आइडल प्रतियोगी भन्छन्– ‘लकडाउनमा भव्य रियाज गरिँदै छ’

writer

सम्पूर्ण

शुक्रबार, १२ बैशाख २०७७


एपी वान टेलिभिजनबाट प्रसारण हुने रियालिटी सो ‘नेपाल आइडल’ प्रतिस्पर्धाको अन्त्यतिर पुगिरहेका बेला लकडाउन भयो । प्रतियोगिता रोकियो । वाइल्ड कार्डमार्फत इन्ट्री गरेका पाँच जना र बाँकी चार प्रतियोगी ‘टप फाइभ’ का लागि घरमै तयारी गरिरहेका छन् । 


 


केभिन ग्लान तामाङ
नेपाल आइडलमा थिएँ । लकडाउन भयो । सबै जना आ–आफ्ना घरतिर लागे । घर फर्किएपछि अचानक मेरो स्वास्थ्यमा समस्या देखियो । एपेन्डिक्सको अपरेसन गर्नुपर्ने भयो । अपरेसनपछि बेड रेस्टमा थिएँ । अहिले बिस्तारै रिकभर भइरहेको छु । घर आएको एक हप्ता भयो । अपरेसनपछि तुरुन्तै गीत गाउन सक्ने अवस्था थिएन । त्यसैले अरूका गीत सुनेर समय बिताएँ । अहिले ठीक छु । बिहान उठेर रियाज सुरु गरेको छु । लकडाउनले रिकभर हुन समय दिएको छ । बाहिर निस्किन नपाँउदादिक्क त लाग्छ, तर हाम्रै स्वास्थ्यका लागि भएकाले लकडाउन पालन गनैपर्छ । 


 

नेशन पुनमगर
लकडाउनले गर्दा घर बसाइ भइरहेको छ । कलाकारका लागि यो सिर्जना गर्ने समय हो । म पनि विभिन्न प्रोजेक्टमा काम गरिरहेको छु । त्यसबाहेक बिहान–बेलुका रियाज गर्छु । खायो, सुत्यो, उठ्यो, बहिनीसँग खेल्यो, यसरी नै आजभोलि दिन बितिरहेका छन् । दिन बिताउन त्यति गाह्रो भएको छैन । संसारभरि फैलिरहेको यो महामारीबाट बच्न संयमित हुनु आवश्यक छ । समयको सदुपयोग गरियो भने त्यसले पक्कैपनि फाइदा हुनेछ । सुखमा मात्तिने र दुःखमा आत्तिनेभन्दा पनि संयमित भएर घरमा बसेर कोरोनासँग लड्न सरकारलाई सहयोग गर्नुपर्छ । 


 

प्रविन वेडवाल    
लकडाउन हुनुअघितीन महिनादेखि हामी आइडलमा थियौँ । त्यहाँ कहिले प्य्राक्टिस हुन्थ्यो, कहिले सुट । हामीसँग फोनमा कुरा गर्ने समयसमेत हुन्थेन । प्रतिस्पर्धा अन्तिमतिर पुग्नै लाग्दा अचानक लकडाउन भयो । त्यसपछि सबै आ–आफ्ना घर फर्किए । मेरो घर अलि टाढा भएकाले काठमाडौँमा आफ्नी फुपूको घरमा बसिरहेको छु । बाहिर निस्किन पाइँदैन । बोर भइरहेको छ । मसँग एउटा पियानो छ । त्यसमै साउन्ड प्य्राक्टिस गर्छु । लकडाउनले एउटा फाइदा पनि गरेको छ । आइडलमा हुँदा म्यासेज र कमेन्टको रिप्लाई दिन भ्याउँदिनथेँ । साथीभाइले ‘किन रिप्लाई नगरेको ?’ भन्थे । अहिले भने सबैको म्यासेजको रिप्लाई गर्छु । 


 

सज्जा चौलागाईं
संकटको बेला छ । त्यसैले लकडाउन गरियो । अरूजस्तै म पनि घरमा बसिरहेकी छु । सुत्ने, उठ्ने, खाने, गीत सुन्ने,गाउने गर्छु । यति बेला सबै नेपालीले गर्ने काम यिनै होलान् । गिटार सिक्छु । व्यस्तको व्यस्त भइन्थ्यो । बन्दाबन्दीमा लामो ग्याप मिलेको छ । यसलाईसदुपयोग गर्ने कोसिस गरिरहेकी छु । त्यसैले होला, खासै बोर महसुस भएको छैन । यो समस्याको समयमा सबैले घरमै बसेर सरकारलाई सहयोग गर्नुपर्छ । 


