विदेशी भूमिमा कोरोना जितेकाकाे बयान

writer

सम्पूर्ण

शुक्रबार, १२ बैशाख २०७७


‘मेरो आत्मबलले भाइरसलाई पछार्‍यो’

काभ्रेपलाञ्चोकका माधव पराजुली १६ वर्षअघि बेलायत छिरेका थिए। ४१ वर्षीय उनी लन्डनको प्रेस्टन म्यानर स्कुलमा गणित पढाउँछन्। कोरोना संक्रमणले गम्भीर अवस्थामा पुगेका उनी रोगलाई जितेर सकुशल घर फर्किएका छन्। 


२२ मार्चमाबेलायत सरकारले लकडाउनघोषणा गरिसकेकाले साथीभाइसँगलामै समय भेटघाट नहोला भनेर त्यो दिन र भोलिपल्ट रमाइलो गरियो।पर्सिपल्ट शरीर थाकेको, अलिअलि जीउ दुखेजस्तो महसुस भयो। सुरुमा त यो अघिल्लो दिनको थकान होला भन्ने लाग्यो। तर, मलाई कोरोना भाइरसले च्यापिसकेको रहेछ। एकदुई दिनपछि झन् गाह्रोभयो। ज्वरो ह्वात्तै बढ्यो। सहनै नसक्ने गरी जीउ दुख्यो। दुख्न पनि यति दुख्ने कि फोक्सो नै बाहिर निस्किन्छ कि जस्तो लाग्ने। खोकीले सास फेर्नै गाह्रो हुन थाल्यो। २८ मार्चसम्म करिब ५० वटा प्यारासिटामोल सकाएँ। तर, न ज्वरो कम भयो, न खोकी। धेरै कमजोर भइसकेको थिएँ।ज्वरो र सामान्य खोकी हो,घरमै ठीक भइहाल्छ भनेर हस्पिटल गइनँ। 

हप्ता दिनसम्म पनि निको नहुने छाँट देखेपछि स्वास्थ्य सल्लाह लिनुपर्‍यो भनेर नेसनल हेल्थ सर्भिसले सुझाएको १११ मा फोन लगाएँ। डाक्टरसँग कुरा भयो। छातीको दुखाइ र खोकी कम गर्न एन्टिबायोटिकलिनुपर्ने सल्लाह दिए। तीन दिनसम्म औषधि खाएँ। तर, स्वास्थ्यमा सुधार देखिएन। आज नभए भोलि काम गर्ला भनेर आशैआशमा दुई दिन बिताएँ। तर, पनि निको भएन।

अप्रिल १ मा श्रीमतीसँग सल्लाह गरेर९९९ मा फोन गर्‍यौँ। फोन गरेको सात मिनेटमा प्यारामेडिक्स टिम आइपुग्यो। प्रारम्भिक चेकमै मेरो स्थिति गम्भीर रहेको आकलन गरेर तुरुन्तै अक्सिजन दिइयो। तत्काल एम्बुलेन्समार्फत हस्पिटल लगियो।अक्सिजन चढाएकोले अलिक बिसेक अनुभव भयो।तर, वार्डमा मान्छेको अवस्था र चित्कारले अत्यायो। ‘मेरा कारणले परिवारले नै दुःख पाउने भो’ भन्ने कुराले पिरोलिरहेको थियो। 

मसँगैको बेडमा एकजना महिला कराइरहेकी थिइन्। बेला–बेलामा उनी– ‘आई कान्ट ब्रेद(मलाई सास फेर्न गाह्रो भयो)’ भनिरहन्थिन्। डाक्टरले‘तिम्रो अक्सिजनको मात्रा कम छ।अब तिमी बाँच्ने सम्भावना छैन। परिवारको कोसँग बोल्न चाहन्छौ?’ भनेर सोधेको सुनेँ। डाक्टरले ढिलाचाँडो यो प्रश्न मलाई पनि गर्छन् भन्ने लाग्यो। ती महिलाले आफ्नो छोरीसँग कुरा गर्ने चाहना राखिन्।डाक्टरले हस्पिटलको कर्डलेस फोनबाट महिलाकी छोरीलाई फोन लगाए र उनकी आमाको बाँच्ने सम्भावना नभएको बताए। उताबाट छोरीले के भनिन्, सुनिनँ। तर, यता आमाले ‘छोरी म मर्न चाहन्नँ’ भनिरहेकी थिइन्।अनि त मेरो पनि दिन सकिएजस्तो लाग्यो। 

ममा पनि अक्सिजनको कमी थियो। सुरुमै ‘क्रिटिकल कन्डिसन’को बिरामी थिएँ। त्यसमाथि मलाई निमोनिया पनि देखिएको थियो। त्यसैले दुई घण्टापछि मेरो पनि हालत त्यस्तै हुन्छ भन्ने लाग्न थालेको थियो। मान्छेले संकटमा भगवान्लाई सम्झिन्छ। छिनछिनमा भगवान्सँग प्रार्थना गरिरहेको थिएँ। आंँखा एकैछिनमा भरिन्थे। १३ वर्षकी छोरी,आठ वर्षको छोरा र श्रीमतीको माया लाग्थ्यो। उनीहरूलाई सम्झिँदा मुटु फुट्लाजस्तो हुन्थ्यो।

