‘एक हजार पैदलयात्रीलाई ट्रक चढाएर घर पठाएँ’

writer

सम्पूर्ण

शुक्रबार, १२ बैशाख २०७७


लकडाउन लम्बिएपछि काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक आदि जिल्लाबाट मजदुरहरू धमाधम आआफ्ना घर फर्कन थाले। सुर्खेत, सल्यान, रुकुम, रोल्पा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसम्म पुग्न कैयौँ दिनसम्म हिँडिरहेका उनीहरूको लस्कर पृथ्वीराजमार्गमा दैनिक देखिन्थ्यो। बालबच्चा बोकेका महिला, गर्भवती, वृद्धवृद्धा र बालबालिका वैशाखको धूपमा सडकमा खाली खुट्टा  हिँडिरहेका दृश्यले सबैलाई भावुक बनाएको थियो। सर्वोच्च अदालतले उनीहरूलाई सहज रूपमा गन्तव्यमा पुर्‍याउनू भन्ने आदेश दिए पनिसरकारले भने टेरेको थिएन।

धादिङ र चितवनको सिमानाको बजार मौवाखोलामा कष्टकर यात्रा गरिरहेका हूलका हूल मजदुर देखिन्थे। चितवनको इच्छाकामना गाउँपालिका प्रमुख गीताकुमारी गुरुङलाई घर जान हिँडेका दुःखीगरिबका लश्करले विह्वल बनायो। बाहिरका सयौँ मजदुरको ओइरो लागेको निहुँमा केही दिनअघि मौवाखोला र इच्छाकामनाका बासिन्दाबीच भनाभनभएको थियो। तर, गुरुङपैदलयात्रीलाई ट्रक चढाएर पठाउने अभियानमा जुटिन्।

मौवाखोलावारि सडकको कुनामा गाडी धुने ग्यारेजमा गुरुङ यात्रीलाई बसाउँथिन्। नजिकैको धारामा हातखुट्टा, मुख धुन लगाउँथिन् र थकाइ मारेपछि कोरोनाबाट बच्न कसरी सरसफाइ गर्ने भन्ने केही पाठ सिकाउँथिन्। अनि, पायक पर्ने ठाउँ जाने ट्रक चढाएर बिदा गर्थिन्।पाँच दिनसम्म खट्दा एकहजारभन्दा धेरै यात्रुलाई गाडी चढाएर पठाइसकेँ,’ उनी भन्छिन्। गुरुङसँग अन्नपूर्ण सम्पूर्णका लागि शिव उप्रेतीले कुराकानी गरेका छन्।

गीताकुमारी गुरुङ

 

सयौँ पैदलयात्रीलाई ट्रकमा चढाएर पठाउनुभयो। कोरोनासँग डर लागेन ? परिवारले यस्तो जोखिम नउठाउनू भनेन ?

कोरोनाको डर कसलाई लाग्दैन ? तर डर मानेर धर पाइएन। यो चुनौतीपूर्ण समयमा जिम्मेवार व्यक्तिले जोखिम उठाउनुपर्छ भन्ने ठानेँ। म पनि एक नम्बरमा मान्छे नै हुँ। मेरो पनि परिवार छ। तर, म परिवारको सदस्य मात्र होइन। समाजको जिम्मेवार व्यक्ति पनि भएकाले सामाजिक दायित्व मेरो काँधमा छ। आफू सुरक्षित भएर बसिरहँदा, रमाइरहँदा अरू नागरिकले दुःख पाइरहेका हुनसक्छन्। आफ्नो कर्तव्य निर्वाह गर्न जुनसुकै जोखिम उठाउनुपर्छ भनेर बाहिर निस्किएकी थिएँ।

किन सडकमा आफैँ उत्रिनुभयो ?

म यही राजमार्गआसपास बस्छु। रातदिन, साँझबिहान कोही काखमा बच्चा च्यापेर हिँडेका छन्, कोही खुट्टा खोच्चाउँदै हिँडेका छन्।सडकमै सुतेका छन्। खानुपिउनु केही छैन। चाउचाउ र चिउराले सास धानेका छन्। के महिला, के वृद्धवृद्धा, के बालबालिका, रोडमा लखतरान परेका देखिन्छन्। दृश्य यति पीडादायक थियो कि जो कोहीका आँखाबाट आँशु झर्थ्थो।

प्रहरी प्रशासनले गाडी चढेर जान नदिने, हिँडेर पनि जान नदिने, ट्रक चढेर आएकालाई झारेर लखेट्ने ! यस्तो बिजोग देखेपछि सोचेँ, मैले अब टुलुटुलु हेरेर बस्नु हुँदैन। फेरि सोचेँ, म आफैँले गाउँपालिकाका मान्छेहरूलाई बाहिर निस्कनु हुँदैन, लकडाउन पालना गरेर बस्नुपर्छ भनेर आग्रह गरिरहेकी छु। तर, अन्यत्रका मान्छेलाई हिँड्न दिन हुन्छ कि हुँदैन त ? गाडी चढाउन हुन्छ कि हुँदैन त ? अनि के निचोडमा पुगेँ भने, यति दुःख गरेर पक्कै पनि कोही रहरले हिँडेका होइनन्। परिस्थितिले गर्दा, बाध्यताले गर्दा नै यसरी हिँडेका हुन्। उनीहरू चाहे जहाँका बासिन्दा होऊन्, यो दुःखको घडीमा मैले उनीहरूका लागि केही न केही गर्नैपर्छ भन्ने अठोट गरेँ। जे आइपर्छ, त्यसको जिम्मेवारी म आफैँ लिन्छु भनेर मैले यो काम गरेकी हुँ।

कुन दृश्यले तपाईंलाई साह्रै छोयो ?

काम विशेषले म फिस्लिङबाट मौवाखोलातर्फ गइरहेकी थिएँ। त्यस दिन मध्याह्न १२ बजेको थियो। वैशाखको चर्को घाम थियो। सडकमा मजदुरहरूको लामो लाइन  थियो। एकजना महिलाले अर्को महिलालाई हात समातेर डोर्‍याइरहेको देखेँ। मैले मेरो गाडी रोक्न लगाएर हेरेँ।रोडको तातोले ती महिलाको खुट्टामा फोका उठेको थियो। खान नपाएर ओठ सुकेको थियो।अर्की एकजना गर्भवती महिला लट्ठी एकातिर फालेर वालको आड लगाएर बसिरहेको देखेँ। अर्को बच्चा थियो, भोकले होला, ओठ कलेटी परेको थियो। गालामा आँशुको डाम थियो। यो दृश्यले मन छुने मात्र होइन, मेरा आँखाबाट आँशु नै झर्‍यो। मैले त्यहाँ गाडीलाई साइट लगाएँ। अनि उनीहरूलाई सोधेँ, ‘तपाईंहरूलाई ज्वरो आएको छ कि ?किन यसरी तातो सडकमा लम्पसार परेर सुतेको ?’ उनीहरूले हिँड्दाहिँड्दा थाकेर सुतेकोभने। त्यसो हो भने अब तपाईंहरू हिँड्नुपर्दैन, म गाडी रोक्छुभनेर काठमाडौँतिरबाट आएको ट्रक रोक्न लगाएर उनीहरूलाई चढाएर पठाएँ। त्यहीँबाट मैले यो अभियान धमाधम सुरु गरेकी हुँ। त्यस साँझ मात्रै ८०÷९० जनालाई पठाएँ।

केही परेमा मलाई फोन गर्नूभनेर चालकहरूलाई मेरो मोबाइल नम्बर दिएर पठाएँ। गाडी चढाएर त पठाएँ, तर बेलुका फोन आयो– ‘नारायणघाटतिर पुगेपछि रोकेका छन्, जहाँबाट गाडी चढाएर ल्याएको हो, त्यहीँ फिर्ता गर्ने भन्दै छन्।त्यसपछि म सीधै त्यहाँ पुगेँ। प्रहरी, प्रशासनसँग धेरै छलफल गरेँ।मेरो गाउँपालिकामा मजदुरलाई यसरी हिँडेको म देख्न सक्दिनँ, म जसरी पनि यी दुःख पाएका मजदुरलाई गाडी चढाएरै पठाउँछु, यसको जिम्मेवारी तपाईंहरू कोही पनि नलिनुस्, मै लिन्छुभनेर अडान लिएँ। त्यसदिन मैले करिब दुईसय जनालाई गाडी चढाएर पठाएँ।

सुरुसुरुमा त प्रहरीले माथिको आदेश छ भनेर गाडी चढाउन आनाकानी गरिरहेका थिए। मैले भनेँ, ‘जति पनि मान्छे हिँडेर आउँछन्, सबैलाई मौवाखोलाको हाम्रो सिमानापट्टि भेला गरेर राख्नू। म  आउँछु, मै चढाएर पठाउँछु।अनि प्रायः बिहान सात बजे त्यहाँ पुग्थेँ। मसित मेरा कर्मचारी पनि हुनुहुन्थ्यो। कहाँकहाँदेखि यात्रीहरूलखतरान भएर प्राण मात्रै लिएर आइपुग्थे। एकछिन थकाइ मार्न लगाउँथ्यौँ। टन्नै पानीधारा छन्। साबुन लगाएर हातखु्ट्टा धुन लगाउँथ्यौँ। विभिन्न संघसंस्थाले चाउचाउ, चिउरा, बिस्कुट, पानी उपलब्ध गराएका थिए। ती सामग्री  बाँड्थ्यौँ। अनि गाडी चढाएर केही समस्या भए मलाई फोन गर्नू है भनेर पठाउँथ्यौँ।

दाङ जाने एकजना चालकले रूपन्देहीमा यात्रु लान दिएनन्, जहाँबाट ल्याएको, त्यहीँ फर्काएर लैजाऊ भनेभनेर फोन गरे। मैले त्यहाँका मान्छेलाई फोनबाट  आग्रह गरेँ। उनीहरूले माने। अनि ड्राइभरलाई उनीहरूको जिल्लाको सिमानामा पुर्‍याएर फर्कनू, फेरि यहाँ आउँदा मलाई फोन गर्नू, भाडा मै दिन्छुभनेँ। यस्ता घटना पनि भए।

सरकारले त जहाँ छन्, त्यहीँ राख्नू भनेको छ नि ? गाउँपालिका प्रमुख हुनुका नाताले तपाईं पनि त सरकार हो।

काम गर्ने ठाउँमा कम्पनीले ढोका लाइदिएको छ। साथमा भएको पैसा सकियो। वडा, नगरपालिका, महानगर, गाउँपालिकामा खानेकुरा माग्न जाँदा उनीहरूसँग नागरिकता मागिएका छन्। नागरिकता साथमा छैन। अनि नगएर के गर्ने ? यो अवस्था बुझ्नुपर्दैन सरकारले ? मैले पाल टाँगेर राख्छु, खानबस्न दिन्छु, बस्नुहुन्छ त ?’ भनेर पनि सोधेँ। उनीहरूले यति लामो बाटो हिँडेर आयौँ, अब हामी बस्दैनौँ, जान्छौँभने। जसो गर्दा पनि नमान्ने नै भएपछि जाने भए आफ्नै पालिकामा गएर क्वारेन्टिनमा बसभनेर कोरोनाबाट बच्ने विधि सिकाएर ट्रक चढाएर पठाएकी हुँ।

आत्मसन्तुष्टि मिलेको छ कि छैन ?

आत्मसन्तुष्टि त यसै भैहाल्छ। त्यस्तो दुईदिन, तीनदिन हिँडेर लखतरान भएर आएका बेला म तपाईंहरूलाई गाडी चढाइदिन्छु है, नाम ठेगाना दिनुस् तभन्दा ती मजदुरका खुम्चिएका, थाकेका अनुहार एक्कासि उज्याला भएका थिए। त्यो उनीहरूको खुशी नै मेरो खुशी थियो। पाँच दिनमा मैले हजारभन्दा बढी पैदलयात्रीलाई ट्रक चढाएर घर पठाएकी थिएँ। तर, खासमा भन्ने हो भने पुण्य कमाउन वा आत्मसन्तुष्टि प्राप्त गर्न मैले यो सब गरेकी थिइनँ।म त बस् कर्तव्य निर्वाह गरिरहेकी थिएँ। सयौँ मजदुरको आशीर्वाद पाउँदा आनन्दित भएकी थिएँ।

तपाईको कमेन्ट