 

किरणकुमार भुजेल 
लकडाउनपछि घर फर्किएँ । लामो समयदेखि घरपरिवारसँग बस्न पाएको थिइनँ । परिवारसँग समय बिताउन पाउँदा निकै मज्जा आइरहेको थियो । भन्छन् नि, गुलियो पनि बढी खायो भने तीतो हुन्छ । त्यस्तै लकडाउन लम्बिँदै जाँदा दिक्क लाग्न थालेको छ । गीत सुनेर आनन्द लिइरहेको छु । गीत गुनगुनाउने गर्छु । बन्दाबन्दी सकिएपछि आइडल सुचारु हुन्छ होला । त्यसका लागि तयारी पनि गरिरहेको छु । 


 

ममता गुरुङ
वैशाखमा मेरो प्लस टूको परीक्षा परेको थियो । तर, कोरोना भाइरसको कारणले परीक्षा स¥यो । अहिले त्यसैको तयारीमा जुटिरहेकी छु । तर, दिनभर पढेर बस्ने भन्ने पनि हुँदैन । फ्रेस हुन गीत सुन्छु । बिहान पढ्छु भनेबेलुकातिर रियाज गर्छु । दिउँसो अल्छी लाग्यो भने घरका सबैजना एक ठाउँमा बसेर फिल्म हेर्छौं । पहिले बाहिर निस्किन्थ्यो । चोकमा तरकारी किन्न होस् वा साथीसँग गफ गर्न । तर, आजकल त्यो सबै बन्द छ । त्यसलैवाक्क लागिरहेको छ । सबैसँग भेट्न मन छ । तर, कोरोना शान्त नभएसम्म बाहिर निस्किएर साथीहरू भेला हुने कुरा भएन । अहिलेका लागि सामाजिक दूरी कायम राख्नु नै उचित हुनेछ ।


 

मेघा श्रेष्ठ
नेपाल आइडलमा व्यस्त भएकाले घरपरिवार, आफन्त र शुभचिन्तकसँग दोहोरो कुराकानी हुन पाउँथेन । लकडाउन भएपछि दुईतीन पटक फेसबुकबाट लाइभ गरेँ ।सबैसँग बोल्ने, नजिक हुने मौका पाएँ । त्यस्तै,हिजोआज दिनहुँ रियाज गर्छु । क्याम्पमा सरगम बजाएर गीत गाउने प्य्राक्टिसगथ्र्यौं । मैले त्यो सबै साउन्ड रेकर्ड गरेकी थिएँ । त्यही सुन्दै अहिले गीतको तयारी गरिरहेकी छु । लकडाउन हाम्रो सुरक्षाका लागि हो भन्ने बुझेर होला, खासै बोर लागेको छैन । आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राख्न लकडाउनको पालना गर्नुपर्छ ।


 

मिग्मा लामा
अहिले सबै काम ठप्प छन् । सबै जना घरमै बसिरहेका छन् । बिहान उठेर फ्रेस भएपछि गीत प्य्राक्टिस गर्छु । गीत लेख्ने तयारीमा छु । लकडाउन कोरोना नियन्त्रणका लागि चालिएको राम्रो कदम हो । कतिपय देशमा बेलैमा ध्यान नपु¥याउँदा कोरोनाले महामारीको रूप लिएको छ ।धन्न, हाम्रो देशमा अहिलेसम्म त त्यस्तो भएको छैन । महामारी फैलिन नदिन सबैले लकडाउन पालना गर्नु उचित हुनेछ ।बन्दाबन्दीले गर्दा कतिपयको रोजीरोटी गुमेको छ । कति मान्छे हिँडेर घर जान बाध्य भएका छन् । सरकारले त्यसतर्फ ध्यान दिँदा राम्रो हुनेथियो ।


 

रचना रिमाल
बिहानै उठेर रियाज गर्छु । त्यसपछि खाना खान्छु । दिनभर कलेजको किताब पढ्छु । परीक्षाको तयारी गर्दै छु । बेलुका हार्मोनियममा अभ्यास गर्छु । यसरी नै दिन बिताइरहेको छु । बाहिर निस्किन पनि मन लाग्छ । तर, घरमा बस्नु नै अहिलेका लागि उचित हो । त्यसैले मनलागे पनि बाहिर निस्किन्नँ ।सुरु–सुरुमा घरभित्र मात्र बस्दा गाह्रो भएको थियो । तर, अहिले बानी परिसक्यो । सावधानी अपनाइयो भने कोरोनासँग सजिलै लड्न सकिन्छ । 


प्रस्तुतिः सुमित सुवेदी 


 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि