लकडाउनमा के, कति र कसरी खाने ?

writer

डा. अरुणा उप्रेती

शुक्रबार, १२ बैशाख २०७७


लकडाउनले गर्दा आजभोलि अधिकांश मनिस घरभित्रै छन् । घरमा बस्दाधेरैलाई के खाऊँ, के खाऊँ हुन्छ । लकडाउन होस् वा नहोस् हामीले सधैँ घरको स्वास्थ्यकर खानेकुरा खानुपर्छ । तर,अहिले यस्तो अवस्थामा पनि धेरैले विभिन्न फुड डेलिभरी सेवाबाट खानेकुरा मगाएर खाइरहेको देखिन्छ, सुनिन्छ । यस्तो फुर्सदिलो समयमा पनि शहरियाहरू घरको खाना खान आनाकानी गरिरहेका छन् । तर, हामीले सकेसम्म घरकै खानेकुरा खानुपर्छ ।

कतिपय अवस्थामा घरमा पकाउँदैमा मात्र खानेकुरा स्वस्थ हुन्छ भन्ने छैन । त्यसका लागि खानेकुरा पकाउँदा स्वस्थ र सफा तरिकाले पकाएको हुनुपर्छ ।‘अरू बेलामा खान पाइँदैन, मीठो–मीठो खाने बेला यही होे’भन्दै चाहिनेभन्दा बढी पकाउने, खाने गर्नुहुँदैन । 

कसैकसैको मीठो पाएपछि कोचेर धेरै खाने बानी हुन्छ । यस्तो बानीले तौल बढाउनुका साथैमधुमेह, उक्त रक्तचापलगायत स्वास्थ्य समस्या निम्त्याउन सक्छ । धेरै पकाउँदा एकैचोटि सबै खानेकुरा खान सकिँदैन । खानेकुरा खेर जान्छ । यस्तो अप्ठ्यारो समयमा खानेकुरा फ्याँक्नु भनेको अपराध गर्नुसरह हो । यहाँ एक छाक खान नपाएर छटपटाउने पनि छन् । यी कुरामा ध्यान दिनुपर्छ ।

के र कसरी खाने ?
भात, रोटी थोरै र हरियो तरकारी धेरै खानुपर्छ । हरियो तरकारी अहिले सबैतिर नपाइने भएकाले आफूसँग जति उपलब्ध छ, त्यति नै खानुपर्छ । पोषिलो खानेकुरा घरका सबैले बाँडेर खानुपर्छ ।घरभित्रै बस्ने र काम पनि धेरै नहुने भएकाले अहिले शरीरलाई थोरै क्यालोरी भए पनि हुन्छ । तैपनि, दिनको तीन–चार चोटि खानेकुरा खाने मानिस पनि हुन्छन् । अरू बेलाजस्तै अहिले पनि भात, दाल, दुईतीन थरी तरकारी, अचार बनाएर खानुपर्ने आवश्यकता छैन । भात र एकथरी झोल हालेको तरकारी र अचार पर्याप्त हुन्छ । टुसा उमारेको तरकारीको झोल बनायो भने झन् राम्रो । त्यसले दाल र तरकारी दुवैको काम गर्छ । यसरी खाँदा तौल पनि कम हुन्छ । र, शरीरलाई चाहिने क्यालोरी पनि पुग्छ । कोही–कोही दुई–तीन थरी तरकारी,मासु नभई गाँसै हाल्न नसक्ने पनि हुन्छन् । यो बानी हटाउनुपर्छ ।

बिहान एक थरी खाजा र दिनमा एक छाक खाना खाए हुन्छ। खानामा भात वा रोटी नै खानुपर्छ भन्ने छैन। गेडागुडी र त्यसको सुप पनि खान सकिन्छ।