त्यसपछि राति साढे १० बजेतिर मलाई आकस्मिक कक्षबाट अर्को वार्डमा सारियो।पहिला त रुम देखेर खुशी भएँ। पूर्ण रूपमा सुविधासम्पन्न कोठा। अवस्था सुधार भएर यता ल्याएका होलान् भन्ने लाग्यो। तर, होइन रहेछ। अरूबाट छुट्टै राख्नुपर्ने एकदमै ग्रस्त बिरामी भएर पो लगिएको रहेछ।धेरै गाह्रो भयो। ‘मलाई केही हुन्न,यो एउटा नराम्रो सपना मात्र हो’ भनेर मन बुझाइरहेँ। यो अवस्थामा झण्डै३२ घण्टा रहेँ। ३२ घण्टापछि डाक्टरले अक्सिजन निकालिदिए। म आफैँ सास फेर्न सक्ने भएँ। 

भोलिपल्ट मलाई मल्टिपेसेन्ट वार्डमा सारियो। अप्रिल ४ मा २ बजेतिर डाक्टर राउन्डमा मलाई स्थिति सामान्य रहे भोलि घर जान सक्ने बताइयो। खुशीको सीमा रहेन। नभन्दै, अप्रिल ५ मा अस्पतालबाट डिस्चार्ज भएँ।मलाई छोड्ने बेलाअझ दुईहप्ता आइसोलेसनमा बस्नुपर्छ भनेका थिए।दुई हप्ता पूरा गरिसकेँ।

मलाई मेरो आत्मबलले बचायोजस्तो लाग्छ। आत्मबल ठूलो कुरा रहेछ। कोराना संक्तमण हुँदैमा मरिने होइन तर हेलचेक्य्राइँ गर्नुहुन्न। र, अर्को महत्वपूर्ण कुरा उमेर भएकालाई नलाग्ने भन्ने होइन रहेछ, यो भाइरस। यसले त पहिला कुनै रोग नभएका मान्छेलाई पनि समात्न सक्ने रहेछ।

०००

‘आफूलाई आफैँले ठीक पारेँ’ 

करिब १५ वर्षअघि बेलायत गएका थिए, डा.पारस सिंह। नौ वर्षयता लन्डनको रोयल फ्री हस्पिटलमा न्युरोलोजिस्टका रूपमा कार्यरत छन्। उनी पनि कोभिड–१९ बाट संक्रमित भएका थिए। तर, सुरुवातमै लक्षण पत्ता लागेकाले उनी घरमै आइसोलेसनमा बसेर स्वाथ्यलाभ गरिरहेका छन्। 



मार्च अन्त्यतिरबाट मलाई कोराना संक्रमणका लक्षण देखिन थाले। सुरुमा ज्वरो आयो। त्यसपछि अलिअलि खोकी लाग्न थाल्यो। छातीको उपल्लो भागमा अलिकति दुखेजस्तो भयो। निकै जाडो महसुस भयो। ज्वरो र खोकी देखिएपछि शंका लाग्यो, ‘कतै यो कोरोनाको संक्रमण त होइन ?’ शंका लाग्नेबित्तिकै आइसोलेसनमा बसिहालेँ। 

सासै फेर्न गाह्रो भएपछि मात्र अस्पताल जानुपर्छ। म आफैँ पनि डाक्टर भएकाले आत्तिएर अस्पताल गइनँ। तर, यसको व्यक्तिपिच्छे लक्षण फरक हुने रहेछ। अरूलाई सास फेर्ने गाह्रो भएको देखेको थिएँ, तर मलाई श्वासप्रश्वासमा कठिनाइ देखिएन। ज्वरो मात्र देखिएकाले घरमा आफैँमनिटर गरेर बसेँ। बेला–बेलामा विज्ञसँग सल्लाह लिइरहेँ। सामान्यबाट सुरु भएको ज्वरो बढेर करिब १ सय ५ डिग्री सेन्टिग्रेड पुग्यो। पाँचछ दिनपछि बिस्तारै घट्यो। फेरि आठौँ दिनमा बढ्यो। यो क्रम १२÷१३दिनसम्म रह्यो। तर, आफूलाई आफैँले ठीक पारेँ। अहिले पहिलाभन्दा स्वास्थ्यमा धेरै सुधार भएको छ। बिरामी हुँदाको थकान अझै छ। आराम गर्दै छु।

म न्युरोलोजिस्ट भए पनि अहिले त्यताभन्दा यता धेरै बिरामी भएकाले अहिले यतैतिर ड्युटी गरिरहेको थिएँ। उपचारको क्रममा अधिकतम संक्रमण पाका व्यक्तिमा भएको पाएँ, तर युवायुवतीलाई नहुने भन्ने होइन। उनीहरू पनि आएका छन्, संख्या तुलनात्मक रूपमा कम छ। निको भएपछि फेरि काममा जानेछु।

सबैले विश्व स्वास्थ्य संगठनले वा आ–आफ्नो देशका स्वास्थ्य मन्त्रालयले जारी गरेका सावधानीका उपायहरू पालना गर्नुपर्छ। व्यक्तिगत रूपमा भन्नुपर्दा लक्षण देखिनासाथ परिवारमै आइसोलेट भएर भिन्न बस्ने गर्नुपर्छ। ताकि धेरैमा नसरोस् । सामाजिक दूरी कायम गर्नुपर्छ। सावधानी अपनाउनु व्यक्तिगत एवं सामाजिक दायित्वसमेत हो। संक्रमण भएपछि बाँच्नु र मर्नु अलग कुरा हो, तर समयमै आफूले गर्दा अरूलाई समस्या नहोस्भन्ने कुरामा सचेत रहनुपर्छ। अर्को कुरा परीक्षणको नतिजा शतप्रतिशत ठीक आउँदैन। केवल ७० प्रतिशतमा सत्य भएको देखिन्छ। त्यसैले शंका लाग्दा सुरक्षित तवरले आइसोलेट भएर बस्नुपर्छ।

प्रस्तुतिः कृष्णप्रसाद शर्मा
 

तपाईको कमेन्ट