संक्रमितकी सहारा शान्ति

writer

दिल शिरीष, बागलुङ

शुक्रबार, १२ बैशाख २०७७


कोरोना संक्रमितको उपचारमा सक्रिय धौलागिरी अस्पतालकी नर्सिङ इन्चार्ज शान्ति खड्का पौडेल।  तस्बिर : अन्न्पूर्ण सम्पूर्ण

धौलागिरी अञ्चल अस्पतालकी नर्सिङ इन्चार्ज शान्ति खड्का पौडेलले २२ वर्ष बिरामीको सेवामा बिताएकी छिन्। यही अनुभवले कोरोना–फोबियालाई जितेर उनी संक्रमित बिरामीको उपचारमा लाग्न सकिन्। 


विभिन्न देशमा कोरोनाबाट डाक्टर र नर्स पनि संक्रमित छन्। कोरोना भएको आंशकामा सामान्य रुघाखोकी ज्वरो आएका बिरामीले समेत उपचार पाएनन्। बिरामी अस्पतालबाट फिर्ता गरिए। कोरोना सर्ने भयले स्वास्थ्यकर्मीलाई घरको डेराबाट निकालियो। यस्तै अनेक हल्ला र समाचार सुनेकी धौलागिरी अञ्चल अस्पताल बागलुङकी नर्सिङ इन्चार्ज शान्ति खड्का पौडेल सुरुमा कोरोना शंकास्पद र संक्रमित अस्पताल आउँदा केही विचलित नभएकी होइनन्। तर, आफ्नो पेशाप्रति २२ वर्षको समर्पण, अनुभव र जिम्मेवारीका कारण उनले कोरोना फोबियालाई मनबाट सजिलै हटाउन सफल रहिन्। दैनिक बिरामीको सेवामा खटिने अरू दुई दर्जन नर्सलाई पनि मानसिक रूपमा तयार गरिन्। फ्रन्टलाइनमा सबै नर्स खटिएका छन्। त्यसको नेतृत्व र डाक्टरलाई रिपोर्टिङ गर्ने काम र जिम्मेवारी शान्तिकै काँधमा छ। 

धौलागिरी अञ्चल अस्पताललाई जिल्लामा दुई संक्रमितको पुष्टि भएसँगै गण्डकी प्रदेश सरकारले कोरोना भाइरस संक्रमितको उपचार केन्द्रका रूपमा अघि बढाउने निर्णय ग¥यो। तर, संक्रमितको उपचारका लागि आवश्यक न आईसीयू कक्ष नै थियो, न भेन्टिलेटर। ‘सुरुमा कोरोना शंकास्पद बिरामीलाई आइसोलेसनमा राखियो,’ नर्सिङ इन्चार्ज शान्ति भन्छिन्, ‘केही दिनपछि संक्रमित नै आइन्। त्यो बेला अनुभवजन्य कमजोरीका हिसाबले हामी केही आत्तिएका थियौँ। विदेशमा भएका साथीहरूलाई के कसरी केयर गर्ने, खाना, पीपीईलगायत कसरी डिस्पोज गर्ने, आफू कसरी सुरक्षित भएर उपचार सेवा दिने भनेर सोधखोज ग¥याँै। युट्युबमा हेरेर पनि सेवामा समर्पित भइरह्यौ।’ उनलाई संक्रमितको उपचारमा अस्पतालकै सिनियर नर्स देवी भट्टराई र मिलव बरुवालको दरिलो साथ रह्यो। 

धौलागिरी अस्पतालमा कोरोना संक्रमित दुई जना उपचाररत रहेकोमा गत शनिवार बागलुङ, गौँडाकोटकी ६५ वर्षीया मनकुमारी पौडेल निको भएर घर फर्किएकी छिन्। अहिले नेपालको पाँचौ संक्रमित १९ वर्षीया अंशु सापकोटा मात्र छिन्। ‘संक्रमितको केयरका लागि नर्सहरूको मर्निङ, इभिनिङ र नाइट ड्युटीको सेड्युल बनाएका छौँ,’ शान्ति भन्छिन्, ‘अरू वार्डमा पनि आलोपालो गराएर ड्युटी मिलाएकी छु। उहाँहरूलाई जेजस्तो मन पर्छ, सोही किसिमको खाना, खाजा, तातोपानी सबै व्यवस्था गरेका छौँ। संक्रमितको उपचार सेवामा कुनै कमी हुन दिएका छैनाँै।’ उसो त संक्रमित युवती र निको भएर घर फर्किएकी मनकुमारी पनि नर्सहरूको व्यवहारको खुलेर प्रंशसा गर्छन्। ‘६५ वर्षीया आमा निको भएर घर फर्किएपछि हामी स्वास्थ्यकर्मी अझ बढी उत्साहित भएर सेवामा लागिरहेका छौँ,’ शान्ति भन्छिन्।

संक्रमित युवतीमा अरू कुनै समस्या नभएकाले सामाजिक दूरी राखेरै सेवा दिइएको छ। तर, निको भएर घर फर्किएकी मनकुमारीमा दम र प्रेसरको समेत समस्या भएकाले पीपीईको सहयोगमा टच गरेरै उपचार गरिएको शान्ति बताउँछिन्। ‘अंशुको अवस्था सामान्य छ,’ उनी भन्छिन्, ‘उनलाई डिजिटल उपकरण दिएका छौँ। त्यसबाटै हामी जानकारी लिन्छौँ। आमा आउँदा दम, प्रेसरको समेत बिरामी अप्ठ्यारो हुन्छ कि भनेर डराएका थियौँ। तर, उहाँको मनोबल उच्च रहेछ। त्यही कारणले यति चाँडै कोरोनालाई जितेर घर फर्किनुभयो।’

अस्पतालमा स्थानीय नर्सिङ स्टाफ भएकाले दुवै संक्रमित ढुक्कसँग खुलेर कुराकानी गर्न सहज भएको शान्तिको अनुभव छ। ‘यदि उनीहरूलाई रेफर गरेर पोखरा या काठमाडाँै पठाएको भए यस्तो वातावरण हुन्थेन,’ उनी भन्छिन्। ६५ वर्षीया महिला यति छिट्टै निको नहुन पनि सक्ने उनको अनुमान छ। कोरोना आतंकका कारण पोखरामा रहेका आफ्ना छोराछोरी र परिवारले चिन्ता व्यक्त गरे पनि सुरक्षित भएर काम गर्न दैनिक सुझाउने गरेको उनी बताउँछिन्। 

झाडापखाला, मौसमी फ्लूस्ता रोगको अनुभव सँगाले पनि आफँै यति धेरै जोखिममा रहेर काम गरेको पहिलो अनुभव भएको शान्ति बताउँछिन्। कोरोना संक्रमितको उपचारमा खटिएका केही नर्सलाई घरबेटीले कचकच गर्न थालेपछि छ जनालाई अस्पताल परिसरमै बस्ने व्यवस्था गरेर सेवामा खटाइएको उनी बताउँछिन्। ‘एकातर्फ कोरोनाका कारण हामी आफैँ जोखिममा छौ, अर्कातर्फ हामीबाट हुन सक्ने कमजोरीले पार्न सक्ने असरप्रति पनि उत्तिकै सचेत भएर काम गरिरहेका छौँ।’ पहिले पर्याप्त अनुभव नहुँदा मनमा केही संकोच भए पनि अहिले अनुभवसमेत हासिल गरिसकेकाले अब थप संक्रमितको सहारा बनेर उपचारमा कुनै कसर बाँकी नराख्ने उनको सोचाइ छ।  
 

तपाईको कमेन्ट