गृहिणीका लागि परिवारलाई थोरै परिकारबाट कसरी स्वास्थ्यकर खानेकुरा खुवाउन सकिन्छ भनेर सिकाउने यो सुनौलो मौका हो । बिहान एकथरी खाजा र दिनमा एक छाक खाना खाए हुन्छ । खानामा भात वा रोटी नै खानुपर्छ भन्ने छैन । त्यसको सट्टामा कोदोको झोल, गेडागुडी र त्यसको सुप पनि खान सकिन्छ । यसले पनि पेटलाई आडिलो बनाउँछ ।बिहान जहिल्यै दूध हालेका चिया मात्र खानुपर्छ भन्ने छैन । कागती पानी, कागती चिया खान सकिन्छ । कागतीको बोक्रालाई पनि चिया वा भातमा हालेर मुछेर खाँदा पनि यसले रोगसँग लडने शक्ति बढाउँछ । घरमा भएका धेरै खानेकुरा यस्ता छन्, जसले रोगसँग लड्ने शक्ति बढाउँछन् । अहिले मानिस बेसार खाइरहेका छन् । कसैले तातो दूधमा कसैले तातो पानीमा हालेर खान्छन् । मरिच हालेर खाँदा झन् राम्रो हुन्छ । यसले रोगसँग लड्ने शक्ति बढाउँछ ।

अनेकथरीका खानेकुरा पकाउँदा ग्यास पनि धेरै सकिन्छ । यो जतिसक्दो जोहो गर्ने बेला हो । केही खानेकुरा बिहान पकाएर बेलुकासम्म फ्रिजमा राखेर तताएर खान सकिन्छ । 

यसले ग्याससँगै समय र खानेकुराको पनि बचत गर्छ । खानेकुराको बचत हुनु भनेको पैसाको बचत हुनु हो । लकडाउनले मानिसहरूको दिमागबाट रेस्टुरेन्टमा गएर बर्गर र पिज्जा नै खानुपर्छ, किरानापसलमा गएर चाउचाउ नै ल्याउनुपर्छ भन्ने कुरा हटाइदिएको छ । यो समयले घरकै खानेकुरा पनि खाएर बाँच्न सकिन्छ भनेर सिकाएको छ । विशेषगरी,मध्यम र उच्च वर्गीय परिवारले यो कुरा सिकेका छन् ।

लकडाउन लम्बिँदै गएकाले ‘घरको खाना त वाक्क लाग्छ’ भन्नेले घरको खानेकुरामै बानी पार्न थाले हुन्छ । अहिले धेरैकोस्वास्थ्य पहिलाको तुलनामा राम्रो भएको छ । किनभने, उनीहरू बाहिरको खानेकुराबाट जोगिएका छन् । तर, केही आमाबुबाले भने अभैm पनि किरानापसल गएर चाउचाउको कार्टुन बोक्न छाडेका छैनन् ।जंकफुड धेरै खानेलाई कोरोनोले छिट्टै छोएको छ । यो कुरा थाहा पाउँदापाउँदै पनि उनीहरूले थाहा नपाएजस्तो गरिरहेका छन् । यो जंकफुड बहिष्कार गर्ने समय हो ।बालबालिकालाई जंकफुड खुवाउनु भनेको रक्सी र चुरोट दिनु बराबर हो । त्यसले रक्सी र चुरोटभन्दा कम असर गर्दैन । त्यस्तै, अहिले घरमा बसेर पनि धेरैले रेस्टुरेन्टकै डिस बनाएर फेसबुकमा हालिरहेका छन् । 

मःमः र पिज्जाबाहेक उनीहरूले अर्को खानेकुरा देखेकै छैनन् । दालभात फेसबुकमा हाल्दा उनीहरूलाई लाज लाग्छ । फेसबुकमा ‘आज आलु, चिउरा, टुसा उमारेको खानेकुरा, कोदोको सुप, पकौडा, रोटी, केक खाएँ’ भन्दैनन् । कसैले मालपुवा, सेलरोटी, चिउराको पुलाउ, खीरको फोटो हाल्दैनन् । त्यो हाल्दा आफ्नो इज्जत गएको ठान्छन् । उनीहरू आफूसँगै परिवारको स्वास्थ्यसँग खेलबाड गरिरहेका छन् ।
(पोषणविद् उप्रेतीसँग सृजना खड्काले गरेको कुराकानीमा आधारित)

तपाईको कमेन्ट

मुख्य समाचार