हो। बेलुका १० बजेभन्दा ढिला बस्नुहुँदैन। त्यस्तै, बिहान पनि एकदमै चाँडो उठ्नुपर्छ। ढिलोमा सात बजेसम्म उठिसक्नुपर्छ।

हरेक उमेर समूहको व्यक्तिलाई फरक–फरक समयको निद्रा आवश्यक हुन्छ। वयस्कको लागि आठ घण्टा निद्रा अनिवार्य हुन्छ। बालबालिका र किशोरकिशोरीका लागि १० देखि १२ घण्टा निद्रा चाहिन्छ। सुत्नु राम्रो हो। तर, कसरी सुत्ने भन्ने जान्नुपर्छ। १२ घण्टा सुत्ने भन्दैमा रातिको १२–१ बजेबाट दिउँसोको १२–१ बजेसम्म सुत्नु भन्ने होइन। बेलुका जतिसक्दो छिटो सुतेर बिहान सक्दो छिटो उठ्यो राम्रो हुन्छ। जति ढिला उठ्यो, शरीरको मेटाबोलिजम र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले शरीर अनियमित हुँदै जान्छ। कोही मोटाउने, कोही दुब्लाउने हुन्छन्। कसैलाई खान मन नलाग्ने हुन्छ, खाए पनि जंकफुडमात्र खाने बानी लाग्न सक्छ। निद्रा असन्तुलित भएपछि खाना खाने समय पनि अनियमित हुँदै जान्छ। कुटाइममा खाना र खाजा खाँदा त्यसले स्वास्थ्यलाई राम्रो गर्दैन।निद्राको समयतालिका नमिल्दा शरीर बिग्रिन थाल्छ। थोरै शारीरिक श्रम गर्दा पनि ज्यान दुख्ने, थाक्ने हुन्छ। लगातार दिउँसो सुत्ने बानी भयो भने पछि पनि त्यो बानी रहिरहन्छ। बानी बदल्न निकै गाह्रो हुन्छ। यसले शरीरको मेटाबोलिजम बिग्रिन्छ।

एउटा रुटिनमा सुतिरहेको मानिस अर्को रुटिनमा जानेबित्तिकै धेरै कुरामा असर हुन्छ। जति आराम गरे पनि थाकेको जस्तो अनुभव हुन्छ। निन्द्राको समयमा अनियमितता ल्याउँदा शरीरभित्र के भएको छ भनेर नदेखिए पनि छालाले त्यसको असर देखाउन थाल्छ। छाला फुस्रो हुने, चाउरी छिटो पर्ने, उमेरै नपुगी बुढो देखिने हुन थाल्छ। स्वस्थ निद्राले मनिसलाई जवान देखाउन र तौल नियन्त्रण गर्न सघाउँछ। असन्तुलित निद्राका कारणदिमागले उत्पादनशील काम गर्न छाड्छ। नकारात्मक विचार आउन थाल्छन्। लकडाउनको बेलामा हाम्रो मस्तिष्कले कसरी काम गरिरहेको छ, कस्ता खालका विचार आइरहेका छन्, यसले ठूलो महŒव राख्छ। निद्राअसन्तुलित हुँदा शरीरमा आलस्य आउँछ। त्यसले मस्तिष्कलाई पनि निराश बनाउँदै लैजान्छ।

कोरोनाभाइरसको डर, त्रास, चिन्ताले पनि धेरैको निद्रा बिथोलिरहेको हुन सक्छ। तर, अवस्था जस्तोसुकै भए पनि दिउँसोपटक्कै सुत्नु हुँदैन। थोरै समय पल्टिएर आराम गर्ने भनेको आफ्नो ठाउँमा छ। तर, दिउँसै तीन–चार घण्टा सुत्नु राम्रो होइन। त्यसले दिनचर्या मात्र नभई शरीरलाई नै खराब गरिदिन्छ। दिउँसो सुत्दा फुर्तिलो महसुस हुँदैन। शरीर झन् कमजोर बन्दै जान्छ। दिउँसो हल्लाखल्ला हुने भएकाले राम्रो निद्रा पर्दैन।दिउँसो सुतेर उठेपछि छटपटी हुने, टाउको भारी हुने, मन बेचैन हुनेलगायत हुन्छ। त्यसैले रातिको निद्रा एकदमै राम्रो हो। रातिको सुताइ शरीरका लागि औषधि बराबर हो।

(मनोविद् कुँवरसँग सृजना खड्काले गरेको कुराकानीमा आधारित)
 

तपाईको कमेन्ट

मुख्य समाचार